अलविदा गजेन्द्र इस्वो दाई - Naya Online

अलविदा गजेन्द्र इस्वो दाई

नरप्रसाद लिम्बु लुम्फुङवा


अरू दिनभन्दा कार्तिक १८ गते तदअनुसार नोभेम्बर ३ को बिहान छिटो निन्द्राले छोडयो । अघिल्लो दिन १७ गते धरान १० बस्ने वंशका दाजुको दुःखद निधन भएकोले १८ गते अन्त्येष्टि कार्यको लागि बिहान ७ वजे नै तयारीमा जुट्न भेट्ने योजनाले निन्द्रा खुलेको अनुमान गरें । अरू दिन म साढे सातपछि मात्रै सामाजिक सञ्जाल हेर्ने गर्छु । तर कोनी किन कार्तिक १८ गते बिहान पाउने ६ मै सामाजिक सञ्जाल अन गरें । पहिलो आँखा नै किरात याक्थुङ चुम्लुङ धरान नगरका सचिव जय सम्बाहाम्फे भाईले ‘धरानकै अभिभावक गजेन्द्र इस्वो हामीमाँझ रहनु भएन’ भनेर लेखेकोमा परे । विश्वास लागेन । जय भाईलाई तुरुन्त कल गरें । सञ्जालमा लेखेको कुरा असत्य भए हुन्थ्यो भन्ने मनमा लागिरहेको थियो । तर जय भाईले गजेन्द्र दाईले महायात्रामा निस्केको कुराको पुष्टि गरे । अझै विश्वास लागिरहेको थिएन । तर स्क्रोल गरेर हेर्दा अन्य केही लगायत पारिवारिक र वंशका सदस्यले समेत गजेन्द्र दाईको सोही बिहान ४ बजे निधन भएको खबर बिहान ६ बजेसम्म पुष्टि गरेर लेखे । यसरी धरानको एकजना न्याय र समानताको पक्षमा लड्ने लडाकु, भु.पु. गोर्खा सैनिक भईकन पनि धरानको सामाजिक, सांस्कृतिक, भौतिक विकासमा अहोरात्र विश्रामविहीन लागिपर्ने व्यक्तित्वलाई सधैँको लागि गुमाउनुपरेको अक्षरहरूमा उनिरहँदा कहाँबाट शुरु गरौं, कता के लेखौं भनेर औंलाहरू अलमलमा परिरहेका छन् । यद्यपि सत्यलाई स्विकार्नु बाहेक अब हामीसँग केही विकल्प रहेन । आफ्नै वंशको सदस्यको मलामी जानुपरेकोले गजेन्द्र दाईको मलामी जान पनि नसकेको थप पीडामा दाईप्रति श्रदाञ्जली स्वरूप संस्मरणका केही शव्द जोडजाड गर्ने प्रयत्न गर्दैछु ।

गजेन्द्र दाईको असमानता र विभेद विरुद्धको प्रत्यक्ष इनिङ्ग सन् १९९७ मा बु्रनाईमा भएको “जिआरयु काण्ड”ले प्रख्यात विद्रोहबाट शुरु भएको थियो । उक्त विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गजेन्द्र दाईलगायत ११ जनालाई खालीखुट्टा नेपाल पठाईएको थियो ।

गजेन्द्र इस्वो दाई मुलरूपमा विभेद र असमानता विरुद्ध लडाकु हुन् । उनले कहिल्यै सूर्य नअस्ताउने भनेर कहलिएको बेलायतको लागि गोर्खा सेनामा सेवा गरे । त्यसभित्र बेलायत सरकारले गोर्खाली सेनामाथि गरेको विभेद र असमानताविरुद्ध लडे । एक प्रकारले जसको लागि सेवा गरे, जसले खाना, नाना र छानाको प्रवन्ध गरिदिए उसकै विरुद्ध लडे र अरूलाई लड्न उक्साए । विशेषगरी ब्रिटीश सरकारले गोर्खा सेनालाई सेवा र सुविधामा गरेको असमानता र विभेद विरुद्धको अभियान र आन्दोलनलाई एउटा उचाईमा पुर्याउन वहाँ र वहाँको टिमले शसक्त भूमिका निर्वाह गरे । गजेन्द्र दाईको असमानता र विभेद विरुद्धको प्रत्यक्ष इनिङ्ग सन् १९९७ मा बु्रनाईमा भएको “जिआरयु काण्ड”ले प्रख्यात विद्रोहबाट शुरु भएको थियो । उक्त विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गजेन्द्र दाईलगायत ११ जनालाई खालीखुट्टा नेपाल पठाईएको थियो । त्यसबेला यता नेपालमा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले पनि गोर्खालीहरू माथि भएको विभेद र असमानता विरुद्ध संगठित हुने क्रम जारी राखेको थियो । ‘जिआरयु काण्ड’ले गेसोको लागि एक नम्बरदेखि एकैपटक तीन नम्बरमा पुग्ने ‘पुसिङ्ग गेयर’को काम गर्यो । ब्रिटीशले गरेको विभेद र असमानतालाई जिआरयु काण्ड राष्ट्रिय अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्ने मसला बन्यो । यद्यपी गेसोबाट अलगिएपछि गजेन्द्र दाई ‘केको लागि आन्दोलन गरियो, केमा पुर्याएर ब्रिटीशले पुरै अलमलाई दियो’ भनेर पंक्तिकारसँग तित्तता पोख्थे । जेहोस् गजेन्द्र दाईले गोर्खा भुपुहरूको समान पारिश्रमिक र निवृत्तिभरण एवम् अन्य सुविधाका लागि खेलेको शसक्त भुमिका इतिहासले सधैं सम्झने छ ।

गजेन्द्र दाईको अर्को पाटो धरानको राजनीतिक सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदान हो । जिआरयु काण्डपछि फर्केर धरानमा बसेर गेसोको आन्दोलनलाई हाँक्दै सामाजिक राजनीतिक जीवनमा सक्रियतापूर्वक लाग्नुभयो । किरात याक्थुङ चुम्लुङको धरान नगर समितिदेखि सामाजिक जीवन प्रारम्भ भएपछि धरानमा चुम्लुङहिम निर्माणमा अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । अनेकौं हण्डर र दुःख सहँदै चुम्लुङ हिमको निर्माण पूरा गरेर कियाचु नगर जिल्लालाई हस्तान्तरण गर्न भूमिका निर्वाह गर्नुभयो । कियाचुको नगर, जिल्ला, केन्द्रीय सदस्य, केन्द्रीय सचिवहुँदै केन्द्रीय सल्लाहकारसम्म हुनुभयो । लिम्बुवान जागरण अभियान र लिम्बुवानको आन्दोलनमा धरानदेखि दाईले पुरै अभिभावकत्व प्रदान गर्नुभयो । तन, मन, धनले सहयोग गर्नुभएर एउटा उचाईमा पुर्याउन योगदान दिनुभएको कुरा त्यसबेलाका लिम्बुवान पहिचान पक्षधर अभियन्ताहरू मुक्त कण्ठले प्रशंसा गर्छन् ।

गजेन्द्र दाईले धरानका गोर्खा भूतपूर्वलाई सामुहिक र व्यावसायिक जीवनमा योगदान पुर्याउनुपर्छ भन्ने आशयले धरान भानु चौकमा रहेको गोर्खा कम्प्लेक्स भवन निर्माण र गोर्खा वचत तथा ऋण सहकारी स्थापनामा अग्रणी भूमिका निर्वाह गर्नुभयो । गोर्खाहरूको इतिहासलाई चीरस्थायी बनाउन धरान २० स्थित विष्णपादुकाको मछामारामा धरान ८ का गोर्खा भुपु रमेश राईले देखेको सपनालाई ब्रिटिस गोर्खा स्मृति पार्कको रूपमा स्वरूप दिन गजेन्द्र दाई नै अग्रसर हुनुभयो । हाल पार्क अरवौंको योजनासहित निर्माणधिन अवस्थामा छ । धरानमा छरिएर रहेका गोर्खा भुपुहरूको प्रयत्नलाई एकाकार गराउन गजेन्द्र दाईकै सक्रियतामा भुपु गोर्खा एकता समाज गठन गरेर प्रयत्नशिल हुनुहुन्थ्यो । हुनपनि धरान डिपोट स्कुल, धरान १० स्थित सैनिक भवन, धरान १९ स्थित गोर्खा सामुदायिक भवन, धरान १३ स्थित वेलफेयर, धरान भानु चौकको गोर्खा कम्प्लेक्स, त्यहाँ स्थित गोर्खा वचत तथा ऋण सहकारी र धरान २० स्थित गोर्खा स्मृति पार्क गोर्खा भुपुहरूकै पसिना, रगत, आशा, सपना, आकांक्षा र समाज तथा मुलुकप्रतिको जिम्मेवारी वोधको प्रतिकहरू हुन् ।

गजेन्द्र दाई अबको लाहुरेहरू ब्रिटिश नीतिका कारण मुलुक नफर्कने, धेरै लाहुरे बेलायत पलायन भएको र अबको भान्जा भान्जी पुस्ताले बाबु बाजेको माथि उल्लेखित भौतिक सम्पत्तिको संरक्षण गर्न अग्रसर हुनुपर्ने भनेर चिन्तशिल हुनुहुन्थ्यो । त्यसैले भुपु गोर्खा एकता समाज अन्तर्गत भान्जा भान्जीहरू संगठित हुने गरी एक प्राविधिक समिति गठन भएको छ । उक्त समिति गोर्खा स्मृति पार्कमा पनि जोडिईसकेको छ । धरानमा रहेर थातथलोको मायाले फेदाप समाज गठन गरेर फेदापको विकासको लागि केही गर्ने जमर्को गर्नुभएको थियो । गजेन्द्र दाईले कोभिड १९ को कारण लकडाउन हुन केही महिना अगाडी गठन गर्न तत्परता गर्नुभएको अर्को संगठन गोर्खा सत्याग्रह संयुक्त समिति धरान सुनसरी हो । त्यहाँ पनि हामी भाञ्जाहरूलाई समेट्नु भएको थियो ।

गजेन्द्र दाईको एउटा विशिष्ट विशेषता के थियो भने वहाँ कतिपय संस्थामा औपचारिक रूपमा नेतृत्वमा देखा पर्नु भएन तर अन्यले देख्दा वहाँ सधैं नेतृत्वमा देखिनु हुन्थ्यो । जस्तैः भानु चौकको गोर्खा कम्प्लेक्स र मछमाराको गोर्खा स्मृति पार्कको औपचारिक कार्य समितिहरूमा वहाँ देखिनु हुँदैन । औपचारिक मूल समितिको निर्माण समितिमा रहेर नेतृत्व प्रदान गर्नुभयो । दाईको अर्को विशेषता भनेको ब्रिटिश भुपुहरूको अफिसर र नन अफिसर विचमा रहेको द्धन्दलाई कम गर्न प्रयत्न गर्नु हो । शायद गेसो आन्दोलनले धरानमा विकास गरेको अफिसर र नन अफिसरको द्धन्द पुरै समाधान गजेन्द्र दाईको जीवन कालमा त सम्भव भएन । तर वहाँले खुशीसाथ गोर्खा स्मृति पार्कमा अफिसर साबहरूलाई नेतृत्वमा ल्याउन पहल गरेर र नेतृत्व स्विकारेर त्यो द्धन्दलाई कम गर्न प्रयत्न गर्नुभयो । तर मानव स्वभावजन्य हुने कमि त्रुटीका कारण उक्त द्धन्द निमिटयान्न हुन भने सकेन ।

कम्युनिष्ट पार्टीको सदस्य भईकन पनि पार्टीभित्रको जातीवादी दुर्गतीलाई नजिकबाट देखेपछि अन्तर्राष्ट्रिय जातिको मर्मलाई प्रहार गर्दै एकल जातीय ब्राम्हणवादी हुँदा चाहीँ जातीवादी नहुने, हामी आदिवासीले आदिवासीको अधिकार समानता र न्यायको आधारमा कुरा गर्दा चाहीँ जातिवादी हुने भन्ने प्रश्न गर्दै त्यहाँबाट विद्रोह गर्नुभयो । र, तत्कालिन संघीय समाजवादी पार्टी सुनसरीको संस्थापक संयोजक हुनुभयो ।

गजेन्द्र इस्वो दाईको राजनीतिक जीवनपनि रोचक छ । शायद आठराई क्षेत्रमा जन्मि हुर्केकोले हुनुपर्छ, वहाँमा सानै वा विद्यालय उमेर मै वाम राजनीतिक चेत भएको व्यक्ति हुनुहुन्थ्यो । त्यसैले होला पल्टनदेखि फर्केपछि वहाँ तत्कालिन नेकपा एमालेमा संगठित हुनुभयो । उक्त पार्टीको धरान नगर तहसम्ममा रहेर कम्युनिष्ट राजनीतिमा संलग्न हुनु भयो । कम्युनिष्ट पार्टीको सदस्य भईकन पनि पार्टीभित्रको जातीवादी दुर्गतीलाई नजिकबाट देखेपछि अन्तर्राष्ट्रिय जातिको मर्मलाई प्रहार गर्दै एकल जातीय ब्राम्हणवादी हुँदा चाहीँ जातीवादी नहुने, हामी आदिवासीले आदिवासीको अधिकार समानता र न्यायको आधारमा कुरा गर्दा चाहीँ जातिवादी हुने भन्ने प्रश्न गर्दै त्यहाँबाट विद्रोह गर्नुभयो । र, तत्कालिन संघीय समाजवादी पार्टी सुनसरीको संस्थापक संयोजक हुनुभयो । समाजवादी पार्टीबाट धरान उपमहानगरपालिकाको उप निर्वाचनमा मेयर पदमा लड्नु भयो । वहाँ जनता समाजवादी पार्टी नेपालको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष हुनुहुन्थ्यो ।

गजेन्द्र दाईले केही वर्ष अगाडी क्यान्सरसँग लडेर विजयी हुनुभएको थियो । क्यान्सर फ्रि भनेर डाक्टरले भनेपछि हामी ४–५ जनालाई एक साँझ घर बोलाउनुभयो । हामीलाई डाक्टरले क्यान्सर फ्रि भएको बताएको भन्दै उक्त दिन आफ्नो ६०औं जन्म दिन भएको सुनाउनु भएको थियो ।

गजेन्द्र दाईसँग मेरो त्यति लामो चिनाजानी र हिमचिम होइन । मैले वि.सं. २०५९ सालमा चुम्लुङ छाड्दै गर्दा वहाँ चुम्लुङमा प्रवेश गर्दै हुनुहुन्थ्यो । चुम्लुङमा वहाँ र मेरो निकटता भनेको चुम्लुङहिम निर्माण समितिबाट चुम्लुङमा हस्तान्तरण गर्ने कुरा चल्न थालेपछिको मात्रै हो । वि.सं. २०७०–०७२ साल वरिपरीदेखि पहिचानको आन्दोलनमा म पनि राम्रै जोडिन थालेपछि चाहीँ वहाँसँग आत्मीय सम्वन्ध शुरु भयो । वहाँ हामीलाई बुद्धिजीवि भन्नुहुन्थ्यो । आफूलाई बुद्धिजीवि त लाग्दैन । तर वहाँले स्विकार्नु भयो । मैले वहाँलाई सम्मान गरें ।

वहाँका अधिकांश सहयोद्धा र नम्बरीहरू बेलायत भासिए । तर वहाँले बेलायत गएर बस्ने कहिल्यै सपना देख्नु भएन । जे जति सपना देख्नु भयो यहीँ मातृभूमिमा केही गर्ने देख्नु भयो । क्यान्सरलाई पराजित गर्ने लडाकुले कोभिड १९ लाई जित्न सक्नु भएन । वहाँसँग केही सपना बुनेको थिएँ । वहाँसँग सहयात्राको केही अपेक्षा र आकांक्षाहरू साँचेको थिएँ । ति अधुरो राखिछाडेर महायात्रामा निस्कनु भयो । धेरै क्षेत्रलाई सुन्य र अभिभावकविहीन पार्नुभयो । यो क्षति पुर्न हामीलाई असम्भव नै हुनेछ । श्रदाञ्जली गजेन्दाई !

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

धुङ्लाङ अर्थात शंख ठडिएको स्थान –धुन्चे

देवेन्द्र खापुङ लिम्बू रसुवाको सदरमुकाम धुन्चे बजारको बिचमा शंखपार्क देखिन्छ । उक्त शंख धुन्चे...

प्रधानमन्त्री केपी शर्मा ओली अब टिकटकमा

काठमाडौं, १५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी...

धीरज राईको आँखामा युरोप

चर्चि गायक धिरज राईले युरोपका १० देशहरू – डेनमार्क, जर्मनी, स्वीटजरल्यान्ड, बेल्जियम, फ्रान्स, स्पेन,...

चिउरामाक्रा र सुकनाक्रा खोज्दै जादा…

  भैरब आङ्ला पुरानो हडेसन पाण्डुलीपिको लिम्बू नेपाली उल्थासँगै लिम्बू गोर्खा युद्धकालमा दिईएका विभिन्न...

चुम्लुङद्वारा किरात धर्म लेखाउन अपिल

युमा साम्योको अनुरोधमाथि जवाफ दिएर चुम्लुङले विभाजनको रेखा कोरेको युमा समूहको आरोप काठमाडौं, ८...

मुन्धुम, सावायेत्हाङ, आठराय र दश लिम्बुवानः एक बिचारणीय बिश्लेषण

(Mundhum, Sawayethang, Eight Ray and Ten Limbus: A Critical Analysis)     नन्द कन्दङवा...

चाडपर्वको सार्वजनिक विदा कटौतीप्रति ध्यानाकर्षण

काठमाडौं, ३० कात्तिक । संविधान जारी भएको ५ वर्ष बित्दा पनि ‘आदिवासी जनजाति आयोग’...

त्रासदीपूर्ण ती तिनरात

इक्साहाङ चेम्जोङ बिराटनगरबाट बसमा फर्किदै गर्दा नै रुघामर्गी लागेजस्तो हुन थाल्यो । टाउको भारी...

अलविदा गजेन्द्र इस्वो दाई

नरप्रसाद लिम्बु लुम्फुङवा अरू दिनभन्दा कार्तिक १८ गते तदअनुसार नोभेम्बर ३ को बिहान छिटो...

निराश नागरिक र नेकपाको अबको बाटो

इन्द्र नारथुङे वर्तमान नेकपा सरकारसँग आम नागरिकहरुको ठूलो अपेक्षा थियो । यस्तो अपेक्षा हुनु...