Advertisement Advertisement

थेगु डायरी

संसारमा देखिने दृष्यहरुमा मान्छेहरुको आ-आफ्नै दृष्टिकोण हुन्छ। एउटै चिजलाई फरक फरक मान्छेले फरक बुझ्ने, फरक देख्ने, फरक महसूस गर्ने अनि फरक धारणा बनाउने गर्दछन्। अक्सर हामी नेपालिले नेपालमा हुँदा जति धेरै दु:ख गरेको छु भने पनि खासमा त्यति दु:ख गरेका हुँदैन रहेछौँ जति दु:ख बिकसित भनिने देशका मान्छेले गर्दछन् अथवा ती देशमा गएपछी गर्नुपर्छ। यो कुरा मैले त्यो बेला थाहा पाएँ, जब मैले अलार्मको धुनसंगै आफुलाई जागा बनाउन पर्ने भयो। त्यति बेला महसुस गरेँ जब कोल्टे फेर्न समेत भुइँमा हातले टेको दिनुपर्ने भएर पनि तदारुकताका साथ ड्युटिमा स्फुर्ती भरेर पुग्नु पर्ने भयो। त्यति बेला महसुस गरेँ जति बेलादेखी आफ्नै खटनमा चल्ने बर्षौँदेखिको मेरो बानी एकाएक मेशिनको तालमा र कसैको खटनमा चल्नु पर्ने भयो। आफ्नो मनलाई ओच्छ्यान मै सिरकले छोपेर, मस्तिष्कलाई कोठाभित्रै बन्दी बनाएर रोबोट जस्तै समबेदनाबिहिन समय गुजारा गर्न बानी पर्नु निक्कै समय लाग्छ नै, तर लगाउनै पर्छ। हो, यतिबेला जिन्दगी अनि एक एक सेकेन्ड समयको महत्व यसरी बढेर आउँछ कि, जसरी मृत्यूशैय्यामा छट्पटिरहेको मान्छे आफ्नो आखिरी ईच्छा पूरा गर्न तड्पिरहेको हुन्छ।

दक्षिण कोरिया, नेपालीहरुको लागि आकर्षक श्रम गन्तव्य। हरेक आकर्षक बस्तु संगै उसंग कत्ती धेरै नकारात्मक कुराहरु पनि हुन्छन्। जसरी सुन्दर गुलाफलाई आफ्नो बनाउन कत्ती धेरै तिखा काँडाहरुको सामना गर्नुपर्दछ। मनमोहक हिमाललाई छुनका लागि ज्यान कै बाजि लगाउनुपर्छ। उसरी नै कोरियन रोजगारिमा आफुलाई समायोजन गर्न यहाँ आईपुगेपछी खप्नपर्ने भुक्तमानहरु बयान गरि साध्य छैनन्। तर हामी अल्पबिकसित देश अनि पुँजिबादी र उपभोक्ताबादी बजारले थिलथिलो बनाएको बेरोजगार युवाहरुलाई “जसरी हुन्छ पैसा कमाउनुपर्छ” भन्ने मुलमन्त्रले घाँटिमा पट्टा बाँधेर घिसारिरहेको छ। त्यसैले पनि जतिसुकै खतरा होस् वा असुरक्षित वा मन नपर्ने काम होस्, सहजै स्विकार गर्नु शिवाय अरु बिकल्प हुँदैन। हामी टाढाबाट देख्छौँ, बिकासको गतिमा द्रुत छ, प्रबिधिको गतिमा द्रुत छ तर त्यो गति प्रदान गर्न आफ्नै जिन्दगिको गतिलाई रोकिराखेर मेहनत गर्नुपर्ने जनशक्तिको बिवशता देखिन्न रहेछ। घडिको सुई चलेसंगै आफुलाई हिँडाउन नसके भिँडभाडमा आफ्नो बाटो भुलेर कतै अलपत्र परे झैँ हुन्छ। बिहान पाँच मिनेट मात्रै ढिलो उठेमा दिनभरको समयतालिका बर्बाद हुन्छ। मान्छेले मान्छे भएर सोँच्न र आफ्नो खुसी अनुसारको समय बिताउने फुर्सद बिरलै पाउँछ। हप्ताको हरेक शनिबार आधा र आईतबार पुरै दिन छुट्टि हुने कोरियामा यी दुई दिन छुट्टि पाउने नेपाली एकदमै थोरै होलान्। जस मध्ये पनि पाएको छुट्टि उपयोग गर्नेभन्दा पनि अतिरिक्त समयमा थप काम गरेर पैसै कमाउने जुक्ती गर्नेहरु धेरै हुन्छ्न्।

त्यस्तै एउटा छुट्टि(आईतबार) को दिन कोरियाको एउटा मुख्य शहर थेगु मा आयोजित एक कार्यक्रममा जाने अवसर मिल्यो। जनवरी लाग्दैको कठ्याङ्ग्रिदाे चिसोमा बिहानै हिँड्नुपर्ने भयो। मैले नियमानुसार र तोकिएको छुट्टि पाउँदिनँ। त्यसैले छुट्टि चाहिए बिन्ती बिसाउनुपर्छ। हप्तादिन अघिको बिन्ती बिसाईले पाएको अनुमती अनुसार, बिहान चार बजे उठेर बिहानी शिफ्टको काम सकेर मात्र जान पाउने भएँ। रहर भयो भने मान्छेले जुनसुकै प्रतिकुलतालाई पनि सहजै स्विकार गर्न सक्छ। भोलि बिहानको समयलाई बेलुकी नै एकफेर खिचेर मस्तिस्कको क्यानभासमा सुम्सुम्याउन थालेँ। “आहा, नेपालबाट आईपुगेका लेखक रमेश सायन जो आफ्नो पुस्तक ‘छुटेका अनुहार’ का बारेमा र केही अन्य बिषयमा अन्तरंग कुराकानी हुनेछ। नेपाली साहित्य समाज दक्षिण कोरियाको अधिबेशन र उपस्थित अन्य मान्छेहरुको रचना बाचन पनि।” ब्यस्त दैनिकिबाट अलिकती फुस्काएर निकालिएको फुर्सदमा यस्ता सृजनसिल मान्छेहरुसंगको संगत गर्न पाउनुलाई एउटा सुवर्ण अवसर सम्झिएँ, र आनन्दको एक घुट्की सम्झना निलेर निदाएँ।

भोलिपल्ट, दुई घन्टा टाढाको थेगु शहर पुग्नका लागि बिहान आठ बजे कस्सिएँ। आँगनदेखी नै शीत जमेर हावाले पनि घोचे झैँ लाग्दैथियो। सबै चिजहरु जमेर ठोस भएका थिए, त्यतिबेला सम्झिएँ यदि यो जमाईको तापक्रममा मान्छे बस्नुपरे कत्तिञ्जेल जिउँदो रहला? आफ्नै शरिरका हरेक सेलहरु आपसमा जम्दै गरेको अनुभुतिले मानिसलाई बाँच्ने अभिलासा कत्ती जगाउँदो होला? अनि सम्झिएँ, हिऊँले कठ्याङ्ङ्रिने हिमालका मान्छेहरु र शितलहरले च्याप्ने मधेशका मान्छेहरुको जिन्दगी अनि तिनले बाँच्नका लागि गर्नुपर्ने संघर्षका सकसहरु। बस स्टपसम्म पुग्नै धौ धौ भयो मलाई। वरपरका रुखहरु जो आफ्नै अस्तित्व हराईसकेर झिक्रा मात्रै बाँकी छन्, तिनको नांगो स्वरुपमाथी सेताम्मे तुसारो ओच्छिएको छ। म भने आँखा मात्र नछोपिने गरि भएर हिँडिरहेँ। केही मिनेट्पछी लोकल बस स्टपबाट स्क्स्प्रेस बस टर्मिनल पुगेर थेगुका लागि टिकट लिएँ। चिसो स्याँठले गर्दा आफ्नै स्वासको बादल बोकेर भित्र छिरेको म, त्यहाँको न्यानोले निदाउन थालेछु। दस घन्टासम्म ओच्छ्यान नछोड्ने म, यहाँ आएपछी मेरो निदाउने समय आधा मात्रै बँचेको छ। त्यसैले पनि अलिकती आरामगरी बस्न पाएँ भने भुसुक्कै निदाईदिन्छु। बसको प्लेटफर्ममा बस आईपुग्न पाँच मिनेट बाँकी थियो। यात्रुहरुले प्लेटफर्म भरियो, बस आईपुग्यो। सबैले टिकट हातमा बोकेर बसमा चढे, अन्तिममा म। अरुबेला जस्तै ड्राईभरलाई टिकट देखाएँ, तर त्यसो होईन रहेछ। टिकटमा भएको QR कोड रिड गराउनुपर्नेरहेछ। ड्राईभरले सम्झाएपछी बल्ल थाहा भयो। म सकेसम्म आफ्नो कमजोरी लुकाउन चाहने मान्छे, भरसक अरुले मेरो कमजोरी थाहा नपाओस भन्ने सोँच्थेँ। तर यहाँ त पाईला पाईलामा नयाँ कुरा थिए, अनि मैले जान्दछु भनेर देखाउने अवस्थै रहेन। फेरि यहाँ केही कुरा नजान्नु नराम्रो होईन, वा कसैलाई खास वास्तै हुन्न हाम्रोमा जस्तो। हामी भने अरुको कमजोरिमाथी टेकेर खिल्ली उडाउने अनि त्यसैलाई बारम्बार मसलाको रुपमा प्रयोग गरेर मान्छेलाई हतोत्साहित र निरुत्साहित बनाउने संस्कार छ, जसले गर्दा मानिसहरुमा अझ धेरै आडम्बरको आयतन चौडा भईरहेको छ।

बस चढेको लगभग पौने दुई घन्टामा दोङ्थेगु बस टर्मिनलमा पुर्‍यायो। यहाँको सुबिधा चाहिँ, यदि हामिले पुग्ने गन्तब्यस्थलको पूरा ठेगाना भएमा गूगल म्यापको प्रयोग गरेर पुग्न सकिन्छ मात्र होईन, सवारी साधनको रूट, ट्रान्जिट र समय समेत हेरेर सोही बमोजिमको अनुकुलतामा हिँड्न सकिन्छ। मैले पुग्नुपर्ने “तारा रेस्टुरेन्ट, थेगु” थियो। त्यसैले यो ठेगाना गूगलमा खोज्दा ट्रेन चढेर पाँच स्टप अगाडि जानुपर्ने देखियो। समृद्ध नेपाल बनाउने भनेर लागेका हाम्रा नेतृत्वकर्ताहरुले यहाँको जस्तो समृद्धिको पाईला कहिले चाल्ने होलान् र हामिले पनि दिनभर डुकुलन्ठ्याङ्ग भएर डुल्दै, हुँदो नहुँदो हल्ला र गफ ठोकेर अनुत्पादक समय बिताउन छोडेर हस्याँङ्फँस्याङ्ग गर्दै सिर्फ आफ्नो काम र जिम्मेवारिका खातिर दौडिने दिन कहिले आउला खै..! यस्तै सोँच्दै नजिकै भएको “फूड कोर्ट” बाट एउटा तातो कफि बोकेर प्लेटफर्म छिर्नुअघी ट्रेनको रूट म्याप हेर्न थालेँ। मेरो पछाडिबाट एक जनाले सोधे, “excuse me, would you help me how to reach this place please..?” भन्दै एउटा फोटो देखाए। हेरेँ, म पनि सोही फोटोमा देखाईएको ठाउँमा पुग्नुपर्ने थियो। म पनि त्यहिँ ठाउँ जाने हो, त्यसैले रूट हेर्दैछु भनेँ। उनले फेरि सोधे, “Aren’t you korean?” मैले होईन भनेँ। अनि मैले सोधेँ, “Where are you from?” बाक्लो र मोटो फ्रेम भएको पारदर्शी चस्मा लगाएका र सिकटे, खिरिलो ज्यान भएको केटाले खैरो र कोरियन स्टाईलमा कपाल बनाएको थियो। उनको अंग्रेजी लवजले उनि कोरियन होईन भन्दैथियो। उनले भने, “from Nepal” “अरे नेपालि हो? म पनि यहिँ कार्यक्रममा जान लागेको नि। लु खोजेर संगै जाऊँ।” मैले भनेँ। “यार दाइ, तपाईं नेपाली हो? मैले त कोरियन भन्ठानेको तपाईलाई।” उनको कुराले मनमा आनन्द लागेर आयो, अरे म पनि कोरियन जस्तो देखिएँ! साला कस्तो मन होला, म, म जस्तो नदेखिँदा मैले खुशी मान्नुपर्ने। मान्छे किन आफ्नो बास्तविकता लुकाएर अर्कै भएर बाँच्न चाहन्छ हँ? थुक्क मेरो बुद्धि, म नेपाली जस्तो नदेखिँदा मैले किन खुसी हुनुपर्ने? कसले वा कुन कुराले मलाई यस्तो बनायो? यसमा “नेपाल” को के दोष? दोष छ त मेरो आफ्नै सोँचाईमा। यस्तै सोँच्दै प्लेटफर्ममा लाईन लाग्न पुग्यौँ। उनी पनि लगभग डेढ घण्टा टाढा बुसानबाट आएका रहेछन्। “के छ दाइ आज त्यहाँ.?” ट्रेन खचाखच थियो। टेक्ने ठाउँ मात्र बाँकी थियो। हामी दुई जना पनि एक अर्कामा टाँस्सियौँ। उनी त मभन्दा अग्लो मान्छे, तर म बल्लैले उनाको कुममा मात्र पुग्थेँ। उनले सजिलै हातले समाउने डोरि भेटे, तर मैले भने हात अलि माथी तन्काउनै पर्‍यो। “तपाईलाई थाहा छैन? रमेश सायनको पुस्तक चर्चा अनि यसो अरु मान्छेको कविता बाचन पनि छ रे त!” मैले जानेको कुरा सुनाएँ। “दाइ मलाई त केही थाहा छैन। अफिसले यो ठेगाना दिएर त्यहाँ प्रोग्राम छ जानू, भनेर पठायो, अनि म त उठ्ने बित्तिकै हिँडिहालेको।” उनको कुराले म द्धिबिधामा परेँ। अरे, केही थाहा छैन भन्छ फेरि कार्यक्रममा आउँदैछ किन त? मनमा कुरा चल्दैथियो उनैले थपे, “म एउटा रेमिट कम्पनिको एजेन्ट हो दाइ। स्टुडेन्टमा यहाँ आएको १५ महिना भयो। कलेज मात्रैले नहुने दाइ। बाहिर अरु जस्तो पार्ट टाईम काम पाईन्न। गार्‍हो छ यार। त्यही भएर कहिलेकाही अलिकती खर्च जुटाउन यसमा काम गर्छु।” उनका अनुसार, पहिला पहिला स्टुडेन्टमा आउनेले प्राय काम पाउँथे तर अहिले आएर भाषामा न्यूनतम लेबल ३ पास गरेपछि मात्र काम गर्ने अनुमती पाईन्छ। त्यो पनि पार्ट टाईम काम दिगो रुपमा पाईन्न। आउने बेलामा लगानी भने यूरोप जाने जति नै गर्नुपर्छ। सबैसंग आ-आफ्नै दुखका कुरा छन संसारमा। मैले पनि आफ्नो हबिगत हत्केलाभरिको ठेला देखाउँदै सुनाएँ। आँखा ठूलो ठूलो बनाउँदै हेरेर भाईले भने, “दाइ यो ठाउँभन्दा हाम्रो त कत्ती धेरै राम्रो र सम्भावना भएको ठाउँ हो है। सिस्टम क्यापेबल भए सबैले यस्तो मेहनत गर्दा त कत्ती गुणा सुन्दर र बिकसित हुने थियो।” हामी दुबै जनाको साझा चिन्ता संगै हाम्रो लास्ट स्टप आईपुग्यो। ट्रेनबाट उत्र्यौँ। हामिलाई एक्जिट नं. १३ बाट बाहिरिनुपर्ने थियो। तर त्यहाँको त्यो “अण्डर्ग्राउन्ड सुपरमार्केट” मा हामी त्यसै हरायौँ। ट्रेन स्टेसन कम बजार ज्यादा थियो। एक्जिट नं. हेरेर पच्छ्याउँदा पच्छ्याउँदै त्यतिकै हराउँथ्यो। निक्कै बेर घुमिरह्यौँ। सार्‍है सकस परेपछी कोरियन जस्तै देखिने मान्छेलाई सोध्यौँ। उसलाई पनि थाहा रहेनछ राम्रोगरी। उसले नै अर्को एक जना विद्यार्थी जस्तै देखिने मान्छेलाई सोधिदिइन् र त्यो विद्यार्थी जस्तो मान्छेले एक्जिट गेटको मुखैसम्म लगेर छोडिदियो।

एक्जिट भएपछी पुनः गूगल म्याप पच्छ्याउँदै हामी पुग्यौँ, “तारा रेस्टुरेन्ट” को हलमा। खासै मान्छेहरुको उपस्थिती भैसकेको थिएन। केही मिनेटपछी रमेश सायन टुप्लुकिए। रमेश सायन तिनै मान्छे हुन् जो रोजगार अनुमती प्रणालिबाट कोरिया आएर साढे दुई बर्ष मात्रै बसेर नेपाल फर्किएका हुन् र भर्खरै एउटा पुस्तक “छुटेका अनुहार” प्रकाशन गरि सोही किताबको परिचर्चामा सहभागी हुन कोरिया आएका हुन्। औपचारिक चिनजान र भेट्घाट थिएन हाम्रो, तर पनि निक्कै पहिलादेखी लेख र सृजनाहरु मार्फत चिनेको हुँ मैले। केही समय भलाकुसारी गर्‍यौँ । बिस्तारै सहभागिहरुको जमघट बढ्न थाल्यो। बिहान एघार बजेबाट शुरु गरिने भनिएको कार्यक्रम निक्कै ढिलो गरि शुरु भयो। सबै जसोको छुट्टि प्रायः आईतवार हुन्छ यहाँ। हप्तामा हुने एउटा छुट्टिमा केके मात्र गर्ने र! यस्तै यस्तै कुरा खेल्छ मनमा। फेरि नेपालिहरुले हरेक आईतबार केही न केही कार्यक्रम गरिरहे कै हुन्छन्। यो पटक पनि त्यस्तै भयो। किराँत राई यायोक्खाले फिल्म प्रदर्शन गर्दैथियो भने लिम्बुहरुको पनि आफ्नै कार्यक्रम थियो। उता मगरहरुको पनि माघे सक्रान्तीको कार्यक्रम सोही दिन सम्पन्न गर्दैथिए। यसरी सबै मान्छेहरु जताततै बाँडिएपछी अपेक्षित संख्यामा सहभागिहरु उपस्थित हुन नसकेपनी रमेश सायनसंगको “सायन संवाद” अनि सहभागिहरुको रचना बाचन दुई सेसनको कार्यक्रम उत्साहप्रद रह्यो। प्रबासमा बेचिएको आफ्नो श्रम र समयलाई तानतुन बनाएर सृजनशिल बनाउन खोज्नु कार्यस्थलको तनावबाट मुक्त हुने बहाना पनि हो। यस प्रकारका सहभागितामुलक कार्यक्रमहरुले देश सम्झाईदिन्छन्, चेतनामा झक्झक्याईरहन्छन् अनि शून्य हुन लागेको मस्तिस्कलाई फेरि एक पटक “रिफिल” गराईदिन्छन्।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

अप्रेसन गीत संगीतको -२

यूरोप-अमेरिका नगएकोमा हरिवंशलाई पश्चताप लागेकै हो त ? नेपाली सिनेमा र हास्य-व्यंग्य क्षेत्रमा संलग्न...

अप्रेसन गीत/संगीतको-१

हिजो मिति २०७५ साल फागुन ५ गते आइतबार, अघिल्लो दिन मात्रै यूटुवबाट हटाइएको पशुपति...

झोले टिभीका मालिक पत्रकार !

बजारमा टिभी आतंक । हरेकको हात हातमा टिभी ! टिभीका नाम पनि के–के हो...

नेपालमा पहिचान प्राप्तिको लागि पर्याप्त बौद्धिक विश्लेषण नभएकै हो ?

डा. युवराज लिम्बू संचार प्रविधिको विकासले संसार सहज भैरहेको अवस्थामा एकातिर दैनिक असंख्य समाचारहरू...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट