प्रकाश दिप्साली राई,नडाहा
“हरेक भालेहरु
हरेक भेडा भोकाहरु
बैँस देख्नै नपाई
संसार हसाउन आफू मर्दैछ्न्
परिवर्तनको महसुस गरेर
सुरुवात आफैबाट गर्दैछन् ।”
उल्लेखित युवा कवि कमल चेम्जोङका जस्तै–जस्तै कविताहरु वाचनका साथ १६ औँ राष्ट्रिय विभूती मुहिगुम अंसिमाङ फाल्गुनन्द लिङ्देन ज्युको १३६ औं जन्म जयन्ती सर्जकहरुले सिर्जनशील ढङ्गले मनाएका छन् ।
किरात धर्मरसाहित्य उत्थान संघ धनकुटाको प्रायोजन र यालेस धनकुटाको आयोजनामा पुर्वको पर्यटकीय स्थल ध्वजे डाडामा सर्जकहरुले विभिन्न खालका सिर्जना वाचन गरेका थिए ।
धनकुटा र मोरङलाई कर्मथलो बनाएर कलम चलाइरहेका कवि लेखकहरुको जमघटमा सम्पन्न सो कार्यक्रममा यालेस के. सदस्य कवि राज माङ्लाक,कवि मुकुन्द प्रयास,यालेस केन्द्रीय सदस्य कवि केजि , गजलकार सुक्र आङ्देम्बे, जेफाले साहित्य समाजका अध्यक्ष कवि हृदय लिम्बू, कवि तथा गजलकार चबेगु राज सानु , गायक आधुनिक देवान, चलचित्र निर्देशक कवि राजेश किराँती लिम्बु, यालेस धनकुटा कोषाध्यक्ष कवि श्रीमान खजुम, चलचित्र निर्देशक कवि रोमि मगर, यालेस धनकुटा सह सचिव कवि सर्गम खजुम, कवि कमल चेम्जोङ याक्थुङ्बा,कवि असोक किराँत, धनकुटा अध्यक्ष कवि टेकबिर युङ्साहाङ, समाजसेवी लेखक भक्त तुम्बापो लगायतले सिर्जना वाचन गरेका थिए ।
“हौ ठुले
नागासाकी र हिरोसिमा
जस्तै
मरुभूमि बनाउने ,
अणु बम बनाउने
विज्ञान शास्त्र होइन
ठुले
मलाई त
महागुरु युद्ध लडेको बेला
शत्रुहरुको धारिला तीरहरु
थाप्ने थुन्चे
यो बेला आवश्यकता भएको छ।”
(सन्देश तुम्बापो)
कार्यक्रमका प्रमुख अतिथी कि.ध.सा.उ.सं.धनकुटा अध्यक्ष पूर्ण खजुमले दिप प्रज्वलन गरेर शुभराम्भ गरिएको सो कार्यक्रममा किरात याक्थुङ चुम्लुङ धनकुटाका पूर्व अध्यक्ष शिव इङ्नाम, खोःसा चलचित्रका कलाकार जया चेम्जोङ, निर्माता कमला तुम्बापो, भूपालसिं चेम्जोङ समेतको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन यालेस धनकुटा सचिव टीका थोक्लेन र स्वागत श्रीमान खजुम ले गरेका थिए भने सभाध्यक्ष यालेस धनकुटा अध्यक्ष कबिन तुम्बापो रहेका थिए ।
“कोभिड–१९ कोरोना भाइरस महामारीको कारण लामो समय सम्म यालेसको गतिविधी रोकिएको थियो । यो कार्यक्रम संभवत यालेस धनकुटा गठन भए पछि पहिलो कार्यक्रम हो” अध्यक्षले बताए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।