किरात धर्ममा आएका विकृतिहरूबारे सवालजवाफ - Naya Online

किरात धर्ममा आएका विकृतिहरूबारे सवालजवाफ

(किरात सन्देश मासिक, वर्ष ३, अंक ४, २०५४ मा प्रकाशित लेखमाथि प्रतिवाद)

तान्छोप्पा पत्रिका २०५४ असार अंकको प्रश्नोत्तर स्तम्भमा अभिव्यक्त विचारलाई लिएर किरात धर्म तथा साहित्य उत्थान संघ, केन्द्रीय कार्य समितिद्वारा प्रकाशित ‘किरात सन्देश’ मासिक वर्ष ३ अंक ४, २०५४ मा प्रकाशित ‘चुम्लुङ्का महासचिव नन्द कन्दङ्वा धार्मिक संकटमा’ भन्ने शीर्षकमा मैले अभिव्यक्त गरेका विचारको खण्डनका साथसाथै जवाफ दिएको पाएँ । उक्त खण्डन, जवाफ तथा प्रश्नहरूले जनसमुदायमा केही भ्रमहरू र दुविधा सिर्जना गरेकोले त्यहाँ उल्लेखित कुराहरूलाई स्पष्ट गराउन आवश्यक सम्झी यो खण्डन तथा जवाफ व्यक्तिगतरूपमा दिएको छु । किरात सन्देशमा प्रकाशित उक्त शीर्षकका लेखक या विचार व्यक्त गर्नुहुने महानुभावको नाम नभएकोले सो लेखमा अभिव्यक्त विचार किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय कार्य समितिकै विचार हो कि भन्न कर लागेको छ । संस्थालाई मुछ्ने मेरो व्यक्तिगत नियत छैन । तर यदाकदा शब्दहरूले त्यस्तो आसय व्यक्त गरेमा म क्षमाप्रार्थी छु ।

त्यस लेखमा दोहोर्याई तेहर्याई जम्माजम्मी ५/६ वटा सवालहरू उठाइएको रहेछ । विविध विषयमा यसरी छलफल बहस गर्नु, अन्तरक्रिया गर्नु राम्रो हो र छलफल, बहस र अन्तरक्रियाको माध्यमद्वारा नै सही निष्कर्शमा पुगिन्छ भन्ने लागेकोले यसको शुरूवात भएकोमा मलाई व्यक्तिगतरूपमा खुशी नै लागेको छ । यसको लागि ‘किरात सन्देश’ र अज्ञात लेखकलाई धन्यवाद दिँदै यहाँले उठाउँनु भएको सवालहरूका सम्बन्धमा क्रमशः मेरा विचारहरू राख्न चाहन्छु ।

पहिलो सवालः
उक्त लेखमा चुम्लुङ्को दोस्रो महाधिवेशनद्वारा पारित किरात धर्म, चुम्लुङले उठाएको धर्म निरपेक्षता, चुम्लुङद्वारा सम्पूर्ण किरात लिम्बुहरूलाई किरात धर्म लेखी–लेखाई धार्मिक अस्तित्व कायम राख्न आह्वान गरेको कुरालाई तिलाञ्जली दिँदै महासचिव धर्म संकटमा परेको कुरा उठाइएको रहेछ । याक्थुङ चुम्लुङको दोस्रो राष्ट्रिय महाधिवेशनमा लिम्बु जातिले परम्परागतरूपमा मानी गरिआएको, विश्वास गरिआएको धर्मको नामाकरण गर्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । सो महाधिवेशनमा धर्मको नामाकरणका लागि मुख्यरूपमा ३ वटा नामहरूः मुन्धुम, युमा र किरात प्रस्तावित भएका थिए । लामो छलफलपछि किरात धर्म लेख्ने भन्ने निर्णय पारित भएको थियो । उक्त महाधिवेशनमा छलफल गरी पारित भएको किरात धर्म भनेको सत्यहाङ्माहरूले मानी गरी ल्याएको कर्मकाण्ड विधि विधानलाई भन्न खोजिएको थिएन । लिम्बु जातिले परम्परागतरूपमा प्राचीन समयदेखि मानी गरी र विश्वास गरिआएको प्राकृत धर्म तथा धार्मिक विश्वास र त्यसको विधि विधानहरूलाई ‘किरात धर्म’ भनिएको थियो । यही निर्णयलाई याक्थुङ चुम्लुङले व्यापकरूपमा प्रचारप्रसार गरेको र गरिरहेको कुरा मेरा मित्रहरूमा स्पष्ट गराउन चाहन्छु । याक्थुङ चुम्लुङले उठाएको धर्म निरपेक्षता सम्बन्धमा मित्रहरूले औंला ठड्याउनु भएको रहेछ । धर्म निरपेक्षता या धर्म सापेक्षताबारे आवाज उठाउने कुरा संस्था धार्मिक हुनु या नहुनुले निर्णय गर्दैन । यो त हाम्रो देशलाई हिन्दु धार्मिक राज्य घोषणा गरी अन्य धर्महरूको अस्तित्वलाई नस्वीकारिएको अन्यायको विरुद्धमा उठाइएको आवाज भएकोले न्याँय र समानतासँग सम्बन्धित कुरा हो । याक्थुङ चुम्लुङ न्याँय र समानताप्रेमी, न्याँय र समानतको पक्षमा बोल्ने संस्था भएकोले धर्मसापेक्ष हिन्दु धार्मिक राज्य बनाइएको विरुद्धमा र धर्म निरपेक्षता अर्थात सबै धर्महरूको अस्तित्वलाई स्वीकार गरी सोही अनुरूप राज्यले व्यवहार गर्नुपर्ने आवाजलाई याक्थुङ चुम्लुङले वुलन्द गरेको हो । याक्थुङ चुम्लुङका यिनै विचारहरूलाई निरन्तर अगाडि बढाउने क्रममा तान्छोप्पाको प्रश्नोत्तरमा अभिव्यक्ति दिने महासचिव कन्दङ्वा कसरी धार्मिक संकटमा पर्यो ? बुझ्न सकिएन ।

दोस्रो सवालः
‘किरात लिम्बु जातिहरू एकधर्म सम्प्रदाय नभए जातीय, सामाजिक, भाषिक र सांस्कृतिक सवाल साझा हुन सक्दछ त ? एउटै किरात लिम्बुमा फरक फरक संस्कार, फरक फरक धर्म रहँदै आएको आजसम्म देखिएको छैन र फरक संस्कार, भाषिक, सांस्कृतिक र सामाजिक वातावरणमा हुर्केको किरात लिम्बुको पहिचान पुर्खाको मौलिकतासंग मिल्न सक्दैन’ भनेर उठाइएको रहेछ । यस सम्बन्धमा किरात लिम्बु जाति विगतमा एकधर्म सम्प्रदायमा थिए होला । तर वर्तमानमा एकधर्म सम्प्रदाय नभएको तथ्य हाम्रो अगाडि छँदैछ । लिम्बु जातिमा नगण्यरूपमा बौद्ध, हिन्दु, क्रिश्चियन धर्मालम्बीहरू पनि रहेका छन् भने परम्परागतरूप किरात धर्म मान्ने संख्या अत्यधिक छ । सत्यहाङ्मामार्गीहरूको संख्या पनि केही रहेको छ । यो वर्तमानको वास्तविकता हो । किरात धर्मभित्रको सत्यहाङ्मा पन्थ र किरात धर्मभित्रको परम्परागत किरात धर्ममार्गीहरूबीच धेरै कुरामा समानता भएपनि पशु हिंसा गर्ने र नगर्ने, होम लगाउने–चरू पोल्ने र नपोल्ने, धार्मिक विधि विधान सम्पन्न गर्दा शंख फुक्ने र नफुक्ने, माङ्हिम या मन्दिर बनाउने र नबनाउने अथवा परम्परागतरूपमा पुजा अर्चना गर्ने आदिदेखि लिएर जन्मदादेखि मृत्युपर्यन्त गरिने केही संस्कारगत विधि विधानहरूमा विविधता छ । जहाँसम्म जाति, भाषा तथा संस्कृतिक सवाल साझा हुन एकधर्म सम्प्रदाय नभई सम्भव हुँदैन भन्ने मित्रहरूको सोचको कुरा छ । त्यो विलकूल गलत सोच हो । यस्तो सोच तथा एक धर्म, एक जाति, एक देश, एक भाषा, एक संस्कृति, एक भेषको नाराको कार्यान्वयन त हिन्दु अतिवादीहरूले हाम्रो देशमा लामो समयदेखि गरिआएका छन् । बौद्ध मार्गीहरू संसारका एकधर्म सम्प्रदाय हुन् । तर बौद्ध मार्गी हुन कसैको जाति या जात परिवर्तन, भाषा तथा संस्कृति परिवर्तन गर्न आवश्यक पर्दैन । सत्यहाङ्मा पन्थमा नै पनि राई भाषी, लिम्बु भाषी, मगर, गुरूङ भाषी तथा संस्कृतिवालाहरू छन् । तिनीहरूले आफ्नो जाति, भाषा तथा संस्कृति परिवर्तन गर्न आवश्यक पर्छजस्तो लाग्दैन । यो मात्र धार्मिक विश्वासको कुरा हो । मित्र महोदयहरूको तर्क र विचार अनुसार त जाति, भाषा र सांस्कृतिक सवाल साझा हुन एकधर्म सम्प्रदाय भएर मात्र सम्भव हुन्छ भन्ने भएको हँुदा सत्यहाङ्मा मार्गीहरूको बारेमा मैले गलत लेखेको बोलेको पनि हुन सक्दछ । जेहोस् केही धर्मलाई छोडेर अन्य धर्ममार्गी हुन जाति, भाषी तथा संस्कृति परिवर्तन गर्न नपरेता पनि केही १/२ वटा संस्कारगत कुराहरूमा निश्चितरूपमा परिवर्तन आउँछ होला । जस्तो कि विद्यमान किरात धर्मभित्र हाम्रो समाजमा सत्यहाङ्मा पन्थ र परम्परावादीहरूबीच केही संस्कारगत विधि विधान तथा अनुष्ठानहरूमा विविधता छ । यही विविधता भएकै कारणले किरातधर्मी होइन, लिम्बु होइन, लिम्बु भाषा र संस्कृतिको लागि काम गर्न सक्दैन भन्न मिल्दैन । यो कुरा सत्य हो कि लिम्बु जाति एकधर्म सम्प्रदायमा मात्र आवद्ध भएमा जातीय सम्बन्ध, उनीहरूको सामाजिक संरचना, भाषिक सम्बन्ध र सांस्कृतिक अभ्यास अझ प्रगाढ र सशक्त हुन्छ । तर विधिको विडम्बना आजभन्दा ८० वर्ष पूर्वदेखि शुरूभएको सत्यहाङ्मा मार्गीहरूले केही नयाँँ सोच र नयाँँ संस्कारहरू जन्माएका छन् जुन किरात लिम्बुको पहिचान पुर्खाको मौलिकतासंग मिल्दैन । उनीहरू र पुर्खाको बिँडो थाम्ने परम्परावादीहरूबीच मतभेद रहेको छ । एउटाको विधि विधान तथा संस्कारगत कुराहरू अभ्यासहरू अर्कोले सहजढंगले ग्रहण गर्ने स्थिति रहेको छैन । सत्यहाङ्मा पन्थीका कतिपय नयाँ सोच तथा नयाँ संस्कारहरू वर्तमान परिवर्तित समयको सन्दर्भमा राम्रा पनि होलान् । यसरी राम्रो बनाउँदै लैजाने, सुधार्ने, विकास गर्ने नाममा मौलिकता गुमाएर अरूको नक्कल गर्दै जाने हो भने किन किरात धर्म भनिरहने ? जुन धर्मको नक्कल गर्ने हो त्यही धर्मलाई मानिदिए भइहाल्छ । यी दुनियाँ झनझटमा परिँदैन । हाम्रो समस्या भनेको परिवर्तित समय अनुरूप हाम्रो भाषा, संस्कृति, धर्म संस्कार तथा सामाजिक चलनहरूलाई समानुकूल (adapt) गर्ने हो, बाँच्ने (adjustable) बनाउने हो । तर मौलिकता गुमाएर रूप विकृत गरी सार (essence) नै परिवर्तन गर्ने होइन । कुनै पनि संस्कृति, धर्म संस्कार तथा सामाजिक प्रचलन आफ्नो ठाउँँमा र त्यसका आफ्नै मुल्य र मान्यताका आधारमा नराम्रो हुँदैन । समयको गति र अन्य संस्कृति तथा धर्म संस्कारको प्रभाव बढेपछि या प्रभावमा आएपछि त्यो राम्रो नराम्रो भन्न पुगिन्छ । सुन आखिर सुन नै हो । त्यस सुनमा फोहोर लागि मैला भएको छ भने सफा गर्दा हुन्छ । तर सुनलाई चाँदीमा परिवर्तन गरेर उक्त चाँदीमा सुनको जलप लगाई प्रसंशा गर्नु कालीदासले आफू बसेको हाँगा काटेर हाँगा काटेको प्रसंशा पाउनुजस्तो मात्र हो ।

तेस्रो सवालः
‘हाम्रो धर्म यो नै हो भनेर किटान गर्न कन्दङ्वा जीले सक्नु भएको छैन’ र ‘उहाँको दृष्टिकोणमा फेदाङ्बावादको बाटो हिंसावाद नै किरातहरूको मौलिक धर्म संस्कार संस्कृति हो भन्ने सोच रहँदै आएको बुझिन्छ’ भनेर भनिएको रहेछ । मैले दिएको प्रश्नोउत्तरको खिलापमा लेख्नु हुने मित्रले प्रश्नोत्तरलाई राम्ररी अध्ययन नगरी सोको खिलापमा लेख्नु भएको पाएँ । हाम्रो धर्म मैले किटान गर्नै पर्दैन त्यो त याक्थुङ चुम्लुङको २०४९ सालमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले किटान गरिसकेको छ । सोही अनुरूप मैले हाम्रो धर्म भनेको लिम्बु जातिले परापूर्वकालदेखि परम्परागतरूपमा मानी गरिआएको आफ्नै मौलिक धार्मिक–सांस्कृतिक विधि विधान, सामाजिक संस्कार रहेको किरात धर्म स्पष्टरूपमा उल्लेख गरेको छु । जहाँसम्म मैले दिएको दृष्टिकोणलाई हाम्रो धर्म संस्कार फेदाङ्बावादको बाटो हिंसावादको सोच भनेर बुझ्नु भएको छ त्यसमा मित्रको चस्मा धेरै साँघुरो तथा आत्महीनताबोधको भावनाबाट ग्रसित भएको पाएँ । किरात लिम्बु मुन्धुम्मा वर्णित येवा, साम्बा, फेदाङ्बाहरूको प्रचलन अथवा फेदाङ्बा, साम्बा, येवा ल्याएर गरिने संस्कार विधि आजभन्दा ८० वर्ष पूर्वदेखि चलेको सत्यहाङ्माहरूले चलाएको संस्कार तथा प्रचलनभन्दा पछिको प्रचलन तथा संस्कार रहेछ भने सत्यहाङ्माहरूले चलाएको प्रचलन तथा संस्कार अवलम्बन गर्नु पर्नेमा मलाई कुनै आपत्ति छैन । याक्थुङ चुम्लुङले उल्लेख गरेको किरात धर्म र धार्मिक सामाजिक संस्कार विधि विधानमा परापूर्वकालदेखि परम्परागतरूपमा प्रचलनमा रहेका खर्चिला तथा महँगा संस्कारहरूलाई त्यसको सार या मौलिकतालाई कायमै राखेर समयानुकूल कम खर्चिलो तथा सस्तो ढंगबाट गरिने बनाउनु पर्छ भन्ने हो । जहाँसम्म मित्रले उठाउँनु भएको ‘भालेको टाउको, रक्सिको बोतल ठड्याएर राख्ने संस्कारले लिम्बुहरूको सही पहिचान दिन्छजस्तो लाग्दैन’ भन्ने सवाल छ त्यसमा ‘के होम लगाउने, चरू पोल्ने, शंख फुक्ने, विवाहमा हिन्दुजस्तो मण्डप बनाउने, ओम, ओत भनी लंकार्ने संस्कारले लिम्बुहरूको सही पहिचान दिन्छ त ? हामी सबैले यसबारेमा गम्भीर भएर सोचौं र चिन्तन मनन् गरौं ।

मित्र महोदयहरूले उठाउँनु भएको हरेक धर्मको आ–आफ्नै धार्मिक दर्शन हुन्छ र त्यही दर्शनअनुरूप यसका तमाम विधि विधान, धार्मिक संस्कार तथा गतिविधिहरू सञ्चालन हुन्छन् । धर्म निश्चित धार्मिक दर्शनबाट निर्देशित हुन्छ । तर अनुकरणवादबाट हुँदैन भन्ने कुरामा मेरो शतप्रतिशत सहमति छ । बौद्ध धर्म दर्शनको आधारभुत अनुशासन अथवा परिचालन गर्नुपर्ने कुराहरू (disciplines)मध्ये अहिंसा प्रमुख हो । यसको दर्शन नै अहिंसाको मान्यताबाट निर्देशित छ । यस्तै कतिपय धर्मको दर्शन सेवाको मान्यताबाट निर्देशित छन् भने हिन्दु धर्मको दर्शन सत्यको नाममा स्वार्थकेन्द्रित तथा पण्डित्याइँमा आधारित ठूलो सानो या उचनीचको शक्तिको मान्यताबाट निर्देशित छ । किरात धर्मको दर्शन समानता र भातृत्वभावको मान्यताबाट निर्देशित छ । यदि हामीले सबै धर्मबाट उनीहरूका राम्रा विधि विधान र राम्रा लागेका संस्कारहरूलाई लिएर विश्वमा नै सर्वश्रेष्ठ र समुन्नत खिचडी धर्म सत्यहाङ्मा विकास गर्न लागेको हो भने त्यसमा आपत्ति छैन र मैले आपत्ति गरेर पनि त्यो रोकिन्न होला । तर त्यसमा मौलिकता र पुर्खाको धार्मिक–सांस्कृतिक सम्पत्तिको कुरा गर्नु व्यर्थ हुन्छ । यसमा दर्शन तथा मान्यताको आवश्यकता नै पर्दैन । राम्रा विधि विधान र संस्कारहरूलाई आफ्नै तरिकाले अनुकरण गरे पुग्छ । यसलाई अनुकरणवाद नै भन्नु पर्ने हुन्छ । अनुकरणलाई अनुकरण भनिएकोमा ‘राम्रो काम गर्नु अनुकरण भन्ने हो भने मुन्धुम किन चाहियो, संस्कार किन चाहियो, कर्मकाण्ड किन चाहियो’ भन्ने निष्कर्षमा पुगिहाल्नु उचित हुँदैन । फेरि संस्कार, कर्मकाण्ड नभए पशु प्राणी नै होइन्छ भन्ने निष्कर्ष निकाल्नु पनि गलत हुन्छ ।

चौथो सवालः
‘किरात माङ्हिम बनाउनेहरू हिन्दु धर्मको जोसमनि सम्प्रदायका हुन भनी केको आधारमा भनियो ? र चुम्लुङले केको लागि चुम्लुङ्हिम बनाउँदैछ ?’ भन्ने प्रश्न मित्रहरूबाट उठाइएको रहेछ । किरात लिम्बुहरू मुर्तिपुजक नभएको इतिहास साक्षी छ । उनीहरू यस भूभागका प्राचीनकालदेखि बसोबास गरी आएका आदिवासीहरू भएकोले प्रकृतिसंग सम्बन्धित माङ्हरू पुज्ने मान्ने गर्दछन् । पुजा गर्ने बेलामा थान बनाउँछन् र पुजा गरिसकेपछि त्यस थानलाई भत्काउँछन् या त्यहाँ माङ्को प्रतीकको रूपमा राखिएको बस्तु या पुजा सामान आदिलाई लातले पन्छाउँछन् र सफा गर्दछन् । यो अभ्यास परापूर्वकालदेखि युग युगसम्म चलिआएको छ । प्रत्येक लिम्बुले या लिम्बु परिवारले युमा थेबाको थान आफ्नो घरको एक कुनामा बनाएको हुन्छ । त्यहाँ न त मुर्ति हुन्छ न त खास देवताको नक्सा नै । त्यहाँ सिर्फ दियो कलश मात्र हुन्छ । कतिपयले चिल्लो ढुंगा पनि राखेका हुन्छन् । यो नै हामी लिम्बु जातिले परापूर्वकालदेखि मानी गरिआएको अभ्यास हो । देवी देउताको थापना गरी मान्ने पुज्ने क्रम त हिन्दुहरूको यस भेगमा प्रवेश भएपछि मात्र हामीमा शुरू भएको हो । त्यसमा पनि हिन्दु मन्दिरहरूको रूप ‘माङ्हिम’ को अवधारणा र निर्माणको प्रचलन शुरू भएको स्व. फाल्गुनन्दकै पालादेखि हो । फाल्गुनन्द आफै हिन्दुधर्म जोसमनि सम्प्रदायका हुन । स्व. फाल्गुनन्दले प्रचलनमा ल्याएका शुरूका मन्दिर या माङ्हिमको अवधारणा पनि जोसमनि धर्म सम्प्रदायसंग नै सम्बन्धित थिए । यो कुरा मैले भनिरहनु पर्ने विषय होइन सारा प्रमाणले यसै भन्छ । जोसमनि धर्म सम्प्रदायसंग सम्पर्क सम्बन्ध भएको कारणले त्यसको प्रभाव पर्नु स्वभाविक पनि छ । हिन्दुहरूको धार्मिक आस्थाको केन्द्रको रूपमा जताततै मन्दिरहरू छन् भने हाम्रो धार्मिक् आस्थाको केन्द्र केलाई कसरी बनाउने भन्ने सोचबाट आएको माङ्हिमको सारपक्ष नै हिन्दु मन्दिर, मुस्लिम मस्जिद, बौद्ध गुम्बा र क्रिश्चियन चर्चको अवधारणाबाट आएको छ । मन्दिर, माङ्हिम, मस्जिद, गुम्बा, गुरूद्वारा र चर्चको रूपपक्ष या उनीहरूको आकार र त्यसभित्र राखिने मुर्ति या देवताका आकार मात्र फरक छन् । लिम्बु जातिको युगौं युगको अभ्यास तथा विश्वासले सापटी सम्पत्ति ‘माङ्हिम’ माथि गर्व नै गर्छ भने व्यक्तिगतरूपमा मलाई आपत्ति छैन । अर्को सवाल ‘याक्थुङ चुम्लुङले केको लागि ‘चुम्लुङहिम्’ बनाउँदैछ’ भन्ने सवाल छ त्यो कुरा प्रश्नोत्तरमा नै स्पष्ट पारिएको छ । अहिलेको युगमा योग्यता, क्षमता, दक्षता र ज्ञानको प्रतिस्पर्धाको युग हो । हाम्रो जाति तथा समुदायलाई सक्षम एवम् दक्ष नबनाउने, योग्य र वर्तमान विश्व विकासको सञ्चारबाट सुसज्जित नगर्ने हो भने सो जाति तथा समुदाय र त्यसका सदस्यहरू प्रतिस्पर्धी हुन सक्दैनन् । यही कुरालाई मध्यनजर गरेर स्थानीय लिम्बु समुदायको दक्षता, सीप्, ज्ञान विकास गर्ने र सामाजिक सांस्कृतिक एवम् राजनीतिक अन्तरक्रिया गर्न केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले ‘चुम्लुङहिम्’ बनाउने काम हुँदैछ, नाचगान गर्ने घर बनाउनलाई ‘चुम्लुङहिम’ बनाइँदै छैन भन्ने मित्र महोदयहरूमा स्पष्ट पार्न चाहन्छु ।

पाँचौ सवालः
सत्यहाङ्मा पन्थका कतिपय विधि विधान तथा संस्कारहरू अन्य धर्मबाट अनुकरण गरिएको हो या होइन भन्ने सम्बन्धमा मित्र महोदयहरूले ‘हिन्दु धर्मको विधि र किरात धर्मको विधि एउटै छ भन्ने सवाल झुटो हो, सबै हाम्रो मौलिकतामा आधारित छ’ भनी लेख्नु भएको रहेछ । सत्यमाङ्मा पन्थका दार्शनिक मान्यता देवताको लागि पशुपंक्षीको हिंसा गर्नु हुन्न या अहिंसाको बाटो अवलम्बन बुद्ध धर्मको दार्शनिक मान्यताबाट प्रभावित छ भने कतिपय विधि विधान तथा कर्मकाण्ड र संस्कारहरू हिन्दु धर्म दर्शनबाट प्रभावित छ । यस बाहेकका अवतारवाद या औंसी अथवा धर्मगुरू पुनर्जन्मको मान्यता बौद्ध लामा (औतारी लामा) तथा हिन्दुको अवतार प्रथाबाट प्रभावित छ भने फूल लिएर वा दिएर सम्पन्न गरिने कतिपय विधि विधान तथा कर्म काण्डहरू क्रिश्चियन धर्मको मान्यताबाट प्रभावित छ । यति हुँदाहँुदै पनि यसको आधार किरात मुन्धुममा नै राखिएको हुनाले यो किरात धर्मभित्रको सत्यहाङ्मा पन्थ भएको छ । सत्यहाङ्मा पन्थले सम्पूर्ण विधि विधान तथा कर्मकाण्डहरू अन्य धर्मबाट अनुकरण गरी सापट लिएका छन् भन्न खोजिएको होइन । यसमा कतिपय मौलिक विधि विधानहरू प्नि छन्् । यदि सबै विधि विधान तथा कर्मकाण्ड अन्य धर्मबाट अनुकरण गरिएको भए यसलाई किरात धर्म सत्यहाङ्मा पन्थ भन्नै पर्ने थिएन । यसलाई हिन्दु धर्म सत्यहाङ्मा पन्थ (सम्प्रदाय) भन्नुपर्ने हुन्थ्यो या बुद्ध धर्म सत्यहाङ्मा पन्थ या क्रिश्चियन धर्म सत्यहाङ्मा पन्थ भन्नुपर्ने हुन्थ्यो होला । एउटा कुरा हामीले के भुल्नु हुँदैन भने फलना धर्ममा गायत्री मन्त्र छ हाम्रोमा खोई ? फलाना धर्ममा १६ पुराण छन् हाम्रोमा खोई ? फलाना धर्ममा सप्तपुराण लगाइन्छ हामीले के लगाउने ? फलाना धर्ममा यो छ, ऊ छ त्यसैले त्योसंग प्रतिस्पर्धा गर्न या हाम्रो धर्ममा पनि ती अथवा त्यस्तै विधि विधानहरू छन् भनेर देखाउन आफ्नै ढंगले विधि विधान निर्माण तथा विकास गर्ने काम अवधारणागत हिसाबले अनुकरण हुन्छ । यसमा हामीले कतिपय विधि विधानको निर्माण तथा विकास किरात मुन्धुमलाई आधार बनाएर गरेका हौंला भने कतिपय मुन्धुममा उल्लेखित तथा वर्णित माङ्हरूको नाम राखेर आफ्नै प्रकारको मन्त्र, विधि विधान तथा कर्मकाण्ड तयार गरेको हौंला । कतिपय त ठाडै नक्कल या उल्था गरिएको होला । मलाई के लाग्छ भने किरात धर्मको वर्तमान स्थिति भनेको परम्परागतरूपमा रहे भएकोलाई सम्भाल्ने र संगाल्ने हो अरूबाट सापट लिनु पर्ने होइन र अरूको अनुकरण गर्नुपर्ने होइन । यी विषयहरूमा क्रमशः आगामी दिनहरूमा छलफल र बहस गर्दै जाऔंला । त्यसबेलासम्मको लागि यति भनी राखौं, सत्यहाङ्मा पन्थले निर्माण तथा विकास गरेका कतिपय नयाँ विधि विधान, कर्मकाण्ड तथा संस्कारहरू सारमा तथा झुकाव (trend) को हिसाबले विभिन्न धर्मबाट अनुकरण गरिएको र गरिँदै गइरहेको देखिन्छ । यसरी अन्य धर्मको प्रभावमा परी निर्माण गरिएका विधि विधान, कर्मकाण्ड तथा संस्कारहरूमा मौलिकताको कुरा गर्नु हाँस्यास्पद हुन्छ ।

छैटो सवालः
‘राम्रो काम गर्नुलाई अनुकरण गर्ने भन्ने र नराम्रो काम गर्नेलाई कन्दङ्वाले मौलिकतावाद मान्दै आएको, किरात धर्मको विशेषतालाई चिराचिरा पारी ध्वस्त गर्ने प्रयत्न गरेको’ भन्ने दोषारोपण गरिएको रहेछ । सर्वप्रथम त राम्रो काम, राम्रो विधि विधान, कर्मकाण्ड तथा संस्कार र नराम्रो काम, नराम्रो विधि विधान, प्रचलन तथा संस्कार भनेर छुट्याउने आधार, मुल्य र मान्यता के हो स्पष्ट हुनुपर्दछ । मुसलमान या मुस्लिम धर्म मान्नेले आफ्नै काकाको छोरी विवाह गर्दछन् । एउटै आमाको दूध खानेहरू चाहे अर्कोबाट जन्मिएको भए पनि दाजुभाइ तथा दिदी बहिनी मान्दछन् । हिन्दु धार्मिक मुल्य मान्यताको आधारमा मुस्लिमको यस्तो संस्कार, प्रचलन धेरै नराम्रो हुन जान्छ । तर मुस्लिम धार्मिक मान्यतामा यो एकदमै राम्रो हुन्छ भने हिन्दुहरूको वैवाहिक चलन तथा धार्मिक विधि मुस्लिम धार्मिक मान्यतामा नराम्रो देखिन्छ । अहिंसाको मान्यताबाट निर्देशित बौद्ध धर्मको मान्यतामा पशु हत्या गरी खाने प्रचलन एकदमै नराम्रो होला । यस्तै मदिरा सेवन नगर्ने धार्मिक तथा सामाजिक–सांस्कृतिक मुल्य र मान्यता बोकेका हिन्दु पण्डितहरूका लागि जाँड रक्सी खाने संस्कार, राँगा, सुँगुर मारी खाने संस्कार तथा प्रचलन नराम्रो हुन्छ भने काट्टो खाने हिन्दु धार्मिक मान्यता नखानेहरूका लागि नराम्रो हुन्छ । कुनै पनि समाज, जाति तथा जातिको संस्कृति र धार्मिक विश्वास, विधि विधान एवम् संस्कारहरू र कर्मकाण्डहरूलाई हामी कुन चस्माले हेर्छौं या कुन सामाजिक–सांस्कृतिक तथा धार्मिक मुल्य र मान्यताको आधारमा हेर्दछौं । हामी त्यही अनुरूप देख्दछौ र राम्रो नराम्रो भन्न पुग्छौं । कुनैपनि जाति तथा धर्म सम्प्रदायको धार्मिक, सामाजिक संस्कार तथा सांस्कृतिक प्रचलन उनीहरू आफैमा आफ्नै लागि नराम्रो हुँदैन । उनीहरू सबैका ती विधि विधान, संस्कार तथा प्रचलन निर्माण विकासका आ–आफ्नै लामो पृष्ठभूमि छन् । पूर्वजहरूको लामो ज्ञान, सीप र अनुभवहरू प्रयोग भएर लामो समयको अभ्यासपछि नै ती सम्बन्धित जाति तथा धर्म सम्प्रदायका सामाजिक–सांस्कृतिक तथा धार्मिक मुल्य र मान्यता बनेका छन । अमूल्य सम्पति बनेका छन् र धार्मिक, सांस्कृतिक तथा सामाजिक दैनिक जीवनको मार्गदर्शक आवश्यक स्वचालित नियम भएका छन् । यदि हाम्रो धार्मिक विधि विधान तथा संस्कारहरू बढी खर्चालु तथा बोझिला छन् र अलिक अस्वभाविक तथा अव्यबहारिक छन् भने तिनीहरूलाई कम खर्चिला, कम बोझ हुने, स्वभाविक तथा व्यवहारीक हुने बनाउनु समयको गतिमा अनुकूल (adjustable and adaptable) बनाउनु हो । तर त्यसलाई चटक्क छोडेर अर्को अंगाल्नु या नयाँ निर्माण गर्नु भनेको अर्काको अनुकरण गर्नु हो, किरात धर्मको नाममा विकृति भित्र्याउनु हो र आफ्नो अस्तित्व लोप गराउनु हो । यही अनुकरणलाई मित्र महोदयहरूले विकासवाद भनेको हो भने यहाँहरूले दुःख गर्नै पर्दैन । विकासे धर्म आइसकेको छ, त्यसैलाई अंगाले भइहाल्छ । त्यो सोझै अंगाल्न गाह्रो भए सत्यहाङ्मा पन्थलाई नै क्रमश? विकासे (क्रिश्चियन) बनाएर लगे हुन्छ या हिन्दु धर्मको एउटा उपशाखा भनेर घोषणा गरे भइहाल्छ ।

यसैले, मैले तान्छोप्पा पत्रिकामा व्यक्त गरेको विचार मित्र महोदयहरूले राम्ररी बुझिदिनु पर्यो । मेरो किर।त धर्मको विशेषतालाई चिरा पारी ध्वस्त गर्ने प्रयत्न नभई चिरा परेको र अझ चिरा पर्न गइरहेकोलाई जोड्ने र मजबुत बनाउने प्रयत्न हो । किरात धर्ममा आएका विकृतिहरूलाई हटाउनका लागि चेतना प्रवाह गर्ने प्रयत्न हो भन्ने स्पष्ट गराउन चाहन्छु ।

२०५४/६/१५
चांगाथली, ललितपुर

यो लेख मैले २०५४ सालमा लेखेको हो । यो लेख मेरो प्रकाशोन्मुख पुस्तक ‘लिम्बु, लिम्बुवान र लिम्बु राज्य’ को धेरै लेखहरु मध्ये एक हो । पुस्तक २०७१ सालमा नै तयार भए पनि विभिन्न कारणले पुस्तक प्रकाशन गर्न नसकिए पनि यो लेख प्रकाशन गर्दा सान्दर्भिक नै हुन्छ भनेर यो लेख प्रकाशन गरेको छु ।
– लेखक

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

देउवाको सरकारलाई संविधान र सर्वोच्च अदालतको आदेशलाई पालना गर्न र दायित्वबाट नभाग्न आग्रह

काठमाडौं , ५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले सरकारले...

सरकारको प्रवक्तामा पार्वत गुरुङ

काठमाडौँ, ३ कार्तिक । मन्त्रिपरिषदको बैठकले सञ्चार तथा सूचना प्रविधिन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता...

किरात धर्ममा आएका विकृतिहरूबारे सवालजवाफ

(किरात सन्देश मासिक, वर्ष ३, अंक ४, २०५४ मा प्रकाशित लेखमाथि प्रतिवाद) तान्छोप्पा पत्रिका...

डा. भट्टराईलाई मानहानीको मुद्धा लगाउनु पर्छ : राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी

काठमाडौं, २९ असोज । राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता...

नेकपालाई डा. भट्टराईको जवाफ : दोषी ठहरिए दण्ड भोग्न तयार छु

काठमाडौं, २८ असोज । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बुढिगण्डकी...

त्यो भर्चुअल जानकारी र अहिलेको भर्चुअल दुनियाँ

देवेन्द्र सुर्केली दिनको ठीक ११ बजेदेखि ‘क बाट कमल, ख खरायो’ आवाज आउँछ ।...

मन्त्रिपरिषद पुनर्गठन : अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्रीको...

डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री ओली र प्रचण्डले अर्वौ रकम घुस लिएको प्रमाणित गर्न नेकपाको चुनौती

काठमाडौं , २८ असोज । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम...

बुढीगण्डकी परियोजना विषयमा उच्चस्तरीय र निष्पक्ष छानवीनको माग : डा. भट्टराई

काठमाडौं, २६ असोज । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढीगण्डकी परियोजना अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष...

हिलाम्मे सडकले यात्रुलाई सास्ती

पवित्रा लिम्बू खजुम तेह्रथुम, २५ असोज । तेह्रथुम बसन्तपुर म्याङ्लुङ सडकखण्ड विगत केही वर्ष...