हरियो मकैबाट बनाइने एकपरिकारका लोहोरो आकारको खानेकुरा नै लुङघाक्चा हो । लिम्बू भाषामा लुङको अर्थात ढुङ्गा, काक्लिक्पा अर्थात गोलाकार र कुजा अर्थात खानेकुरा- बाट लुङघाक्चा बनेको हो । जसको अर्थ हुन्छ- ढुङ्गा जस्तै गोलाकार खानेकुरा । यो आलो हरियो मकैबाट बनाइन्छ ।
हरियो मकै बासी भएमा त्यसमा पाइने गुलियोपन हराउँछ । त्यसैले ताजा हरियो मकैबाट मात्र लुङघाक्चा बनाउन सकिने भएकोले यो मकै पाक्ने समयमा बनाइ खाने चलन याक्थुङबा समुदायमा पाइन्छ । लुङघाक्चा खाजा वा खानाको रुपमा पनि खाने चलन छ ।
आवश्यक सामग्री
- हरियो मकै छोडएको दाना
- जातो
- पानी
- मकैको खोसेला
- भाडो
बनाउने तरिका
- बारीबाट ताजा हरियो मकै ल्याउने र छोडाउने
- छोडाएको मकै जातोमा पिंध्ने।जातोमा पिध्ने मकै काचो भएकोले जातो घुमाउन गाह्रो हुन सक्छ । त्यसैले अलिअलि पानी लाउदै जातोको माथिल्लो भाग उचाल्दै मकैको ओइरो पिंध्नेपर्छ ।
- मकैको खोसेला तयार गरि सफासग सग्लो रूपमा राख्ने ।
- पिंधी सकेको गिलो मकैलाई इच्छानुसारको आकार मुलतः लाम्चो आकारको बनाउने
त्यसलाई खोसेलामा पोको पार्ने र दुबै छेउमा खोसेलाले बाध्ने।
- यसरी बाधिएको लुङघाक्चालाई भाडामा हाली पाक्ने गरि पानीमा उमाल्ने।
- पाकेको लुङघाक्चा खोसेलासँगै या खोसेला खोलेर भाग लगाई खाइन्छ । लुङघाक्चा तरकारी या अचारसँग पनि खान सकिन्छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।