Advertisement

आँट र हिम्मतसँग जोडिएको नाम कवि बादल चाम्लिङ

कवि/कवित्व

उनीसँग धरानको एउटा कार्यक्रममा भेट भो । पोखरामा हालसालै एकल कविता वाचन सम्पन्न गरेर घर फर्केकी उनी कसैले नगरेको अनुमानबमोजिम टुप्लुक्क उपस्थित भइन् । उनी त्यहाँ कुनै सेलिबे्रटी भन्दा कम भइनन् । प्राय सबैले पोखराको कार्यक्रमको बारेमा चासो राखे । उनलाई उत्तर दिन भ्याईनभ्याई नै भयो । अनि पहिलोपल्ट चिनजान हुनेहरूले चाहीं अरे बादल चाम्लिङ भनेको वहाँ नै पो हो ? वहाँको कविता मलाई सारै मन पर्छ । हजुर मै हो बादल चाम्लिङ ।

हो, बादल चाम्लिङ उनको ब्यस्त समयका बाबजुत मसँग पनि धेरै गफिए । कम बोल्ने, सालिन स्वभावका उनी यो पल्ट मसँग निक्कै खुलिन् त्यसैको परिणाम यो स्तम्भ खडा हुँदैछ । उनको प्रत्येक शब्दमा दम भएको महसुस हुन्छ म । उनको बारेमा केही नबोली, नलेखी नसक्ने भएँ । उनको बारेमा केही लेखी टोपल्न मन लाग्यो । हुन त यस अघि पनि मैले कहीं कतै लेखेको थिएँ तर त्यतिले मात्र मेरो धित मरेन र फेरि केही थैथाप गर्ने बनायो धरानको भेटले ।

२०३३ सालमा पाँचथरको यासोकमा जन्मिएकी बादल चाम्लिङ सानैदेखि सिर्जनामा रमाउँथिन् । सानै देखि लजालु स्वभावको थिए । सामान्य परिवारमा जन्मिएकी उनको बाबा एउटा विद्यालयमा पढाउँथे । कम्युनिष्ट राजनीतिप्रति आस्था राखेको भन्दै जागिर खोसियो । त्यो बेला बादल सानै थिइन् । जागिर खोसिएपछि परिवारमा धेरै दुःखका पहाडहरू थुप्रिए । तर पनि सबैको प्रयास र मेहनेतले जीवन चल्यो । बाबालाई विभिन्न आरोपमा मुद्दा लगाइयो । तर पछि जीत बाबाको पक्षमा भयो । अहिले बाबा दिवंगत भैसकेका छन् । २०५५ सालमा उनले चन्द्रमणी राईसँग नयाँ जीवनको सुरुवात गरिन् । बेला बखत साहित्यिक गोष्ठिहरूमा देखिने उनी एक्कासी चालचुल भइनन् सबैको कुरा यस्तै थियो । त्यसो त त्यो मौन समयमा झण्डै डिप्रेसनमै परिन् । मलाई त बेलबारीका साहित्यकारहरूले सुन्दर कविता लेख्ने बादल चाम्लिङ छ भन्थे तर म कैयौंपल्ट बेलबारी जाँदा पनि देखभेट भएन । त्यही भएर खासै वास्ता पनि भएन । तर उनका शुभेच्छुकहरू प्रशस्तै थिए । उनी सुस्ताउँदै गर्दा धर पाइनन् शालिकराम राई भन्ने मान्छेले त फोन गरेरै थर्काएपछि भने सलबलाउन थालेकी हुन् । सायद ७४ सालको पुष माघ तिर हुनु पर्छ फेसबुके भित्तामा पाठेघर भनेर एक पुस्तकको आवरण देखियो । नामले निक्कै तान्यो तर कसको भनेर चाहीं वास्ता गरिएन । वास्ता गरि साध्य पनि छैन । पछिल्लो समयमा आधा फेसबुके भित्ताहरूमा यस्तै पुस्तककै आवरण आउँछ । अलिक पछि पाठेघर किताब नै हात पर्‍यो। पाठेघर कविता कृति उनै बादल चाम्लिङको रै छ । सारै उत्सुक्ताका साथ किताबमा डुबिएछ । झण्डै निस्कन गाह्रो पर्‍यो ।

जुनको बीज छर्नुस्
जुनै उम्रन्छ
फूलको बीज छर्नुस्
फुलै उम्रन्छ
पहाड, खोला, नदी, चट्टान
मरुभूमि जे जे छर्नुस्
ति नै ति नै उम्रन्छन् ।

सायद अहिलेसम्म मुखमा झुण्डिएको कवितांश यही नै हो । यौन मनोविज्ञानको दृष्टिमा सारै शिष्ट कविता लागेको हो मलाई । साहित्यको सामथ्र्य पनि यही नै हुनु पर्छ । पछि उनीसँग मेरो संगत बाक्लियो । यो कविता संग्रहलाई सबैको सामु पुर्‍याउन म पनि लागि परें भन्ने लाग्छ । मुल्याङकनको तराजु बादलसँग पनि छँदैछ । र उनको पिछा निक्कै गरें । उनको कार्यक्रमहरूको खेदो गरें, धर्माती मनले । उनको संगतसँगै मैले सिकेको कुरा कविता त्यतिकै लेखिदैन रहेछ । मलाई कसैले कविभन्दा निक्कै गमक्क पर्थें । तर ममा त्यस्तो कवित्व केही रैनछ । त्यही भएर पछिल्लो पल्ट मेरो कविता लेखन सुस्ताएको छ । खेलकुदको भाषमा भन्नु पर्दा मैले लय गुमाएको छु । उनको कविताको साधना हेर्दा जो कोही अचम्ममा पर्छन् । कवितामा चुर्लुम्मै डुब्ने कवि हुन् । उनको इटहरीको एउटा कार्यक्रममा वक्ताको रूपमा प्रस्तुत भएको थिएँ म । त्यो बेला छोरा शीर्षकको कविता कसैले वाचन गरिरहँदा उनले आँशु थाम्न नसकेर पछाडी पट्टी फर्केर भक्कानिएर आँशु पुछि । मलाई त्यो क्षणले अति नै छोयो र मैले समाचार नै बनाएँ आफ्नै कवितामा रोइन् बादल भनेर । जुन समाचारलाई धरैले पढे पनि त्यो दृष्य अहिले पनि मेरो आँखा अगाडी सजीव छ । यो बेला हामी बिच कवितात्मक प्रेम छ । मसँगको प्रायः गफमा सर छोरा भन्ने कवितामा म सम्हालिन सक्दिन भन्ने गर्छिन् । खै केछ त्यो कविताको रहस्य ? कहिले खुलाउने हो त्यो रहस्य ? म जस्तै सबै व्यग्र पर्खाइमा होलान् । यो कविताको अंश राख्ने मन थियो तर फेरि उनी भक्कानिने डरले सकिन ।

कवि बादल चाम्लिङ
आफ्नो परिवारसँग कवि बादल चाम्लिङ

प्राज्ञ उपेन्द्र पागलले “तँ बाहुनी हो ? खोई तेरो समुदायको आवाज, मिथक ? तैंले तेरो कुरा नलेखेर कसले लेख्छ ?” भनेर गरेको गालीले बेला बेला झस्काउँछ उनलाई । आउने कृतिहरूमा यसलाई ध्यानमा राख्ने सोचमा छिन् ।

हुन त बेलबारी आफैमा साहित्यको उर्वरभूमि हो । त्यहाँको हरेक कुराको सिको गर्दै भरौलमा मैले धेरै कार्यक्रमको आयोजना गरेका छु । त्यो हिसाबमा मेरो निम्ति बेलबारी मेरो लागि साहित्यिक प्रेरक भूमि हो । बादल पनि त्यो माहौलमा रम्न थालिन्, कवि तथा लेखकहरूको संगतमा पर्न थालिन् उनको सिर्जनाको सबैतिरबाट मुल्यांकन हुन थाल्यो, तराजुको कसीमा जोखिन थाल्यो त्यसैको परिणाम पाठेघर कविता संग्रह जन्माइन् । जो यो बेला अत्याधिक चर्चामा छ । उनी भावना प्रतिभा पुरस्कारद्वारा पुरस्कृत पनि भैसकेकी छिन् । पाठेघर नामले निक्कै बजार ततायो । विभिन्न खाले तर्क वितर्क चल्यो । म मा पनि त्यो भयो नै । मनमा अनेक कुरा खेले कसरी यो आँट गरिन् यौनसँग सम्बन्धित कुरा सुन्ने वित्तिकै अनेकौँ दृष्टिले हेरिने यो समाजमा कसैले औंला ठडाउँदा के उत्तर देलान् ? अझ उनी त महिला परिन् । यस्तै यस्तै कुराहरूले मलाई पनि बहुत सताएको हो । एक पल्ट धराननमा आख्यानकार प्रगती दिदीसँगको भेटमा पनि पाठेघरको कुराकानी भो । दिदीले भन्नु भो । बादलले एउटा ठूलो आँट गरेको हो । आँटसँगै पाठेघरलाई सौन्दर्य पनि दिएकी छिन् । जहाँ अश्लिलताको साटो कलात्मक अभिव्यक्ति छ । हो मलाई पनि यो लागेकै हो । अझ मेरो दावा यो पनि छ । बेलबारीमा लेखिने परम्परालाई तोडेर नयाँपन ल्याईन् । प्रायः पछिल्लो पुस्ताका कवि लेखकहरूको बेलबारीप्रति गुनासो पनि सुनिन्छ कि बेलबारीमा मुलधारकै लेखनलाई प्राथमिकता दिइन्छ । मेरो विचारमा यो गुनासो सही हो भने बादलले यसलाई चिरेकी छिन् । यो उचाईलाई थेग्न सक्छु कि सक्दिन भन्ने चिन्ताले बेलाबखत सताउँछ उनलाई । उनका शुभेच्छुकहरू वाचन कलामा अझै शसक्तता थपिए सुनमा सुगन्ध थपिने थियो भनेर शुभेच्छा प्रकट गर्छन् । सम्बन्धित समुदायहरूले आफ्नो कला संसकृतिको पनि सम्बोधन हुने किसिमको कृति आवोस् भन्ने अपेक्षा राखेका छन् । यो सवालमा उनलाई प्राज्ञ उपेन्द्र पागलले “तँ बाहुनी हो ? खोई तेरो समुदायको आवाज, मिथक ? तैंले तेरो कुरा नलेखेर कसले लेख्छ ?” भनेर गरेको गालीले बेला बेला झस्काउँछ उनलाई । आउने कृतिहरूमा यसलाई ध्यानमा राख्ने सोचमा छिन् ।

र हजुर टाढै रहनु भो भने
म त स्तब्ध हुन्छु
मेरो मुखाकृतिमा फूल देखेर
निशब्द हुनु भो भने
म त कति दुख्छु
साथ छाडेर कहाँ एक्लै अगाडी जान सक्छु र
भो अब छाडिदिउँ यी सबै कुरा
म त हजुरकै जित होस् भन्छु ।

आदर्शले लपक्कै भएको यो कविताले जो कोहीको मन छुन्छ । अहिले उनको परिवार यसरी नै लपक्क छ । एकअर्का प्रति समर्पित छ । श्रीमान् चन्द्रमणी सुकुना बहुमुखी क्याम्पसका सहायक प्रमुख छन् । लेखनमा जहिले सचेत गराउँछन् । पछिल्लो पल्ट प्रशस्तै शक्तिशाली कविहरू छन् त्यसैले गम्भिर अध्ययन गरेर लेख्ने सल्लाह दिन्छन् । बादल पनि सकेसम्म आफ्नो श्रीमान्को काममा असर नपरोस् भन्ने चाहन्छन् । समयले भ्याए र पाएसम्म बादललाई सहयोग गर्छन् । यहाँ लेखेर मात्र बाँच्न सम्भव छैन आफु बाँच्नलाई बादल पनि शिक्षण पेशामा छिन् । पछिल्लो पल्ट पोखरामा बादलको एकल कविता वाचन भयो । त्यहाँ जाँदा उनको श्रीमान् पनि सहयोगीको रूपमा सँगै थिए । बसको यात्रामा उनलाई सारै कष्ट हुन्छ । त्यो बेला उनलाई श्रीमान्ले नै सम्हाल्दै लगे र ल्याए । प्रायः पूर्वाञ्चलको प्रतिष्ठित मञ्चहरूमा आफ्नो प्रस्तुति दिइ सकेका उनले अब बाह्य मञ्चमा प्रस्तुति दिन थालेकी छिन् । यो मानेमा उनी सफल कविको रूपमा दरिसकेकी छिन् । उनको कवितामा नारी आवाज, नारी समवेदना पनि पाउन सकिन्छ । उनी नारी भएकोले उनको यो धर्म अनि जिम्मेवारी पनि हो । उनी नारी समवेदना कवितामा यसरी पोखिन्छिन्

आफ्नैसुरक्षा नहुने गरी
फूल
यसरी किन फुल्नु ?

यो कविता जति पढे पनि र बुझे पनि पढिरहुँ र बुझिरहुँ लाग्ने कविता हो । यहाँ बादलदेवीका कविताको विशेष्ता उल्लेख गरि साध्य छैन । उनका कविताहरूलाई धेरै ठाउँमा वक्ताहरूले यो मेरो पीडा हो भनेका छन् भने पाठकहरू पनि आºनै जीवन भोगाई ठान्छन् । अन्त्यमा मौका मिलेको बेला उनका अन्तर कुन्तरका कुराहरू मात्र लेखि टोपल्न खोज्या हो । अब उनले लेखनलाई अरु थप परिस्कृत बनाउँदै लैजाउन्, यस्तै मन छुने कविताहरू पढ्न पाउँ हामी शुभेच्छुकहरू त्यसैको प्रतिक्षामा हुनेछौं ।
शुभेच्छा ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

श्रीलंकामा श्रृंखलावद्ध विष्फोटमा २९० को मृत्यु

९ वैशाख, काठमाडौं । श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ...

लेखन यात्रामा म दुखेको त्यो दिन

म सानैदेखि टुटेफुटे के के लेखि टोपल्ने मान्छे । तर के लेख्थें, के हुन्थ्यो...

पथरीमा एकाबिहानै शव फेला

पथरी, ७ वैशाख । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान एक महिलाको शव फेला परेको छ...

म माथि लगाइएका आरोपहरू खण्डित हुनेछन् : विष्णु पौडेल

काठमाडौं, वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलेले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित आफ्नो...