‘सभ्यता बचाउने यात्रामा हिँड्दै गर्दा’ - Naya Online

‘सभ्यता बचाउने यात्रामा हिँड्दै गर्दा’

अमित याक्थुङ्बा

 

‘सिक् खेङ्मरे याःम्बक् चोःन्
तुम् लेङ्मरे तुक्खे पोःन्’

(प्रचलित याक्थुङ मुक्पाःन्)
०००

विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिता आफैँमा संस्कृति जगेर्नाको हिसाबले ठूलो कोसेढुङ्गा हो । सिमान्तकृत संस्कृतिलाई मूलधारमा ल्याउन अहिले आदिवासी जनजाति र पिछडिएको समुदायमा व्यापक सांस्कृतिक चेतना उठिरहेको छ । सबैभन्दा ठूलो सांस्कृतिक पुनर्जागरण याक्थुङ समुदायमा आइरहेको छ । यसको एउटा पछिल्लो कडी हो -पाःलामको प्रतिस्पर्धा र उर्लिएको क्रेज ।

पाःलाम आज याक्थुङ समुदायको आत्मा भएको छ । लिम्बुवानी संस्कृतिको द्योतक भएको छ । कसैले नेपाल भन्ने देशको रैथाने चरित्र बोकेको संस्कृति बुझ्नुपरे पाःलाम सुने पुग्छ । या?लाङ हेरे हुन्छ । अन्य सांस्कृतिक धरोहर त छँदैछ ।

याक्थुङ साक्थिम्मिबा सयङले आयोजना गरेको विश्वव्यापी पाःलाम प्रतियोगिताले लोप हुन सक्ने ठानिएको संस्कृति कम्तीमा अझै अरू दुई तीन पुस्तासम्म आरामले जाने सङ्केत दिएको छ । संस्कृतिको फैलावट र विस्तारीकरणमा गैर याक्थुङ समुदायले महत्त्वपूर्ण भूमिका खेलेको छ । उनीहरूको संलग्नताले सांस्कृतिक र सद्भाव दूतको काम गरेको छ । गाइएका सयौँ पाःलामहरू समुदायको सम्पत्ति भएका छन् । राष्ट्रको अमूर्त सम्पदामा दर्ज भएका छन् । सूचना प्रविधि र ज्ञान विज्ञानमा उलटपुलट आएमा पनि डिजिटलकरण भएका हुनाले यो अनन्तकालसम्म अध्ययन अनुसन्धानको विषय बनिरहनेछ ।

अब कुरा गरौँ प्रतियोगिताको केही चुनौती र महत्त्वबारे । मेलापात र सांस्कृतिक जमघटमा सबैभन्दा धेरै सुनिने पाःलामलाई अहिलेको भूमण्डलीकरणको जुगमा प्रविधिमार्फत् ल्याउनु नल्याउनु कति उचित थियो भन्ने सवाल पनि छ । स्थानीयकरण(रैथाने संस्कृति) भर्सेज भूमण्डलीकरण(उदारवादी पूँजीवाद) को लडाइँ अहिले तीव्र छ । विश्वग्रामको अवधारणाबीच पहिचानको मुद्दा जबर्जस्त उठिरहेको छ । बाजी कसले मार्छ । अहिले टुंगो छैन । यसबीच पूँजीवादले आदिवासी संस्कृतिलाई वस्तुका रूपमा प्रयोग गरिरहेको छ । अर्कातिर, साझा विश्व संस्कृतिले जन्माइरहेको सूचना, प्रविधि र विज्ञानमा आएको क्रान्तिलाई रैथाने समूहहरूले नजरअन्दाज गरिहाल्न सक्ने अवस्था छैन । तीव्र ध्रुवीकरण नभएसम्म कित्ताकाट नहोला पनि । यस मानेमा सूचना प्रविधि र ज्ञान विज्ञानमा आएको परिवर्तनको बहावमा बग्दै आफ्नो आत्मा जोगाउनु सबै संस्कृतिको बाध्यता हो । पाःलाम यसर्थमा अनलाइन संस्करणमा देखिएको हो । यसले, पाःलामको फैलावटमा सकारात्मक भूमिका खेलेको छ । अन्तर–सांस्कृतिक अनुभव र ज्ञान आदानप्रदानमा भूमिका खेलेको छ । भूगोलको सीमा पार गर्न मद्दत गरेको छ ।

पाःलाम प्रतिस्पर्धामा अनेक थुमका सहभागी भएका छन् । जसले थुमगत विशेषता । भासरभाकाको प्रयोगबारे बुझ्न सहज भएको छ । एकै ठाउँमा एकै समयमा सयौँ पाःलामहरू आउनु र सुन्नु चानचुने कुरा होइन । आज लाखौँ दर्शक र स्रोताहरूले समुदायको संस्कृतिलाई लकडाउन र कोरोना कहरका बीच आत्मसात गरिरहेका छन् ।

पाःलामको उत्पत्तिको कैयन् हज्जारौं वर्षहरूपछि मात्रै विज्ञान प्रविधिले आकाशवाणीहुँदै तारिरहित र सहितको सञ्चारमाध्यम आविष्कार गर्‍यो । लोक गीत सङ्गीतले क्षणभरमै असीमित जनमानसमा पुग्ने अवसर पायो । आज सामाजिक मास मिडियादेखि न्यू मिडियासम्म रैथाने कुराहरूले ठाउँ पाउँदैछ । यस मानेमा पाःलामको अनलाइन प्रतिस्पर्धा आफैँमा समयसँग अद्यावधिक हुनु हो । लोप हुनुभन्दा समायोजन भएर जानु श्रेयस्कर पनि हुन्छ ।

विशेषतस् जनयुद्धताका सांस्कृतिक विचलनका आरोपमा जनजातीय संस्कारहरू लाल सेना र मिलिसियाका आँखाका तारा भए । वर्षाैँ पुराना गाउँका मेला जहाँ बनिबुतो गरेर दुई चार पैसाको कारोबार हुन्थ्यो । आत्मीय भेटघाट हुन्थ्यो । दुखजिलो गरी उत्पादन गरिएका सामग्री र सेवाहरूको विनिमय हुन्थ्यो । संस्कृतिमा बाँचेर जीवनलाई बुझ्नेहरूको जमघट हुन्थ्यो । ती सबै ठप्प भएका थिए । त्यसयता ठूलो सङ्ख्यामा धान नाच्ने र पाःलाम भन्नेहरूको जमात घटेको थियोे । पाःलाम प्रतियोगिता आयोजना भएपछि ती सबै कुण्ठाहरू निस्किए । ३५-४० वर्षअघि धान नाचेका जोडीहरू अनलाइनमार्फत् देखादेख भए । आत्मिक मोह र माया भर्चुअल संस्करणमा छताछुल्ल भए । यसले अचेतन दिमागमा बिघ्न सांस्कृतिक मोह भएको पुष्टि गर्‍यो ।

रेकर्डिङ स्टुडियोसम्म नपुगेका अर्ग्यानिक लवज, भाका र स्वरहरू देखा परेका छन् । जुन आफैँमा रैथाने सङ्गीतप्रेमीहरूका लागि उत्साहको खबर हो । आस्था, विचार, झुकाव लगायत अनेक पृष्ठभूमिका कारण विभक्त याक्थुङ समुदायलाई जोड्ने सूत्र पनि फेला परेको छ । भाषा र संस्कृतिभन्दा शक्तिशाली मानवीय तत्व केही हुन्न भन्ने पाःलामले पुष्टि गरेको छ । याक्थुङ समुदायमा अहिले सबैभन्दा धेरै सांस्कृतिक बहसहरू चलिरहेको छ । सबैभन्दा पहिचानको आन्दोलन चलेको भूगोल पनि लिम्बुवान नै हो । सांस्कृतिक हिसाबले याक्थुङ लाजे भनिने क्षेत्र याक्थुङ सभ्यताले सिञ्चित गरेको क्षेत्र हो । राजनीतिक क्रान्तिले कालान्तरमा लिम्बुवानमा परिणत भएको हो । त्यसयता करिब अढाइ सय वर्षअघि गैरयाक्थुङहरूको आगमनले बहुसांस्कृतिक भूगोल बनाउँदै लग्यो । पाःलाममा लिम्बुवानमै थातथलो खुलेका र नखुलेका गैरयाक्थुङहरूको सहभागिताले त्यस सांस्कृतिक अन्तर्घुलनलाई मज्जाले प्रकट गरेको छ ।

पाःलामसँग अहिले हाक्पारे, ख्याली, ताम्के संरक्षणको बहस उठिसकेको छ । जुन सकारात्मक प्रभावको कुरा हो । नेपालको प्राज्ञिक, बौद्धिक र नेतृत्वदायी समुदायले संस्कृतिलाई आचरणसँग मात्रै जोड्ला । तर, सांस्कृतिक पूँजीका रूपमा हेर्न थाल्यौं भने यो राजनीतिक शक्ति अझ भनौँ बलियो राष्ट्रवादसम्म जोडिन सक्छ । चरम अनियन्त्रित पूँजीवादी बजारले यान्त्रिकीकरणतर्फ उन्मुख हुँदै गरेको समाजलाई मानवीयताको पाठ पढाउन र संवेदनशील बनाउन संस्कृतिले माध्यमको काम गर्नेछ ।

पाःलाम प्रतिस्पर्धाबाट हुने विजयी एक जना मात्रै हो । मूलधारे भनिएको साङ्गीतिक बजारमा रैथाने सङ्गीत कहाँ पुग्छ र कलाकारले निजत्व निर्माण गर्ने सवालमा कस्तो योगदान गर्छ दशक बढी देखिने उनको सक्रियतामा भर पर्ला । संस्कृति, ज्ञान र अनुभवको कुशलतापूर्वक हस्तान्तरण गरिएन पुनः अन्तरहरू देखिने छन् । यसतर्फ सबै सजग रहनैपर्छ । पाःलाम प्रतिस्पर्धामा जोडिनु आफैँमा गौरवमय यात्राको हिस्सा हुनु हो । मिश्रको पिरामिड बनाउने तीसौँ लाख मजदुरहरू थिए । उनीहरूको योगदानले पिरामिड बनेको हो । आज हामी सबै पाःलामप्रेमीहरू पनि पिरामिडजस्तै एउटा सभ्यताको लुङ खडा गर्दै छौँ । निश्चय पनि एकदिन चो?लुङमा पुग्नेछौँ ।

१९ जुलाई, २०२०

(लेखक याक्थुङ्बा याक्थुङ साक्थिम्मिबा सयङका सदस्य हुन्)

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

विश्व आदिवासी दिवस र नेपालको आदिवासी जनजातिको अधिकार र पहिचानको सवाल

विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्त महिनाको ९ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र संघले...

कोरोना (कोभिड १९), जनता र सरकार

पृष्ठभूमि डिसेम्बर २०१९ मै चिनको बुहानमा देखा परेर संक्रमण शुरु भएको कोरोना (कोभिड १९)...

भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ विरुद्ध विरोध

काठमाडौं, १९ साउन । आदिवासी याक्थुङ (लिम्बू)हरुको भूमि अधिकार स्थापित गर्न गठित याक्थुङ सयङ...

सेनाको कुटाईबाट मृत्यु भएका राजकुमार चेपाङको परिवारलाई १० लाख दिने

चितवन, १७ साउन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको कुटपिटका कारण अनाहकमा ज्यान...