Advertisement

पृथ्वीनारायण शाहलाई सम्मान गर्ने र थुक्ने दुवै खराब हुन् –पासाङ शेर्पा

जनजाति आन्दोलनबाट माथि आएका नेता पासाङ शेर्पा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षसमेत रहेका शेर्पाले पूर्व सभासद् तथा सामाजिक लोकतान्त्रिक पार्टीका संस्थापक नेतासमेत बनेका थिए । त्यसपछि नयाँ शक्तिहुँदै नेकपा माओवादी केन्द्र हुँदै नेकपामा आइपुगेका हुन् । शेर्पासँग नयाँअनलाईन डटकमका लागि भिडियोसहित सीता तुम्खेवाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाइँको राजनीति ताप्लेजुङबाटै सरु भयो कि काठमाण्डौ आएपछि ?
ताप्लेजुङदेखि नै हो । विद्यार्थीदेखि नै राजनीति सुरु गरेको थिएँ जतिबेला म चौध वर्षको थिएँ । कक्षा सातमा पढ्दादेखि नै विद्यार्थी आन्दोलनबाट मेरो राजनीति सुरु भएको हो । र निरन्तर रूपमा वापन्थी राजनीतिमा आवद्ध रहेर काम गरिरहेको छु ।

वामपन्थी पहिले हुनुभयो कि आदिवासी जनजाति आन्दोलनमा अगाडि आउनुभयो ?
पहिला मैले वामपन्थी आन्दोलनमा आवद्ध भएर काम गरेँ । पछि काठमाण्डौ आएपछि मैले जनजाति आन्दोलनको विषयमा अध्ययन गर्ने र बुझ्ने मौका पाएँ त्यसपछि म आदिवासी जनजाती आन्दोलनमा सहभागी भएँ । त्यसो हुँदा पहिला वामपन्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरियो र राजनीति गर्दागर्दै जनजातिमाथि भएको विभेदहरू दमन उत्पिडनहरू भाषिक सांस्कृतिक रूपले परेको दमन र अन्यायहरू बोरे बुझ्ने र अध्ययन गर्ने मौका पाएको हुँदा त्यो आन्दोलनमा पछाडी सहभागी भएको हो ।

जनजाति आन्दोलनले तपाइँको राजनीति करियर उचाइँमा पुर्‍यायो होइन ?
जसले कर्ममा विश्वास गर्छ उसले आफ्नो करियर विल्डअप गर्छ । कर्ममा विश्वास नगर्ने पद प्रतिष्ठाको मात्रै खोजेर हिँड्नेले कहिलै पनि करियर विकास गर्न सक्तैन । मेरो विषयमा मान्छेहरूलाई सोध्दा हुन्छ । म धेरै पद प्रतिष्ठाको लागि दौडिने भन्दापनि जे काम आइपर्छ त्यस काममा मरिमेटेर लागिपर्ने मेरो स्वभाव छ । २०६३÷०६३ को जनआन्दोलनको समयमा परिवर्तनका लागि लड्ने भनेर सारा नेपाली लागिरहँदा, राजतन्त्रको अन्त्य, एकात्मक राज्य व्यावस्थाको अन्त्य, नेपालका जाति भाषा, संस्कृतिको आधारमा गरिने विभेद र अत्यचारको विरुद्ध लड्ने अभियानमा मैले चाहिँ विषेश आदिवासी जनजातिमाथि भएका भाषाको आधारमा भएको अत्यचार, धर्मको आधारमा भएको अत्यचार, जातको आधारमा भएको अत्यचार यी सबैको विरुद्धमा बल गरेर सकेसम्म र जानेसम्मको बल प्रयोग गरेर लड्दा लड्दा गरिसकेपछि धेरैले आदिवासी नेताको रूपमा परिचित हुँने मौका पाएँ । त्यो दुईओटा कारण हो । स्वभाविक रूपमा काठमाण्डौ देशको केन्द्र भएको कारणले गर्दाखेरि यहाँ भएको कामहरू चाहिँ एकैचोटी देशभरी फैलिन्छ तर एउटा जिल्ला वा गाउँमा गरियो भने सिमित ठाउँमा मात्रै फैलन्छ । र, आदिवासी आन्दोलन चाहिँ मैले काठमाण्डौमै आएर गरेको हँदा देशैभर फैलिएर आफूलाई देशभर चिनाउने मौँका पाएँ । त्यसो हुँदा आदिवासी जनजाति आन्दोलनबाटै मैले आफूलाई देशैभर चिनाउने मौका पाएँ ।

अन्तर्वार्ता भिडियोमा हेर्नुहोस्

यी आन्दोलनहरूको उपलब्धिको विषयमा बताइदिनोस् न त !
आन्दोलन र विकास भन्ने कुरा निरन्तर अगाडी बडिरहन्छ । एउटा क्रम सकिएपछि फेरि अर्को क्रमको आवश्यकता सिर्जना हुन्छ । त्यसपछि निरन्तर अगाडी बढिरहन्छ । कहिले पनि टुङ्गिदैन । र, आजसम्म भएका आदिवासी जनजाति आन्दोलनका कुराहरू पहिलो कुरा आदिवासी जनजातिहरूले आफ्नो अस्तित्व राज्यमा उपस्थित जनाउँन सफल भएको छ । हिजो आदिवासी जनजाति भन्नासाथै कि त वास्तै नगरिने कि त नकरात्मक ढंगले बुझ्ने, हेपाइको ढंगले बुझ्नेजस्तो चलन थियो भने अहिले आदिवासी जनजाति भन्न गर्वको विषय भएको छ । यो नै ठूलो कुरा हो । हिजो जनजाति हो भन्दखेरी हेपिएको मान्छे हो भन्ने तरिकाले बुझिन्थ्यो भने अहिले आदिवासी जनजाति हुँ भन्नसाथ यो देशको भूमिपुत्र हुँ, यो देशको सबैभन्दा पहिला मानव बस्ति बसाल्ने, यो देशको भूमिसँग आफ्नो अस्तित्व गाँसिएको रूपमा परिचित हुन सफल भइएको छ । सबैभन्दा ठूलो कुरा आदिवासी जनजाति भन्ने शब्दलाई सम्मानित शब्दवाली बनाउन सफल भैएको छ । हेपिएको शब्दवालीबाट अहिले सम्मानित शब्दवालीमा पुर्‍याउन सफल भइएको छ । यो नै ठूलो उपलब्धी हो भन्छु म । दोस्रो कुरा यसले उठाएका मुद्दाहरू सबै कुरा पुरा त भएका छैनन् तर समानुपातिक समावेशिताको कुराहरू, धर्मनिरपेक्षताको कुराहरू, आइएलओ कन्भेन्सन १६९ मा राज्यले अनुमोदन गरेका कुराहरू, संयुक्त राष्ट्र संघको आदिवासी अधिकार सम्वन्धि घोषणपत्रहरूमा नेपाललाई पक्ष राष्ट्रका रूपमा स्थापित गराउँन सकिएका कुराहरू, राज्यले कम्तिमा पनि आदिवासी जनजातिहरू पनि एउटा शक्ति हो भनेर अहिले राज्यको ध्यान आकृष्ट गर्न सफल भएका कुराहरू, अहिले जुनसुकै दलहरूमा होस्, संघसंस्थाहरूमा होस्, राज्यको जुनसुकै उपस्थितिहरूमा होस् यी सबै ठाउँमा आदिवासी जनजातिहरूलाई कम्तिमा पनि हुर्नुपर्ने, कम्तिमा पनि यसलाई नेगलेट गर्नु हुँदैन, त्यत्तिकै छोड्नु हुँदैन भन्ने ठाउँसम्म पु¥याउन सक्नु नै आदिवासी जनजाति आन्दोलनको सफलता हो । यी सफलताहरूलाई म एतिहासिक सफलताको रूपमा लिन्छु ।

तपाइँको राजनैतिक पृष्ठभूमिलाई हेर्दा सर्वप्रथम एमाले, सामाजिक लोकतान्त्रिक, नयाँ शक्ति अनि नेकपा यसरी पार्टी परिवर्तन गरिरहँदा जनतामा कस्तो असर पर्‍यो होला ?
तपाइँले भनेजस्तै मेरा राजनीतिक जीवनमा दल परिवर्तन गरेका क्रमहरू तिनै हुन् । वामपन्थी आन्दोलबाट सुरु भएर नेकपा एमालेसम्म भएको थिएँ । त्यसपछि नेकपा एमाले त्यागेर सामाजिक लोकतान्त्रिक पार्टी स्थापना गरेँ । त्यसको मुल सिद्धान्त आदिवासी माग भनिएको थियो त्यो राम्रोसँग चल्न सकेन म र मेरो टीमले नेपाली जनतालाई बुझाउन सकेनौँ या नेपाली जनताले बुझ्न चाहेनन् । त्यो दल राम्रोसंग चल्न सकेन । जनताले आत्मासाथ नगरिसकेपछि मैले त्यसमा ढिपि कसेर बसिनँ र बाबुरामजीसँग नयाँशक्तिमा जोडिएँ । केहि वर्ष काम गरेर हेरे तर त्यो पनि भनेजस्तो गरेर चल्न सकेन । बाबुरामजीले अघि सार्नुभएको कुराहरू निकै राम्रा थिए तर त्यो पनि नेपाली जनताले एक्सेप्ट गरेर या नेपाली जनताले एक्सेप्ट गर्न सकेन त्यसकारण त्यहाँ पनि चल्न नसकेपछि म फेरि माओवादीमा जोडिएँ । जोडिनुको केहि कारणहरू छ । आदिवासी जनजातिको मुद्दालाई सफल बनाउन माओवादीले जनयुद्धको ठूलो भूमिका छ भनेर म पहिलादेखि नै भूमिगत रूपमा माओवादीसँग धेरै नजिक भएर काम गरेको हुँ । म नेकपा एमालेको हुँदाहँदै पनि माओवादीसँग मिलेर संसदभित्र काम गरेको हुँदाखेरी अब नहुने रैछ । हिजो नेपाली आदिवासी जनजातिका लागि जो शक्ति लडेको थियो त्यहि शक्तिसँग मिलेर म मेरो बाँकी राजनीति जिन्दगी बिताउँछु भनेर माओवादीसँग जोडिएँ । पछि माओवादी र एमालेको एकता भइसकेपछि नेकपामा जोडिएँ । त्यसो हुँदा जनताले निरन्तर पार्टी फेरिरहने भनेर पनि मलाई बुझ्छन् तर जनताको अभिमतलाई त म सम्मान गर्छु साथसाथै अहिलेका नेपालका पार्टीका नेता पार्टी नफेरी यहाँ पुगेको को छ ? तपाइँ कमरेड प्रचण्ड र कमरेड केपीकै कुरा गर्नुहुन्छ भने पनि वहाँहरूले राजनीति कहाँबाट सुरु गरेर आज नेकपाको हुनुभएको छ ? गन्नु नै हो भने वहाँहरूको पनि मेरो जति नै हुन आउँछ । तर विकासको क्रममा अघि बढ्नुपर्छ म कहिल्यै पछाडी फर्केको छैन । अगाडी नै बड्छु अगाडी नै बढिरहँदा मैले पार्टी फेरेजस्तो देखिन्छ तर आदिवासी जनजातिको मुक्तिको लागि हुन्छ कि भनेर आदिवासीमा आधारित पार्टी खोलियो आदिवासी जनजातिले सहयोग गरेनन् या बुझिदिएनन् त्यसपछि म एक्लैले पार्टी चलाउने कुरा भएन, एक्लै पार्टी चलाउँछु भनेर बसिरहने कुरा पनि भएन । जनताको भावनालाई त सम्मान त गर्नुपर्छ । आदिवासी जनजातिको मुद्दालाई छोड्न सकिएन त्यसैले हिजो जसले आदिवासीको अधिकारको लागि बन्दुक उठाएको थियो त्यहि पार्टीसँग जोडिँदै जाँदा नेकपा भइयो । यसलाई म आफूपनि स्वभाविक रूपले लिन्छु ।

तपाइँलाई अहिले पार्टीले कस्तो जिम्मेवारी दिएको छ ? र भोली कुन तहसम्म देख्न पाइन्छ ।
अहिले म नेकपाको केन्द्रीय सदस्य छु । मेरो पार्टीको हैसियत भनेको केन्द्रिय पार्टीको सदस्य हो त्यसबाहेक पार्टिले अहिलेसम्म जिम्मेवारी तोकेको छैन । मेरो मात्र हैन सबै केन्द्रिय कमिटिका सदस्यहरूले नै त्यो जिम्मेवारी पाउनुभएको छैन । जिम्मेवारी पाएको भनेकै प्रदेशका इन्चार्ज,सहइन्चार्ज अध्यक्ष अनि सचिव चारजना अनि पार्टीको केन्द्रिय सचिवालय र थाइ कमिटिबाहेक अरुले विशेष जिम्मेवारी पाएको छैन र जिम्मेवारी तोक्नकै लागि अहिले कार्यदल बनेको छ त्यो कार्यदलले सम्भवतः माघकै पहिलो हप्ताभित्र हाम्रो जिम्मेवारीहरू तोकिने छ ।

अहिलेको राजनीतिक अवस्थालाई विश्लेषण गर्दा कसरी गर्नुहुन्छ त ?
हुन त राजनीति भन्ने कुरा जनताको विचमा गरिने हो हावामा हैन जनताको समाजभित्र गरिने हो । त्यसो हुँदा राजनीतिहरू चाहिँ जनताको मनोविज्ञानसंगगै राजनीतिक वेभहरू नेतृत्वले लिएर जानुपर्ने हुन्छ । लामो समयसम्म जनयुक्त भयो दशैँ वर्षसम्म भयो त्यसपछि विभिन्न आन्दोलनहरू भए यी सबै जोड्दा २०÷२५ वर्ष भइसक्यो । जनयुद्ध, जनआन्दोलन, आदिवासी आन्दोलन, मधेशी आन्दोलन विसौँ तिसौँ वर्षसम्म लगातार आन्दोलन भइरहँदा खेरी अहिले नेपाली जनता हैन आन्दलनमा धेरै संघर्षमा धेरै लाग्नुभन्दापनि विकास समृद्धीको लागि अगाडी बड्नुपर्छ किसिमको जनताको मनोविज्ञान विकास भएको जस्तो देखिन्छ । अर्थात अब जनता चाहिँ यो आन्दोलन, संघर्ष, लडाइँबाट थाकेको अब के गर्दा विकास हुन्छ के गर्दा देश समृद्ध हुन्छ के गरे हाम्रो देशपनि अरु देशजस्तै धनी बन्न सक्छ ? अरुजस्तो विकसित बनाउन सकिन्छ भन्ने अहिलेको जनताको मनोविज्ञान छ । त्यसैले अहिले हामी आन्दोलनकारी भनिए पनि जे भनिएपनि जनताको भावनालाई कदर गर्दै त्योसँग आफ्नो राजनीतिक तरंगहरू मिलाएर जानुपर्ने हुन्छ । आन्दोलन र अधिकारका कुराहरूलाई मर्न नदिइ जोगाउँदै जनताको भावनालाई सम्मान गरेर विकास र समृद्धिको मुद्दाहरूलाई अगाडी बढाउने तर विकास र समृद्धिको कामहरूलाई अगाडी बढाउने भनिरहँदा अधिकारका कुराहरूलाई पुरै विर्सने हैन । यसलाई पनि मर्न नदिइकन राख्ने फेरि कुनैदिन त्यस्तो दिन आउँछ जनताको कुरा प्रधान भए यसको लागि पनि कुनै न कुनै कदम चाल्नु आवश्यक भन्ने जनताको मनोविज्ञान त्यो ढंगले विकास हुन्छ । त्योबेलो फेरि त्यहिँसँग तरंग मिलाएर आन्दोलनका कामहरू पनि गर्नुपर्ने हुन सक्छ । अहिले चाहिँ संघर्ष आन्दोलनका विभिन्न राजनीतिक गतिविधि भन्दापनि विकास र समृद्धिको लागि जनताले अलि बढि चासो राख्ने भएकोले गर्दा आन्दोलन र संंर्घषका कामहरू अलि रक्षात्मक पोजिशनमा पुगेको छ ।र विकास र समृद्धिको कुरा अलि अगाडी छ । अहिले त्यसरी नै विश्लेषण गर्न सकिन्छ ।

प्रसंग बदलौँ, पृथ्विजयन्तीको दिन पृथ्विनारायण शाहलाई थुक्ने कार्यक्रम राख्छन् नि ? यो ठीक कि बेठीक ?
म विचको मान्छे हो । धेरै चर्को कुरा गर्र्न रुचाउँदिन । राजनीति स्टन्टबाजी गर्न पनि रुचाउँदिन । जे काम गर्दा परिणाम हात लाग्छ त्यो काम गर्न रुचाउँछु । वास्तवमा पृथ्विनारायण शाहलाई थुक्ने र तारिफ गर्ने दुवै बेठीक हुन् । दुवै काम नपाउँनेहरू हुन् । गलत हो । पृथ्विनारायण शाहले राज्यलाई जोडे तर जनताको भावनालाई कहिल्यै जोड्न सकेनन् । तर पृथ्विनारायण शाहलाई थुकेर समय बर्बाद गर्ने पनि बेठीक हो । किनभने अगाडीको समयलाई हेर्नुपर्छ । सधैभरी पछाडीको कुरालाई कोट्याएर बस्ने निहुँ खोज्ने कुरा मात्रै हो । यी दुवै बेठीक हुन् । अगाडीको कुरालाई कोट्याएर दिन काट्नहरू हुन्

राष्ट्रपतिले माल्र्यापण गरेको कुरालाई चाहिँ कसरी लिनुहुन्छ ?
त्यो पनि बेठीक हो । नेपालमा राजतन्त्र अन्त्य भइसकेपछि राजामहाराजालाई फूलमाला अर्पण गर्नु भनेको नितान्त गलत कुरा हो । जनआन्दोलन र लोकतन्त्रको भावना विपरित हो । राजामहाराजा सिद्धियो, खत्तम पारियो भनेर जनआन्दोलनलाई एउटा उचाइमा पुर्‍याउने अनि अहिले फूलमाला लिएर राजामहाराजाहरूलाई पूजा गर्न नेताहरू जाने ?

राष्ट्रपति बौद्धमार्गीहरूको कार्यक्रममा बोलाउँदा जानुहुन्न तर हिन्दुको सानासाना कार्यक्रममा पनि उपस्थित जनाउनुहुन्छ । यस विषयमा के भन्न चाहनुहुन्छ ?
सम्माननीय राष्ट्रपतिज्यू सबै नेपालीको साझा राष्ट्रपति हो । वहाँले सबैलाई समान व्यावहार गर्नुपर्छ । तर वहाँ म सम्वद्ध रहेको पार्टीको राष्ट्रपति भएतापनि वहाँको सबै जात, धर्मप्रतिको समान व्यावहार भएजस्तो अनुभुति म पनि पाउँदिन । हिन्दुहरूको कुनै चाडपर्व भयो भने वहाँको सक्रियता बढीजस्तो देखिने हुन्छ तर आदिवासीको चाडपर्व भयो भने त्यत्तिको नजिकको भावनाले गरेको मलाई पनि अनुभुति हुँदैन । मलाई त अचम्म लाग्यो भर्खरै किराती संस्थाहरूले शुभकामनामात्रै दिईदिनोस् भनेर डेलिगेशन जानपर्ने स्थीति आयो । त्यसकारणले गर्दा यस्तो कुराले आफ्नै पार्टीको भएतापनि म जस्तो जनजातिहरूको आन्दोलकारी नेता कार्यकर्ताहरूलाई चिसो बनाउँछ । हाम्रो मन दुख्छ । त्यसो हुँदा सम्माननीय राष्ट्रपतिज्यूले हामीजस्ता नेपाली जनतालाई त्यसरी नजिक र टाढाको अनुभुति गराउनु हुँदैन । वहाँले आफू जून भाषा र धर्ममा आवद्ध हुनुन्छ त्यो भन्दा फरक संस्कृतिको जनतासंग अलि नजिक भइदिनुभएको भए हामी धेरै खुसि हुने थियौँ तर त्यसो भएन । अलिअलि सामाजिक दृष्टिकोणको व्यावहारत त्यस्तो हो कि जस्तो पनि लाग्छ त्यो गलत हो । हिजो रामवरण यादव राष्ट्रपति हुँनुहुँदा वहाँको भावना छठमा नजिक थियो पहाडेमा कम भएजस्तो हुन्थ्यो । जुन जातिको राष्ट्रपति भयो त्यस समुदायसँग अलि नजिक हुने सामाजिक प्रचलन देखिन्छ त्यो नितान्त गलत हो ।

यसले केहि संकेत गर्छ कि ?
कतै मूलुक प्रतिगमनतिर गइरहेको छ कि भन्ने अनुभुत त हुन्छ मलाई । मसँग प्रमाण त छैन तर कोहि न कोहीलाई फेरि पनि एकात्मक राजतन्त्रको मोह वामपन्थीहरूमा पनि जाग्दैछ कि भन्ने कुराको अनुभूति त मलाई हुन्छ । मनभित्र कताकता पलाउँछ । तर ककसमा छ ? कसरी भयो ? भन्ने प्रमाण चाहिँ छैन तर कहिलेकाहिँ दिमागमा त्यस्तो तरंग आउँछ । कांग्रेशले त खुल्लाम खुल्ला राजतन्त्र ल्याउनुपर्छ भनेर, हिन्दु राष्ट्र ल्याउनुपर्छ भनेर पार्टीभित्र बहस नै चलायो । संगसंगै वामपन्थीहरू पनि के गरिराखेको छ के गरिराखेको छ नि ! भित्रभित्रै त्यसैलाई सपोर्ट गरिरहेको छ कि ? बा राजतन्त्र नै ठीक भन्ने लागेको छ कि ? राजतन्त्र हुँदा त आदिवासीको नाममा उफ्रिने, मधेशीको नाममा उठने, दलितको नाममा उठ्ने ? भयो बरु राजतन्त्र नै ठीक हो भन्ने कता कता हाम्रो वामपन्थी नेताहरूलाई लागेको छ कि ?

तपाइँ नेकपाकै नेता हुनुहुन्छ । अब कतै हो कि ? भन्नेतर्फतिर भन्दापनि यो कुरोको चुरोसम्म जाने प्रयास गर्नुभएको छ कि छैन ?
त्यसको समय आउँछ । अहिले समय आएको छैन । कांग्रेसले त सक्कली रूप देखाइहाल्यो । राजतन्त्रमा वहस गर्न सुरु गरिसक्यो । हिन्दु अधिराज्यको वहस गर्न सुरु गरिसक्यो । अरु साना पार्टीहरूले हिजैदेखि खुल्लम खुल्ला भन्दै आइरहेका छन् । हुँदाहुँदा बाँकी रहेका अरु दलका नेताहरूमा पनि कताकता राजतन्त्र नै फिर्ता भएपनि नभएपनि संघात्मक व्यवस्था गलत हो, पहिचानका मुद्दा गलत हो भन्ने कुरामा त वामपन्थी नेताहरू पनि पुगेका छन् । त्यो गलतै हो ।

आदिवासी जनजाति प्रधानमन्त्री हुने दिन आउला कि नआउला ?
आउँदै आउदैन भन्ने त हैन आउला । त्यसैको लागि आदिवासी जनजातिहरू लडिराखेका छन् । आदिवासी जनजाति प्रधानमन्त्री बन्न सक्षम आदिवासी जनजाति नेताहरू धेरै हुनुन्छ । हामीले अघि सार्नुपर्दा सुवास नेम्वाङ, वर्षमान पुन, राम बहादुर थापा, विजय कुमार गच्छादर हुनुहुन्छ । यी सबै प्रधानमन्त्री बन्नैपर्ने इमान्दार र सबै जातिले मानेको नेताहरू हुन् । आजसम्म कुनै दाग नलागेका नेताहरू हुन् । बन्न सक्छन् तर पाटीभित्रको चलखेल हेर्दा यी नेताहरू प्रधानमन्त्री बन्नु चुनौतिको कुरा छ ।

पार्टीहरूमा गुटफुटको चरण चलिरहन्छ, नेकपामा त्यस्तो त हुन्न ?
पाटी फुट्नु र जोडिनु त निरन्तर प्रक्रिया हो । एउटा मुद्दामा पुगिसकेपछि फुट्छ फेरि अर्को मुद्दामा आएपछि जुट्छ । यो त निरन्तर प्रक्रिया हो नि थानमा राखेको देउताको मुर्तिजस्तो हैन नि जहाँ राख्यो त्यहाँ बसिरहने ? भोली एउटा कुरा मनपर्दैन र फुट्न सक्छ तर जो जहाँ भएपनि देश र जनताको लागि काम गर्छ कि गर्दैन भन्ने मात्रै हो ।

यहाँको थलो ताप्लेजुङ । भर्खरै ताप्लेजुङ सरोकार समाज स्थापना भयो, यसमा यहाँको सक्रिय भूमिका देखियो, ताप्लेजुङ सरोकार केन्द्र पहिले नै थियो, जिल्लागत संस्थामा पनि फुट आएको त होइन ?
ताप्लेजुङ सरोकार समाज भर्खरै बनेको छ । ताप्लेजुङका केहि सामाजिक अभियन्ताहरू मिलेर सरोकार समाज बनाउनुभयो । म त त्यसमा आवद्ध त छुइन तर बनाउने प्रक्रियामा चाहिँ म पनि सम्वद्ध थिएँ । मूलरूपमा सरोकार समाजले ५ ओटा काम अगाडी सारेको छ त्यो मलाई चित्त बुझ्यो र बनाउने काममा सहभागी भएँ । काठमाण्डौमा ताप्लुजुङेहरूका लागि ताप्लेजुङ भवन निर्माण गरौँ भनेर वहाँहरू लाग्नुभयो, अर्को कुरा ताप्लुजुङे विद्यार्थीहरूको लागि छात्रवृद्धिहरू जुटाइदिने, प्रदान गर्ने संघसंस्थाहरू, राजनीति विभिन्न निकायहरूसँग समन्वय गरी शिक्षा क्षेत्रमा एउटा छात्रावृद्धिजस्तो कोष बनाउँ भन्याछन् त्यो कुराले मेरो मन छोयो । अर्को कुरा ताप्लेजुङ भौगोलिक रूपले अलि जोखिमयुक्त क्षेत्र हो जहिले पनि दैवीप्रकोप र विपत्तिहरू आइपरिरहन्छ ती दैवी प्रकोपबाट हुने विपत्तिबाट जोगाउनका लागि उद्धारका लागि एउटा अक्षयकोस निर्माण गरौँ एउटा टीम बनाउँ भन्नुभो त्यसले मेरो मन छोयो । ताप्लेजुङमा विभिन्न व्यापारी पर्सनालिटिहरू छन्, लगानीकर्ताहरू छन् ती सबै लगानीकर्ताहरूलाई एकजुट बनाएर ताप्लेजुङेहरूको लगानी समुह बनाउँ भन्ने थियो त्यसले मेरो मन छोयो । अन्य विभिन्न सामाजिक गतिविधिहरू पनि गर्ने भनेर यी ५ वटा कुराहरू अगाडी सारेपछि मेरो मन छोयो र जसले गर्छु भन्छ उसलाई सहयोग गर्नुपर्छ भनेर ताप्लेजुङ सरोकार समाज बनाउने साथीहरूलाई मैले पूर्ण रूपमा सहयोग गरेँ । हिजोपनि ताप्लेजुङ सरोकार केन्द्र बनाउँदा पनि मैले त्यसरी नै सहयोग गरेको थिएँ । किनभने जसले राम्रो काम गर्छु भन्छ ती सबैलाई सहयोग गर्नुपर्छ आफू रहेपनि नरहे पनि सहयोग गर्नुपर्छ भन्ने मेरो सिद्धान्त अनुरूप सहयोग गरे । हिजो पनि ताप्लेजुङ सरोकार केन्द्र बनाउँदा पनि मैले सहयोग गरेको थिएँ । किनभने राम्रो काम गर्छु भन्नेलाई सहयोग गर्नुपर्छ । किनकी यो ताप्लेजुङको हितमा पनि छ ।

संस्था फुटेको बजारमा हल्ला छ र यहाँको सक्रियता देख्दा फुट्नुमा तपाइँकै हात छ भन्छन् नि त ?
त्यो चाहिँ साँघरो मानसिकताको उपज हो । जे काम पनि मैले नै गर्नुपर्छ म बाहेक अरुले गर्नु हुँदैन भन्ने सानो चिन्तन राख्छ त्यस्तो मान्छेले यस्तो कुरा गर्छ । हैन राम्रो काम सबैले गर्नुपर्छ । जसले गर्छ त्यसलाई सहयोग गर्नुपर्छ भन्ने खल्ला हृदय भएकोले त्यस्तो गर्दैन । प्रतिस्पर्धा गर्न डराउने अनि अरुले राम्रो काम गरेको देख्न नसक्ने,आफूले राम्रो कम गर्न नसक्ने अरुले गरेको रिस गर्ने चिन्तन भएको मान्छेले त्यस्तो आरोप लगाउँछ खुल्ला हृदय भएकोले हैन । आफूले गर्न सक्तैन अनि अरुले गरेको देख्दापनि डरलाग्छ रिसउठ्छ त्यस्तैले हो फुटायो भन्ने आरोप लगाउँने । भोली ताप्लेजुङ परिषद् भन्दा फरक काम गर्छु भनेर अकोै संस्था जन्मियो भने फुटायो कसरी भन्ने ? हिजो कन्चनजंघा विकास परिषद् थियो अनि ताप्लेजुङ समाज आयो त्यसपछि ताप्लेजुङ सरोकार केन्द्र आयो यी सबै हुँदा फुटेको नलाग्ने अहिले सरोकार समाज आउँदा चाहिँ फुटेको आरोप लाग्ने त्यो त गलत कुरा हो । तर त्यसो भन्ने मुर्खहरू ताप्लेजुङमा छ जस्तो लाग्दैन तर यदि कसैले यदि भनेको रैछ भने अर्काले गरिखाको देख्न नसक्नेहरू र प्रतिस्पर्धासँग डराउनेहरूले भनेका हुन् तर त्यस्तो मुर्ख छन् जस्तो लाग्दैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

हाँस्ने नारीहरू वेश्या लेख्ने भानुभक्त कसरी आदिकवि ?

अहिले के गर्दै हुनुहुन्छ ? अहिले हामी संविधानलाई संसोधन गरेर हाम्रो आदिवासी जनजातिको पहिचान...

स्कुल, विद्यार्थी र अभिभावक शिक्षाका ओदान – शरण कुमार लिम्बु

केही पढेपछि कोही विदेश जाने सोचमा थिए, कोही लाहुरे हुने अनि कोही चाहीँ पढेर...

मुन्धुम निर्देशित कथा कविता आख्यान पनि साहित्य हो- प्रदिप मेन्याङ्बो मुन्धुम कवि

पछिल्लो पल्ट नेपाली साहित्यमा मुन्धुम कविताको चिन्तन सहित नौलो स्वाद पस्कने कवि हुन् प्रदिप...

कविताका लागि कला आवश्यक हुन्छ -बद्री भिखारी

नेपाली साहित्याकाशमा निरन्तर रुपमा सक्रिय रहदै आएका इटहरीका कवि बद्री भिखारीको कविता संग्रह समुद्र...