कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेपछि अन्य मुलुकमा जस्तै नेपाल सरकारले पनि लकडाउन जारी गर्यो । तत्पश्चात प्राय सबै अस्तव्यस्त बन्यो । तर सर्जकहरू भने विभिन्न सिर्जनशिल काममा व्यस्त बने । कति आफु लोकप्रिय हुन त कति आफ्नो जिम्मेवारी सम्झेर अनेकौं अभियानहरू चले र चलाइए । तर गुणस्तरको हिसाबले औंलामा गन्न सकिने मात्र त्यस्ता कार्यक्रम आमको मन मुटुमा बस्न सफल भयो । बाँकी त नियमित प्रकृया जस्तो मात्रै । यस्तै मनमुटुमा बसेको एउटा कार्यक्रम वा अभियान हो “जेफाले सिर्जना डबली” । र यसको अभियन्ता हुन् गजलकार युवराज ठकुरी । जुन कार्यक्रम मोरङको विकट क्षेत्र केराबारीको सिंहदेवीबाट सञ्चालन भयो । ‘जेफालेमा पर्यटन र साहित्यसँगसँगै…..’ भन्ने नारा सहित थालिएको सो कार्यक्रम प्राय सर्जकहरूको पहिलो रोजाइको कार्यक्रम बनेको छ । कतिपय श्रष्टा सो कार्यक्रमको खोजी गर्दै पनि सो ठाउँमा पुग्न थालेका छन् । आज उनै जुझारु अभियानता युवराज ठकुरीसँग जोफाले सिर्जना डबली कार्यक्रम तथा अन्य विषय नजिक रहेर नयाँ अनलाइनको लागि प्रकाश दिप्साली राईले गरको कुराकानीको सार अंश ।
समय कसरी बिताउदै हुनुहुन्छ ?
विश्वमानव समुदाय कोरोना कहरले सन्त्रस्त भएको बेला म एक्लो निर्धक्क हुन कहाँ सकँुला र? सन्त्रासको बीचमा दिनचर्या बितिरहेको छ । वैकल्पिक शिक्षण सिकाइ सहजीकरणमा र ‘जेफाले सिर्जना डबली’को व्यवस्थापनमा समय बितिरहेको छ ।
लकडाउनको समयमा के कस्ता सिर्जना गर्नुभयो?
लकडाउनको प्रारम्भिक चरणमा के गर्ने के नगर्ने भन्नेमा अन्योल भइयो । सिर्जना शुन्य–शुन्य जस्तै नै भयो । अहिले पनि खासै सिर्जना गर्न त सकिएको छैन । यस बीचमा केही गजल लेखियो । अहिलेचाहीँ जेफाले सिर्जना डबलीको होलटायमर भइएको छ भनुम् क्यार !
त्यहाँको साहित्यिक गतिविधि के कस्तो छ ?
मोरङ जिल्लाको अत्यन्तै विकट ठाउँ हो यो । कुनाकन्दरामा नै सुन्दर फूलहरू फुल्छ भनेझैं जेफालेको प्राकृतिक सुन्दरतासँगै साहित्यिक गतिविधि पनि निरन्तर बढिरहेको छ । वर्षेनी जेफाले साहित्य उत्सव गरिदैछ । उता हृदय लिम्बुहरूको सक्रियतामा जेफाले साहित्य समाजको अगुवाइमा विभिन्न सर्जकहरू निम्त्याएर बडो सुन्दर ढङ्गले कोठे साहित्य चलि नै रहेको छ । यता साप्ताहिक रुपमा जेफाले सिर्जना डबली सुरु गरिएको छ । यस मानेमा साहित्यिक गतिविधि राम्रै छ भन्नुपर्छ ।
जेफाले सिर्जना डबली कस्तो डबली हो?
पर्यटन र साहित्य सँगसँगै जेफाले सिर्जना डबली भनेर परिकल्पना गरियो । कवि कलाकार, सर्जक र पर्यटनसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई यस डबलीमा उभ्याउने गरिएको छ । पर्यटनको विकासमा साहित्यले पनि महत्वपूर्ण भुमिका खेल्न सक्छ । यस्ता अभियानहरूले एउटा सुन्दर कवि कलाकार उत्पादन मात्रै गर्न सकियो भने सो ठाउँको चिनारीमा थप टेवा पुग्छ । एउटा गाउँठाउँको सकारात्मक प्रचार प्रसार कवि कलाकार तथा पत्रकारहरूले गर्न सक्छ र यो चौपट अवस्थामा सर्जकहरूलाई पनि सिर्जनासँग नै जोडिरहुँ भन्ने सोचका साथ यो डबली शुरु गरियो ।
त्यो विकट ठाउँमा त्यस्ता भावनाले मात्रै चल्ने कार्यक्रमहरू थेग्न सहज हुन्छ र ?
पक्कै पनि विश्व बजारीकरण र व्यवसायीकरण भइरहेको परिप्रेक्ष्यमा भावनाले मात्रै केही गर्न सकिँदैन । हामी भावना र सिर्जना मार्फत पर्यटनको विकासमा लागि परेका छौं । यो अभियानलाई धेरैले मन पराइदिनु भएको छ । पर्यटन व्यवसायीहरू, सामाजिक व्यक्तित्वहरू र स्थानीय निकायका प्रतिनिधिहरूले काँधमा काँध थापिदिनुभएको छ । यसले गर्दा जेफाले सिर्जना डबली निरन्तर ल्याउन सहज भएको छ ।
जेफाले पर्यटन बोर्ड के भन्छ त यो डबलीको सवालमा ?
अघि नै मैले भनिसकेँ हामी सिर्जना मार्फत पर्यटनको विकासमा लागिपरेका छौं । हामीले गर्नुपर्ने काम तपाईंहरूले गर्दैहुनुहुन्छ भन्ने गर्नुभएको छ । यो डबलीका लागि के कस्तो सहयोग गर्नुपर्छ हामी तयार छौँ भन्नुभएको छ । जेफाले सिर्जना डबलीले जेफालेको पर्यटनको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पुगेको छ । यो निरन्तर चल्नुपर्छ चलोस् भन्ने अपेक्षा गर्नुभएको छ ।
कवि कलाकारलाई चाहिँ खाली किन यस्ता नानाथरीका दुःख पाउने काम मात्र गर्न मन परेको ?
साह्रै राम्रो प्रश्न गर्नुभएकोमा धन्यवाद । सिर्जना कर्मको दुःखमा नै सन्तुष्टिको आभाष मिल्छ । व्यक्तिको, समाजको र राष्ट्रको नै गरिमा बोक्ने काम हो जस्तो लाग्छ । सिर्जना एउटा उज्यालो बाटो हो, यो बाटोले सबैलाई अझ भावी पिढिलाई मार्गनिर्देशनको भुमिका खेल्छ जस्तो लाग्छ यसर्थ पनि दुःख भन्दा पनि सुखानुभुतिको भावना जागृत हुन्छ ।
युवराज ठकुरीको गजल कृति कहिले हेर्न पाउने भनेर आम पाठकमा चासो छ नि?
गजल लेखनको शुरूवात मै रहर गरेको भए आलोकाँचोमै निस्किसक्थ्यो होला । अब चाहिँ आफ्नै गजल अपरिपक्व लाग्न थालेको छ । तापनि ननिकाली बस्ने भन्ने होइन । अबको एकदुई वर्ष प्रतीक्षा गर्नैपर्ने हुन्छ ।
सिर्जना के रहेछ? के हैन रहेछ ?
सिर्जना सबथोक हो । जीवनको उज्यालो र अँध्यारो पाटो मिश्रित सिर्जनाले समग्रता बोकेको हुन्छ । सिर्जनाले सौन्दर्यको खोजी गरि सुन्दर जीवन जिउँन र सुन्दर संसार निर्माण गर्न प्रेरित गर्दछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।