Advertisement

सैन्य अनुभव र परदेशी जीवनको पीडा संघुलन देश बिर्सेर

पूर्ण इन्फादा

पछिल्लो चरणमा प्रवासमा बसेर नेपाली साहित्य सिर्जना गर्नेहरूको जमात दिन प्रतिदिन बढ्दो छ । यदि प्रवासमा बसेर लेखिएको साहित्यलाई नेपाली साहित्यबाट अलग गर्ने हो भने नेपाली साहित्य अपाङ्ग नै बन्दछ । बेलायती गोर्खा रेजिमेन्ट (लाहुरे) हरूले बचेको समयलाई साहित्यिक सिर्जनात्मक काममा मात्र लगाएका छैनन्; बरू नेपाली साहित्यमा नयाँ नयाँ विचार, अवधारणा र सिद्धान्तको समेत अन्वेषण गरिरहेका छन् । कुनै समय बेलायतीबाट मात्र होइन नेपालीहरूबाटै उपेक्षित बन्न पुगेका लाहुरेहरूले अहिले आफ्नो साहित्यिक प्रतिभा र बौद्धिक क्षमताका माध्यमबाट निर्मम झापट हानिरहेका छन् ती विगतका उपेक्षाहरूलाई । यही सेरोफेरोका नरेश नाति माङपाहाङ (वि.सं.२०३६) त्यस्ता प्रतिभा हुन् जसले सङ्गीत संयोजन, गायन र वाद्यवादनमा समेत बलियो दखल राख्छन् । अनि साहित्यमा त यसभन्दा पहिले नै गीत र मुक्तक विधाका तीन ओटा कृति प्रकाशित गरिससकेका छन् भने भर्खरै मात्र देश बिर्सेर (कथासङ्ग्रह– २०७५) साहित्यिक बजारमा लिएर आएका छन् ।

उनको यस देश बिर्सेर कथासङ्ग्रहभित्र विभिन्न विषयवस्तुमा लेखिएका बाह्र ओटा कथाहरू छन् । कथाकार नरेशले कथाकृतिको पहिलो कथा ‘युद्ध’ मा युद्धको दुन्दुभीले पारेको नकारात्मक प्रभावलाई देखाएका छन् । युद्धले निर्दोष र दोषी छुट्याउन नसक्ने, मानिस मानिस बीचमा द्वन्द्व मात्रै बढाउने त छँदै छ; युद्धमा प्रत्यक्ष संलग्न सैनिक परिवार युद्धको सिकार बन्दछ भन्ने सत्यलाई देखाउनुुका साथै अफगानिस्तानको युद्धले थुप्रै बेलायती गोर्खा रेजिमेन्टका परिवारको बिजोग भएको अवस्थालाई पनि देखाएको छ । यही सन्दर्भमा कथाकारले गम्भीर प्रश्न उठाएका छन्– ‘यो लडाइँ हामीले लड्यौँ । कसका लागि लड्यौँ ? केका लागि लड्यौँ ? लडाइँबाट के पायौँ ? आखिरी केको निम्ति लड्दै छौँ ?

कसले लड्न पठायो ? किन पठायो ?’ जस्ता प्रश्नहरू उठाएर कथाकारले मान्छेको योगदानको कदर नहुने, जसका लागि लड्दा घरपरिवार चिहिलबिहिल भयो; त्यस्तो कठिन अवस्थामा सहानुभूतिसमेत नपाउनुलाई बिडम्बनाका रूपमा लिएका छन् । यस्तै ‘माङपाहाङ जेठा’ कथामा कथाकारले बेलायती गोर्खा रेजिमेन्टमा भर्ती भएपछि तालिम दिने गुरुजीहरूले गर्ने क्रूर र निर्मम व्यवहारलाई देखाइएको छ । त्यो तालिम शिविर नभएर यातना शिविर जस्तो भएको संस्मरणात्मक अनुभूति यस कथामा देखाइएको छ । बेलायती सेनामा भर्ती भएपछि आर्थिक रूपान्तरण हुने, धेरै पैसा कमाइने अनेक सपनाको भारी बोकेर नेपालीहरू बेलायती सेनामा जान विवश यथार्थलाई कथाकारले देखाएका छन् । माङपाहाङ जेठा पात्रका माध्यमबाट कतिपयले त बेलायती सेनामा भर्ना हुनका लागि घुससमेत खवाएको कुरालाई यस कथाका माध्यमबाट उजागर गर्ने काम गरेका छन् ।

कथाकार नरेश नातिले ‘नरम चाना भुत्ले साग’ कथामा निबन्धात्मक शैलीमा युद्धको संस्मरणलाई प्रस्तुत गरेका छन् । एकातिर लाहुरबाट आएको मान्छे भनेपछि गाउँका मान्छेमा धेरै पैसा हुन्छ भन्ने धारणा हुने र उनीहरूलाई धेरै पैसा तिराउँदा खुसी हुने प्रचलन अझै पनि रहेको कुरा देखाएका छन् भने अर्कोतिर युद्धमा लाहुरेहरूले भोगेका कुरालाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरेका छन् । यस्तै ‘बाँसको भ¥याङ’ कथामा कथाकार नरेशले चूडामणि पात्रलाई पुरातन सोच भएको पात्रका रूपमा प्रस्तुत गरेका छन् तर उनका छोराछोरीले भने जानअनजान जुन रूपमा भए पनि अन्तर जातीय विवाह गरेका छन् । यस कथामा उनले सामाजिक सद्भाव र प्रेमलाई देखाउने प्रयास गरे जस्तो लाग्छ । थेवाले सेतेलाई गरेको अभिभावकीय व्यवहार सबैले गाउँमा गर्ने हो भने समाजमा कुनै किसिमका द्वेष नहुने सन्देश पनि यस कथामा दिएका छन्; उनले । ‘स्मृति’ कथामा गरिबीको कारणले बिरामीको उपचार गर्न नसकेको चूडान्त उदाहरण प्रस्तुत गरेका छन् । ‘देश बिर्सेर’ कथामा बेलायतमा गएका गोर्खाहरूको दारुण अवस्था र तिनको नेपालप्रतिको नोस्टाल्जियालाई देखाएका छन् कथाकारले । निबन्धात्मक शैलीमा लेखिएको ‘अफगानिस्तान’ कथामा एकातिर अफगानी महिला माथिको धार्मिक उत्पीडनलाई देखाएका छन् भने अर्कोतिर वर्षौदेखि युद्धले छियाछिया पारेर दिन प्रतिदिन त्यहाँको जनजीवन झन् झन् कारुणिक बन्दै गएको तथ्यलाई देखाएका छन्; कथाकार नरेशले । यति मात्रै होइन, उनले यहाँ आफैमा मरुभूमि जस्तो अफगानिस्तान महिलाका लागि त अफगानी संस्कृति मरुभूमि जस्तै बनेको कुरा देखाउनुका साथै आफ्नो सैन्य अनुभवलाई पनि अभिव्यक्त गरेका छन्; उनले यस कथामा ।

‘रामलेपा’ कथामा भने कथाकारले नेपालको वर्तमान समयको ग्रामीण जनजीवनलाई प्रस्तुत गर्नुका साथै गाउँले परिवेशको स्वस्थ माया प्रेमलाई देखाएका छन् । यस कथामा गाउँले पुरानो वैवाहिक संस्कृतिका साथै छोराछोरी वृद्ध आमाबाबुलाई घर छोडी परदेशिनुपर्ने बाध्यता र आमाबाबुचाहिँ बुढिएर एक्लिँदै जानुपर्ने बाध्यताको पराकाष्ठालाई कथाकारले यस कथामा नग्न सत्यका रूपमा प्रस्तुत गरेका छन् । अर्को ‘इकमान’ कथामा भने उनले नेपाली र बेलायती संस्कृतिका बीचको भिन्नतालाई देखाएका छन् । ‘इन्टरनेट’ कथामा भने नरेशले समाजमा बढ्दै गएको विकृतिलाई देखाएका छन् । पैसा र यौन तृप्तिका जस्तोसुकै अनैतिक कार्य पनि गर्न पछि नपर्ने जमात बढ्दै गएको कुरा देखाएका छन्; कथाकार नरेश नातिले । ‘निस्साासएको एकपल’ कथामा नेपालको स्वास्थ्य क्षेत्रमा रहेको बेथिति र असंवेदनशीलतालाई देखाएका छन् भने ‘त्यो प्रेम’ कथामा टिन एजको प्रेमलाई देखाएका छन् । आफूले एकतर्फी रूपमा मन पराएकी केटीलाई प्रेम प्रस्ताव राख्न नसकेको वियोगान्त क्षणलाई प्रस्तुत गरेका छन्; कथाकार नरेशले कथामा ।

कथाकार नरेश नातिले देश बिर्सेर कथासङ्ग्रहका कथामा कतै देशको दुर्दशाको तीतो सत्यलाई पस्किएका छन् भने कतै आफूले प्रवासीको परेका कठिनभन्दा कठिन जीवन भोगाइको अनुभूतिलाई उजागर गर्ने जमर्को गरेका छन् । उनले कथाका माध्यमबाट सांस्कृतिक, सामाजिक विगोगको पीडालाई असरल्ल देखाएका छन् कथामा । यति मात्रै होइन; उनले कथाका माध्यमबाटै खस्किँदै र लोप हुँदै गएको आफ्नो सांस्कृतिक पहिचानको खोजी पनि गरेका छन् । बेलायती गोर्खा रेजिमेन्टलाई जसरी नेपाली आँखाले सहज रूपमा पैसा कमाउने माध्यमका रूपमा हेर्ने गरेको छ; त्यो त्यति सजिलो र सहज विषय नभई अत्यन्तै कठिन छ भन्ने यथार्थलाई देखाएका छन् कथामा । युद्धभूमिको त्रासद अनुभूति र आफ्नो सांस्कृतिक सभ्यताको पहिचानको खोजी उनका कथाहरूको मूल ध्येय हो । कथाकार नरेश नातिको देश बिर्सेर कथासङ्ग्रह भित्रका कथा नयाँ विषयवस्तुमा समेटिएका छन् । उनको यो कथासङ्ग्रहका कथाले नबोली नबोलीकनै युद्धसाहित्यलाई समेत अझ समृद्ध बनाउने उत्कट धोको बोकेका छन् भन्दा कुनै अतिशयोक्तिको अनुभव गर्नु पर्दैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

भुकम्प सम्झना

यूरोप जाने चक्करमा काठमाडौका कन्सल्टेन्सिहरुमा तारिख खेप्दै थिएँ। स्कुलको बार्षिक परिक्षा सकेपछीको छुट्टि थियो।...

महिलाहरुका लागि पत्रकारिता पेशामा चुनौती र अवसर

काठमाण्डौ, जब २०६२–६३ को जनआन्दोलन पश्चात देशमा शान्ती सुव्यवस्था कायम रहयो । त्यसपश्चात विभिन्न...

लेखन यात्रामा म दुखेको त्यो दिन

म सानैदेखि टुटेफुटे के के लेखि टोपल्ने मान्छे । तर के लेख्थें, के हुन्थ्यो...

कराते नै मेरो जिन्दगी हो -योगेन्द्र कोइराला

सुनाखरी मगर/मलेसिया मलेसियामा नचिन्ने सायदै होलान् योगेन्द्र कोइराला। हेर्दा सानो, कद,कसिलो ज्यान पत्याउनै गार्‍हो...