काठमाडौं,असोज ७
ओखलढुंगामा गभर्नरको हस्ताक्षर नभएका शंकास्पद नोट धमाधम भेटिन थालेको छ। गत आइतबारदेखि सनराइज बैंकको शाखा कार्यालयमा यस्ता नोट फेला पर्न थालेको हो ।
स्थानीय व्यापारीहरूले बैंकमा पैसा जम्मा गर्ने क्रममा फेला परेका गभर्नरको हस्ताक्षर नभएका शंकास्पद नोटहरू एनआईसी एसिया बैंक, सिभिल बैंक र ग्लोबल आईएमई बैंकबाट सिल भएर आएका बन्डलहरूमा भेटिएको सनराइज बैंक शाखा कार्यालय ओखलढुंगाका शाखा प्रबन्धक खेमराज राना मगरले बताए ।
बैंकले कारोबार गर्ने क्रममा गभर्नरको हस्ताक्षर नभएका पाँच सय दरका नोटहरू आइतबार २ थान, सोमबार ३ थान र मंगलबार ८ थान गरी १३ वटा नोट फेला पारेको छ ।
भेटिएका शंकास्पद नोटहरूमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर मात्रै नभएको पाइएको छ। ती नोटहरूमा हुनु पर्ने सबै मापदण्डहरू रहेकाले शंकास्पद नोटहरू नक्कली नै हुन भनेर एकीन गर्न नसकिने शाखा प्रबन्धक राना मगरको भनाई छ।
नोटहरूमा हुनु पर्ने सबै मापदण्डहरू रहेकाले ती नोटहरू सक्कली हुन् या नक्कली हुन भनी पहिचान गर्न नेपाल राष्ट्र बैंकमा पठाउने र पहिचान गरिसकेपछि मात्रै ती एकीन हुने बैंक शाखाले जनाएको छ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।