मायालुलाई चिठ्ठीः लोप हुन लागेको चिठ्ठीको एक खाका - Naya Online

मायालुलाई चिठ्ठीः लोप हुन लागेको चिठ्ठीको एक खाका

चिठ्ठी भन्ने वितिकै परेवाले खुट्टामा च्यापेर निश्चित ठाउँमा वा सम्बन्धित व्यक्तिसम्म पु¥याउनको लागि स्वतन्त्र आकाशमा पखेटा फिजाइ उडेको २/३ कक्षा रहेको चित्र अहिले पनि मानपटलमा चित्रित छ । चिठ्ठी सञ्चारको साधनमध्ये एक हो । पछिल्लो समय हुलाकबाट समाचार, सूचना, विचार, जानकारी आदानप्रदान गरिने प्रक्रियाबाट स्थापित भएको थियो । नेपालमा हुलाक सेवा वि.सं. १९३५ बाट हलाक घरको स्थापना भई सुरु भएको हो । प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धी सम्झौताका आधारमा नेपाली जनतालाई शीघ्र तथा विश्वसनीय रुपमा चिठ्ठीपत्र पहूूँच एवम् धनादेश सुविधा प्रदान गर्नु यस विभागका प्रमुख उद्देश्य रहेको थियो ।

चिठ्ठीको प्रचनभन्दा अगाडि एकअर्कामा खबर आदानप्रदान गर्नको लागि सञ्चारको माध्यमको रुपमा झ्याली पिट्ने, नेग्रा बजाउने, बन्दुक पड्काउने, घरघरमा गएर खबर गर्ने या देखिने सुनिने ठाउँमा गई कराएर जानकारी दिने अझ पनि यतादा पूर्वी लिम्बूवान क्षेत्रमा प्रचलनमा रहिआएको छ ।

मेरो गाउँ लाललिगुरास नगरपालिका ८, साविक सोल्मा छ स्थिति पर्दछ । मैले थाहा पाएसम्म कतै मरिमराउँ या समूहिक पूूजाआजा गर्दा सोल्मास्थित चौके ढुङ्गाबाट सबैले सुन्ने गरी सूचना दिइन्थ्यो । प्रायः त्यस ठाउँबाट कराएको सबैले नै सुन्ने गर्दथे । उक्त सूचनाबाट गाउँका मान्छेहरू छिनमा नै भेला भएको अझ पनि सम्झना ताजै छ ।

हामी ६/७ कक्षामा पढ्दा चिठ्ठी लेख्ने चलन खुब चलेको थियो । हुलाक स्कूल छेउमा थियो । हुुलाकमा आएको अरुको नामको चिठ्ठी निकालेर पढ्नु हाम्रो दैनिकी होमवर्कमा नै पर्दथ्यो । पढ्ने त अरुकै चिठ्ठी हो, आफ्नो आउँने बेला भएको नै थिएन । पठायोस् पनि कसले ११/१२ वर्षको बच्चिलाई । चिठ्ठीमा लेखिएको नामसँग हाम्रो कुनै सरोकार थिएन, जति शब्दको मिठासमा हुन्थ्यो । चिठ्ठीमा भएको शब्द कोनि कति बुझ्थ्यौ त्यो त थाहा भएन, पढ्न चाहीँ खुब स्वाद लाग्थ्यो । हाम्रो पहिलो प्राथमिकता मायालु जोडिहरूको चिठ्ठीहरू पर्दथ्यो । चिठ्ठीको भरमा माया पलाउँदै गरेको प्रेमिल जोडीको फर्कन नपाउँंदै विचैमा कतिको मुना निमोठिए एकिन भएन । अझ फोटोवाला चिठ्ठी पहिलो प्राथमिकतामा पर्दथ्यो । २/४ जना थियौँ जो दैनिकी चिठ्ठी झिक्ने । पहिला हुलाक जो पुग्छ उसले हात पार्नु पर्दथ्यो । चिठ्ठी झिकाईसगैँ सुरुवात भएको स्कुलले जीवन छुट्टीपश्चात बाटोमा चिठ्ठीको भावनासँग रुचि, रमपम चाउँचाउँ चपाउनु एक बेग्लै आनन्द लाग्थ्यो । चिठ्ठी पढिसके लगतै कम्तिमा पनि १०० टुक्रा हुने गरी च्यात्थ्यौ, जसको नाम निसान नै नामेट हुन्थ्यो । चिठ्ठी च्यादै गर्दा हामीलाई थाहा भएन चिठ्ठीसँगै कसैको भावना च्यातिदै छ भनेर । अहिले महशुस हुन्छ हामी कति अनैतिक र अव्यवाहारिक थिए छौँ भनेर ।

मधुर सम्झना छ, उक्त चिठ्ठीहरूमा भएको शब्दहरू । सम्मानयुक्त शब्दबाट थालनि गरेको चिठ्ठी मायालु भावनाहरूले ओतप्रोत हुुन्थ्यो । हरेक शब्दको गहिरो अर्थ लाग्थ्यो । भौगोलिक विविधताले गर्दा चिठ्ठी सम्प्रेषण गरेको हप्तौ या महिनौं लाग्थ्यो सम्बन्धित व्यक्ति या ठाउँमा पुुग्न । यसरी महिनौको प्रतिक्षा गरेर बसेका प्रेमी वा प्रेमीका बीचमा कतै चिठ्ठी हराउँदा कति सकस पर्दथ्यो हामीले अनुमान मात्र गर्न सक्छौँ । शब्द संयोजन गर्न माहिर प्रेमी प्रमिकाहरू आफ्नो मनका भावनाहरू व्यक्त गरको ती सेता पानामा हृदय छछल्केको प्रष्ट देखिन्थ्यो । यतिसम्म चिठ्ठीमा की आफ्नो माया दर्शाउन रगतले मायाको पाना बनाएको हृदय विदारक दृश्यहरू पनि देखिन्थ्यो ।

मैले चिठ्ठी लेखेको अनुभव त खासै छैन, किनकी हाम्रो चिठ्ठी लेख्ने समय आउँदा फाट्टफुट्ट ल्याण्डलाइन फोन र सामान्य मोबाइल आइसकेको थियो । आठ कक्षा पढ्दा पहिलो पटक मैले फोन बोकेको अनुभव छ । एक पटक अरुको चिठ्ठी पढ्दा आफुलाई पनि चिठ्ठी लेख्न उत्साहित भएर साइनो नलाग्ने व्यक्तिलाई दाइको सम्बोधनमा २/३ दिन लगाएर २/४ पेज चिठ्ठी लेखेको सम्झना छ । शब्दमा दाइ भने पनि मनमा भने सोल्टीको सम्बोधन सल्बलिरहेको थियो । दाइ र सोल्टीको भावनामा कोरिएको चिठ्ठी कतिको अर्थपूूर्ण रहयो त्यो त पढ्नेलाई अहिले सोध्न खुब मन छ ।

कुनै समय बिहान १० बजेदेखि ५ बजेसम्म अर्थात कार्यलय हाजिर भएदेखि बिदा नभएसमम व्यस्त रहने हुलाक कार्यलयका कर्मचारीहरू हिजोआज निकै फुर्सदिला देखिन्छन् । निजी क्षेत्रबाट कुरियार सेवा तथा मोबाइल, इमेल, इन्टरनेटजस्ता आधुनिक प्रविधिको विकासले छलाङ मारेसँगै हुलाकका कर्मचारीहरू फुर्सदिला भएका हुन् । न कार्यलयमा कसैको चिठ्ठी आउँछ नत चिठ्ठी पठाउँनका लागि भ्याईनभ्याई नै हुन्छ । पहिले चिठ्ठीले भरिभराउँ हुलाक अहिले रित्तो देखिन्छ । वर्तमान अवस्थामा चिठ्ठीलाई यसरी सम्झिने गरिन्छ, जसले राम्रो अक्षर लेख्छ उसलाई यसले बैस तरुनीहरूसँग खुब चिठ्ठी लेखेछ । चिठ्ठी लेख्नेको अक्षर राम्रो हुन्छ भन्ने विश्वास हाम्रो समाजमा रहिआएको छ । चिठ्ठी शब्दको अतित्व केवल यही मात्र रहेको छ कि भन्ने भान हुन्छ ।

समय र परिस्थिति अनुसार नै हामी पनि चल्नुुपर्ने हुन्छ । बाबु बाजेको पालामा चिठ्ठीले ठूलो महत्व राख्यो जति अहिले फोनको महत्व छ । विदेशमा भएको घटनाहरू थाहाँ पाउँन महिनौ दिन कुर्नुपर्दथ्यो । आधुनिकतासँगै सञ्चारको साधनहरूको विकास भएतासगैँ परम्परागत साधनहरूको विस्थापित भएको स्पष्ट देख्न सकिन्छ । मलाई त्यो बेला पढेको केही चिठ्ठीहरूको भाव केही सम्झना रहिरहेको छ । चिठ्ठीको आफ्नै प्रकार हुन्थ्यो जस्तै बुबाले आमालाई, दाजुले बहिनीलाई, मामाले भान्जालाई, दिदीले बहिनीलाई, प्रेमीले प्रेमीकालाई । चिठ्ठीे परम्परगत अतित्व बचाइराख्न सहयोग पुगोस् भन्ने उद्देश्यले प्रेमिकाले प्रेमीलाई लेखेको चिठ्ठीको खाका तयार पारेको छु ।

प्रेमिकाले प्रेमीलाई चिठ्ठीमार्फत दशाएको भावनाहरू
मिति– २०६२/०८/११
समयः रातको १२ बजे
स्थानः आफ्नै झुपडी
वातावरणः सुनसान
उद्देश्यः रिप्लाईआइ पाउने
यादः केवल तिम्रो मात्र

प्रिय मायालुु,
सर्वप्रथम स्वीकार यो मेरो न्यानो माया सहित हिमालभन्दा अग्लो सागरभन्दा गहिरो मुटुभरीको सङ्लो सम्झना ल !!

मायालु तिमीले पठाएको प्रेममय चिठ्ठी मैले प्राप्त गरेको सहर्ष जानकारी गराउँदछु । म यता तिम्रो यादमा कल्पिएर विछट्टै भएको छु तिमी पनि सायद मलाई जस्तै हुन्छ भन्ने विश्वास लिएकी छु । हुलाकीलाई देख्ने वित्तिकै बढो उत्साहितसाथ मेरो चिठ्ठी आयो भन्ने प्रश्न गर्दछु । हुलाकीबाट टाउँको हल्लाउँदै अँह, आएको छैन भन्दा बढो निराशापूर्ण दिनहरू विताउँने गर्दछु । केहीँ समयको अन्तरालमा तिम्रो चिठ्ठी पाएकोमा हर्षित छु जुन हर्ष यस पत्रमा व्यक्त गर्न सक्दिनँ ।

प्रिय मायालु, मेरो प्राण, दिन तिम्रो कल्पनामा बित्ने गर्छ, रातमा तिम्रो यादहरूले सिरानी भिज्ने गर्छ । पुषे मेलामा पालाम गाउँदै हात समाइ धान नाचेको यो आँखामा नाच्ने गर्छ । छुट्न मन नलाग्दा नलाग्दै पनि माघेनी मेलामा भेट्ने बाचासहित छुटेका हामी त्यो दिनको पर्खाइमा कल्पिरहेको छु, तड्पिरहेको छु । मलाई यो दिन अनि रात कति दिक्दार लाग्न थाल्यो, घडीको सुइहरू पनि कति ढिलो चलेको आभास भइरहेको छ । यो मनले तिम्रो मधुर आवाज, न्यायो माया अनि मिठो स्पर्षकोको खोजी गरिरहेको छ ।
सायद म अब त कल्पना पनि गर्न सक्दिन तिमीबिनाको यो संसार । अब त तिमीबिना पानीबिनाको माछा, तेल बिनाको दियो झैं भएको छु । तिमीलाई समुन्द्रको गहिराई, आकाशको उचाई र जमिनको चौडाइ भन्दा धेरै माया गर्छु । जिन्दगीमा सुख, दुःख जे परे पनि साग र सिस्नो खाएर भए पनि तिमीसँग सुन्दर घरवार बसाई परिवार चलाउने कल्पना गर्न थालिसकेको छु । यो जुनि त के हजार जुनि हामी सँगै बाचौँला, सँगै हासौँला जिन्दगीका तरेलीहरू मिलेर तरौँला । जिन्दगी दुःख सुखको चौतारी हो, जीउने क्रममा आइपरेको भारीहरू विसाउँदै विसाउँदै उकाली चढौंला ।

म त आत्मा मात्र हुँ, तिमी मेरो सास हौं जहाँ सासबिना आत्मा एकक्षण पनि रहन सक्दैन । अझ म त केवल फूल मात्र हुँ सुगन्ध तिमी हौं, सुगन्ध बिनाको फूूल अर्थहीन हुन्छ । यो फूललाई शिरमा कि मनमा सजाउने तिम्रो हातमा छ । सायद मनमा नै सजाउछौं भन्ने दृढ विश्वास लिएको छुु । गुलाब पनि काँडा बीच नै फूल्ने गर्दछ । हामी ती गुलाफ जोडी बनौं जो काँडा बीच पनि फक्रन सकौं । अनेकौं बाधा, व्यवधान आइपरे पनि साथमा साथ र काँधमा काँध मिलाई हातेमालो गर्दै अगाडी बढौं । मुना र मदन, नैना र मजनू, रोमियो र जुलियटको झै उदारणीय जोडी बन्न सर्कौ ।

यो अधेरी रातमा कुप्पीको सहायतले मनको बत्ति बालि सेतो काजगमा कालो मसिले मेरो मनको भावना पोख्दैछु तिमीसामु । तिम्रो त्यो गाजलु नयन, गुलाबी ओठ, न्यायो स्वासले यी शब्दहरू उच्चारण गर्दा तिमी पनि म प्रति समर्पित हुने छौं भन्ने ठूलो विश्वास लिएको छु । तिमीले अस्तिको पत्रसँगै पठाएको तिम्रो त्यो सुन्दर तस्विर हेरी तिमी मेरै सामु मलाई मुस्कुराउँदै जिस्काइरहेको छौं भन्ने आभास दिन्छ । त्यो तिम्रो प्रतिविम्व दिनरात हेरी चित्त बुझाउँने गर्दछु । भौतिक शरीर टाढा भए पनि मन, मस्तिष्कले तिमीलाई नै हरपल, हरक्षण सम्झिरहेको छ । तिम्रो लागि लाखौँ शब्द लेखे पनि यो हातहरू कहिल्यै थाक्दैनन् । तर, हजारौँ, लाखौं शब्द पढ्ने तिम्रा ती सुन्दर नयनहरू थाक्छन् होला भनि यस पत्रको लागि कलम यही रोक्न चाहे । तिम्रो पत्रको प्रतिक्षामा बसिरने छु । पत्र पाउँन साथ रिप्लाई गर्नु ल मायालुु ।

तिम्रो विछोड होइन मलाई
सत्य मिलन भए पुग्छ,
लाखौँ लाख धन होइन मलाई
तिम्रो सुन्दर जीवन भए पुग्छ मलाई ।

फूल रोज्दै नरोज्नु
रोजे पछि सुनाखरी
प्रेम गर्दै नगर्नु
गरेपछि जीवनभरी ।।

उहीँ तिम्रो जिन्दगीको अन्तिम साहारा
रन्जुला तेयूङ लिम्बू

यो पनि पढ्नुहोस्

लकडाउन डायरी: असी वर्षे बाजेसँगको भलाकुसरी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘मुलुकी अपराध संहिताको परिच्छेद–२७ को दफा २८९ को केही उपदफा’हरू संशोधन गरौं !

निनाम कुलुङ ‘मङ्गले’ विसं २०६२/०६३ पछिको राजनैतिक परिवर्तनपछि पनि नेपालका आदिवासी जनजाति, दलित, मुसलमान,...

‘सत्चालिस सालमै मेरो कागजातमा धर्मको महलमा युमा लेखियो’

वरङहाङ थाम्सुहाङ के लेख्नु कसरी सुरु गर्नु खै ? न मैले मुन्धुम पढेको छु...

अलविदा प्रेम सेर्मा माङ्जाबुङे दाइ !

देवेन्द्र सुर्केली फेसबुकमा एउटा च्याटग्रुप छ, प्रादेशिक कलाकार मञ्च, प्रदेश नं. १ । यस...

लोकतन्त्र, संघीयता र समानुपातिक समावेशी

नन्द कन्दङ्वा लोकतन्त्र विश्वभर लोकतन्त्रबारे प्रशस्त बहस हुने गरेको छ । सारमा लोकतन्त्रको अर्थ...

लिम्बू जातिको धर्मबारे

नन्द कन्दङवा यतिखेर लिम्बू जातिको धर्म के हो भन्ने सन्दर्भमा व्यापक विवाद, बहस र...

गैरलोकतान्त्रिक प्रक्रियाबाट बनाइएको संविधान स्वीकार्य छैन: यादव

  काठमाडौं, ३ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान गलत...

कम्युनिस्ट आन्दोलन र वर्तमान सरकार कति माक्र्सवादी ?

सर्वप्रथम राणाशाही हुकुमी शासनविरुद्ध सम्झौताहिन संघर्ष, देशीय सामन्तविरुद्ध एकाधिकार पुँजिवादी तथा साम्राज्यवादविरुद्ध नयाँ अर्थात...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित

काठमाडौं,२६ भदौ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ। ऊर्जा...

मापदण्डसहित उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय : पसलहरु कुन कुन बार खुल्ला हुने तालिका

काठमाडौँ , २५ भदौ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा...

किराँतसभ्यता: भ्रम वा वास्तविकता ?

यो युगमा आफ्नो सभ्यता र इतिहासप्रति गर्व नगर्ने मानिस सायद कोहि नहोला । तर...