लिम्बु राष्ट्रको सन्दर्भमा धर्म, संस्कृति, संस्कार र ईतिहास - Naya Online

लिम्बु राष्ट्रको सन्दर्भमा धर्म, संस्कृति, संस्कार र ईतिहास

नन्द कन्दङवा

पृष्ठभूमी

हिजो आज लिम्बुहरु वीच धर्म, संस्कृति, संस्कार र ईतिहासबारे बहस, छलफल र बादविवाद भईरहेको छ । यसबरेमा विभिन्न व्यक्तिहरुको भिन्न भिन्न मतहरु र दृष्ट्रिकोणहरु रहन सक्छन् । म चाही विज्ञान पढेको व्यक्ति भएकोले मुन्धुम, धर्म, संस्कृति, संस्कार र ईतिहासलाई वैज्ञानिक कसिको आधारमा पनि हेर्ने गर्छु । आध्यात्मीक विश्वासको आधारमा मात्र हेर्दीन । यसर्थ, मैले लेखेको यस लेखमा दुबै पक्ष आध्यात्मीक र बैज्ञानिक विश्वासलाई मिसाएको छु । आलोचना तथा बिरोध त आ–आफ्नै विश्वास र दृष्ट्रिकोणबाट गर्न सकिन्छ तर कुनै पनि बिषयलाई एउटै विश्वास र दृष्ट्रिकोणबाट मात्र हेरिए एकांकी हुन्छ । यस लेखमा केहि बिषयहरुलाई आलोचनात्मकरुपमा पनि प्रस्तुत गरिएको छ ।

लिम्बु राष्ट्रको बिकास

जेनेटिक विज्ञान अनुसार मानिसमा सर्दै आएको पुर्खाको बंशलाई चिनाउने जीनलाई हाप्लोग्रुप भनिन्छ । आमातिरको ग्रुप चिनाउनेलार्ई mtDNA र बाबुतिरको ग्रुप चिनाउनेलाई Y-chromosome DNA भन्ने गरिन्छ । लिम्बुहरुमा रहेको जेनेटिकल हाप्लोग्रुपको परिक्षण तथा अध्ययन अनुसन्धान नभएकोले लिम्बु जनसमुदायमा कुन कुन र को को संग सम्बन्ध राख्ने हाप्लोग्र«पहरु छन् भन्ने कुरा जेनेटिकल्ली भन्न सकिने अवस्था छैन । यति चाही अनुमान गर्न सकिन्छ कि लिम्बुमा चिनीया–तिव्वती पुर्खा (Sino-Tibetan Ancestor (STA) र चिनीया–स्थानिय आदिवासी पुर्खा (Sino-Local Indigenous Ancestor (SIA) भएका मानव समुहहरु रहेका छन् । लिम्बुहरुको मुन्धुमले बर्णन गरे अनुसार लिम्बु राष्ट्र ३ वटा मानव समुह मिलेर बनेको देखिन्छ । ति ३ वटा मानव समुहहरु हुनः १.सिन्युक मुदेनसा (ताङसाङथास), २.तेमेनसा (मुनाफेन) र ३. खाम्बोङबा–लुम्बोङबासा । यि तिनै समुहका मानवहरलाई मुन्धुममा सावायेतहाङसा (सावायेतहाङ सन्तान) भनिएको छ । यि ३ मानव समुहरुको आ–आफ्नो भाषा तथा संस्कृति थियो कि थिएन अहिलेसम्म थाहा हुन सकेको छैन । ति तिनै समुहले याक्थुङ भाषा र संस्कृतिलाई अंगिकार गरे र एउटा राष्ट्रकोरुपमा बिकास भए । ति तिनै समुह भित्र फरक फरक बंशहरु भने रहेका छन् भन्ने कुरा उनीहरको ईतिहास र माङ्गेन्ना मुन्धुमले बताउछ । भाषागत हिसाबले हाल तम्मरखोले, मेवा खोले, फेदापे, आठराई, याङरुपे, पान्थरे र चौबिसेमा बोल्ने तरिका र केही शव्दहरु फरक परे पनि भाषा एउटै छ । तर छथरमा भने २ वटै भाषा बोलिन्छः छथरे र लिम्बु । छथरे भाषा पनि लिम्बु भाषा नै हो तर यो अरुले बुझ्नलाई अलि गाह्रो छ । संस्कृति त सबै क्षेत्र र बंशहरुमा लगभग एउटै छ ।

यि तिन समुहहरुको प्रत्येकको प्रकाशित बंशावलीको आधारमा यि ३ मध्ये खाम्बोङबा–लुम्बोङबासालाई छोडेर बाकी २ समुह ईस्वीको आठौ / नवौ शताव्दीतिर हाल लिम्बुवान भनिएको भूमीमा आईपुगेको देखिन्छ । सिन्युक–मुदेनसा (स्व. ईमान्सीङका अनुसार ताङसाङथास) हरुको समुह सातौ शताव्दीमा तिव्वतमा भएको बौध धार्मिक क्रान्तिका कारण आफ्नो प्राकृत विश्वास (Animism) को अस्तित्व बचाउन बिस्थापनमा परि यो क्षेत्रमा आएको पाईन्छ । यसलाई मुन्धुमले पनि स्पष्ट गर्दछ । आउनेक्रममा उपाजोङ, चाङपाजोङ, साम्येजोङ, पावोजोङ, टिङग्रीजोङ, तानाक्जोङ, खाम्पाजोङ हुदै विभिन्न ठाउमा बसाई सराई गर्दै छिट्टोमा करिव ८/९ शताव्दीतिर लिम्बुवान भनिएको भूमी आईपुगेको अनुमान हुन्छ ।

यि मानव समुहहरु आउनु भन्दा अघि त्यहा को थिए भन्ने प्रश्न स्वभाविकरुपमा उठ्छ । तिनीहरु आउनु अघि त्यस क्षेत्रको खास खास ठाउमा खाम्बोङबा–लुम्बोङबा थिए भन्ने कहानी रहेको छ जो लिम्बु राष्ट्र बन्ने क्रममा लिम्बु राष्ट्रमा बिलय भए । यो कुरा सिन्युक मुदेनसाका विभिन्न राजाहरुसंग खाम्बोङबाहरुले लडाई गरेको मुन्धुममा पनि उल्लेख छ । एउटा याद गर्नु पर्ने कुरा के छ भने ति खाम्बोङवा लुम्बोङवा दावी गर्नेहरुको पुस्ता र जनसंख्या बिश्लेषण गर्दा भने धेरै संसय / शंका उत्पन्न गराउछ ।

यसैगरि, तेमेनसा (स्व. ईमान्सीङ चेम्जोङका अनुसार मुनाफेन) हरु सातौ / आठौ शताव्दीमा गंगा मैदानको दक्षिणतिरबाट कर्णाट बंशी राजाहरुको आक्रमण र युद्धबाट बच्न र पछिल्लो समयमा मुस्लिमहरुको आक्रमण तथा युद्धबाट बच्न उत्तरी भागतिर आउने क्रममा अहिले बसोबास गरेको लिम्बुवान भूमीमा आएको पाईन्छ । यि मध्ये कतिपय नेपाल खाल्डोमा राज्य गर्ने किरात भनिएका राजबंशहरुको शाखा सन्तान पनि हुन सक्छन् । यिनै ३ समुहहरु मिलेर दश लिम्बुवान राज्य निर्माण गरेको कुरा ईतिहास तथा प्रचलित कहावत अनुसार थाहा हुन्छ । यो कुरा तेमेनसा लिम्बु बंशका लिम्बुहरुको मांगेन्ना मुन्धुमले स्पष्ट गर्दछ । प्रमाणहरुले यस्तो देखाउछ कि तिनीहरु वीच समय समयामा झैझगडा भए पनि एकले अर्कोलाई जितेर होईन कि तिनै समुहका मानिसहरु मिलेर दश लिम्बुवान राज्य बनाए र संघियस्वरुपमा शासन गरे । यस्तो राज्य कहिले निर्माण भयो भन्नेमा भने केहि मतमतान्तर रहेको छ । शायद यस्तो राज्य ईस्वीको १२ औ शताव्दी देखि १७ औ शताव्दीको बीचमा कुनै समयमा बन्यो होला भन्न सकिन्छ । तर ईतिहासकार स्व. ईमान्सीङ चेम्जोङले भने यस्तो राज्य छैटौ शताव्दीदेखि नवौ शताव्दीमा बनेको थियो भनेर उल्लेख गरेका छन् । यो अझै खोजकै बिषय छ । त्यहि दश लिम्बुवान राज्यकै कारण विभिन्न दिशाबाट आएका मानव समुहहरु परस्परमा बिलय भई लिम्बु राष्ट्र र लिम्बुवान राज्य बन्न सक्यो भन्नु पर्ने हुन्छ । यसरी बनेको राज्यको सिमाना विभिन्न समयमा तल माथी परे पनि पछिल्लो समयमा पश्चिममा अरुण, पुर्वमा टिस्टा / मेची नदी, उत्तरमा हिमाल र दक्षिणमा जलालगढ / भुंडे सिमल हो भन्ने बोली चालीको प्रचलनमा रहेको छ ।

किरात तथा याक्थुङहाङ लाजे

यहि राज्यलाई लिम्बु समाजमा थिबोङ याक्थुङ लाजे भनिआएको प्रचलन छ भने मुन्धुममा याक्थुङ लाजे भनिएको छ । यसरी नै स्व. ईमान्सीङ चेम्जोङले प्रकाशन गर्नु भएको किरात मुन्धुममा कहि याक्थुङहाङ लाजे त कहि किरात लाजे भनेर स्पष्टरुपमा उल्लेख छ । (किरात मुन्धुम, पेज १०४ र १०८) यसरी नै उहाले ‘नाम्धालाम्नु याप्मि सोरिक् फेराआङग चेन्जेलुङमा तेम्बे हे?यो याक्थुङहाङनु युबेआङग युङेसिल्ले, याक्थुङहाङले खावेसोग थाःक्फुःतु माङङिन्’ भनेर उल्लेखगरि चेन्जेलुङमा तेम्बे (नेपाल कान्तिपुर) का किराती राजाहरुलाई याक्थुङहाङ उल्था गर्नु भएको छ । (पेज १२६) यसलाई आलोचनात्मकरुपमा हेर्नु त छदै छ तर वाद विवाद तथा बहस गर्नेहरुले यो मुन्धुमलाई पनि हेर्छन कि हेर्दैनन् भन्ने प्रश्न रहन्छ ।

धर्म

सामान्यरुपमा धर्म भनेको आध्यात्मीक आस्था तथा विश्वास हो । धर्ममा २ वटा कुरा हुन्छः आध्यात्मिक आस्था (Spiritual trust) र अर्को सामाजिक–सांस्कृतिक विश्वास प्रणाली (Socio-cultural belief system) । विज्ञानले भने यस्ता आध्यात्मीक आस्था र विश्वासलाई आलोचनात्मकरुपमा हेर्छ । यसमा कतिपय कुरा विज्ञान सम्मत भए पनि धेरै जसो कुराहरु अन्धविश्वास हो भन्ने मान्दछ । लिम्बु समुदायले परम्परागत सामाजिक–सांस्कृतिक तथा आध्यात्मीक विश्वास जे छ त्यहि नै मानिरहेता पनि सरकारी लिखत तथा कागज पत्रहरुमा भने समय समयमा फरक फरक धर्म लेखेको देखिन्छ । सन् १७७४ (बिं.सं. १८३१) पछि राज्यको दबावका कारण लिम्बु समुदायका कतिपयले हिन्दु धर्म लेखे भने फाल्गुन्दको समयमा कतिपयले सत्यहाङमा धर्म लेखे । बि.सं. २०४८ (ईस्वी १९९१) मा भएको जनगणना भने कतिपयले किरात त कतिपयले हिन्दु धर्म लेखाए । थोरै संख्याले पा्रकृत धर्म लेखेको पनि पाईयो । बि.सं. २०५८ को जनगणनामा लिम्बु समुदायले फेरी पनि किरात, हिन्दु र थोरै संख्याले प्राकृत, युमा र क्रिश्चियन धर्म लेख्यो भने बि.सं. २०६८ को जनगणनामा सोही कुरा दोहोरियो तर संख्यात्मकरुपमा थोरै तलमाथी पर्यो । बि.सं. २०७८ मा हुने अवको जनगणनामा के लेख्ने भन्ने पनि मस्तिष्क मन्थन भईरहेको छ । मुल विवाद किरात र युमा धर्म मध्ये कुन लेख्ने भन्ने आ–आफ्नै तर्क, अडान र अभियान रहेका छन् ।

मानव अधिकारले धर्म लगायत धेरै बिषयहरुमा व्यक्तिगत स्वतन्त्रताको कुरा गर्छ । यो व्यक्तिगत अधिकारको दायरा भित्रको कुरा हो तर हामीहरु सामुहिक मानव अधिकारको कुरा गरिरहेका छौ । सामुहिक भन्ने वित्तीकै समुदाय तथा राष्ट्र (जाति) संग जोडिन्छ । यस अर्थमा धर्मले हामीलाई २–४ वटा समुदाय बनाउन खोजीरहेको छ । यो दुःखद कुरा हो भने समुदायलाई फुटाउने कार्य हो । रह्यो धार्मिक हिसावले पनि यो कसरी एउटै समुदाय बनाएर राखि राख्न सकिन्छ भन्ने प्रश्न ज्यादै चुनौतिपुर्ण छ सम्भवत यो असम्भव पनि होला । यसको लागी निरन्तर बहस र छलफलहरु भईरहनु पर्दछ तर फुटाउने लाईनमा नभएर जुटाउने लाईनबाट ।

मुन्धुमले हामीलाई मानव बिकासको क्रममा एक समयमा प्राकृत विश्वास मात्र सिकायो । त्यसैले आज लिम्बु समुदाय भनिएको मानव समुहले त्यस बेला बाली लगाउने पुजा गर्यो र सर्वशक्तिमान ताङगेरा निङवाफुलाई सम्झियो । चासोक पुजा गर्यो उही सर्बशक्तिमान ताङगेरा निङवाफु र शक्तिशाली प्राकृतिक शक्ति पोरोक्मी याम्फामी माङलाई सम्झीए । उभौली उधौली जस्ता विभिन्न पुजा गरे र तिनै सर्वशक्तिमान र प्राकृतिक शक्तिलाई सम्झीए । त्यसपछि, क्रमश बोन विश्वासको प्रभाव पर्दै गयो र सामानिजम्लाई अंगिकार गर्दै गए । फेदाङवा, येवा तथा साम्बाहरु बिकास गरियो भने तिव्वति बौधको प्रभावका कारण मुहिगुम ओङसी (अवतार या औतारी) पनि भित्र्याउने काम गरे । त्यसैगरि, शक्तिको स्वरुपमा युमा, थेवा तथा कप्पोबा माङ / साम्माङ थान्छीङमा (प्रकट हुने) विश्वासलाई अंगिकार गर्ने काम भयो । यि मध्ये कतिपय जेनेटिक स्थानान्तर पनि हो । त्यसपछि हिन्दुहरुको प्रभाव पर्यो र हिन्दुहरुका विधी विधानहरुलाई अंगिकार गर्ने काम हुन थाल्यो । त्यसरी नै क्रिश्चियनहरुको प्रभावबाट नशाजन्य जाड रक्सी नखाने मुल्यलाई अंगिकार गर्ने काम हुन थाल्यो । यस्तो काम त लिम्बु समुदायमा निरन्तर भईरहेको छ भने अहिले कुन धर्म मान्ने र लेख्ने भन्ने वाद विवाद भईरहेको छ । फेरी धर्म भनेको नशा जस्तै हुने आध्यात्मीक आस्था र विश्वास भएकोले तिनीहरु जो उक्त धर्म विश्वासमा छन् अरुको कुरा सुन्न पनि सक्दैनन् र चाहदैनन् पनि । यस अर्थमा यसको समाधान कठिन मात्र होईन असम्भव छ भन्ने ठान्छन कतिपय मानिसहरु । तर असम्भव छ भनेर छोड्न मिल्दैन । तत्काल सम्भव नभए पनि एउटा कोर्स (बाटो) खडा गर्न सकिन्छ भनेर प्रयास गरिरहन पर्छ । त्यो कोर्स भनेको पारस्परिक अन्तरकृया, बहस र छलफल नै हो ।

संस्कृति तथा संस्कार

संस्कृति भनेको मानव समुहको क्रमश विकास हुने क्रममा विभिन्न कठिन परिस्थितिमा जीवन तथा समुदायलाई अघि बढाउन र सहजरुपमा समाजलाई निर्देशित गर्न मानव समुहले विकास गरेको मुल्य र मान्यता हो । यसैले संस्कृतिलाई जीवन, पहिचान तथा सामुदायिक सामाजिकरुपमा रहेको परिधी (घेरा) र सामुदायिक एकताको सुत्र हो भन्ने गरिएको छ । मानवशास्त्रले यस्तो संस्कृतिसंगै संस्कारहरुको विकास नव ढुंगे युगमा (नवपाषाण युगमा) भयो भन्दछ । यो नव ढुंगे युग ईसा पुर्व ९,००० देखि २,००० सम्म मानिएको छ । यो युग भनेको मानव समुहले खेती गर्ने, जंगली जनावरहरुलाई घरमा पाल्ने र सामुहिकरुपमा शिकार तथा कन्दमुलहरु बटुल्ने, र अलि स्थिररुपमा बसोबास गर्न थालेको युग हो । यसैकारण, मानव समुहलाई सामाजिक नियम बनानु पर्ने भयो, समाज चलाउन विभिन्न उपायहरुको बिकास गर्नु पर्ने भयो । यसरी नै सामाजिक संस्था (Social institution) तथा संस्कृतिको विकास भयो ।

संस्कृतिमा बाहिरीय प्रभाव पर्छ । बाहिरीयाहरुको सम्बन्ध र सम्पर्कले मौलिक संस्कृतिहरुमा बिचलन आउने र ह्रास आउने प्रकृयाहरु चल्छ । लिम्बु भनिएका समुदायको सन्दर्भमा, यस्तो संस्कृतिको बिकास जेनेटिक हिसावले हालको दक्षिण–पश्चिम चिनको क्षेत्रमा भयो होला जसलाई मुन्धुमले मुनातेम्बे भन्दछ । कोही कोही मानिसहरु मानवको उत्पति फक्ताङलुको काख ईम्धीरी ईङधाङवाको आसपासमा भएको मान्नेहरु पनि छन् । यो विश्वास विज्ञान सम्मत हुन सक्ने देखिन्न । मुनातेम्बेमा रहेका मानव समुह, त्यहा बिकास भएको संस्कृति हाल नेपाल भनिएको भूभागमा आईपुग्दासम्ममा केही तल माथी तथा परिमार्जन भए भनेर अनुमान लगाउन सकिन्छ । त्यसलाई १० लिम्बुवान राज्य बनेपछि पुन बलियो र सुदृढीकरण गर्ने काम भयो भन्ने देखिन्छ । अहिलेको भूमण्डलीकरणको समयमा ति संस्कृति तथा संस्कारहरु झनै लथालिंग भएका छन् । यसले एक समयको बलियो लिम्बु समाज क्रमश कम्जोर र तरल समाजकोरुपमा विकास भईरहेको छ । यसलाई बलियोरुपमा राख्न केही त प्रयासहरु भई नै रहेका छन् । तुफान आधीको वीचमा लिम्बु संस्कृति तथा संस्कारहरुलाई बचाउन हदैसम्मको कोशिस त जारी नै छ ।

ईतिहास

ईतिहास भनेको के हो भन्नेमा ईतिहासकार वीच नै विवाद छ । एकथरी ईतिहासकारहरुले ईतिहासलाई अभिलेख पाईए देखि यताको घट्ना क्रमहरुलाई मात्र ईतिहासकोरुपमा लिन्छन । त्यसभन्दा अघिको मिथककोरुपमा रहेका समयलाई प्रागऐतिहासिक कालकोरुपमा लिन्छन् । अर्काथरी ईतिहासकारहरुले भने ईतिहासको आधार संस्कृति, पुरातात्वीक बस्तुहरु आदीलाई पनि लिन्छन् ।
लिम्बु समुदायको कुरा गर्दा, मुन्धुममा बर्णन गरिएको घट्नाहरुलाई पुष्ठी गर्ने अभिलेखहरु पाईदैन, पाईएको छैन । मुन्धुम पनि स्व. चेम्जोङले अभिलेखीकरण गरेको र अन्यले अभिलेखिकरण गरेको कतिपय ठाउमा मिलेको देखिन्न । यस अर्थमा, लिम्बु समुदायको ईतिहासको आधार संस्कृति, पुरातात्वीक बस्तुहरु, सांकेतिकरुपमा अथ्र्याउन सकिने लिखत र केही मिथकहरुलाई लिनु पर्ने हुन्छ । विदेशी विद्धानहरुलाई छोडेर लिम्बुहरुको ईतिहास लेख्नेहरुमा स्व. प्रेम ब. मावोहाङ, स्व. ईमान्सीङ चेम्जोङ, शिव कुमार श्रेष्ठ आदी मुख्य छन् । यि ईतिहासकारहरुले लेखेको ईतिहास एकको अर्कोसंग धेरै बिषयहरुमा मिलेको देखिन्दैन अर्थात परस्परमा बाझिएको पाईन्छ । यसमा संस्थागतरुपमा पहल गरि मुन्धुम र ईतिहासबारे बहस र छलफल गरि मुन्धुमको सहि अभिलेखिकरण र ईतिहासको सहि लेखन गर्न आवश्यक्ता रहेको देखिन्छ । यसको साथै ईतिहासको आधारकोरुपमा रहेको लिम्बु भित्रका विभिन्न बंशहरुको बंशावली लेखन पनि बैज्ञानिक र तर्कसंगत बनाउन आवश्यक छ ।

लिम्बु जातिको ईतिहासलाई तर्कसंगत बनाउन जेनेटिक अध्ययनलाई पनि आधार बनाउन जरुरी छ । लिम्बु जाति पनि मंगोलोईड समुह भित्रको एक हागा भएकोले मंगोलोईड मानव समुहसंग जोडेर त्यसको उत्पति र बसाई सराई हेर्न र बिश्लेषण गर्न जरुरी छ ।

अफ्रिकाबाट बाहिर निस्कदा माईकोकोन्ड्रीयल हाप्लोग्रप L3 परिवर्तन (Genetic mutation) भएर टर्कीको लेभेन्ट भएर पश्चिमी क्षेत्रमा जानेमा N हाप्लोग्रुप र, यमन र ईथोपियालाई जोड्ने बब एट मण्डपबाट पुर्वी क्षेत्रमा जानेमा M हाप्लोग्रुप बिकास भयो । यसैले, बब एट मण्डप देखि पुर्व लागेका एशियाका मानव समुहमा M हाप्लोग्रुप बचस्र्पशाली भयो भने लेभेन्टदेखि उत्तर तथा पश्चिमतिर लागेका मानव समुहहरुमा N हाप्लोग्रुप बचस्र्पशाली भयो । यसैकारण, यूरोपमा M हाप्लोग्रुप करिव करिव अनुपस्थित छ भने एशियामा N हाप्लोग्रुप ज्यादै कम्जोर छ । यहि M हाप्लोग्रुप भएको मानव समुह पुर्वतिर लागी एशियाको दक्षिण हिमालय क्षेत्र देखि पुर्वी एशिया तथा पुर्वी–दक्षिण एशिया वीचको क्षेत्रमा जीन परिवर्तन (Genetic mutation) भएर मंगोलोईड जीन अर्थात हाप्लोग्रुपको विकास भयो भन्ने जेनेटिक अध्ययनकर्ताहरुको भनाईरहेको छ । यहि हाप्लोग्रुपका मानव समुह कोही उत्तर एशिया, पुर्वी एशिया, दक्षिण एशिया र पश्चिम एशियासम्म फैलिए । यहि हाप्लोग्रुपका मानव समुह तिब्बतबाट लिम्बुवान क्षेत्रमा प्रबेश गर्ने र बर्मा, आसाम हुदै भारतीय क्षेत्रमा फैलिएर लिम्बुवान क्षेत्रमा प्रबेश गर्ने मानव समुह नै आजका लिम्बु अर्थात याक्थुङ भनिएका मानव समुह हुन् । मुन्धुमले पनि यहि कुरा सावित गर्दछ भने तिव्वति, बर्मी तथा चिनीयाहरुसंग लिम्बुहरुको भाषागत तथा सांस्कृतिक सम्बन्ध र सामिप्यताले पनि यही कुरा पुष्ठी गर्दछ ।

जहासम्म आदिवासी लिम्बुबारे बाहिरबाट आएकाहरु कसरी आदिवासी हुन्छन भन्ने सन्दर्भ छ, सबै मानव समुहहरु अफ्रिकाबाट एक ठाउबाट अर्को ठाउमा बसाई सराई गर्दै अहिलेको ठाउमा पुगेका हुन । कोही पनि त्यहि उत्पति भएका होईनन् । यसर्थ, आदिवासीलाई २ वटा कुराले निर्धारण गर्दछ । पहिलो हो, आदिमकाल अर्थात ढुंगे युग खासगरि नव ढुंगे युगदेखि नै लगातार बसोबास गरि आएका (Human group continually living in a particular region since ancient time) मानव समुह, र दोस्रो हो, सो क्षेत्रको पहिलो बासिन्दा (First settler human group in a particular region where they have been living there continually) जहा उनीहरुले आफ्नो संस्कृति, संस्कार, आध्यात्मीक विश्वास प्रणाली र जीवन पद्धतिको बिकास गरे । लिम्बुहरुको हकमा हाल लिम्बुवान भनिएको भूमीमा उनीहरु जताबाट आए पनि पहिलो बासिन्दा हुन । यस अर्थमा उनीहरु सो क्षेत्रका आदिवासी हुन । लिम्बु पनि कतिपयले मंगोल त कतिले भूमीपुत्र त कतिले मुलवासी हौ भन्ने कुरा गर्दछन् ।

मंगोल, भूमी पुत्र तथा मुलवासी

विभिन्न लेख, दस्ताबेज तथा साहित्यहरुले मंगोल (Mongol) भन्ने शव्दको अर्थ २ हिसावले प्रयोग गरेको पाईन्छ । पहिलो, यस शव्दलाई खास मानव जातिय समुह (Ethnic group) बुझाउन प्रयोग भएको पाईन्छ । विकीपेडियाका अनुसार यस शव्दको प्रयोग सर्व प्रथम आठौ शताव्दीमा चिनको ताङ रेकर्डमा सिहुई भन्ने जातिय समुहलाई बुझाउन प्रयोग भएको देखिन्छ । यसको प्रयोग मंगोलियन प्लेटो (Mogolian Plato) मा रहेका केही जातिय मानव समुहलाई बुझाउन प्रयोग भएको छ भने पछिल्लो समय अर्थात १३ औ शताव्दीमा यसको प्रयोग चंगेज खानको वैद्यतामा गएर ठोकिन्छ र टुंगिन्छ । दोस्रो, यस शव्दको प्रयोग एक नश्ल (Race) जनाउन प्रयोग भएको देखिन्छ । तर मंगोल र मंगोलोईड (Mongoloid) भनेका फरक फरक कुरा हुन र यिनको अर्थ फरक फरक लाग्छ । बंशाणुगत हिसावल (Genetically) मंगोल भनेको मंगोलियन प्लेटोमा रहेका मानव समुहहरु जो एक मंगोलोईड जीनबाट परिवर्तन (Mutation)  भएर विभिन्न समुह भए र त्यहि रहेकालाई बुझाउन प्रयोग भएको छ । सारमा मंगोल भनेको मंगोलिया भन्ने देशको मानव समुह र मंगोलियन भनेको उनीहरुको राष्ट्रियता हो भन्ने अर्थ दिन्छ । मंगोलोईड (Mongoloid) भनेको मंगोल जीनको मानव समुह बिकास हुनु अघि आजभन्दा करिव ५२,००० बर्ष पहिले एशियाको हिमालय क्षेत्रदेखि पुर्वी एशिया र पुर्वी–दक्षिण एशिया वीचको क्षेत्रमा बिकास भएको बंश मानव समुह हो जसको बंश परिवर्तन (Genetic mutation) बाट तिव्वत, चिन, मंगोलिया, रुस, जापान, थाईल्याण्ड, बर्मा, आसाम, भारत, नेपाल लगायतमा बसोबास गर्ने धेरै मानव समुहहरु बिकास भए र फैलिए । मंगोल मंगोलीयन प्लेटोको मानव बंशीय समुह हो भनेर जान्ने गरिन्छ भने मंगोलोईड भनेको एक ठुलो मानव समुह परिवार हो जस्ले मंगोल देखि चिनीया, जापानिज, बर्मी, थाई, नागा हुदै नेपालका चिम्सो आखा, नेप्टो नाक र चेप्टो अनुहार भएका मानव समुहहरु जसलाई आर्यहरुले किरात भनेका मानव समुह समेतलाई समेट्छ ।

आदिवासीकै अर्थ दिने भूमी पुत्र तथा मुलवासी जस्ता शव्दहरु पनि यत्र तत्र प्रयोगमा छन् । शायद मुलवासीको अर्थ पनि अंग्रेजीमा Native / aborigines नै हो कि तर ठ्याक्कै के हो भन्ने शव्द छ जस्तो देखिन्न । लिम्बुहरुमा उनीहरु बसेको भूमीको ढुंगा माटोबाट जन्मिएकालाई खाम्बोङबासा लुम्बोङबासा भन्ने चलन छ । भूमी पुत्रलाई पनि त्यहि अर्थमा प्रयोग गरिएको पाईन्छ । यथार्थमा त्यहिको ढुंगा माटोबाट त मानव उत्पति हुने कुरा सम्भव छैन तर त्यहिको ढुंगा माटोमा हुर्केको बढेको र दरसन्तान बितेको भने हुन्छ । यसर्थ, जुन मानव समुहलाई आफ्ना पुर्वजहरु कता र कहाबाट आएका हुन् भन्ने कथा तथा ईतिहास बताउन सक्दैनन् तिनीहरुलाई नै खाम्बोङसा लुम्बोङसा अर्थात भूमी पुत्र भनिएको देखिन्छ । बंशाणु बिज्ञानले बंशाणु जाच (Genetic test) गरेपछि भूमी पुत्र या अन्य कुनै मानव समुहको बसाई सराई कताबाट र कुन अर्को समुहसंग सम्बन्धित छ भन्ने देखाउने भएकोले तिनीहरुका पुर्खाहरु कतैबाट त्यहा आए पनि सो कुरा बिर्सीसकेको हुन्छ र हामी यहिका भूमी पुत्र या खाम्बोङसा लुम्बोङसा भन्न पुगेका हुन्छन् । हाम्रो देशकै उदाहरण लिदा पनि थारुलाई भूमी पुत्र भन्ने गरिन्छ जस्का पुर्खाहरु कहाबाट आए भन्ने थाहा थिएन । तर अहिले बंशाणु बिज्ञानले बंशाणु जाच (Genetic test) बाट थारुहरुको ७२% तिव्वतियन (मंगोलोईड) अर्थात पुर्वी एशियान पुर्खा रहेको देखाएको छ यद्यपी यसमा अरु पुर्खाहरु पनि मिश्रण भएको देखिन्छ । कतिपय भूमी पुत्र भन्नेहरुले हामी मुलवासी हौ भन्ने पनि गरेको देखिन्छ । तर भूमी पुत्र र मुलवासी मा फरक एउटाले आफ्ना पुर्खा कहाबाट र कहिले आएका थिए भन्ने कथा तथा ईतिहास थाहा पाउदैन भने अर्कोले थाहा पाए पनि हामी मुल या मुख्य बासिन्दा हौ भन्ने गर्दछ । मुलवासीलाई धेरैले पुराना बासिन्दाकोरुपमा लिने गरेको देखिन्छ । मुलवासीलाई कतिपयले पहिलो बासिन्दाकोरुपमा नलिने र कतिपयले आदिमकालदेखि बसेका मानव पुर्खाहरुको सन्तान नहुन पनि सक्ने अर्थमा प्रयोग गरेका छन् ।

सामाजिक क्षेत्रमा अर्को एउटा शव्द अनादीबासी पनि प्रयोगमा छ । अनादीवासीको अर्थ आफ्नो बंश कहाबाट शुरु भएको भन्ने थाहा नभएको मानव समुह हो । यो त अज्ञानताको अवस्थामा प्रयोग गरिने शव्द हो । विश्वमा भएका सबै मानव समुहको उत्पति तथा बसाई सराईको नालीबेली मानवशास्त्र र बंशाणु विज्ञानले दिन्छ । यस्तो शव्दको प्रयोग धेरै जसो पछिल्लो समयमा खास क्षेत्रमा बसाई सराई गरेर आएकाहरुले आफ्नो सुरक्षाको लागी आदिवासीलाई चुनौति दिन अनादीवासी हौ भन्ने गर्दछन् । नेपालको सन्दर्भमा खासगरि केही बाहुन तथा क्षेत्रिहरुले हामी अनादिवासी हौ भन्ने गरेका छन् । नेपालमा पहाडे आर्य बाहुन–क्षेत्रीको आगमन ईस्वीको चौधौ शताव्दी भन्दा पछि भएको पाईन्छ । यस्तो अनादीवासी विश्वको कुनै कुनामा पनि अब छैन ।

लिम्बुहरुमा आठराजा र दशराजाको कुरा

लिम्बुको ईतिहासमा आठराजा र तिनीहरुको सन्तानको कुरा आउछ । मुन्धुममा आउने आठ राजा (येतहाङ) र लिम्बुवानको ईतिहासमा आउने आठ राजाहरु फरक फरक समयका फरक फरक राजाहरु हुन् । मुन्धुमका येत्हाङहरु सृष्टीकालिन समय अर्थात मुनातेम्बे क्षेत्र आसपासका हुन भने लिम्बुवानका आठराजा दश लिम्बु राजा (थिबोङ याक्थुङहाङ) हरु भन्दा केही अघिका हुन् । लिम्बुवान ईतिहासका आठराजा तथा दश राजाहरु सबै मुन्धुममा बर्णन गरिएका तिनै येत्हाङका सन्तान अर्थात सावायेत्हाङसा हुन् । तर स्व. ईमान्सीङ चेम्जोङले ‘किरात मुन्धुम’ मा सिन्युक लाजेमा सान बंशी राजा पछि थिबोङ याक्थुङहाङले आपुंगी राज गरे (पेज ८४) भनेर उल्लेख भएकोलाई साचो मान्ने हो भने दश लिम्बु राजाहरुले राज्य गरेको देश (लाजे) पनि हालको लिम्बुवान नभएर सिन्युक लाजेतिरै हो कि भन्ने देखिन्छ । तर हाम्रोमा दश लिम्बुवानको केही प्रमाणिक कुराहरु भएकोले यो सिन्युक नभएर हालको लिम्बुवान नै हो भन्ने स्पष्ट छ । लिम्बुवान भूमीमा यिनीहरु कोही मुदेन रुट त कोही बर्मा–आसाम–भारतिय (तेमेन) रुटबाट आए । यि सबै मिलेर तत्कालिन समयको सम्भावित बाहिरीय हस्तक्षेप तथा दबदवालाई बिचार गरेर संघिय स्वरुपको दश लिम्बुवान राज्य बनाए । यसलाई भाषागत, सांस्कृतिक र जेनेटिकल (बंशाणुगत विज्ञानको) आधारमा यिनीहरुको सम्बन्ध र समिप्यतालाई हेर्न सकिन्छ र हेर्नु पर्दछ ।

साउन २०७७

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

कोरोना (कोभिड १९), जनता र सरकार

पृष्ठभूमि डिसेम्बर २०१९ मै चिनको बुहानमा देखा परेर संक्रमण शुरु भएको कोरोना (कोभिड १९)...

भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ विरुद्ध विरोध

काठमाडौं, १९ साउन । आदिवासी याक्थुङ (लिम्बू)हरुको भूमि अधिकार स्थापित गर्न गठित याक्थुङ सयङ...

सेनाको कुटाईबाट मृत्यु भएका राजकुमार चेपाङको परिवारलाई १० लाख दिने

चितवन, १७ साउन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको कुटपिटका कारण अनाहकमा ज्यान...

‘पाथिभरालाई मुकुमलुङ्मा नामाकरण गर्नैपर्छ’ –सञ्जुहाङ पालुङ्वा

विर्तामोड, १७ साउन । संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रिय अध्यक्ष सन्जुहाङ पालुङ्वाले आफुले थाहा...