नेम्बाङहरूको यक र माङगेना लुङधुङ - Naya Online

नेम्बाङहरूको यक र माङगेना लुङधुङ

विरही काइँला

वंशावली अनुसार नेम्बाङहरूको पुरानो गढी हेलाङ यक हो । हेलाङ यकमा नै नेम्बाङ वंशका १३औं  पुस्ताका मुगुपाहाङ (मुक्केगुबा)-ले छल कपटका कारण आफ्नो कपाल काटेपछि उनी शक्तिहीन बनेका थिए । यसै वंशका २२औं  पुस्ताका पाङबोहाङ (पाथोङ उर्फ पाप्सोङ)-लाई योपातापाका सन्तानहरूले तुम्बाङदेन (तमाखे) भन्ने जगहमा हत्या गरेपछि फेदेन यकको पतन भएको थियो । उनकी श्रीमती कुनाहाङ्मा छोरा लथिक्पा र कान्छो देवर चुकमेप्पालाई साथमा लिएर इलाम माइत गएर बसिन । इलाममा पनि शत्रुहरू पछिलाग्न थालेपछि चुकमेप्पा र लथिक्पा देउमी(देउमाइ) खोलै खोला कुहिभिर भएर इधुङयक आए । यहाँ पनि सुरक्षित नभएपछि यी दुईले तुम्बाङदेन जाने सल्लाह गरे । त्यतातिर जान अघि शत्रुहरूले पिछा नगरून भनि यी दुईले तुम्बाङदेनको थाप्लोमा अवस्थित इधुङयकमा सोला-पासो थापे । यही बाटो भएर तुम्बाङदेन जानु पर्दथ्यो ।

चुकमेप्पा र लथिक्पा कहिले तुम्बाङदेन र कहिले इधुङयकमा  बस्ने गर्थे ।

चुकमेप्पा र लथिक्पा इधुङयकमा नभएको समयमा त्यहाँ थापिएका सोलाहरू उखालेर फ्याँकिएका अनि पासोहरू भत्काइ दिएका हुन्थे ।

एक दिन यी दुई भाइले एउटा सेतै केश फुलेको बुढो मान्छे पासोमा परेर लडिरहेको देखे । पासो भत्काउने मान्छे  यो रहेछ भनेर समाउनलाई चुकमेप्पा र लथिक्पा छेउमा पुग्दा पासो आफै चुडिए । त्यसपछि बुढो मान्छेले उठेर भन्यो – ‘ ए मेरा नातीहरू हो ! म तिमीहरूको  थेबा(बाजे) हुँ ! मद्त गर्न आएको ।’

चुकमेप्पा र लथिक्पालाई विश्वास भयो कि बुढो मान्छे यिनीहरूका पुर्खा नै हुन । फेदेनयकमा पराजित भइ गाउँ छोडेर कतै गएर बसेका थिए । अब घर फर्कन लागेका रहेछन ।

तुम्बाङदेन जाने बाटो अप्ठ्यारो थियो । शारीरिक रूपले कमजोर बुढो थेबालाई लथिक्पाले आङ्मा बोकेर चुकमेप्पाको पछि ओरालो लागे ।  हेखाम्देन भन्ने ठाउँमा आइपुग्दा लथिक्पा सारै थाके । अब चुकमेप्पासँग पालो गर्न थेबालाई बिसाएर पछि फर्केर हेर्दा थेबा थिएन । थेबा अल्पिए । थेबालाई नदेखेपछि चुकमेप्पा र लथिक्पाले  बोलाए । यता उता खोजे तर थेबालाई भेटेनन ।

(थेबा अल्पिएको हेम्खामदेनमा थेबाहिम)  

चुकमेप्पा र लथिक्पा तुम्बाङदेन पुगे । राति सपनामा इधुङयकमा पासोमा परेको बुढो मान्छे आएर –‘म तिमीहरूको थेबा हुँ ! मेरो पूजा गर,तिमीहरूलाई  मेरो शक्ति प्राप्त हुनेछ ।‘ भनेर अल्पिए । विहान चुकमेप्पा र लथिक्पाले एकअर्कालाई सपना बताए । दुवै जनाले एउटै सपना देखेका रहेछन । आफ्ना वंशका फियाक पिचवा र लोरिङदेन(लोवा) लाई पनि उनी दुई माथि घटेको घटना र सपना सुनाए । त्यसपछि उनीहरु भेला भएर हिजो वेलुकि जतिबेला थेबा अल्पिएका थिए त्यही समयमा घरको बाहिरपट्टी दैलोमा  थेबालाई स्वागत (लाम्दाक) गरे । शत्रुहरूले चाल नपाउन भनी  दैलो बन्द गरेर घरभित्र साङ्बे गाडेर धनु काँड ,भाला वर्षा, ढाल तरवार भिरेर युध्दको लागि तयार रहेर थेबाको पूजा -अर्चना गरे । करवाँ पितको भोग दिए ।

चुकमेप्पा र लथिक्पाको देहमा थेबा साम (बाजेको आत्मा)-ले प्रवेश गरयो । दुई भाईलाई शक्ति प्राप्त  भयो । यिनी दुईले तुम्बाङदेनबाट शत्रुहरूलाई भगाए । शत्रुहरू लखेट्दा चुकमेप्पा र लथिक्पाको तरवारले काटेका ढुङ्गाको गीडहरू  तुम्बाङदेनमा अझै देख्न पाइन्छ ।

(चुकमेप्पा र लथिक्पाले काटेका ढुङ्गाका गीडहरू)

घाम अस्ताउन लागेको समय थेबा अल्पिएको ठाउँलाई हेखाम्देन भनिन्छ । हाल त्यस ठाउँमा थेबाको घर निर्माण गरिएको छ । त्यहाँदेखि अलिक तलतिर तुम्बाङदेनमा चुकमेप्पा र लथिक्पाले थेबासामको पूजा गरेर शक्ति प्राप्त गरेका स्थानमा नेम्बाङहरूको माङगेना लुङधुङ छ । माङगेना लुङधुङलाई पनि नेम्बाङहरूले  संरक्षण गरेर राखेका छन ।

(नेम्बाङहरूको माङगेना लुङधुङ)        

चुकमेप्पा र लथिक्पा उफ्रेर कुल्चेका ठाउँमा कुर्कुचा  गाडिन्दा  उत्पन्न भएको पानीको उद्गम स्थल आप्तँवा-तितँवा इधुङयकको नजिक पर्दछ । त्यही क्षेत्रमा साधुटारको थेबा पोखरी पर्यटकहरूका लागि आकर्षक थलो बनेको छ ।

चुकमेप्पा र लथिक्पा हिडेको अरूले उडेको देख्थे र यी दुईलाई पेबाखुम नेम्बाहाङ (उड्ने नेम्बाङ राजा) भन्दथे । यिनै पेबाखुम नेम्बाहाङ नामले चुकमेप्पा र लथिक्पा प्रख्यात भए । यी दुईका सन्तानहरू अहिलेका नेम्बाङहरू हुन ।

पेबाखुम नेम्बाहाङ चुकमेप्पा र लथिक्पाले इधुङयक पछि नाम्फुयक निर्माण गरे ।  लिम्बुवानको पान्थर जिल्ला अन्तर्गत नाम्फुयकस्थित सत्यहाङ पन्थका महागुरू फाल्गुनन्द लिङदेनले निर्माण गरेका ‘थेबा-युमा’-को कुटी (मन्दिर) भएको ठाउँमा नेम्बाहाङ  चुक्मेप्पा र लथिक्पाको यक थियो । यही बसेर महागुरु फाल्गुनन्दले अर्को चोला थेबाको रूपमा आउने भविष्यवाणी गेरका थिए । यस ठाउँलाई उनी स्वर्गद्वारी पनि भन्थे ।

(नेम्बाङहरूको नाम्फुयकमा थेबाको कुटी)

महागुरू फाल्गुनन्द नाम्फुयक कुटी आउँदा पौवाका हर्कबोली नेम्बाङको घरमा एक,दुई रात बास बस्थे । महागुरुलाई बस्नका लागि हर्कबोली नेम्बाङको आँगनमा ब्यासन बनाइएको थियो । महागुरू फाल्गुनन्दले हर्कबोली नेम्बाङलाई आम्भु (दाजु) भनेर बोलाउँथे । हर्कबोली नेम्बाङले फाल्गुनन्दलाई गुरू भनेर सम्बोधन गर्थे । तर हर्कबोली नेम्बाङले सत्यहाङ पन्थ अप्नाएनन् । बि.स.१९९६ सालमा हर्कबोली नेम्बाङको निधन भयो । महागुरू फाल्गुन्द लिङदेन हर्कबोली नेम्बाङको सुधाइमा पौवा आएर एकतारे बजाउदै भजन गाएर रातभर जाग्रत बसेका थिए ।

(खण्डहरमा परिणत हुन लागेको हर्कबोली नेम्बाङको घर,पौवा)      

पेबाखुन नेम्बाहाङ चुकमेप्पा र लथिक्पा माफाराको डाँडै डाँडा उत्तरतर्फ जादा पुधामलुङ-वधिनलुङमा थार, घोरल, कालिज आदिको शिकार गर्थे । इवानागी-तावानागीमा कस्तुरी र फक्ताङलुङ,केवालुङ,छेन्छेलुङमा पुगेर डाफे-मुनाल पक्रन्थे ।

सन १६०४ मा जन्मेका फुन्छो नामग्याललाई  सुखिमका भोटे-लेप्चा र चोङ(लिम्बु) मिलेर  नयाँ राजा बनाए । तर कतिपय चोङ र लेप्चाहरू भने  फुन्छो नामग्याललाई राजा मान्न तयार भएनन । तिनीहरूलाई भोटेहरूले पाताङले काटे ।

यसरी चोङ र लेप्चाहरू काटिएको जगहमध्ये ग्येजिङ बजार नजिकको छोर्तेनहरू खडा गरिएको ठाउँ एक हो । भोटेहरुको डरले इलाम पसेका चोङ र लेप्चाहरूको पिछा गर्दै सुखिमे भोटे सेनाहरू इलाम आएर त्यहाँका मानिसहरूलाई पनि दुःख दिन थाले  । भोटेसेनापति ल्वाछेन अत्यचारी थिए ।

आफूहरूलाई सेन वंश कहलाउने इलामको योङहाङहरू पेबाखुम नेम्बाहाङको प्रसिद्तासित परिचित थिए । तिनीहरू नेम्बाहाङसँग सहयोग माग्न नाम्फुयक आए र नेम्बाहाङ, चुकमेप्पा र लथिक्पालाई इलामको  फाक्फोक भन्ने ठाउँमा लिएर गए । भोटे सेनापति ल्वाछेन र तिनका सेनाहरू देउमी खोलाको किनारमा बसेका थिए ।  पेबाखुम नेम्बाहाङ चुकमेप्पा र लथिक्पा त्यही पुगेर ल्वाछेनलाई फर्केर जाउ भनी सम्झाए । नेम्बाहाङको कुरा सुनेर भोटे सेनापति ल्वाछेन साह्रै रिसाए ।

‘मलाई फर्केर जाउ भन्ने तिमी दुई को हौ ?’ भन्दै आफ्ना सेनाहरूलाई यिनीहरूलाई मार भनी आदेश दिए । हातमा पाताङ बोकेका भोटे सेनाहरू चुकमेप्पा र लथिक्पामाथि खनिए । दुईभाईले भोटे सेनाको टाउको तरवारले भुइँमा झार्न थालेपछि भोटे सेनाहरू ज्यान जोगाइ भाग्न लागे ।

देहमा थेबासामको प्रविष्टले शक्तिशाली चुकमेप्पा र लथिक्पाको सामु भोटे सेनाहरू टिक्न नसकेपछि भाग्दै गरेका ल्वाछेन मागाइ(बलढेङ्ग्रा)-को लहरामा अल्झिन्दा चुकमेप्पाले ल्वाछेनको टाउको छिनाएर तरवारलाई फित्कौली बनाइ फुँयेतप्पा भन्ने ठाउँमा फ्याँकि दिए । लथिक्पाले ल्वाछेनको शरीरलाई घोडा चडेर देउमी खोलाको बगरमा वरपर कुदाए । त्यस ठाउँलाई अनलोङ अर्थात घोडा कुदाउको भनिन्छ । गाउँवासीहरूले नेम्बाहाङको स्मरणार्थ  एक जोर आँपको बोट फाक्फोक र देउमी खोलाको दोभानमा रोपि राखे  ।

इलामको योङहाङहरूलाई नेम्बाहाङले सहायता गरेको कुरा पुरानो योङहाङ वंशावलीमा उल्लेख पाइन्छ । देवनागरी लिपिमा हातले सुन्दर अक्षरमा लेखिएको यो वंशावली फाकफोकको योङहाङहरूसँग सुरक्षित छ । लिम्बु इतिहास अनुवाद गर्ने लेफ. कर्नेल इ. भ्यान्सीटार्टले आफ्नो प्रसिद्ध पुस्तक ’गुर्खा’(१९१५)-को पृष्ठ १०८ मा थेबा लिम्बुहरूका शक्तिशाली राजा थिए भनी लेखेका छन् ।

तीन राते थेबासाम थेप्मा गर्दा गाइने मुन्धुम अनुसार ओखलको टोपी,  हातमा मुसल बोकेका चुकमेप्पा र लथिक्पा पुवाखोलाको  बेँसीमा एक थुम्को देखि अर्को थुम्कोमा उफ्रे । भोटे सेनालाई लखेट्दै यी दुई रंगित खोलावारि पुगे । त्यहाँ सुखिमबाट ल्वाछेनलाई सघाउन हिडेका भोटे सेनासित घमासान लडाइँ चल्यो । भोटे सेनाहरूलाई यी दुईले मुसल प्रहार गरेर मारे । कतिले रंगित खोलामा हामफालेर ज्यान बचाए । त्यस जगहको नाम ‘चोङथोङ’ (चुङथुङ, दार्जीलिङ) हो ।

चोङथोङ (लिम्बु लडाइँ) पछि भोटे,लेप्चा र लिम्बु बीच शम्झौता भयो । यसलाई ‘ल्हो-मेन-चोङ सुम’ सन्धि भनिन्छ । भोटे-लेप्चा र चोङ मिलेर सुखिममा शासन गर्ने कबुल गरिएको यस सन्धि-पत्रमा नेम्बाहाङलाई चोङ सुभा नाम्फाङ भनी सम्बोधन गरिएको छ ।

नेम्बाहाङको शक्तिबाट प्रभावित भइ सुखिमपति राजाले राजकुमारी पेमाललाई नेम्बाहाङलाई दिए । अर्को कथन अनुसार कन्चनजङ्घा हिमालयको फेदिमा बस्ने सेतो हिम भालु गाउँ पसेर मान्छे खानु थालेपछि सुखिममा आतङक फैलियो । राजाका सिपाहीहरूले सेतो भालु मार्न सकेनन् ।

त्यसपछि सुखिमपति राजाको अनुरोधमा नेम्बाहाङ चुकमेप्पा र लथिक्पा भाला,वर्सा बोकेर सेतो भालुको खोजीमा हिडे । यिनी दुईले मानिसहरूलाई भनेका थिए    -“तिमीहरूले डाँडामा बसेर हेर्नु, धुँवा आएको देख्यौ भने आउनु । सात दिन सम्ममा पनि जङ्गलबाट धुँवा आएको देखेनौ भने हामी दुईभाईलाई सेतो भालुले खाएछ भनेर जान्नु ।”

चिवा भन्ज्याङ उत्तरेदेखि फालेलुङ सम्मका जङ्गलमा धुँवा आएको हेर्न मानिसहरू गाउँको डाँडामा जम्मा भएर बसे । छैटौं दिन सम्म जङ्गलमा धुँवा देखिएन । मानिसहरू निराश हुन थाले । सातौं दिनको विहान लोधोमा खोलाको ओढारबाट आगो बालेको धुँवा आएको देखेर गाउँलेहरू हर्षले नाच्दै गाउँदै लोधोमा खोलाको ओढारमा पुगे । नेम्बाहाङ चुक्मेप्पा र लथिक्पाले ओढारमा सुति रहेका दुई वटा सेतो भालुलाई भालाले घोचेर मारेका थिए ।

आफ्ना प्रजाहरूलाई सेतो भालुदेखि बचाइ दिएकोमा सुखिमपति राजाले राजकुमारी पेमा नेम्बाहाङलाई  दिए । चुकमेप्पाले जीवनभर विहे गरेनन् । लथिक्पाले राजकुमारी पेमालाई विहे गरेर नाम्फुयक  लिएर आए ।

(ल्हो-मेन-चोङ सुम सन्धि)

ल्हो-मेन-चोङ सुम सन्धिपछि सुखिमका  भोटे सेनाहरू इलाम प्रवेश गरेनन् । तर तिनीहरू तमर खोला तरेर अरूण खोला सम्म पुगेका थिए । सुखिमपति राजाको  अस्थायी दरवार सेखाथुम भन्ने ठाउँमा थियो । त्यहाँ एउटा गुम्बा पनि निर्माण गरेका थिए ।

नेम्बाहाङ चुक्मेप्पा र लथिक्पाको देहमा प्रवेश गरेको थेबा सामलाई रणदेवताको रूपमा पनि पूजा गरिन्छ । तर थेबासामको अलग युमासामको अलग पूजा हुदैन । थेबा-युमा दुवैको  एकसाथ पूजा गरिन्छ । थेबा कुल मान्नेहरूले युमाको अनि युमा कुल मान्नेहरूले थेबाको पनि सँगैपूजा गर्दै आएका छन ।

थेबासाम थेप्मा गर्दा फेदाङबाले यासा पिपो (थारको जुरो)-को टोपी अनि घुडा सम्मको तेगा(लुगा) लगाउनु पर्छ । तरवार भिरेर एक हातले भाला अनि अर्को हातले ढाल समाएका फेदाङबाले शत्रुमाथि जाइलागेको अभिनय गर्दै ‘हे….उ…उम’  भनेर लामो लेग्रो तानेर मुन्धुम गाउँने गर्छन । तीनराते थेबासाम थेप्मा गर्दा  पहिलो दिनको साँझ् थेबाको लाङदाक (स्वागत) गरिन्छ । थेबासाम पनि युमासाम जस्तै थक्लिगेन साम हो । युमा, चैजिते, खरबलेको देहमा अनि थेबा, चुकमेप्पा, लथिक्पाको देहमा प्रवेश गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

कोरोना (कोभिड १९), जनता र सरकार

पृष्ठभूमि डिसेम्बर २०१९ मै चिनको बुहानमा देखा परेर संक्रमण शुरु भएको कोरोना (कोभिड १९)...

भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ विरुद्ध विरोध

काठमाडौं, १९ साउन । आदिवासी याक्थुङ (लिम्बू)हरुको भूमि अधिकार स्थापित गर्न गठित याक्थुङ सयङ...

सेनाको कुटाईबाट मृत्यु भएका राजकुमार चेपाङको परिवारलाई १० लाख दिने

चितवन, १७ साउन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको कुटपिटका कारण अनाहकमा ज्यान...

‘पाथिभरालाई मुकुमलुङ्मा नामाकरण गर्नैपर्छ’ –सञ्जुहाङ पालुङ्वा

विर्तामोड, १७ साउन । संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रिय अध्यक्ष सन्जुहाङ पालुङ्वाले आफुले थाहा...