‘अझै क्याम्पस गएको सपना देख्छु’ -जानु काम्बाङ लिम्बू (साहित्यकार) - Naya Online

‘अझै क्याम्पस गएको सपना देख्छु’ -जानु काम्बाङ लिम्बू (साहित्यकार)

युकेमा सक्रिय साहित्यकारहरूको नाम लिनुपर्दा पहिलो पंक्तिमै जानु काम्बाङ लिम्बूको नाम आउँछ । लेखिरहने, वर्षेनी कृति ल्याइरहने, अनलाइन तथा पत्रपत्रिकामा रचना प्रकाशन भइरहने भएकोले उनको सक्रियता निक्कै देखिएको हो । जानुले ‘शिविरमा इश्वर’ (कविता सङ्ग्रह सन्–२०१६), नउघ्रेको जुन (कथा सङ्ग्रह सन् २०१८), आँसुको लय (गीत सङ्ग्रह सन् २०१९) पुस्तक ल्याएकी जानुले अनुभव (२०१६) र जानु (२०१८) गीतिएल्बम पनि ल्याइसकेकी छिन् । नियात्रा सङ्ग्रह र उपन्यास पनि प्रकाशनको तयारीमा रहेका छन् ।

ताप्लेजुङको तमोरखोला ईखाबुमा बाबु टेकबहादुर काम्बाङ लिम्बू र आमा सम्रोती फेम्बु लिम्बूको जेठी छोरीको रूपमा जन्मिएकी हुन् जानु काम्बाङ लिम्बू । वि.सं. २०३० सालमा जन्मिएको जानुको गाउँ अहिलेको परिवर्तित संरचनामा फक्ताङलुङ गाउँपालिकाको वडा नं. ४ मा पर्दछ ।

नेपाल आर्मीमा कार्यरत बुबा टेकबहादुर बितिसक्नु भएको छ । मुलघर माइतमा आमा, कान्छी बहिनी, कान्छा भाइबुहारी र २ भदैनीहरू छन् । जेठा भाइबुहारी र दुई भदैहरू बेल्जियमतिर छन् । माइला भाइबुहारी र दुई भदाईहरू झापामा छन् । घरपट्टि श्रीमान र दुई भाई छोराहरू छन् । सक्रियता देखाएपछि संघसंस्थाले पनि छोड्दैन । त्यसैले ताप्लेजुङ समाज युकेको सचिव, याक्थुङ माङ्गेना चुम्लुङ युकेको सहसचिव, हङकङ नेपाली मञ्च युकेको उपाध्यक्ष, लिम्बुवान नागरिक समाज युकेको संस्कृतिक प्रमुखलगायत धेरै जिम्मेवारी उनमा छ । हाल युकेमै स्थायी जीवन बिताइरहेका जानुको ताप्लेजुङ, धरान, हङकङलगायतको बसाईका विभिन्न किस्साहरू छन् । जसलाई यहाँ प्रस्तुत गरिएको छ ।

स्कुलभन्दा भेडिगोठ प्यारो
नेपाली आर्मी बुबा जागिरको शिलशिलामा नेपालको विभिन्न ठाउँमा सरिरहनु पर्ने भएकोले जानु काम्बाङको बाल्यका मावलामा बित्यो । तत्कालिन लेलेप गाविसको फेम्बु उनको मावली हो ।

जानुलाई पनि मावला र मावली बोजुबाजे सारै प्यारो लाग्थ्ये । बाबा छुट्टीमा आउँदा घर लैजान्थे । तर उनी भागेर मावला पुगिहाल्थिन् । घर आउँदा मेरो बाजेले स्कूल जानु पर्छ, पढ्नु पर्छ भन्नु हुन्थ्यो, मावला बस्दा त्यसो भन्ने थिएनन् । त्यसैले उनलाई मावला प्यारो लागेको रहेछ ।

मावलामा खाना खाएपछि बस्तु चराउन रमाउंदै बाजेसँग बनपाखा जानु, जेठा मामाको ५ सय बढि भएको भेडा बथानमा गएर रमाउनु नै उनको दिनचर्या हुन्थ्यो । भेडीगोठमा त गोठालेहरू हुन्थे, त्यसैले उनी चाँही घरको १८ ओटा बाख्रा र गाई बस्तु चराउन जान्थिन् । जानुको काम दिनभर बाख्रा हेर्नु हुन्थ्यो भने बाजेचाहीँ गाईगोरू हेर्थे । गोरू या गाईले बाली खान लागे ‘फर्का माया’ भनेर अह्राउने गर्दथे । उनी चाहीँ ‘एउटा पालाम सिकाउनु हुन्छ भने मात्र फर्काउँछु’ भन्थिन् । बाजेले पाःलाम सिकाउँथे ।

मावलामा जानुको नाम माया थियो । मामा र बाजेबोजुहरू माया गरेरै माया भन्थे । त्यो उनको नाम नै थियो या मायाले माया भनेका हुन् थाहा पाउन नसकेको बताउँछिन् ।

भेडीगोठ र गौचरनमा कुदिहिड्ने समय धेरैबेर रहेन । पढ्नुपर्छ भन्ने परिवारको आग्रहलाई उनले मान्नै पर्ने भयो । पछि बुबाको जताजता पल्टन हुन्थ्यो, परिवारलाई पनि सँगै लान थाले । त्यसैले विभिन्न ठाउँमा उनले अध्ययन गर्न पाएकी थिइन् ।

उनी त्यसबेला पढेको गाउँको स्कूल र त्यहाका शिक्षकहरूलाई अझै याद गर्ने गर्छिन् । विशेषगरी साइनोमा दाजु पर्ने रुद्र लाबुङ, रत्न लाबुङ नबिर्सने शिक्षकहरू रहेछन् । शिक्षक भएपनि मिलनसार र साथी जस्तै हुने अनि आफ्नै घरमा भेला गरेर नाच्नु र गाउनु सिकाउने गर्दथे । गाउँमा काम धेरै भएर स्कूल जान नपाउँदा छुटेको पाठहरू फेरि दोहोर्याएर पढाउने पनि गर्दथे । शिक्षकहरू अझै गाउँमै रहेको सम्झिरहेको पनि बताउँछिन् ।

दिदी, फुपुको लुङ्गी/चोलो लगाएर धाननाच
गाइगोठालामा बाजेलाई सिकाइमागेको पाःलाम खेर गएन । लिम्बुवानमा गाउँमा कसैको घरमा पाहुना आउने बित्तिक्कै भेला भएर धान नाच्न जाने चलन पुरानै हो । दिदीहरूले उनीहरूको लुङ्गी र चोलोहरू लगाई दिएर धान नाच्ने साथी लाने गरेको र पछि त आफैलाई पनि मज्जा लाग्न थाल्यो र खुब पछ्याउँथे दिदी र फुपुहरूलाई पच्छ्याउने गरेको कुरा पनि उक्काइन् ।

साहित्य र सिर्जनशीलता
इखाबुमा युवतीहरूमा स्कुल जाने उनीमात्र भइछिन् । पढ्ने लेख्ने युवती छएपछि दिदीहरू साँझपख टुकी बोकेर चिट्ठी लेखि माग्न आउंथेछन् । रातभरि चिट्ठी लेख्ने, छेउछेउमा पाःलाम पनि लेख्दा उनमा साहित्यले बास बस्ने भइगयो । कतिपय दिदीहरूले भनेका र कतिपय आफैँले कथेका पाःलामहरू उनैमा जम्मा भएर बस्यो । पाहुनाहरूसँग धान नाच्दा दिदिहरूले फुर्काउँदै उनलाई अघि सार्ने गर्थे रे । अनि त उनी पनि फुर्केर आफै मज्जाले पाःलाम भन्ने र कतै पाहुना जाँदा उनीहरूको जवाफ पनि मज्जाले फर्काउन सक्ने भइछिन् ।

बुबाले सन्तानको पढाई नबिग्रियोस् भनेर परिवारलाई आफूसँगै पल्टन लगेपनि जानुलाई धरानमा तुम्बाको राखेर पढाइएछ ।

अन्य साथीहरू भलिबललगायतका उफ्रिने खेलहरू खेल्दा जानु चाही साहित्यको किताबहरूमा घोत्लिने गर्दथिइन् । साथीहरू पनि पढ्न त पढ्थे । तर साथीहरूको रोजाईको पुस्तक थियो कमिक्सको किताबहरू । साथीहरूले ति पुस्तकहरू साटासाट गर्दै पढिरहँदा जानुचाँही उपन्यास र कविताका किताबहरू खोजी खोजी पढ्थिन् रे ।

उनको पढ्ने बानीमात्र थियो, तर पढ्दापढ्दै अलि अलि लेख्ने पनि गर्थिन् रे । उक्त लेखाई साहित्य थियो या अन्य ? थाहा नभएर आफ्नै अभ्यासपुस्तिकामै सिमित भयो ।

‘साहित्यमा प्रेरित हुन त प्रेमले पनि थप जोड दिँदो रहेछ नि !’ भन्ने प्रश्नमा माध्यमिक शिक्षा पढुञ्जेल प्रेममा नपरेको तर विवाहपश्चात प्रेम भएको कुरा राखिन् । धरानको सदन स्कुलबाट एसएलसी गर्नेवित्तिकै उनको विवाह भइहालेको थियो ।

विवाहपछि सन्तान हुनु, परिवारलाई सम्हाल्नु, हङकङको यात्रा हुनु र माइती, सहपाठीसँग टाढा हुनुले साहित्य कोर्नमा झनै मलजल हुनपुग्यो । विवाहपश्चात क्याम्पस पढाउने सर्तहरू पनि यिनै व्यस्तताभित्र हराए । त्यसैले बाराम्बार सपनामा क्याम्पस गएको देख्ने गर्दछिन् ।

गायन र अभिनयमोह
‘कतिको छुच्ची हुनुहुन्थ्यो या सहपाठीलाई कुटिन्थ्यो पनि कि’ भन्ने प्रश्नमा जानु भन्छिन् –‘साथी त के कुट्थे नि म यति सोझीले, बरू गीत चाँही गाउथेँ ।’

धरानको सदन स्कूल पढ्दा पुरानो राष्ट्रिय गान हरेक बिहान बरण्डामा उनीसहित अरु २ सहपाठीलाई उभाएर गाउन लाउँथेछन् । उनीहरूले पहिले गाउँने, त्यसपछि अन्य विद्यार्थीहरूले गाउने परिपाटी मिलाइएको रहेछ । ‘त्यो बेला तिम्रो स्वर राम्रो छ भनेर साथीहरू र मिसले भनेपछि उनमा गायनमोह निकै जागेछ । जतिबेला पनि गीत गुनगुनाई रहने, मनपर्ने गीतहरूको सबै शब्द कण्ठ हुन्थेछ गाउँदा–गाउँदा ।

इखाबूको स्कुलमा पढ्दा तिहार र अन्य कार्यक्रमहरूमा नाच्ने तथा नाटकहरूमा खेलेको अनुभव पनि रहेछ जानुलाई । तर साथीहरूभन्दा केही अग्ली भएकीले नाटकहरूमा युवकको भूमिका निभाउन परेको स्मरण अविश्मरणीय लाग्ने रहेछ उनलाई ।

त्यसैगरी जानुले युकेमा एकपटक नाटकमा अभिनय गरेको युट्युवमा भेटिन्छ । यस विषयमा उनी भन्छिन् –म मान्छे नै त्यस्तै स्वाभावको छु । जान्दिनँ भन्न नजान्ने जे पनि कोसिश गर्छु र गर्नु पर्छ भन्छु, सफल र असफल त आफ्नै ठाउँमा छन् । अभिनय पनि मेरो तिनै बिषयमा पर्छ सायद !’

खासमा उनमा अभिनयमोह थिएछ भन्ने यो किस्साबाट पनि थाहा हुन्छ –उनी हङकङ पुग्दा जम्मा २२ वर्ष पुगेकी रहिछिन् । उनकै भाषामा भन्नुपर्दा स्याल पनि बैंसमा घोर्ले हुन्छ भनेझैं उनी पनि घोर्ले भएकी थिइन् । त्यसबेला उनलाई लिम्बू चलचित्र र म्युजिक भिडियोको अफर चाँही आएको रहेछ । तर उनले नानीहरू सानै भएको र कामबाट लामो छुट्टी लिन नमिल्ने भएकोले नेपाल आएर काम गर्न सकिनन् । हङकङको एक साडी पसलमा मोडलिङ गरेको युकेमा नाटक खेलेको उनको अभिनयको सम्झना बन्न पुगेको रहेछ ।

प्रतियोगितामा भाग लिने रहरमै सिमित
धरानमा त्यसबेला कम घर थिए । त्यसैले आफन्तहरू धरान झर्दा बास बसिरहन्थे । त्यसैले घरको काममा धेरै सघाउनुपथ्र्यो । त्यसले गर्दा स्कुलको अतिरिक्त क्रियाकलापमा भाग लिन उनको सपनामात्र बन्यो । कहिलेकाहीँ स्कूलले निकाल्ने मुखपत्र आदिमा कविताहरू छपाउने रहर चल्थ्यो र लेख्ने कोशिस गर्दागर्दै पुरा हुन नपाएको तितो यथार्थ पनि पोखिन् ।

तसर्थ जानुले ईखाबूको श्री सेवालुङ निमावि पढ्दा ४ कक्षामा राम्रो नाचेर एउटा नोटकापी र डटपेन पाएको त्यसपछि पछि ठुलो छोरा ४ केजी बढिको जन्माउँदा ‘हेल्दी छोरा पायो’ भनेर हस्पिटलले अलिकति नगद, नानीलाई केहि नुहाउने साबुन र टावल पुरस्कार दिएकोलाई नै आफ्नो जीवनको पुरस्कार ठान्छिन् । तर साहित्यको नाताले विभिन्न ठाउँमा पुग्दा पाउने माया, दोसल्ला नै महत्वपूर्ण पुरस्कार हो भनेर पुरस्कारको महत्व अथ्र्याउँछिन् ।

गत वर्ष नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले अभिव्यक्ति श्रृङ्खला –१२ उनलाई मञ्च प्रदान भएको थियो । त्यो मञ्च पाउनुपनि ठूलो पुरस्कार ठानेकी छन् ।

पारिवारिक जीवन
जानुको विवाह वि.सं. २०४८ सालमा भएको हो । श्रीमान चिनजानकै थिए । तर मगनी नै विवाह भएको रहेछ ।

उनी भन्छिन् –‘विवाहलाई मैले राम्रै रूपमा लिएँ, विवाहपछि श्रीमानसँग प्रेम भयो । विवाहपछिको प्रेम रमाईलो लाग्यो । विवाहपछि सोचेको कुरो त सबै पाईयो नै भन्नुपर्ला २ भाई छोरा छन् । श्रीमान श्रीमती अझै सँगै छौं । नत्र अहिलेको जमानामा त बिहे गरेर सँगसँगै २८ वर्ष बिताउन त गार्हो पो छ । त्यो देख्दा म निक्कै पुरानै जमानाको मान्छे हुँ कि जस्तो पनि लाग्छ । सोचेको कुरो नपुगेको चाँही एउटी छोरी पाउने भन्दाभन्दै भएन र कलेज पढ्न पाईएन यति नै हो । त्यसैले अझै पनि सपनामा क्याम्पस गएको सपना देख्छु ।’

विवाहपछि छोराहरूको हेरचार र सुन्दर भविष्यको खोजीतिर भौतारिँदैमा समय बितेको ठान्छिन् जानु । ‘उमेर गयो, आफ्नै लागि त केहि पनि गरिएनछ ति समयहरूमा । अहिले आएर पछुतो लाग्छ मैले उमेरहुँदै पढ्नु पर्ने थियो, अथवा आफ्नै लागि केहि गर्नु पर्ने थियो भनेर ।’ उनी कहिलेकाँही निराशा पनि पोख्छिन् ।

अबको जीवन साहित्यलाई
छिनमै साहित्य कोर्ने सामाथ्र्य राख्ने जानुले विभिन्न पत्रपत्रिकाहरूमा रचना प्रकाशित भइरहेका छन् । अनलाइनहरूमा पनि उत्तिकै प्रकाशन भइरहेका छन् । फेसबुक अपडेट गर्न पनि भ्याइरहेकी छिन् । यी सब कसरी भ्याउनुहुन्छ भन्ने प्रश्नमा उनको उत्तर थियो –‘सबै कुरो मन हो, मन भए जतिसुकै ब्यस्त भएपनि आफुलाई मन परेको काम गर्ने समय निकालिन्छ जस्तो लाग्छ मेरो बिचारमा । र, अर्को कुरो अहिले लेख्न पढ्न मन हुनेहरूलाई प्राविधिकले पनि ठुलो सहयोग गरेको छ । उहिल्यै जस्तो कापी कलम खोजिरहनु पर्दैन काम गर्दा गर्दै भएपनि या एकछिन आराम गर्न बस्दा पनि मोबाइलमा लेख्न सकिन्छ । अरूको बारेमा थाहा छैन म चाँही त्यसै गर्छु ।’

तीन पुस्तक, दुई गीतिएल्बम ल्याइसकेका उनले नियात्रा र उपन्यासको तयारी समेत गरिरहेकी छिन् । उनी भन्छिन् –म सबै विधामा रहर गर्ने मान्छे मात्र हुँ, ती विधा सबै जान्ने चाँही होइन म । यतिकै केहि नगरी दिन बित्यो अब बाँकी रहेको समयलाई सदुपयोग गरौँ भन्ने मात्र हो ।’

जानुले आफ्ना सृजनाहरू स्वतन्त्र हुने, कुनै विवाद अर्थात धारसँग सम्बन्धित नलेख्ने बताइन् । मनमा जे उब्जिन्छ त्यै लेख्ने बरू प्रकृतिसँग रमाउने रचनाहरूमा उनको ध्यान जान्छ रे । जस्तो कतै हिंड्दा फूल अथवा कुनै प्राकृतिक चिजले उनको मन तान्यो भने लेख्न बसिहाल्ने बानी रहेछ । त्यसैले धेरै जसो हिड्दा हिड्दै लेखेका रचनाहरू उनीसँग ज्यादा रहेछन् ।

लिम्बू भएको नाताले लिम्बू धर्म, संस्कार, संस्कृति र अहिलेको वर्तमान सरकार र राजनीतिलाई हिट गरेर कविण्ता लेख्नुस् भन्ने आग्रह आए पनि त्यस्तो सेन्सेटिभ विषयहरूमा बिना ज्ञान, बिना अध्ययन लेख्नु हुन्न भनेर मन मार्छिन् । उनी भन्छिन् –बिना अध्यायन कसरी लेख्नु ?’

जानुको बढि सक्रियता गीत लेखनमा छ । उनको धेरै गीतहरू रेकर्ड भएका छन् । तेश्रो एल्बमको समेत तयारी गरिरहेकी उनको आफ्ना एल्बमजति सबै आफ्नै लगानी हुन् । नयाँ तथा पुराना गायकहरूले उनको रचनामा गाइरहेका छन् । त्यसमा उनको सहयोग भनेको पारिश्रामिक नलिएको मात्र हो भनेर दावी गर्छिन् । कसैकसैलाई स्पोन्सर खोजिदिएको भने सगर्व बताउँछिन् । आफू युकेमा बसेको हुनाले कोही रहर गर्छन् भने त्यसलाई प्रतिभाकहाँ किन नपुर्‍याउने ? भन्ने प्रतिपश्न गर्छिन् ।

चलचित्रमा गीत लेखिदिएवापत चाही केही पारिश्रामिक लिएको बताउँछन् । पारिश्रामिक लिनु सृजनाको कदर हो । यद्यपि आफूलाई पेशेवर गीतकार नभएको पनि बताउँछिन् ।

गीतकारले गीत लेख्ने काममात्र नभई यससँग सम्बन्धित सबै कुरा बुझ्नु जरुरी रहेको पनि उनको ठम्याई छ । ज्ञान भएन भने आफ्नो एल्बम निकाल्दा लाखौ डुबाइदिने मान्छे भेटिन सक्ने उनको विश्लेषण छ । लाईभ बाजागाजा, ग्रुप भाईलोन, तबला, सेक्सोफोन आदि बाजाहरू हाल्दा के कति लाग्ने भन्ने कुरा थाहा हुनुपर्ने, ति पनि सद्दे हुन् होइनन्, बुझ्नुपर्ने हुन्छ । सुन्दा राम्रो लागे पनि संगीत बुझ्नेले यसमा यो बाजा लाइभ हाल्नुपथ्र्यो भन्दा मन खिन्न हुने र खर्च पनि गरिसकिएकोले मुर्गा बनिएको फिल पनि हुने रहेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘अझै क्याम्पस गएको सपना देख्छु’ -जानु काम्बाङ लिम्बू (साहित्यकार)

युकेमा सक्रिय साहित्यकारहरूको नाम लिनुपर्दा पहिलो पंक्तिमै जानु काम्बाङ लिम्बूको नाम आउँछ । लेखिरहने,...

शोक कार्यक्रमदेखि सपनासम्म

तेह्रथुम खाम्लालुङका जसबहादुर सिंगक कुनैबेला धरानमा रहँदा खानाखान अघि एकपटक धनवीर सावाँको पालाम गीत...

कोरियामा अन्तराष्ट्रिय सामाजिक अवार्डका लागि छानिए चेम्जोङ

काठमाडौ, १५ मंसिर । कोरियालाई कर्मथलो बनाइ नेपाली म्युजिक भिडियो निर्देशन गर्दै आइरहेका निर्देशक...

भिडबाट पर रहेका गायक राजन पालुङ्वा

गीत संगीत क्षेत्रमा आउन मानिसका फरकफरक बाटाहरू हुन्छन् । बच्चैदेखिको शौखका कारण संगीत कक्षामा...

म लिम्बू हुँ, आफ्नै लिम्बु गीतसंगीतलाई प्राथमिकता दिन्छु

इस्पा केरुङ उदीयमान मोडल हुन् । पाँचथरमा जन्मिएकी उनले भर्खरै ‘आम्बा–आम्मा’ बोलको लिम्बू गीतबाट...

मलाई मेलोडीयस गीत मनपर्छ

नेपाली अल्का याग्निकको उपमा पाएकी गायिका हुन् ‘अन्नु चौधरी’ । बुबा केवललाल चौधरी र...

देउराली भञ्ज्याङ काटिजानेलाई भन्दै आइन् झरना राई

काठमाडौं, ११ साउन । गायिका झरना राई ‘देउराली भञ्ज्याङ काटिजानेलाई, यो चोखो माया छाडिजानेलाई’...

जिन्दगी चलचित्रको रेससँगै

देवेन्द्र सुर्केली आगामी जेठ २४ गते शुक्रबारबाट देशव्यापी रूपमा चलचित्र ‘यो रेश जिन्दगीको’ प्रदर्शनमा...

१२ वर्ष संगीतको साथ छोड्दा मेरो वेहाल भयो –जीतेन लेप्चा

सुजाता निङ्लेकु हुन त चौध वर्षको उमेर भनेको बुवाआमालाई घुर्काउने साथीभाईहरूसँग मोजमस्ती गरेर हिड्ने...

‘केसाम्वाको कथा र केलाङको यात्रा’

कला वार्ता ताप्लेजुङको मिक्वा खोलाबाट सुरु हुन्छ उनको कथा । याक्थुङ किंवदन्तीअनुसार उहिले ताँतीका...