Advertisement

औंलामा गन्न सकिने नारी लेखकहरू उत्पादन हुनु पनि गर्वको कुरा हो – रेखा सुवेदी

नेपाली साहित्यमा नारी लेखकहरूको उपस्थिति कम छ । उनीहरूको आ–आफ्नै व्यथा छन् । तर कतिपय नारीहरू भने ति कथा, व्यथाहरू छिचोलेर साहित्य सिर्जनामा निरन्तर लागिरहने नारी साहित्यकारहरू पनि छन् । त्यस कित्ताका नारीहरू मोरङको बेलबारीमा प्रशस्तै छन् । एक हिसाबले भन्नुपर्दा नेपाली साहित्यमा नारीको उष्पस्थितिलाई बेलबारीले धानेको छ भन्दा पनि फरक नपर्ला । उनीहरू मध्ये एक हन् कवि रेखा सुवेदी । उनै रेखा सुवेदीसँग नयाँ अनलाइनले गरेको कुराकानीको यो अंश ।

हिजो आज के गर्दैहुनुहुन्छ ?

खै ! के गर्दैछु भनूँ र ! घरगृह सञ्चालन । शैक्षिक संस्था सञ्चालन । अनि सहित्यको पाठशाला धाउने काम । यस्तैयस्तै सामान्य दैनन्दिनमा बितिरहेकी छु ।

लेखन कसरी अघि बढ्दैछ ?

योजनामा बाँधिन सकेकी छुइन । योजनाविहीन चलिरहेकी छु । समय बिताउने काम मात्र भैरहेको छ भन्ने लाग्छ ।

नेपाली समाजमा नारी समाजको उपस्थिति अलिक कम हो ?
नेपाली समाजमा पुरुष लेखकको तुलनामा लेखिकाको उपस्थिति न्यून हो । स्वीकार्नै पर्छ । शुभारम्भकालमा संस्कृत साहित्यबाट प्रेरित भएको नेपाली साहित्यमा पुरुष लेखकहरूकै वर्चस्व पछिसम्म रह्यो । पुरुष लेखकको पुस्तौको ईतिहास छ तर नारी भर्खर अर्थात् बीसऔँ शताव्दीको अन्त्यतिर मात्र लेखिकाको रूपमा दरिन सकी ।कारणहरू धेरै छन् । पहिलो कुरा त औपचारिक या अनौपचारिक रूपमा नारीहरू लेखपढबाट युगौँ वञ्चित हुनुपर्याे । यसको असर नै हो मुख्य रूपले । ७ सालको प्रजातन्त्रपछि घरानीयाँ र शहरबजारका केही नारी मात्र विद्यालयको छत्रछायामा प्रवेश गर्न सके, अक्षर चिन्न सके । आज पनि शिक्षाबाट नारीहरू कुनाकन्दरामा वञ्चित हुनुपरेकै छ । यसरी सम्पूर्ण नारीहरूको पँहुचमा शिक्षा नहुनुका कारणहरू पारिवारिक अचेतना, आर्थिक दुरावस्था, राजनैतिक असहभागिता, पुरातन सोंच, अन्धविश्वास, कुरिति, कुसंस्कार आदि हुन् । एक त अक्षर नै ढिलो चिनी, अर्काे अनेक समस्याबाट प्रताडित भई । पहिचान हराएको अवश्थामा रही । पराश्रित भई । अहिले पनि नारीका जीवनमा यिनै पीडाहरू ताजा छन् अनि कसरी प्रशस्त रूपमा लेखिका बन्न सक्ने हैसियतमा हुन्छे त नारी ? ऊ त पुरुष र परिवारको असल र इमानदार नोकर हुन सकी । ती धेरै बन्धन नचुटाइ कसरी लेखिका बन्न सक्छे ? राज्यले शिक्षा क्षेत्रको तल्लो तहमा नारीहरूलाई प्रोत्साहन गरेको छ । उच्च शिक्षाका लागि पनि प्रशस्त अवसर प्रदान गर्नु पर्याे । प्राज्ञिक नारीहरू उत्पादन गर्न अवसरहरू योजनाबद्धरूपमा प्रदान गर्नु पर्याे । साहित्यमा पनि महिलाहरूको लागि यसरी नै कार्यक्रम अघि सार्नु पर्याे । के यो विषयमा संङ्घीय, प्रदेश तथा स्थानीय सरकारले केही योजना ल्याएको पाउनु भएको छ ? देशमा कस्तो जनशक्ति चाहिन्छ, यो राज्यले सोच्ने विषय हो । के यो देशमा डाक्टर, इन्जिनियरको मात्र खाँचो छ ? यिनै मात्र उत्पादन गरे पुग्छ? सबै किसिमको जनशक्ति बराबर उत्पादन गर्ने दायित्व कसको हो ? महिला लेखिकाहरू थोरै भए भन्ने प्रश्न आफैमा सर्मको विषय बनोस् ।
आजसम्म आइपुग्दा जति नारी हस्ताक्षर उत्पादन हुनु भएको छ, यो उहाँहरूको वैयक्तिक प्रयत्नले हो भन्छु म । यसमा उहाँहरूको सङ्घर्षका व्यथाहरू छन् । चुनौतिका कथाहरू छन् । हरेक चुनौति सामना गरिरहेकी नारी आज औँलामा गनिने गरी लेखिका बन्न सक्नु पनि गर्वको विषय हो । प्रशंसायोग्य कर्म हो । भविष्यमा नारी हस्ताक्षर बढ्ने छन्, यो सत्य भएर आउने छ।

नारी लेखक होलटाइमार लेखक हुन कत्तिको सम्भव छ ?
मैले माथि नै भनिसकेँ लेखिकाहरूको दयनीय अवस्था । अब रह्यो होलटाइमर लेखिका बन्न । नारी हस्ताक्षरबाट नेपाली साहित्यमा गन्न सकिने मात्र पुस्तक लेखिए पनि गहन पुस्तकहरू लेखिएका देखिन्छन् । पढौँ त, मदन पुरस्कार विजेता पारिजातका कृतिहरूदेखि निलम कार्की निहारिकासम्म । के कुन्ता शर्माको एउटै कविता “भाले बास्ने बिहान” मेचीदेखि कालीसम्म बिकेको होइन ? उहाँलाई साहित्यले होलटायमर नै बनायो । जीवनमा आजसम्म उहाँले लेख्दिन, कविता भन्दिन भनेर धरै पाउनु भएको छैन । रूपैँयामा खरिद हुनुलाई मात्र होलटाइमर नसम्झिनुहोस् । लेखक रूपैँयामा बिकेर होलटायमर भयो भने ऊ साहित्यमा व्यवसायी बन्छ जसबाट समाज, संस्कृतिलाई सघाउ पुग्ने साहित्य कम लेखिन सक्छन् । म यो पनि भन्छु, हामीसँग अनेक पेशाहरू छन् । लेखक हुन साहित्यलाई नै पेशा बनाउनु पर्छ भन्ने छैन ।

वाद र आयाममा कत्तिको विश्वास राख्नुहुन्छ ? यदि राख्नुहुन्छ भने तपाई के मा विश्वास राख्नुहुन्छ ?
राख्छु । हरेक सामाजिक मान्छे भिन्नभिन्न परिस्थितिअनुसार आफूलाई कुनै न कुनै वादबाट अक्षुण बनाउन सक्दैन । जन्मिदा जन्मवाद, बाँच्दा जीवनवाद र मर्दा मृत्युवाद, हाहाहा । यहीँ होइन त वाद ? तपाईले यथार्थवाद, समाजवाद, प्रगतिवाद, अस्तित्ववाद, भयवाद यस्तै अन्यअन्य वाद भन्नु भएको होला । यी सबै वादले हरेक मानिसको जीवनमा छोएकै हुन्छ । लेखक आफ्नो लेखनीमा कुनै वादसँग जोडिन्न भने पनि वाद आफै चिकित्सक भएर उसको रचना वा कृतिको चिरफार गरिरहेको हुन्छ । भनिन्छ नि सिध्दान्तका लागि जीवन होइन जीवनका लागि सिध्दान्त हुनुपर्छ । लेखन पूर्वाग्रह बस् हुर्नुहुँदैन । जीवन, जगत्का निम्ति सकारात्मक सोँच राखेर लेख्ने हो, वादका लागि होइन ।

पछिल्लो पल्टको नेपाली साहित्यदेखि सन्तुष्ट हुनुहुन्छ ?
पछिल्लो पटक भन्नाले कुन साहित्य पर्याे प्रकाशजी ? साहित्यमा पहिचान ? नेपाली साहित्यमा पछिल्लो चरणमा पहिचानका मुद्दाहरूले दर्हाे खुट्टा टेकेर उभिएको छ। यसैलाई आधार बनाएर भन्नु पर्दा हरेक व्यक्ति, समुदाय, जाति आदिको आआफ्नै भिन्नभिन्न परिचान छ, अस्तित्व छ । यिनै विषयले पनि सहित्यलाई मजबुद बनाउँछ भन्ने म ठान्छु । हाम्रो पहिचान लुट र फुटका लागि होइन । मानव, समाज तथा राष्ट्रका सौन्दर्यका लागि हो, सद्भाव र एकताको लागि हो र सभ्यताको लागि हो । हाम्रो पहिचान साहित्यमा लेखिनु आवश्यकता छ । अन्य आधारमा प्रश्न गर्नु भएको हो भने पछिल्लो समयमा बिक्ने साहित्य भनेर अघि बढाइदैछ । क्षणिक मनोरञ्जन दिने र असर पनि चुनौतिपूर्ण भएर आएको देखिन्छ । यद्यपि प्रशंसनीय साहित्य कर्म नभएका भने होइनन् । बिकाउ साहित्य होहल्ला गरेर आएका कारण के रहेछ भनेर मानिसहरू एकछिन त्यता फर्किएका छन् । युग बोक्न सक्ने साहित्य ओझेलमा परेजस्तो भएको छ ।
म सन्तुष्ट हुनु नहुनु भिन्न कुरा हो । यो सामुहिक यात्रा भएकाले धमिलो एक दिन सङ्लिएला भन्ने आशा र विश्वासमा छु ।

कुनै कुतिको तयारीमा हुनुहुन्छ की ?
एक्लै खानुमा मलाई मजा लाग्दैन । म सधैँ सक्दो आफू पनि लेख्ने र अरूलाई पनि लेखाउने धेयमा हुन्छु । यही उद्धेश्य बोकेर बेलबारीमा “साहित्य परिक्रमा” आयोजना गरिरहेका छौँ । ‘निगुरो’ त्रैमासिक पत्रिका प्रकाशन गरिरहेका छौँ । लेखकहरूको उत्पादन गर्न यसो गरिएको हो ।
आफूले लेख्ने त कवितै हो । फाट्टफुट्ट लेखिरहेकी छु । बाँकि कुरा सोँच्दैछु । आफ्ना विचार राख्ने सुअवसर प्रदान गर्नु भयो । प्रकाशजी, तपाई र तपाईको मिडियालाई धन्यवाद ।

प्रस्तुति: प्रकाश दिप्साली राई

सम्बन्धित शीर्षकहरु

हाँस्ने नारीहरू वेश्या लेख्ने भानुभक्त कसरी आदिकवि ?

अहिले के गर्दै हुनुहुन्छ ? अहिले हामी संविधानलाई संसोधन गरेर हाम्रो आदिवासी जनजातिको पहिचान...

स्कुल, विद्यार्थी र अभिभावक शिक्षाका ओदान – शरण कुमार लिम्बु

केही पढेपछि कोही विदेश जाने सोचमा थिए, कोही लाहुरे हुने अनि कोही चाहीँ पढेर...

मुन्धुम निर्देशित कथा कविता आख्यान पनि साहित्य हो- प्रदिप मेन्याङ्बो मुन्धुम कवि

पछिल्लो पल्ट नेपाली साहित्यमा मुन्धुम कविताको चिन्तन सहित नौलो स्वाद पस्कने कवि हुन् प्रदिप...

कविताका लागि कला आवश्यक हुन्छ -बद्री भिखारी

नेपाली साहित्याकाशमा निरन्तर रुपमा सक्रिय रहदै आएका इटहरीका कवि बद्री भिखारीको कविता संग्रह समुद्र...