Advertisement

‘केसाम्वाको कथा र केलाङको यात्रा’

कला वार्ता

ताप्लेजुङको मिक्वा खोलाबाट सुरु हुन्छ उनको कथा । याक्थुङ किंवदन्तीअनुसार उहिले ताँतीका ताँत छरछिमेक र छोराछोरीहरू बसाइँ सर्दा बूढाबूढीहरू रोएर बगेको आँसुबाट मिक्वा वहङ (आँसु खोला) भएको एउटा मिथक छ । आँसु र दुःखकै भारीका कथाहरू मात्रै नभएपनि उनका जीवन गाथा कलापारखीहरूका लागि खोलाको गीतजस्तै हुन सक्छ । जनवरी महिनाको दोस्रो दिन बेलायतको चार महिने बसाइँ सकेर नेपाल हुँदै ब्रुनाईको काममा फिर्न भारी कस्दै थिए गोपीलाल लिवाङ । आसफोर्डको सिङ्गलटनस्थित आफ्नै निवासमा उनले कथा जोड्न थाले ।

बगाले सन्तान र विद्रोहका कुरा
मुन्धुङ्गेका चार भाइ सन्तानमध्येका रहेछन् फेम्सङ लिवाङ । मुना इङ्वाहाङ, मुन्धुङ्गे हुँदै फेम्सङ लिवाङसम्म आइपुग्दा ताप्लेजुङको लिवाङ र खोक्लिङ गाउँमा सर्लक्कै बसेका रहेछन् लिवाङ थरी लिम्बुहरू । यसरी, खोक्लिङमा बसेका छ मध्येका दुई सुब्बाहरूतर्फका सन्तान रहेछन् गोपीलाल । गाउँमा अझै पनि उनका खलकलाई बगाले सन्तान भनिँदो रहेछ । बलबहादुर लिवाङ र धनरानी फागो वनेमका माइला छोरा लिवाङ उमेरले साठी पुग्न अझै दुई वर्ष छ । बगालेमा जन्मेका उनले भानु स्मृति माविबाट प्रवेशिका परीक्षा दिँदा कर्ण पराङ्देन र अहिलेका प्रदेश सांसद सर्वध्वज साँवापछि खोक्लिङ गाउँमै उनी तेस्रा लिम्बु भएका थिए । एक साल मात्रैअघि उनले सान्थाक्राकी धनकुमारी सिरेङ चोङवाङलाई दुलही बनाएका थिए ।

गोपिलाल लिवाङ

बाबु बलबहादुर कडा स्वभावका थिए । पञ्चायतकालीन मन्त्री विष्णु मादेन पक्षधर कार्यकर्ता । गाउँ पञ्चायत अध्यक्षका रूपमा उनको रवाफ छँदै थियो । तर, पन्ध्र वर्षको छँदा गोपीलालको भेट पञ्चेविरोधी समूहहरूसँग भएछ । पूर्व चिनियाँ राजदूत टङ्क कार्की, रत्न लाबुङ, गजेन्द्र पालुङ्वाको सङ्गतले उनी थाहै नपाई वामपन्थी वर्षामा रुझ्न थालिसकेका थिएछन् । तर, खासमा कथा फेरि अर्कै रहेछ । सरकारी पुलिसको डरले अखिलले त्यसताका राष्ट्रिय विद्यार्थी पञ्चायत समितिको ब्यानरमा गतिविधि थालेको रहेछ । ‘निःशुल्क पढाउने भनेर सबै विद्यार्थीहरूलाई फकाए । काठमाडौँमा पढाएर ठूलो मान्छे बनाउने भनेपछि हामी गद्गद् भयौँ ।’ उनले रहस्य खोले । स्काउटको तालिम पनि लिए । अलिक पछि गोप्य योजना भङ्ग भयो । तालिम त पञ्चेहरूलाई ठेगान लाउन गरिएको रहेछ । एकपटक ०३२ सालमा तत्कालीन मन्त्री विजयप्रकाश थेवे माथिल्लो निर्वाचन क्षेत्र आउँदा गोपीलालले शानदार भाषण दिए । यी सबै सरकारविरोधी गतिविधिहरूले बाबुलाई हुनसम्मको सकस परेको थिएछ । सरकारी पुलिसले वारेन्टसम्म जारी गरेछ । बुवाको हप्कीदप्की र करले उनी लाहुरे भर्ती लाग्नुपर्ने अवस्था आयो ।

बगालेदेखि ब्रुनाईसम्म
पक्राउ पूर्जी बोकेर बसेका गाउँकै पुलिस थानाका चौकीदार इन्द्र पतङ्वाले उनलाई गाउँ कटाउन महत्वपूर्ण भूमिका खेले । खोक्लिङलाई छाडेर उनी तम्मर खोलाको सिंवा पुगे । गल्ला बखतबहादुर हेल्लोकले उनलाई रोजे । धरान झरेर एआरओ पास गरे । पोखराबाट छनोट भएर ०३८ मा उनी भर्ती लागेर हङकङ पुगे । १० गोरखा राइफल्समा उनी छनोट पनि भए । तीन छोरा र एक छोरीका बुबा उनी तीन सालपछि गाउँ फिरे । छ महिना गाउँ बसेर स्वदेशको तलतल धीत मरुञ्जेल मेटे । उनले पढेका स्कूलमा प्रअ खेमराज खरेलको विशेष आग्रहमा बिदाभरि पीटीआईको काम पनि गर्न भ्याए । हङकङबाट बाकसभरि ल्याएका खेलकूदका सामानहरू सबै गाउँमा बाँडे ।

कर्पोलका रूपमा पन्ध्र वर्षे जागिरबाट निवृत्त हुनुअघि उनले १७ देश चाहर्न भ्याए । सन् १९८९ मा बर्लिन पर्खाल ढल्दा जर्मनीमा तैनाथ थिए । त्यो पर्खाल भत्कँदा कताकता मनमा कम्युनिष्टप्रतिको आस्थामा धक्का पनि लागेको उनी भन्छन् । इम्प्रोभाइज्ड माइनका विज्ञ गोपीलाल पेन्सन आएपछि दुई वर्ष धरान बसे । त्यहाँ रहँदा बत्ती बिजुली, सडक, खानेपानी लगायतका सामाजिक क्षेत्रमा खटे । अनि, पुनः लागे मकाओ । त्यसको तीन वर्षपछि सुरु भयो ब्रुनाई बसाइँ । अनि, जीवनले यूटर्न लिएर उनी छिरे सँस्कृतिको दुनियाँमा ।

च्याब्रुङ च्याप्टर र अरु कहानी
गोरखा रिजर्भ युनिटको के नाइन युनिटमा उनले पशु चिकित्सक र सुपरीवेक्षकका रूपमा काम गरे । ब्रनाइको भूगोलले हो या जिन्दगीमा अरू उद्देश्य खोज्ने मोहले बिस्तारै उनमा गाउँले यादले डेरा जमाउन थाल्यो । प्रत्येक रात क्वार्टरको ओछ्यानमा पल्टँदा उनको सपनामा फेदाङ्मा, साम्वाहरू नाच्न थाले । उनले बाल्यकालमा रातदिन सामान बोकिदिएका जलढक्के भनिने साम्वा सिंह बहादुर साम्याङ्खाम र येमानी सुरगिक फेम्सङ लिवाङहरूलाई सम्झे । ‘गाउँका बाटाभरि सँगसँगै हिँडेका यी मान्छेहरू आँखासामु झल्झली आएपछि,’ गोपीलालले भावुक हुँदै भने, ‘सँस्कृति जर्गेनाका क्षेत्रमा काम गर्नुपर्ने रहेछ भन्ने सोँच मनभित्रैबाट पलायो ।’

सन् २००५ मा ब्रुनाईमा चासोक तङ्नाम मनाउने निर्णय भयो । यसअघि, सन् १९९२ मा कैलाश मादेनको सक्रियतामा गठन भएको ‘किरात एकता सहमति सङ्घ’ मा आबद्ध लिम्बु, याक्खा, सुनुवारहरूले राई जातिकै ढोल बोकेर साकेला नाचिरहेका थिए । जातीय पहिचान लोप हुने डर भएपछि लिवाङले पहिलोपटक चासोकमा लिम्बु जातिको मौलिक नृत्य च्याब्रुङ नाच देखाउने जमर्को गरे । तर, च्याब्रुङ बाजा कसरी बनाउनेमा ठूलो द्विविधा भयो । उनले दुःखसुख रबरको भाडा र प्लाष्टिक बटुलेर बनाए र नाचे भगत सुब्बाको गीतमा । दोस्रो पटक, कक्फेक्वा तङ्नाम चाड आयो । मकैको तेल भण्डारण गर्ने टिनको भाडा प्रयोग गरे । यतिले पनि पुगेन उनलाई । अर्कोपटक, यक्वा तङ्नाममा फलामको ढ्वाङ खोजे । वेल्डिङको सहायताले एकातिर सिन्थेटिक र अर्कातिर बाख्राको छालाले छोपे । प्वाङ प्वाङ !!! र भ्वाङ भ्वाङ !!! आवाज आयो । उनी सन्तुष्ट भएनन् । सन् २००६ मा उनले काठबाट बाजा बनाउने मनसायमा पुगे । एक सालपछि, सात सय डलरमा ब्राजिलियन मेसिन खरिद गरे । बल्ल ब्रुनाईको राष्ट्रिय रूख एल बी प्रजातिको मुढामा उनको आँखा पुग्यो । यसबीचमा उनले तीन सय जति च्याब्रुङ बाजा बनाए । धेरै त उनले उनको केजोक् केलाङ अभियानअन्तर्गत निःशुल्क वितरण गरे । केलाङ (च्याब्रुङ नाच) बुझ्नकै लागि उनले नेपालको पूर्वी लिम्बुवान क्षेत्र डुले । क्यामेरामा पाए जतिका सबै प्रकारका नाचहरू कैद गरे ।

धरान, ब्रनाई र बेलायत ओहोरदोहोर गरिरहने गोपीलाल यतिखेर नेपालसँगै बेलायत जस्तो ठाउँमा युवा पुस्ताहरू च्याब्रुङ नाचमा लीन भएको देखेर उत्साहित छन् । उनका एक छोरा गोकुलले पनि बाबुको बाटो समातेको देख्दा मक्ख छन् । भविष्यमा च्याब्रुङको एकेडेमी खोलेर प्रचार प्रसारमा लागिरिहने उनको धोको छ । यसैबीच, उनले च्याब्रुङसम्बन्धी केही पुस्तकहरू पनि लेखिरहेका छन् ।

प्रस्तुति: अमित याक्थुङ्वा

सम्बन्धित शीर्षकहरु

‘केसाम्वाको कथा र केलाङको यात्रा’

कला वार्ता ताप्लेजुङको मिक्वा खोलाबाट सुरु हुन्छ उनको कथा । याक्थुङ किंवदन्तीअनुसार उहिले ताँतीका...

गाऊँका सेलिव्रिटी सुरोज याक्थुङ्बा मादेन

देवेन्द्र सुर्केली सुदुरपूर्वी नेपालको ताप्लेजुङको फुङ्लिङमा जन्मिएका हुन् सुरोज मादेन । वि.सं. २०२५ सालमा...

सिने क्षेत्रमा शोम्या

काठमाडौं, भदाैं ६ । नेपाली मोडलिङ र कलाकारिता क्षेत्रमा एक दशक देखि लागि पर्दै...

जनकपुर–अयोध्या बससेवा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उदघाटनपछि जनकपुरदेखि भारतको अयोध्यासम्मका लागि शुक्रबार प्रस्थान गर्ने बस...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट