Advertisement

समाजको बन्धन तोडेर आफ्नोे पहिचान खोज्ने महिलाहरू एकदम कम छन्

नेपाली साहित्यमा एक सक्रिय नारी हस्ताक्षरको.नाम हो तिला लेकाली । मोफसलको मोरङको बेलबारीमा रहेर निरन्तर साहित्य साधनामा रहेर कलम चलाईरहेकी तिला लेकाली पछिल्लो समय एकल श्रृजनाको निम्ति व्यस्त छिन् । यही सेरोफेरोमा रहेर उनीसँग नया अनलाईनले गरेको कुराकानीको अंश ।

हिजोआज के गर्दै हुनुहुन्छ ?
म आजकाल नियमित कार्यमा नै ब्यस्त छु । कलेज जाने, घरका काम घसस्थाका बैठक, कार्यक्रम, लेखन यस्तै ।

पछिल्लोपल्ट सिर्जना वाचनमा निक्कै व्यस्त हुनुहुन्छ, यसो हुँदा के हुदो रैछ, के हुँदैन रहेछ ?
हजुर, के हुदैन भन्दा पनि धेरै हुन्छ चाहिं । एउटा श्रस्टा लेखेर मात्र सन्तुष्ट हुदैन । श्रष्टाका लागि त्यो भन्दा रचनाको प्रकाशन र वाचन अझ महत्त्वपूर्ण हुन्छ । रचना प्रकाशन गर्न नसक्नेहरूका लागि यस्तो रचना वाचनको कार्यक्रमबाट रचनाकारले आफ्ना आवाजहरू दर्शक, स्रोतासम्म पुर्याउन सक्ने हुँदा यो अझ महत्वपूर्ण हुन्छ । त्यसमा पनि ओझेलमा परेका श्रस्टाहरूका लागि त झन् यस्ता रचना वाचन कार्यक्रमले कोशेढुंगाको काम गर्दछन् ।

तपाईं प्राय सबै विधामा कलम चलाउनु हुन्छ, ठ्याक्कै तपाईंलाई कुन विधाका भनेर चिन्ने ?
हजुर, मैले लेखन कार्य कबिताबाट सुरु गरेको हो । कविता लेख्न निक्कै अध्ययन, परिश्रम, समय चाहिन्छ । तर जुन बेला मैले लेखन कार्य सुरु गरें, त्यो बेला मेरो समय पटक्कै थिएन । आफुलाई लेख्ने रुचि तर लामा र गहिरा बिधाका लागि समय नभईरहेको बेला साहित्यकारहरू ईरान राई र मिश्र बैजयन्तीका हाइकु संग्रह पढ्ने अवसर मिल्यो । छोटो, छिटो, मिठो र शसक्त बिधा लाग्यो । जसले भोकलाई खिरको काम गर्यो । र मैले हाइकु लेख्न सुरु गरे । हुन त त्यसै बेलादेखि मैले कबिता, गजल पनि लेख्ने गर्थे । तर थोरै मात्रामा । पुस्तक प्रकाशन गर्न नपुग्ने । तर हाइकुका लागि समस्या भएन । पुस्तकको कच्चापदार्थ पुग्ने भयो । त्यसैले हाइकुको पुस्तक पहिला प्रकाशन गरे । त्यसपछि मात्र गजल प्रकाशन गरेको हो । निकै पहिलेदेखिका कविता पनि एउटा पुस्तकका लागि पुग्ने छन् । गजल पुस्तकका लागि पनि रचना पुग्ने छन् । मलाई गजल बिधाबाट नै बढी चिन्नु हुन्छ र चिन्नुहोस भन्ने पनि लाग्छ ।

एउटा नारी हस्ताक्षर भएर नेपाली साहित्यमा स्थापित हुन कत्तिको कठिनाइ छ ?
उत्तर. साहित्य लेखन बौद्धिक कार्य हो । यस कार्यका लागि सर्बप्रथम कसैले पनि कर्तव्य, आधिकार, जिम्मेवारि, समाज, देशआदि बुझ्नुपर्छ । देखेका, सुनेका, भोगेका कुराहरू निर्धक्क लेख्न सक्ने हिम्मत हुन पर्छ । समाज लेख्दै सुधारका उपाय खोज्नु पर्छ । सामान्यत यी क्षमता कुनै श्रस्टामा आबश्यक पर्छ । स्वभावैले यी सबै आधारभूत कुरा प्राप्त गर्नमा पुरुषको तुलनामा महिलाको अवस्था कम्जोर छ, भन्ने लाग्छ । किनकी शैक्षिक र आर्थिक रूपमा नेपाली महिलाको अवस्था अझै पनि दयनीय छ । देश दुनियाँमा पहुच कम छ । जतिसुकै सभ्य परिवार भए पनि घरायसी काम महिलाकै पेवा छ अझै । केहि सहयोगि पुरुष हुनुहोला, तर समाजले कुरा काट्छ नै । वहाँहरू एक त समाज बिरुद्ध जाने आँट गर्न सक्नुहुन्न । फेरि परापूर्व कालबाट खाइपाइ आएका सुबिधा छोड्न पनि सक्नुहुन्न ।
फेरि हिजोआज महिलाहरू संघसस्थाहरूमा पनि काम गर्न थालेका छन् । संघसंस्था, घर व्यबहार, छोराछोरी, बृद्धबृद्धाको स्याहार आदिको दायित्व बहन गर्दै अघि बढ्नुपर्ने बाध्यता छ । त्यो गर्न नसके घर बिग्रन्छ । घर बिगारेर आफ्नो पहिचान खोज्ने महिला एकदमै कम छन् । यस्ता दायित्वले महिलाको ब्यक्तिगत विकासमा पुरै अबरोध गरेको छ । लेखिहाले पनि पुस्तक प्रकाशन गर्न उनीहरूसँग पैसा खोइ? प्रकशन गरिहाले पनि यो प्रतिस्पर्धाको युगमा , उनी पढिन्छिन् होला र ?
साहित्य लेखनमा लाग्नु नितान्त उनको ब्यक्तिगत कार्य हो भन्ने पारिवारिक धारणा छ । अझै अन्धविश्वासमै जकडिएको हाम्रो समाजका तमाम समस्याहरू र पारिवारिक दायित्व बहन गर्नु मेरो लागि पनि के सजिलो होला र, होइन ?

वाद र धारप्रति तिला लेकालीको धारणा के छ ?
उत्तर. जहाँसम्म वादको कुरो छ, ब्रह्माण्डका हरेक वस्तुहरूप्रति हेर्ने दृष्टिकोण नै वाद हो । यो मानव उत्पतिकालदेखि नै सुरु हुँदै आएको हो । विभिन्न समयमा मानिसले हरेक कुरालाइ हेर्ने आफ्नो दृष्टिकोण बनाउदै आएबाट विभिन्न वादको विकास हुँदै आएको हो । प्राचीन कालमा आदर्शवादको बाहुल्यता थियो । हरेक क्षेत्रका शाश्वत सत्य पत्ता लागाउन आदर्शवादको अहम भुमिका थियो । तर १४ औं शताब्दीतिर यस वादले मानवता माथि शोषण गरेबाट प्रकृतिवाद, यथार्थवाद, प्रयोजनवाद, निरपेक्षवाद, अदैतावाद भौतिकवाद जस्ता अन्य थुप्रै वादहरूको जन्म भएको हो । समय र समाज परिवर्तन हुँदै जाने क्रममा मानिसका बिचारमा पनि बिबिधता हुँदै गएको पाइन्छ । विभिन्न बस्तु, समस्या, घटना आदि लाई हेर्ने दृस्टिकोण फरक हुन्छ नै । लेख्ने विषय वस्तुलाई कसरी हेर्छ, लेखकको आफ्नो ब्यतिगत कुरो हो ।
जो जसले मलाई जसरी हेर्नू भए पनि म नितान्त मानवतावादी मान्छे हु,लेखक हु।म पीडितहरूको लागि लेख्छु। पीडिक बिरुद्धमा लेख्छु । अन्याय, अत्याचार, शोषण, बिकृति, बिसङगति बिरुद्धमा लेख्छु । कपोकल्पित लेख्न मलाई आउदैन। यति भनेपछि सायद मेरो वाद र धार प्रतिको धारणा स्पष्ट पारे कि?

अबको साहित्य सिर्जना कस्तो हुनुपर्छ ?
लेखन कार्य समाजको लागि हो भन्छु म । समाजको स्वरूप हेरेर रचना गर्नु पर्छ भन्ने धेरै जना महानुभावको जस्तै धारणा छ मेरो पनि । पीडित पक्षका लागि लेखिनु पर्छ भन्ने स्कुलिङबाट विकसित भएर होला सायद सामाजिक विभेद, वर्गीय समाज, जातीय विभेद जस्ता बिषयवस्तुले ज्यादै छुन्छ । राणा काल, पन्चायत काल पार गर्दै गणतन्त्रको पहारिलो घाम ताप्ने अपेक्षासहित आजको अवस्थामा आइपुगेका हौं हामी । तर आज झन् भ्रष्टाचारले सगरमाथा छोएको छ । बलात्कार झन् मौलाउदो छ । महङ्गिले जनताको ढाड सेकाउने क्रम झन चुलिदोछ । दुर्घटना बढ्दोछ । सिटामोल खान नपाएर मर्नेको संख्या घटनुको सट्टा बढ्दो छ । शैक्षिक वेरोजगारी झन् चुलिदोछ । युवा विदेशिने लर्को घटेको छैन । देश बृद्धाश्रम बनेकोछ । मान्छे मर्दा मलामी पाइदैन । बालबालिकाको बिचल्ली छ । यस्ता सयौं समस्या छ देशमा । यी तमाम समस्या हल गर्ने जिम्मा सरकार र राजनीतिक दलहरूको हो । तर दलहरू सरकारमा गएपछि अब म सधैँ सरकारमा बस्छु, पेन्सन पकाउँछु, आजीवन मेरो पेशा हो भनेझै गर्छन् । फेरि प्रतिपक्षीहरू सरकारले राम्रै काम गरेपनि बिरोधका लागि बिरोधको राजनीति गर्न बानी परेका छन् । यी दुबै पक्षलाई आ–आफ्नो जिम्मेवारी बहन गराउने प्रयासका रचनाहरूको खाँचो छ । त्यसैगरि दोस्रो जन आन्दोलन पछि देशमा आफ्नो पहिचानका मुद्दा उठाएर रचना लेखन तिब्र रूपमा अघि सारिएको छ । यो सुन्दर पक्ष हो । जातीयता, क्षेत्रीयता आदिका आधारमा आफ्नो पहिचान जोगाउनु आ आफ्नो जिम्मेवारी पनि हो । राष्ट्रकै पहिचान जोगिने हो । तर देश टुक्रिने गरी, सिङ्गो देशको पहिचान गुम्ने खालका अभिव्यक्ति पनि नसुनिएका होइनन् । भाइ फुटे गभार लुटे भनेझैं यस्तो घडीमा एउटा श्रष्टाले राष्ट्रिय एकता कायम गर्ने खालका रचना लेख्नु पर्छ भन्ने मेरो मान्यता हो ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
हजुर, मैले अघि नै भनी सके । एउटा कबिता र एउटा गजल पुग्ने रचना छन् । केही मुक्तक, बालगजल हरू पनि छन् । हेरौ आर्थिक चाँजोपाजो मिलाउन सकियो भने धेरै अघिदेखिका कविता छन् । प्रकाशन गर्न सकिन्छ कि !

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

हाँस्ने नारीहरू वेश्या लेख्ने भानुभक्त कसरी आदिकवि ?

अहिले के गर्दै हुनुहुन्छ ? अहिले हामी संविधानलाई संसोधन गरेर हाम्रो आदिवासी जनजातिको पहिचान...

स्कुल, विद्यार्थी र अभिभावक शिक्षाका ओदान – शरण कुमार लिम्बु

केही पढेपछि कोही विदेश जाने सोचमा थिए, कोही लाहुरे हुने अनि कोही चाहीँ पढेर...

मुन्धुम निर्देशित कथा कविता आख्यान पनि साहित्य हो- प्रदिप मेन्याङ्बो मुन्धुम कवि

पछिल्लो पल्ट नेपाली साहित्यमा मुन्धुम कविताको चिन्तन सहित नौलो स्वाद पस्कने कवि हुन् प्रदिप...

कविताका लागि कला आवश्यक हुन्छ -बद्री भिखारी

नेपाली साहित्याकाशमा निरन्तर रुपमा सक्रिय रहदै आएका इटहरीका कवि बद्री भिखारीको कविता संग्रह समुद्र...