Advertisement Advertisement

सेल्टरमा भेटिएका दिदीबहिनीहरू

Sushma Ranahanma

सुष्मा रानाहँमा


दक्षिणी पश्चिम भाग (छल्लादो ख्वांजु)बाट लगभग ४/५ घण्टा बस चढेर खोसोक टरमिनलमा ओर्लेपछि लोकल ट्रेन चेन्च गर्दै १ नं. लाइन चढेर दोंदेमुनमा पाईला टेक्दा व्यस्त र मस्त भईरहने कोरिया सदाझैं साँझ परेपछि थपिने झिलिमिलीले दीपावलीझैं हुन सुरु गरिसकेको रहेछ ।

म सेल्टर (नारी आवासगृह) मा केहीदिनका लागि बस्ने सोचले दोंदेमुनको गल्लि हुँदै हुइकिदै थिएँ । मेरो लागि दोंदेमुन बिरानो त थिएन तर त्यसभित्रको गल्लिहरूका लागि भने पहिलो पाइला पक्कै हो । घरीघरी मोडिएका ती गल्लिहरूमा नेपाल खोजिरहेँथे, मनमनै । केहि समय अघिदेखि सेल्टरमा बस्दै आउनुभएको दिदिलाई फोन गरेर लोकेसन सोध्दै हिडिरहे । मेरो आग्हपछि वहाँ मलाई रिसिभ गर्न गेटसम्म निस्किनुभयो ।

बसाईको हिसाबले त्यो सेल्टर मेरो लागि दोस्रो थियो र अन्य दिदिबहिनीहरूको चाहिँ तेस्रो, चौथौं पनि रहेछ । परदेशको अनुभवहरूमध्ये अर्को अनुभव सेल्टरको बसाई पनि रहेछ । र, यो संस्मरणको अवसर पनि हो ।

सेल्टरमा बस्दैजाँदा दिनदिनै दिदिहरू थपिदै जानुभयो । त्यहाँ तरहरा, झापा, सोलुखुम्बु, खोटाङ्, काभ्रे, स्यांजा, पोखरा, मकवानपुर, बुटवल लगायत थुप्रै जिल्लाका भेटिएका थियौं । सुरुसुरुमा त बोल्न असहज हुन्थ्यो । मात्रै औपचारिकता पुरा गर्नका लागि बोलिन्थ्यो । तर बिस्तारै वातावरण सहज बन्दै गयो । प्रायः कामको अनुभव र कार्यक्षेत्र मिल्न गएमा प्रसंगमाथि हो मा हो थप्न खुब मज्जा आउने र त्यसै गरिन्थ्यो ।

तर म एक्लै थिएछु । कृषिको काम साग टिपेको, टमाटर टिपेको, स्ट्राबेरी टिपेको दिदीहरूको यस्तैयस्तै कामको अनुभव सुन्न पाइन्थ्यो । केही दिदिहरू म तिर हेर्दै भन्नुहुन्थ्यो ‘बैनिको त मेनु रैछ कति सजिलो हुन्छ होला है ? पैसा र सुविधा पनि हाम्रो भन्दा राम्रो हुन्छ रे नि !’ म हाँसेर टारिदिन्थे । हुनपनि कृषि क्षेत्रको तुलनामा कम्पनीको काम फरक र सहजनै रहेछ । तर १२/१३ जनामध्ये म मात्रै फरक काम गर्ने देख्दा अलि असहज भने भएकै हो । र सबैले आफ्नो कामको अनुभव सुनाउँदा मैले म आफूले सुनाउन उचित ठानिनँ । केहीदिनको बसाइपछि एकजना साथि थपियो । उसको र मेरो कार्यक्षेत्र पनि मिल्यो त्सपछि हामीपनि हल्का गफिन थाल्यौँ ।

प्रायः शनिबार र आइतबार बाहेकका दिनमा कामको बारेमा बुझ्न खोयोङ् नोदोङ्बु (जब सेन्टर) धाइरहनु सेल्टर बसाइको अर्को मुख्य दिनचर्या हो । काम पाएर छिटै सेल्टर छोड्नु पाए गजब हुने अर्को उद्देश्यनै हो ।

उमेर अनुसार नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्मका जेठी, माईली, साइली, काँइली, अन्तरी हुदै क्रमशः कान्छीसम्म सँगै बसेर खाना खाँदा थप स्वादिलो र साँच्चै रमाइलो हुन्थ्यो ।

बेलाबेलामा नेपाली परिकारहरू जागर बटुलेरै बनाइन्थ्यो । उमेर अनुसार नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्मका जेठी, माईली, साइली, काँइली, अन्तरी हुदै क्रमशः कान्छीसम्म सँगै बसेर खाना खाँदा थप स्वादिलो र साँच्चै रमाइलो हुन्थ्यो । खाना खाँदै गफ गर्दा गफले चटनीको काम गथ्र्यो क्यार लहिलेकाहीँ थाल रित्तिएको पत्तो हुदैन थियो ।

कसैकसैले आल्बा (पार्ट टायम जब) स्थायी काम नपाउन्जेल त्यहीँबाटै धाउँने रहेछन् । सात महिनाको बच्चा छाडेर १ बर्षअघि कोरिया आएकी बहिनीले पनि त्यहीँबाट धाएर आल्बा गर्थिन् । म फुर्सदमा बहिनीको ठाँउमा बसेर घरी नेपालमा भएको उनको बच्चाको बारेमा सोच्ने गर्थेँ, घरी त्यो बहिनीको ठाँउमा आफुलाई उभ्याएर कल्पना गर्थेँ । यता आमा बिहानैदेखि काम गरेर साँझमा गलेको ज्यान, बच्चा प्रतिको स्नेह, त्यसमाथि आफू टाढा रहँदा कति मन पोल्दो हो ?सन्तानको भविष्यको निम्ति जति पसिना बगाइरहेकी छिन्, त्यतिनै गानिएको दूधपनि त एकातिर खेर गइरहेको होला ! अर्कोतिर सन्तानको वर्तमान त टुहुरा सरह छनै, उता बच्चाले आमाको दुध सम्झेर कतिन्जेल दुधदानिमा हालेको दूध चुस्छ होला ?

अरु भिसामा आउने दिदिबहिनीको एकातिर बिजोक त्यही देख्न सकिन्थ्यो भने अर्कोतिर भाषाको समस्या त छँदैछ । बिरानो देश, ट्रेन चढ्न, ठाँउ चिन्न र जान्नलाई समय लाग्ने शहरमा आएको ४ दिन नबित्दै आफै काम खोज्न लाग्नुपर्ने, त्यहीँबाट धाउनुपर्ने । यी सब देखिरहँदा आफू भाग्यमानी नै हुँ की भन्ने लाग्थ्यो । हाल इपिएस प्रणाली भन्दा फरक प्रक्रियाबाट कोरिया भित्रिने क्रम बढिरहेकोले काम पाउन मुस्किल र बिचल्ली भएको हो । जस्तो कि उनिहरूलाई थोरै सुविधा र पैसामा धेरै काम लाउन पाउँछ र त्यसरी आउनेहरू फर्केर जानुभन्दा त्यसरीनै काम गर्नु बाध्य हुन्छन् । इपिएस प्रणालीबाट आएका कामदारलाई सरकारले तोकेको मापदण्ड अनुसार सेवा, सुविधा दिनुपर्छ । त्यसैले ईपिएसवालाहरूलाई भनेकोबेला काम पाउन गाह्रो छ ।

एकजना गुरुङ थरको दिदि हुनुहुन्थ्यो । त्यहाँ भएकाहरुमध्ये उमेरमा सबभन्दा जेठी भएकोले बोलाउने साइनो ‘जेठी दिदि’ भनेर बोलाउथ्यौं । अरुभन्दा अलि कमै बोल्नुहुने, बोल्दा प्रष्ट नेपाली नभएर पश्चिमी लयमा बोल्नुहुन्थ्यो । उनै लयमा आफ्नो केही बिगतहरू कोट्याउनु भएको थियो । शैली फरक भएर होला, वहाँले फुकाउनु भएका आफ्ना दुखसुखका पोकाहरू घरिघरि त मजाकमा उडाइन्थ्यो । तर मलाई अलि नमजा लाग्थ्यो । गहुँगोरो वर्ण, होचो कद, छोटा हातखुट्टा भएको बाटुली अनुहारकी दिदि कोरिया आउनु भन्दा पहिले ओमन गएर आउनु भएको रहेछ । महिनाको नेपाली १० हजार तलवमा २ बर्ष बसेर फर्किनु भएछ । विहे गरेको केहि समयपछि फेरी कोरिया आउनुभएको दुई बर्ष नाघ्दै गर्दा हामी भेटिएका थियौं । त्यतिबेलासम्म कम्पनी सर्न पाउनुपर्ने अवधिमध्ये (तेस्रो पटक) सर्दै हुनुन्थिएछ । तर त्यो भन्दा पहिला परिवार भेटेर अन्तिम कम्पनी छिर्ने योजना अनुसार नेपाल गएर भर्खरै आइपुग्नु भएको रहेछ । हप्तादिन आराम गरेर मात्रै कम्पनी खोज्ने निधो गरेर रुममै बस्नुहुन्थ्यो दिदि । त्यतिबेला हामी थोरै गफिन्थ्यौं । उसो त आफू जेठी छोरी भएर होला शायद जोकोहिलाई दिदि भनेर सम्बोधन गरेपछि आफ्नै दिदि लाग्छ मलाई । र, झनै आफुले सक्दो काम गर्दागर्दै पनि काम गर्न सक्दैन भनेर निकालीदिँदाको क्षणहरू, आफ्नो औलाहरू छोटो भएको कारणले काममा नराखेको, आफु सोझी भएकोले नेपाली साथीहरूबाटै हेपिएको क्षणहरू सम्झिँदै दिदि पोखिनुहुँदा म पनि चिमोटिएछु, कुडिएछु ।

म अलि अल्छि पहिलेबाटै हुँ । र, बिहान झिसमिसेमै अल्राम नबजिदिए हुने झैँ लाग्थ्यो । पहिलो कम्पनीमा हुदाँ १÷२ पटक हो, त्यसैपनि सेकेन्डको महत्व राख्ने देशमा बजेको अल्लाराम नसुनेर मस्त निदाइरहेपछि हामीलाई लिन आउने कम्पनिको मानिसले पहिलो तला गेटबाट थिचेको रुमबेलको चर्को आवाज हामी बसेको दोस्रो फ्ल्याटको रुममा यस्तरी बज्यो कि मानौं रातभरको हिमपातले बेल बजाउने कोरियनलाई कुनै असर गरेको छैन बरु हाम्रो रिसले दिमाग तातिरहेको छ । कम्पनी पुग्न लगभग आधा घन्टा लाग्ने बाटो त्यो दिन साथी र म मुखै नधोई डराई–डराई उसको कारमा चढेका थियौं । त्यहाँ केहिदिन अबेरसम्म सुत्न पाउदा ती क्षणहरू आफै मनको आल्राम बनेर बज्थ्यो । अरुबेलाको समय अरुकै लाग्थ्यो । मानौ, कुनै मेसिन हो । आफ्नो आवश्यवकता अनुसारको तिव्रतामा चल्नुपर्ने तर त्यो अवधि त आफ्नै हो लाग्दो रहेछ । राति अबेरसम्म फेसबुक हेर्ने, गफ गर्ने, घरीघरी पुस्तकहरू पढ्ने गरेर कट्थ्यो । र, बिहान अबेर सम्म सुतिन्थ्यो संयोगबस सँगै सुत्ने दिदिको आदत म सँग मिल्दो रहेछ ।

खाना पालैपालो बनाइन्थ्यो । प्राय ढिला उठ्ने हामी बेलुकाको खाना बनाउथ्यौँ । चामल किन्नु नपर्ने रहेछ दालहरू तरकारी किन्न दोंदेमुन बजार झर्नुपर्ने । अरु ठाँउकै जस्तो सोचेर किनमेल गर्दा पसलेहरूसँग आफूले जानेको कोरियन बोलिन्थ्यो । तर त्यहाँको कोरियन, चाइनिज पसलेहरूले

तपाईको फिर्ता पैसा लिनुहोस् !

सस्तो छ लानुहोस् !

केजिको ५ हजार वन, १० हजार वन !

यसरी प्रष्ट नेपाली बोलेको सुनेर म छक्क परे कताकता खुशी पनि लाग्दो रहेछ यसरी परदेशमा आफ्नो भाषा बोलिदिने बिदेशी भेट्दा ।

अरुदिन जस्तै एकदिन एउटा कम्पनीको मेसेज प¥यो । तत्कालै त्यहाँको फोन नम्बर डायल गरेर बोले, ठेगाना मागेपछि एकजना साथीलाई आफुले हेर्न जान लागेको कम्पनी जाऔं भनेर आग्रह गरेँ । उसले स्वीकृति जनायो । हामी सोयोसानतिर जाने १ नं. लाइन ट्रेन चढ्यौं । ट्रेनभित्रै मैले गुगलमा ठेगाना सर्च गर्दै यांजु यकमा ओर्लेर गुगलले बताए अनुसार ठेगाना पछ्याउदै गाडी चढ्यौं ।

केहिबेरपछि गाडीबाट ओर्लेर फिन्छा (खाली) ट्याक्सीलाई रोकेर चढेपछी ठेगाना बतायौं । केहीबेरमा ट्याक्सीले हामीलाई कम्पनीको गेटमा उतारीदियो ।

अफिस दोस्रो तल्लामा रहेछ । चढ्दा आफुले लगाएको जुत्ता ¥याकमा राखेर त्यहाँको चप्पल लाउनु पर्ने रहेछ । त्यतिबेलासम्म थाहा भैसकेको थियो सि फुन नै हो भनेर !

कम्पनी बाहिरको डेकोरेसन हेररै साथिले यहीँ काम गर, यति सफा छ, अरु नखोज है भन्न थाल्यो । हुनपनी हिँड्दा समेत दाग लाग्छकी जस्तो सफा थियो । ब्रेक टायम रहेछ । सेता पोसाकमा कामदारहरू एताउता गरिरहेको देखेर ठम्याउन अझ सजिलो भयो । पहिलेको जस्तै बाह्रैमास चिसो एसिमा लगातार उभिएर चक्कु दौडाउनु पर्ने । यसैपनि ज्यानले चिसो नसहने आफूलाई ।

म बस्दिन भनेर साथिलाई सुटुक्कै कानेखुशी गरेर जाउको संकेत गरे । उसले कर गरिरहेको थियो । उसले भनिरहेको थियो मिल्ने भए म बस्थे के गर्नु भाग्य बिग्रेर कृषिमा आइयो त्यो बेला कोरिया छिर्नु पाए हुन्थो भन्ने मात्रै सोच थियो । उसको एकोहोरो जिद्दीपछि मलाई पहिलो कम्पनीको बारेमा बताउन कर लाग्यो । बल्ल त्यसोभए नबस भन्यो ।

केहीदिनपछि म त्यहाँबाट निस्किदै थिएँ । अर्कै ठाँउमा कामको टुंगो लागिसकेको थियो ।

त्यतिबेलासम्म दिदिले काम पाँउनु भएको थिएन । समय छोटिसकेको थियो । काममा हप्तादिन भित्र लागिसक्नुपर्ने रहेछ । आत्तिन थाल्नुभयो । अगाडी आफ्नो कहानी बताए जसरी जबसेन्टरबाट पाएको मेसेजमा समेत काम हेर्नु जाँदा कम्पनीले उचाइको कारण देखाउथ्यो रे ! मुख्यतः कृषिमा महिला कामदारको संख्या बढि भएको कारण सिजनमा समेत काम नपाउदो रहेछ । दिदिबहिनीहरू जबसेन्टर धाईनै रहनु हुन्थ्यो । दिदि आत्तिन थाल्नुभयो । हुनपनि कति पिल्सिनु भयो होला भित्रभित्रै । कति पो बचाउनु भयो होला अढाई बर्षमा ३ चोटी कम्पनी सर्दा ! नेपाल जादाँ ! त्यैपनि हामीले के पो गर्न सक्थ्यौँ र ? फरक यति हो, अरुको काममा लाग्नुपर्ने अवधि अलि बढि थियो । र, हामी दुईजनालाई जबसेन्टर जाँदा खाली हात पठाउदैन थियो । थमथमाउदै हामीले भन्थौं –‘हुदैभएन भने गोजीको भिसामा बस्नुस् न ! बस्नेहरू बसेकै छन् क्यारे ! नत्र भिसा परिवर्तन गर्ने माध्यम छ, त्यो पनि अपनाउनुस् भन्ने मेरो सुभाmवमा त्यसरी बस्नु श्रीमानले नदिएको बताउनुभयो । नभन्दै दिदिको काममा लाग्ने अवधि सकिएछ । र, २ बर्षको भिसा त्यागेर नेपाल जानुभयो रे, यो खबर अरु दिदीहरूबाट सुने । दुःख लाग्यो । मनमा थुप्रै प्रश्नहरू उब्जिए । र, फेसबुकमा धेरै खोजे ।

अधिकांश नेपाली महिलाहरु किन कृषिमा फारम भर्छन् ? आफुलाई आफै किन कमजोर ठान्छन् ? अर्को कुरा प्रवासमा सघंर्ष गरिरहेका महिलाहरुलाइ गलत नजरले हेरिन्छ ? किन महिलाहरुलाई असक्षम र असुरक्षित महसुस गराइन्छ ? महिलालाई ईज्जत गर्ने देशमा समेत केही नेपालीहरुे नेपालकै प्रवृति प्रदर्शन गर्छन् ? महिलाले नै महिलाहरुलाई किन घोचपेच गर्छन् ? आजभन्दा १ बर्षअघिका ती दिनहरूको याद घरीघरी यसरी आइरहन्छ

संसारलाई व्यस्त र स्वस्थ बनाईरहन, सपनाहरु पुरा गर्न, आत्मनिर्भर हुन सिकाउने रहरलाग्दो कोरियाले घरीघरी त उकुसमुकुस पार्छ ।
जनवरी,२०१९

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

मातृभाषामा गुञ्जिए बेलायती कविहरू

२१ फेब्रुअरी, आसफोर्ड(बेलायत)/आसफोर्डको चिसोलाई लत्याउँदै बिहीबार साँझ एक हूल कविहरू गोरखा भिल्लामा जम्मा हुँदै...

तिगेलालाई क्यानडामा स्वागत तथा सम्मान

काठमाडौँ, ७ फागुन : गत ९ फेब्रुवरी २०१९ का दिन क्यानडाको क्यालगरि शहरमा किरात...

दशक वर्षका अवसरमा लिम्बुवान जागरण अभियान

आसफोर्ड(बेलायत), १६ फेब्रुअरी/लिम्बुवान नागरिक समाज, यूकेले आफ्नो स्थापनाको एक दशक पुगेको अवसरमा जनजागरण अभियान...

साहित्य महासङ्घको नेतृत्वमा सुरेन्द्र परदेशी

काठमाडौं, २७ माघ । साहित्य महासङ्घको नेतृत्वमा सुरेन्द्र लिम्बू परदेशी गत २८ जनवरी २०१९...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट