Advertisement

एक जुझारु निर्देशकको चिरफार

देवेन्द्र सुर्केली

एकै वर्षको एकै याममा एकै निर्देशकको दुई चलचित्र विरलै प्रदर्शनमा आउँछन् । किनभने, चलचित्र निर्माणको चाप बढिरहेको छ । सिनेबजारमा एक हप्ता एउटा चलचित्रको लागि छुट्याइन्छ । र, प्रदर्शनको लागि प्रत्येक शुक्रबार पर्खिनुपर्ने हुन्छ ।

किन चलचित्र प्रदर्शनको शुरुवातको दिन शुक्रबार ? भन्ने प्रश्न पनि उब्जन्छ, यसको लागि गुगलमा सर्च गर्दा ५० भन्दा कारणहरू फेला पर्दछन् । हलिउडमा फिल्म रिलिज हुन बारले छेक्दैन । तर बलिउडमा भने त्यो अनिवार्य गरिएको छ । भारतमा पहिलो क्लासिकल चलचित्र ‘मुगले आजम’ बन्योे । त्यो ५ अगष्ट १९६० मा रिलिज भएको थियो । त्यो शुक्रबार नै थियो । बलिउडले यसलाई पहिलो कारण मानेको छ । त्यसैगरी शनिबार र आइतबार विदा हुने भएकोले शुक्रबार रिजिल गर्दा सजिलो हुने भएको अर्को कारण भेटिन्छ । भारतीय सिको गर्दै नेपालमा पनि शुक्रबार फिल्म रिलिज गर्ने प्रथा बसेको स्वभाविकै हो ।

नेपालमा यो वर्ष एकै निर्देशकले एकै याममा दुई चलचित्र रिलिज गरे । ति भाग्यमानी निर्देशक हुन् –दिनेश लिङ्देन (दलप्रसाद) । उनीद्वारा निर्देशित चलचित्र ‘शान्ति’ मंसिर १४ गते रिलिज भएको थियो भने ‘अदालत’ फागुन २४ गते । यसभन्दा अगाडि ‘द क्राइम’ र ‘काबेली’ प्रदर्शनमा ल्याएका लिङ्देनको चलचित्र ‘दुस्साहस’ प्रदर्शनको तयारीमा छ । त्यसैगरी चलचित्र ‘दीपकिरण’ पनि निर्माणकै क्रममा छ ।

यसरी ६ चलचित्र, ३ दर्जनजति म्युजिक भिडियोको निर्देशन गरिसकेका दिनेश लिङ्देन कसरी यहाँसम्म आइपुगे र आगामी योजना बारे नयाँअनलाइनको कार्यालयमा लामो कुराकानी गरियो । लिङ्देनसँग अनेकौं दुःखकष्ट, तितापिरा भोगाईहरू रहेछन् । ति भोगाईहरू यहाँ प्रस्तुत गरिएको छ ।

राजनीतिक परिवारमा जन्म र बाल्यकाल
वि.सं. २०३४ फागुन २९ गते पाँचथरको साविक थर्पु २ मा आमा हरिमाया थेबे र बुबा स्व. नरप्रसाद लिङ्देनबाट माइला छोराको रूपमा जन्मिएका हुन् दिनेश लिङ्देन । बुबा व्रिटिस आर्मीमा थिए । तर पहिलो छुट्टीमा नेपाल आएपछि पुनः पल्टन् गएनन् । जमानामा आइएस्सी पढेपछि क्लार्कमा भर्ति भएका रहेछन् नरप्रसाद । अलि पढेपछि भर्ति भिड्दा गाउँघरमा ‘कलरक’मा गयो भन्ने गर्दथे । त्यो आर्मीभित्रको प्रशासन फाँट हेर्ने पद हो ।

सामान्य राजनीति गर्न थालिसकेका नरप्रसादले ‘मलाया लाहुरे’ भइरहन मन परेन । बरु नेपाली काँग्रेसको राजनीतिमा लागिरहे । पाँचथर जिल्लाको सभापति तथा तीनपटकसम्म महासमिति सदस्य बनेका थिए ।

बाल्यकालमा इमानदारी तथा अत्यन्तै सोझो रहेका दिनेश केही जिज्ञासु भने थिए नै । कुनै पनि विषयलाई लिएर अलि बढि नै सोच्ने गर्दथे – जस्तै; प्लेन कसरी उड्छ ? भनर एकोहोरिन्थे ।
त्यो सोचाईले उनमा अध्ययनशिलता बढायो । जसले वक्तृत्व कला र सांस्कृतिक कार्यक्रममा सहभागी हुन थाले । सिर्जनशीलताले उनलाई भित्रैदेखि गाँज्यो । र, नाच्ने गाउने, नाटकमा अभिनय गर्ने आदि गर्न थाले । जसबाट कापीकलम पुरस्कार पाउने गर्दथे । कक्षाभरमा पुरस्कार पाइरहँदा गर्व पनि लाग्थ्यो रे ।

एसएलसीपश्चात जागिर र काठमाडौंको दुःख
दिनेशले एसएसली वि.सं. २०५३ सालमा गरे । एसएसलीपश्चात गाउँकै हुलाक कार्यालयमा खरिदारको जागिर पनि खाए । तर त्यो जागिरमा लामो झुण्डिरहन मन परेन । उच्च शिक्षा पढौं र सानैदेखि मनमा पालेको गायन तथा कलाकारिता तर्फ जम्ने अभिलाषाले काठमाडौं हान्निए ।

काठमाडौंको बस्दा पाएका दुःख भनिसाध्य र लेखिसाध्य रहेनछ । एकै कोठामा बस्ने साथीबीच एकै जुत्ता पालैपालो लगाएर कलेज जानुका साथै कैयौं भोकप्यासको सामना गर्नुपरेका रहेछन् । ति कुराहरू यहाँ भन्नुभन्दा कुनै दिन संस्मरण लेख्ने या पुस्तक नै तयार पार्नेसम्म योजना रहेछन् दिनेशको ।

हिजोआजका कुरामा झुल्किदा
सन्तोष पन्तद्वारा निर्देशित टेलिसिरियल ‘हिजोआजका कुरा’ धेरैभन्दा धेरै कलाकारको पहिलो पाइलाको रूपमा लिइन्छ । धारावाहिक तथा दैनिक घट्ने घट्नालाई लिएर बनाइने भएकोले निश्चित बाहेक अन्य धेरै कलाकारहरू झुल्किरहन पाउँथे । दिनेश त्यहाँ पुग्न सके, आफ्नो कुरा राख्न सके र १० एपिसोडसम्म अभिनय पनि गर्न पाएका रहेछन् ।

अभिनयगरेवापत पारिश्रामिक त मिल्दैनथ्यो । तर अभिनय गरेपश्चात मासुच्यूरा चाही अनिवार्य पाउने गर्दथे रे । घरमा रेडियो र टेलिभिजन मात्र मनोरञ्जनका साधन भएकाले धेरैभन्दा धेरैले उक्त सिरियल हेर्ने गर्दथे । त्यसैले सानो भूमिका गर्नेलाई समेत दर्शकहरूले चिन्ने गर्दथे । दिनेशलाई पनि केही दर्शकहरूले चिनेर फोन नम्बर खोजीवरी कल गरेको स्मरण पनि गर्छन् ।

गायक तथा संगीतकार दिनेश
दिनेश लिङ्देनको लगाव कलाकारिता कम, गायनतर्फ बढि थियो । त्यसैले प्रकाश गुरुङसँग संगीत सिकेका पनि थिए । त्यसैले वि.सं. २०५७ साल सिन्धु मल्लसँग चाइना गेटैमा र माण्डवी त्रिपाठीसँग ‘पाउजु कल्लीमा’ एल्बम निकालेका छन् । पछिल्ला दिनमा उनी चलचित्र निर्देशनतर्फ लागे त्यसपछि भने गायन ठप्पै भयो । यद्यपि उनले आफ्नो चलचित्र दुस्साहस र अदालतमा आइटम गीत गाएका छन् । चलचित्र काबेलीमा संगीत पनि दिएका छन् । अदालतमा गाएको ‘लोकलभन्दा निगारै मिठो…’ गीत निकै चर्चित बनेको छ ।

सहायक निर्देशक भएपछि
पहिलोचोटी अभिनय गरेको ‘हिजोआजको कुरा’देखि चलचित्रमा आइपर्ने ससाना कामहरू दिनेशले गर्न थालेका थिए । उनी नलुकाई भन्छन् –‘स्पटव्वाईदेखि मैले काम गर्दै आएको हुँ ।’

चलचित्र माया बसेछ, धड्कन, लेखान्तलगायत कैयौं चलचत्रिमा सहायक निर्देशन गरेका उनले भारतीय चलचित्रमा पनि काम गरेका रहेछन् । निर्देशक जेडी चक्रावतीसँग भारतीय चलचित्रमा काम गर्नुपर्दा निकै नै सिक्न पुगेको दिनेशले बताए ।

वीरेन्द्र जोहारीकोमल ओलीको गीत, आफ्नै स्वरका गीत गरी करिब ३ दर्जन म्युजिक भिडियोको निर्देशन पनि गरेका छन् । त्यसैगरी निर्देशक नरेश पौड्यालको ‘दीपशिखा’ चलचित्र मुख्य सहायक निर्देशन गरेपछि सोलो निर्देशक नै भएर आए चलचित्र ‘द क्राइम’मा । द क्राइम केही हलहरूमा लाग्यो । द क्राइमपश्चात ‘काबेली’ बनाए । ताप्लेजुङको पाथीभरा फेदीहुँदै बग्ने काबेली नदिआसपासमा बस्ने जनजीवनलाई आधार बनाएर निर्माण भएको चलचित्रले बेग्लै छाप छोडेको छ ।

म्युजिक अवार्ड पनि
उनको कम्पनी फाल्गुनन्द फिल्म्स्ले बर्सेनी ‘एफएलएफ अवार्ड’ कार्यक्रम पनि गरिरहेको छ । यस कार्यक्रमले लिम्बू फिल्म, संगीत, म्युजिक भिडियोलगायतको अवार्ड कार्यक्रम गर्ने गर्दछ । हरेक कुरा इतिहासको लागि गर्नुपर्छ भन्ने मान्यता बोकेका दिनेशको यस कार्यक्रमले बेग्लै छाप छोड्न सकेको छ । निकट भविष्यमा नै लिम्बू चलचित्र बनाउने तयारीमा रहेका दिनेशले आफ्नो समुदायप्रति केही उत्तरदायी रहनै पर्छ भन्ने जोड रहेछ ।

नेपाली चलचित्रमाथि दिनेशको विश्लेषण
चलचित्र ठूलो लगानीमा निर्माण गर्नुपर्ने भएकोले निर्माताले ढुक्कका साथ लगानी गर्नुपर्ने दिनेशको विश्लेषण छ । ‘वन्जि जम्प’ गर्दा पनि चिकित्सकले शारीरिक चेकजाँच गरेरमात्र वन्जीमा चढाउने उदाहरण दिँदै निर्माताहरूले नाफाभन्दा पनि लगानी उठोस्, राम्रो बनोस् भन्ने हेक्का राख्ने गर्दछन् । जसले गर्दा चलचित्र निर्माण भइरहेका हुन् ।

केही राम्रा निर्देशकले राम्रो चलचित्र ल्याइसकेपछि लामो ग्याप रहनुमा उनकोे बेग्लै तर्क रहेछ । उनको तर्क थियो –‘यस काममा होमिएपछि कहिले सगरमाथा पनि चढ्नुपर्छ र कहिले केचनामा पनि झर्नुपर्छ । सँधै सगरमाथामा मात्र बसिरहन्छु भन्दा लामो ग्याप रहन्छ ।’

पछिल्ला दिनमा बनेका चलचित्रहरूमा नेपालीपन हराउँदै गएको पनि उनले बताए । ‘बरु पहिले बनेका चलचित्रमा नेपालीपन थियो ।’ उनले थपे । सांस्कृतिक/सामाजिक रूपमा विदेशी हस्तक्षेप भइरहेको छ । त्यही भएर चलचित्रमा नेपालीपन हराउँदै गरेको उनको विचार रहेछ । अवार्ड जित्नको लागि पनि नेपाली पन हुनै उनको जिकिर थियो । व्यावहार, विचार र तनमन आदि नेपालीपनका विशेषण रहेको उनले प्रष्ट्याए ।

दिनेशको राजनीतिक पाटो
बुबा नरप्रसाद लिङ्देन नेपाली काँग्रेसमा जीवनभर काम गरे । ठीक त्यसको विपरित दिनेश चाही समाजवादी बाटो अपनाए । यसको कारण स्कुलमा रहँदा अग्रज दाईहरू तथा गुरुहरूले दिएको ज्ञान प्रशिक्षण रहेछ । माध्यमिक तह अध्ययनमै उनले कार्ल माक्र्सको ‘पुँजी’ पढ्न भ्याइसकेका रहेछन् । वि.सं. २०४५ सालमै अनेरास्ववियूको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका दिनेशले भूमिगत शैलीमा ‘कावेली खोला घुमेर गइगयो, चेली र माइतीको विछोडै भइगयो’ जस्ता गीत गाउँदै हिडेका रहेछन् ।

सानैदेखिको स्वभाव अन्याय भएको खण्डमा मन र मार्न तयार हुने खालको थियो । त्यस्तो व्यक्ति कम्युनिष्ट नै हुने ठहर पनि छ दिनेशको । काठमाडौंमा संघर्ष गरिरहँदा पनि भूमिगत रूपमा माओवादीको सम्पर्क रहेको, अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सदस्यसम्म बनेका रहेछन् ।
साथै कलाकारितासँग नजिक रहन चाहेकोले जनसांस्कृतिक मञ्चको केन्द्रीय सदस्य, चलचित्र व्यूरो सचिवालय सदस्य रहेर काम गरिसकेका छन् । फरक विचार र पार्टीसँग रहने बुबासँग बेलाबेलामा बहस पनि हुन्थ्यो रे । तर विचारको जीतका कारण बुबाको प्रभावमा परिनँ, दिनेश भन्छन् ।

श्रीमती कुशल निमात्री
श्रीमती र छोराछोरीसहित ४ जना परिवार छ दिनेशको । श्रीमती कविता राई लिङ्देन दिनेशले बनाउने आधिकांस चलचित्रको निमात्री बनेकी छिन् । दिनेशका अनुसार श्रीमतीमा म्यानेजमेन्ट पक्ष राम्रो छ । त्यसैले काम गर्न सजिलो पनि छ ।

काठमाडौंमा हार खाएर गाउँ फर्केर विवाह गरेपछि श्रीमतीकै आँट र सहयोग गर्ने बचन लिएर काठमाडौं आएको सहर्ष बताउँछन् ।

काठमाडौ बसिञ्जेल चलचित्र, गाउँ गए राजनीति
सुदुर भविष्यसम्म चलचित्रक्षेत्रसँगै रहिरहने योजना छ दिनेशको । सम्भव भए चलचित्र निर्देशक समाजको नेतृत्व गर्ने सपना पनि छ । त्यसको साथै लिम्बुवान राष्ट्रिय चलचित्रकर्मी संघको महासचिव, प्रगतिशील चलचित्र मञ्चको अध्यक्ष पनि छन् ।

चलचित्र क्षेत्रलाई उद्योगको रूपमा लिइन्छ । त्यसैले यो व्यवसाय ठान्छन् । व्यवसायको लागि काठमाडौं बस्नुपरेको उनी निर्धक्क बताउँछन् । काठमाडौं छोड्नुपरेको दिन राजनीतिक विचारलाई बोकेर निस्कने बताए । किनभने विचार सँधै आफूसँग रहने तर व्यवसाय निश्चित ठाउँमा रहने उनको ठम्याई रहेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

एक जुझारु निर्देशकको चिरफार

देवेन्द्र सुर्केली एकै वर्षको एकै याममा एकै निर्देशकको दुई चलचित्र विरलै प्रदर्शनमा आउँछन् ।...

दर्शकहरूले ज्याकी च्यानजस्तै भनिदिँदा गर्व लाग्यो –रुद्र पाहिम

काठमाडौं, २८ फागुन । अहिले नेपाली चलचित्र बजारमा अदालतले तताएको छ । फाल्गुनन्द फिल्म्स्...

सुखको दिन पर्खेकी टुकुमायालाई परेको बज्रपात

देवेन्द्र सुर्केली काठमाडौं, २२ फागुन । पुस ३ गतेको दिन । धादिङको साविक सलाङ...

लिम्बु सँस्कृतिको हब बन्दै बेलायतको आसफोर्ड

अमित याक्थुङ्बा आसफोर्ड(बेलायत)/करबि डेढ लाख नेपालीहरूको बसोबास रहेको बेलायतमा लिम्बु समुदाय चौथो जनसंख्याका रूपमा...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट