मुन्धुम, सावायेत्हाङ, आठराय र दश लिम्बुवानः एक बिचारणीय बिश्लेषण - Naya Online

मुन्धुम, सावायेत्हाङ, आठराय र दश लिम्बुवानः एक बिचारणीय बिश्लेषण

(Mundhum, Sawayethang, Eight Ray and Ten Limbus: A Critical Analysis)

 

 

नन्द कन्दङवा


मुन्धुम
प्राचीन तथा अरबाचिन समयमा घटेका श्रुति परम्पराको रूपमा रहेका घट्नाहरूको कथा, वर्णन तथा आख्यानहरूलाई मुन्धुम भनिन्छ । प्राज्ञ बैरागी काईलाका अनुसार लिम्बु जातिको सामाजिक, सांस्कृतिक वा नैतिक र धार्मिक धारणा, आस्था र आचरणको चरम परिणति नै अनेक मिथक, गाथा र लोककथाहरूमा अभिव्यक्त भई श्रृतिपरम्पराको रूपमा युगौयुगदेखि जीवित छ र तिनैको समष्टिलाई मुन्धुम भनिन्छ । यो आर्य हिन्दुहरूले बेद भने जस्तै हो । तर बेद नभनेर लिम्बु, राई, याख्खा तथा सुनुवारले मुन्धुम भन्दछन् । मुन्धुमको अर्थ चाल या गति या हल्लनुको वर्णन भन्ने हुन्छ । वास्तवमा यसलाई परिवर्तनको वर्णन भने पनि हुन्छ । यो ब्रम्हाण्ड, पृथ्वी, जीव तथा मानव समुहको सृष्टिदेखि अहिलेसम्मको क्रमिक सामाजिक–सांस्कृतिक तथा आध्यात्मीक् विकासको ईति बृतान्त बताउने कथा तथा आख्यानको संग्रह हो । यसलाई लिपीबद्ध गरिएता पनि यसको अभ्यास भने फेदाङबा, येबा, साम्बाहरूले अहिलेसम्म पनि श्रुति परम्पराकै रूपमा गरिरहेका छन् । एकबाट अर्कोले मुखाग्र गरेर दरसन्तान अभ्यास गर्ने प्रचलन अझै पनि कायम छ । त्यसैले, गाउ घरमा यसलाई थुतुरी बेद (थुङसाप मुन्धुम) भन्ने प्रचलन छ ।

मुन्धुममा वर्णन गरिएको घट्ना तथा समयकाललाई बिश्लेषण गर्दा मुन्धुमको निर्माण समय ईसा पुर्व ५ हजार बर्ष अघि देखि ईसाको १४/१५ शताव्दीसम्ममा लगातार थप हुदै निर्माण भएको देखिन्छ । सामजिक (सृष्ट्रि) मुन्धुमहरू धेरै अघि, नावाचईत (सृष्ट्रि) मुन्धुमहरू त्यसपछि र क्रमश संस्कार संस्कृति सम्बन्धका मुन्धुमहरू निर्माण हुदै ईसाको १४/१५ शताव्दीसम्म थप हुदै आएको देखिन्छ । तिनै मुन्धुमहरू जो ईसाको १४/१५ शताव्दी पछि थप भएका कारणले होला फेदाङवा, येवा तथा साम्बाहरले केही संस्कार विधी तथा कृयाकर्मका मुन्धुमहरूमा सावायेत्हाङसा संगै या सावायेतहाङसाको सट्टामा थिबोङ याक्थुङ तथा याक्थुङ जस्ता शव्दहरू पनि प्रयोग गर्ने गरेको देखिन्छ सुनिन्छ । विभिन्न मुन्धुमहरू संकलन तथा सम्पादन गरि प्रकाशन गर्ने क्रममा स्व. ईमान्सीङ चेम्जोङ र प्राज्ञ बैरागी काईलाले सावायेत्हाङलाई कहि किरात, कहि प्राचिन किरात तथा कहि याक्थुङ भनेर उल्था तथा उल्लेख गरेकोले केही अलमलहरू भएको देखिन्छ । फेरी स्व. चेम्जोङले संकलन गरि प्रकाशन गर्नु भएको ‘किरात मुन्धुम (किरातको बेद)’ मा आएका मुन्धुम र फेदाङवा, साम्बा तथा येवाले ल्याउने मुन्धुम धेरै मिल्दैन भन्ने आलोचनात्मक टिप्पणीहरू रहेका छन् । मुन्धुम अनुसार सावायेत्हाङसा मात्र ठिक हो बाकी किरात, लिम्बु, याक्थुङ भन्ने शव्दहरू मुन्धुममा नभएका, व्यक्ति तथा लेखकहरूले भन्ने र सम्पादन गर्ने क्रममा थप गरेका भन्ने भनाई रहेको छ ।

मुन्धुममा सावायेत्हाङसा
मुन्धुममा बाबु सुहाम्फेबा र आमा लाहादोङनाका १७ जना सन्तानहरू मध्ये भागबण्डा चाल्नीमा चाल्दा तल खसेका ८ जना लाहादोङनाको भागमा र ८ जना माथी रहेका सुहाम्फेबाको भागमा परेको वर्णन आउछ । मुन्धुमले १ जना वीचमा अड्केको वर्णन गर्दछ । यि सबै घट्नाहरूलाई प्रतिकात्मकरूपमा बुझ्ने कोशिस गरिनु पर्दछ । यिनै लाहादोङनाको भागमा परेका र तलतिर झरेकाहरूलाई मुन्धुमले सावायेत्हाङसा भनेको छ । सुहाम्फेबाको भागमा परेका ८ जनाको कथालाई मुन्धुमले वर्णन गर्दैन अर्थात धेरै कम वर्णन गर्दछ । तिनका शाखा सन्तान को हुन भन्ने बारेमा मुन्धुमले वर्णन गरेको छैन । यसो भनौ मुन्धुममा सृष्ट्रि मुन्धुमलाई छोडेर पछिल्लो खण्ड भनेकै सावायेत्हाङसाहरूको वर्णन हो ।
मुन्धुमले सावायेत्हाङसालाई फराकिलो अर्थमा वर्णन गरेको छ । साम्जीक मुन्धुम सहित अन्य विभिन्न मुन्धुमले सिन्युक मुदेनसा (सङ), तेमेन वलकसा (सङ) र खाम्बोङसा लुम्बोङसालाई कुलमा सावायेत्हाङसा भनेको छ । किरात, याक्थुङ तथा लिम्बु कहि कतै भनेको र वर्णन गरेको छैन । सिन्युक मुदेनसा भनेको चिन भोटका सन्तान, तेमेन वलकसा भनेको औल मैदानका सन्तान र खाम्बोङसा लुम्बोङसा भनेको यहिको ढुंगा माटोमा जन्मेका हुर्केका सन्तान हुन् । यस मुन्धुममा याक्थुङ, लिम्बु तथा किरात भन्ने शव्द कहि कतै आएको देखिन्दैन । स्व. ईमान्सीङ चेम्जोङले संकलन र सम्पादन गर्नु भएको ‘किरात मुन्धुम (किरातको बेद)’ को यासोकेनी महारानीको कथा खण्डमा सिन्युक देशमा सानवंशी राजा पछि दश किराती राजाहरू आपुंगी भई आफु आफु लडाई गर्न शुरु गरे भन्ने उल्लेख छ । लिम्बु भाषामा दश किरातीलाई थिबोङ याक्थुङहाङ भन्ने उल्लेख छ । यो ठिक या बेठिक के हो भनेर हेर्न आवश्यक छ । सावायेतहाङसा भन्दा फरक जस्ता देखिएका सिन्युक (चिन) देशमा राज गर्ने यी थिबोङ याक्थुङहरू को हुन भन्ने प्रश्न उठ्नु स्वभाविक छ । सावायेतहाङसा भनिएकोलाई अलि सुक्ष्म ढंगले हेरिनु पर्ने कुरा के हो भने सिन्युक मुदेनसा भनेको को को र कहा कहा सम्म समेट्छ ? अर्को तेमेन वलकसा भनेको को को र कहा कहासम्म समेट्छ अर्थात कस कसलाई भन्न खोजेको हो ? भन्ने कुरा स्पष्ट छैन । हाल लिम्बु राष्ट्रमा ३ समुहका मानव समुहहरू भएको कुरा उनीहरूको माङगेन्ना मुन्धुमले बताउछ । उदाहरणको लागि पालुङवा, मादेन, मावोहाङ (चेम्जोङ) लगायतका वंशहरूको माङगेन्ना गर्दा फेदाङवाले ल्यासा, सोधुङ वरक तथा तम्मर खोला भएर हाल बसिरहेको थात थलोको माङगेन्ना यकमा ल्याएर बिसाउछ भने उनीहरूको गर्ममा रहेको बच्चाको सातो (आत्मा) जगाउदा फेदाङबाले सोधुङ वरक (तोक्पेगोला क्षेत्र) आसपासबाट नै उठाएर ल्याउछ भन्ने भनाई छ । यसरी नै कन्दङवा, सेन्दाङ, थेगिम, पापो, सातरेनुहाङ आदीको माङगेन्ना गर्दा काशी, लेक्वादोभा सुम्भादोभा (बराहक्षेत्र), जलाहारा, सांगुरी हुदै हाल बसोबास गरेको थातथलोको माङगेन्ना यकमा ल्याएर बिसाउछ ।

तेमेन वलकसा भन्नाले आसाम, गंगा मैदान तथा पश्चिम नेपाल सम्मका मानव समुह हुन कि होईनन् र सिन्युक मुदेनसा भन्नाले तिव्वत, चिन, मंगोलिया, कोरिया, मन्चुरिया सम्मका मानव समुह सम्म समेट्छ या समेट्दैन ? यो बहस तथा खोजको बिषय भएको छ । सुहाम्फेबाको भागमा परेका ८ सन्तान र वीचमा अड्केको १ लाई जोड्दा त सावायेत्हाङसा भएनन् ।

यिनीहरूको गर्भमा रहेको बच्चाको सातो (आत्मा) जगाउदा फेदाङवाले धनकुटा, हंस मोरङ तम्मरखोलाको आसपासबाट उठाएर ल्याउछ भन्ने भनाई छ । यि दुई समुहमा एउटा सिन्युक मुदेनसा र अर्को तेमेन वलकसा त हुदै हुन । त्यसदेखि बाहेक अरु को को हुन् र कहा कहा सम्म समेटछ अर्थात तेमेन वलकसा भन्नाले आसाम, गंगा मैदान तथा पश्चिम नेपाल सम्मका मानव समुह हुन कि होईनन् र सिन्युक मुदेनसा भन्नाले तिव्वत, चिन, मंगोलिया, कोरिया, मन्चुरिया सम्मका मानव समुह सम्म समेट्छ या समेट्दैन ? यो बहस तथा खोजको बिषय भएको छ । सुहाम्फेबाको भागमा परेका ८ सन्तान र वीचमा अड्केको १ लाई जोड्दा त सावायेत्हाङसा भएनन् । शायद वीचको १ सहित सुहाम्फेबाको भागमा परेकालाई फाङहाङसा भनिएको होला । शायद यहिबाट ल्याईएका येवा तथा साम्बाहरूलाई पेलीफाङहाङ भनिएको होला । तिनीहरूलाई मुन्धुममा अरु कुनै नामले पुकारिन्छ कि पुकारिन्दैन त्यो थाहा भएन । मुन्धुममा फाङहाङसाको कुरा त आउछ तर तिनीहरूको बिस्तृत व्याख्या वर्णन आएको पाईएको छैन ।

सावायेत्हाङसा, आठराय र दश लिम्बुवान
कुनै पनि लिम्बु वंशको आजसम्म प्रकाशन भएका वंशावलीहरूले ति वंशहरूको अहिले बसोबास भएको क्षेत्रमा ईस्वीको आठौ शताव्दीभन्दा अघि बिचरण हुन आईपुगेको देखिन्दैन । विभिन्न वंशको वंशावलीहरूमा धेरै पुस्ता भएका वंशावली मध्ये एउटा वंशले ६७ पुस्ता त अर्को वंशले ६२/६३ पुस्ता अनि तेस्रो वंशावलीले ५४ वंश पुस्ता देखाएको छ । तिनीहरूमा एक बोटे पुस्ताको थाक लामै भएको र कतिको त यति पुस्ता पुग्यो भन्ने अड्कलबाजी मात्र भएकोले तिनीहरू सहि सावित हुने देखिन्दैन । फेरि त्यति धेरै लामो वंश पुस्तालाई सावित गर्ने वंशको जनसंख्या पनि पुग्दैन । चिनको कङ वंशको हाल ७७ पुस्ता पुगेकोमा पछिल्लो पुस्तामा मात्र २० लाख मानिसहरू थप भएका छन् । ७७ पुस्ता पुगेको सो वंशको जनसंख्या करोडौ पुगेको छ । यहाको वंशावली र जनसंख्यालाई त्यसरी नै हेर्न आवश्यक छ । कुनै समयकालमा धेरै रोग व्याध तथा महामारीले धेरै जनसंख्या घटाएको मानेर हालको जनसंख्याको आधारमा लिम्बु भित्रका कुनै पनि वंशको वंश पुस्ता ३४–३९ भन्दा बढी हुने देखिन्दैन । त्यो भन्दा बढी हो भन्नका लागि धेरै तर्क, प्रमाण र पुष्ट्याईहरू दिन जरुरी हुन्छ ।

यिनै मानव वंश समुहहरू आठौं/नवौं शताव्दीमा बिचरण गरि हाल बसोबास गरिरहेको क्षेत्र जहाँको नदी, गाउ ठाउ तथा पहाढ, डाडा आदीको नाम नावचईत लगायत संस्कार संस्कृतिसंग सम्बन्धित मुन्धुमहरूमा उल्लोख भएकोले ति मुन्धुमहरूको निर्माण पछिल्लो कालखण्डमा भयो कि भन्ने आशंका हुन्छ । येतहाङ (आठ राजा) जसका सन्तानहरूलाई सावायेत्हाङसा भनियो भने पछिल्लो आठ राय राजा सहित थिबोङ याक्थुङ (दश लिम्बु) सबै सावायेत्हाङका सन्तान दरसन्तान हुन भन्ने कुरा मुन्धुमले नै अर्थ दिन्छ । कतिपय अस्तित्वहरूको हकमा शव्द प्रयोगले नै पनि तिनको अस्तित्वकाललाई बताउछ । आठराय भन्ने वित्तिकै बिजयपुर राज्यको राय (राजा)हरूको अस्तित्वकालसंग जोडिन्छ ।

दश लिम्बुवान राज्य बन्नु अघि सबै लिम्बु वंशमा रायको अस्तित्व देखिन्छ । विभिन्न लिम्बु वंशको वंशावलीले त्यस्तै देखाउछ । दश लिम्बुवान राज्यका दश शासक राजाहरू बनेको र दश लिम्बुवान बने पछी प्रशासनिक यक र नया अस्तित्व तथा पहिचान याक्थुङ (लिम्बु) रहन गयो होला भन्नु पर्ने हुन्छ । बोली प्रचलनमा याक्थुङ तथा लिम्बु भनिए पनि बिजयपुर तथा सेन राजाहरूले यिनीहरूलाई दश प्रान्तको दश राजाकोरूपमा राजालाई राय शव्दबाट सम्बोधन गरिरह्यो भन्ने मान्नु पर्ने हुन्छ । यसै अर्थमा चेम्जोङ राय, खेवा राय, …. भनेर सम्बोधन गरिएको चिठ्ठी पत्रहरू पाईएको होला ।

दश लिम्बुवान राज्य बन्नु अघि महाफेदाप राज्य सम्भवत हालको छथर, फेदाप, आठराई, खप्पन क्षेत्र समेटिएको राज्य थियो होला । दश लिम्बुवान बन्न अघि केही दण्द्ध भए पनि सबैको आपसी सहमतिमा बनेको राज्य भएकोले सो बनेको अवस्थामा महाफेदापलाई फुटाएर छथर, फेदाप, आठराई, खप्पन बनाईयो र अन्यमा मेवा–मईवा, तम्मर, याङवरक (याङरूप), पान्थर, फाकफोक (चारखोला) र मिकलुक (चौविस) लाई जोडेर दश लिम्बुवान राज्य बनाईयो भन्ने देखिन्छ । दश लिम्बुवान राज्य बन्नु अघि सबै लिम्बु वंशमा रायको अस्तित्व देखिन्छ । विभिन्न लिम्बु वंशको वंशावलीले त्यस्तै देखाउछ । दश लिम्बुवान राज्यका दश शासक राजाहरू बनेको र दश लिम्बुवान बने पछी प्रशासनिक यक र नया अस्तित्व तथा पहिचान याक्थुङ (लिम्बु) रहन गयो होला भन्नु पर्ने हुन्छ । बोली प्रचलनमा याक्थुङ तथा लिम्बु भनिए पनि बिजयपुर तथा सेन राजाहरूले यिनीहरूलाई दश प्रान्तको दश राजाकोरूपमा राजालाई राय शव्दबाट सम्बोधन गरिरह्यो भन्ने मान्नु पर्ने हुन्छ । यसै अर्थमा चेम्जोङ राय, खेवा राय, …. भनेर सम्बोधन गरिएको चिठ्ठी पत्रहरू पाईएको होला । यसैकारण बिजयपुर र सेन राजाहरूले उपल्लो पहाडी भागलाई दश लिम्बुवान, लिम्बु तथा याक्थुङ भनेर उल्लेख तथा सम्बोधन गरिएको दस्तावेज तथा चिठ्ठी पत्रहरू नपाईएको हुन सक्छ । लिम्बु र याक्थुङ भन्ने शव्दहरूको प्रयोग र प्रचलन संग संगै शुरु भएको देखिन्छ । बि.सं. १८३१ को कान्तिपुर र लिम्बुवानको लिम्बु नेता वीच भएको विभिन्न लालमोहरमा लिम्बु तथा तु तु तुम्याङ याक्हाङ शव्द प्रयोग हुनुले सन्धि सहमति गर्न बसेका लिम्बु नेताले लिम्बु समाज भित्र प्रचलनमा रहेको शव्द लिम्बु र याक्हाङ (याक्थुङ) दिएको हुनाले उक्त शव्दहरू लालमोहरमा पर्यो भन्ने स्पष्ट देखिन्छ ।

दश लिम्बुवान राज्य कहिले बन्यो भन्ने प्रश्न तथा जिज्ञासा धेरै हुने गर्दछ । आठ राजा र दश लिम्बुवान भिन्न भिन्न समयका अस्तित्वहरू भए पनि आठ राजा र आठ राय (राजा) भिन्न भिन्न समयका अस्तित्व हुन की होईनन् भनेर अध्ययन र विश्लेषण गरिनु पर्दछ । आठ राजाको अस्तित्व समाप्ती या दशमा बिलयसंगै दश लिम्बुवान राज्य निर्माणको कुरा आउने भएकोले आठ राजाहरू कहिलेसम्म थिए भन्ने बारेमा चर्चा गर्नु बढी सान्दर्भिक हुन्छ । ईतिहासकारहरूले आठ राजाहरूको नाम (१) होन्देनहाङ (२) चस्वीहाङ (३) खेसिबाहाङ (४) याकेतेतहाङ (५) लारासो पाङबोहाङ (६) ईकाङसोहाङ (७) खादीहाङ र (८) ईमेहाङ थियो भनेर उल्लेख गरेका छन् । ईतिहासकारहरूले यि नामहरू दिनुको पछाडीका धेरै आधारहरू दिएका छैनन् । लिखत प्रमाणहरू नभए पनि व्यक्तिहरूले बताएको श्रोतको आधारमा ति नामहरू आएको देखिन्छ । व्यक्तिले बताएको आधारमा विदेशी विद्धानले लेखेको र स्वदेशी लेखकहरूले त्यसैको रेफरेन्समा यि नामहरू ईतिहासमा उल्लेख गरेको देखिएको छ । यो भन्दा अर्को श्रोत अहिले पाउन सकिन्न । दुखको कुरा यि नामहरू मु्न्धुमले बोल्न सकेको छैन । सम्भवत सम्बन्धित वंशको मांगेन्न मुन्धुममा आफ्ना पुर्खाको नाम लिदा यि नाम आउछन् कि आउदैनन् त्यो पनि स्पष्ट छैन । यि नाम गरेका आठ राजा पनि एकै समयका राजाहरू थिएनन् भन्ने केही आधारहरूले अनुमान गर्न सहयोग गर्दछ । पहिलो आधार, संस्कृतकरण समय र नामहरू । दोस्रो आधार, लिम्बु भित्रका विभिन्न बशहरूको वंशावलीमा पाईने सो वंशका पुर्खाका नामहरू । तेस्रो आधार सम्बन्धित वंशको हालको पुस्ता संख्या र सो अनुसारको जनसंख्याबाट प्रमाणीकरण ।

लिम्बुवान भनिएको क्षेत्रमा संस्कृतकरण ईस्वीको १६/१७ औ शताव्दीदेखि शुरु भयो । लिम्बुवान भित्रका विभिन्न आफुंगी राजाहरू १५/१६ औ शताव्दीदेखी बिजयपुर राज्य अन्तर्गत रहेका थिए । बिजयपुरमा ति आफुंगी राजाहरू पालै पालो चौतरिया बन्ने शर्तमा ति बिजयपुर राज्य अन्तर्गत आएका थिए । जब बिजयपुर राज्यका राजा पुङलाईङले हिन्दुमत ग्रहण गरि अमर राय र त्यस पछि चौतारिया पानोहाङले हिन्दु मत ग्रहण गरेर विद्याचन्द्र राय नाम राखे त्यस पछि पहाडी भेकका राजाहरूमा उक्त संस्कृतकरणको प्रभाव पर्दै जान थाल्यो । यहि १६/१७ औ शताव्दीदेखि सो क्षेत्रमा हिन्दु संस्कृतवालाहरूको प्रबेश र बसोबास हुन थाल्यो । यसले संस्कृतकरणलाई झन तिब्र गतिमा बढायो । त्यसपछि लिम्बु वंशमा राय तथा जनसमुदाय तहका नामहरू संस्कृतमा राख्न थालियो र त्यसपछिका नामहरू संस्कृत नामहरू देख्न पाउन थालियो । १६/१७ औ शताव्दी भन्दा अघिका सो पहाडी भेकका राजाहरूको नाम संस्कृतमा नभएर लिम्बुमा रहेको देखिन्छ । लिम्बु भित्रका विभिन्न वंशहरूको वंशावलीहरूमा पनि यि नामहरू प्रतिविम्बीत भएको देखिन्छ । उदाहरणकोरूपमा येक्तेनहरूको बंंश पुस्ताका नामहरू ११/१२ पुस्तादेखि संस्कृत नामहरू देखिन्छ । यस वंशको ११ पुस्ताको समय भनेको करिव ईस्वीको १६९० तिर हो । त्यस यता २३ पुस्तासम्म संस्कृतकृत नामहरू पाईन्छ भने ११ पुस्ता भन्दा अघिका पुस्ताका नामहरू लिम्बुमा रहेको देखिन्छ । यसरी नै कन्दङवाहरूको वंश पुस्तामा २१ पुस्तादेखि संस्कृतकृत नामहरू देखिन्छ । उक्त पुस्ताको समय भनेको ईस्वीको १६९० अर्थात सत्रौ शताव्दीको उत्तरार्धको आसपास हो । थिन्दोलुङ खोक्याहाङ वंशको २१ पुस्तादेखि संस्कृतकृत नामहरू देखिन्छ । जम्मा पुस्ता २१ पुगेको खबाहाङहरूको १० पुस्ताबाट संस्कृतकृत नामहरू देखिन्छ । सो संस्कृतकरण भएको १० पुस्ताको समय भनेको ईस्वीको १६९० कै आसपास हो । सबै लिम्बु वंशका वंशावलीको अध्ययनबाट संस्कृतकृत नामहरू त्यहि १६/१७ औ शताव्दीताकाका मानिसहरूको नाममा पाईन्छ । यसले, आठ राजा भनिएकाहरूको नाम लिम्बु भाषाकै नामहरू भएकोले ति राजाहरू १६ औ शताव्दी भन्दा अघिका पहाडी राजाहरू थिए भन्ने स्पष्ट हुन्छ । यसो पनि भन्न सकिन्छ कि लिम्बु भित्रका विभिन्न वंशहरूको सो क्षेत्रमा बिचरण आठौ शताव्दी पछि भएकोले यि आठ राजाहरू आठौ शताव्दीदेखी १६ औ शताव्दी वीचमा राज गर्ने विभिन्न ठाउ तथा क्षेत्रका राजा थिए भनेर निश्चित गर्न सकिन्छ ।

कन्दङवाहरूको वंश पुस्तामा २१ पुस्तादेखि संस्कृतकृत नामहरू देखिन्छ । उक्त पुस्ताको समय भनेको ईस्वीको १६९० अर्थात सत्रौ शताव्दीको उत्तरार्धको आसपास हो । थिन्दोलुङ खोक्याहाङ वंशको २१ पुस्तादेखि संस्कृतकृत नामहरू देखिन्छ । जम्मा पुस्ता २१ पुगेको खबाहाङहरूको १० पुस्ताबाट संस्कृतकृत नामहरू देखिन्छ । सो संस्कृतकरण भएको १० पुस्ताको समय भनेको ईस्वीको १६९० कै आसपास हो । सबै लिम्बु वंशका वंशावलीको अध्ययनबाट संस्कृतकृत नामहरू त्यहि १६/१७ औ शताव्दीताकाका मानिसहरूको नाममा पाईन्छ ।

दोस्रो आधारमा विश्लेषण गर्दा, आजसम्म प्रकाशित लिम्बु भित्रका विभिन्न वंशहरूको वंशावलीहरूको अध्ययनबाट माथी उल्लेखित आठ राजाका नामसंग मिल्ने केही वंशका पुर्खाका नामहरू पाईन्छ । हुन त यि नाम पनि आठ राजासंग जोड्न राखिएका नाम पनि हुन सक्छन् भने कतिपयले १० राजाहरूको नामसंग जोड्न त कतिपयले १० सरदारका नामहरूसंग जोड्न आफ्ना पुर्खाको नाम राखेको हुन सक्ने देखिएको छ । जे भए पनि ति नामहरू केही तर्क र प्रमाणहरूकै आधारमा राखिएका छन् भनेर मानेको खण्डमा कन्दङवा वंशको पुर्खाको नाम, येक्तेन वंशको पुर्खाको नाम र खवाहाङ वंशको पुर्खाको नाम माथी उल्लेख गरिएका आठ राजाका ३ वटा नामसंग मिल्न जान्छ । कन्दङवा वंशावली दोस्रो संस्करण २०५६ अनुसार सो वंशको तेस्रो पुस्ताका पुर्खाको नाम हाङडोहाङ देखिन्छ । लिम्बुबाट लेख्ने क्रममा संस्कृतकरण भएको हाङडोहाङको असली नाम हाङदोहाङ हुन जान्छ । यहि होङदोहाङलाई भन्ने लेख्ने क्रममा होन्देनहाङ लेखिएको होला यद्यपी आठपरिया क्षेत्रको एक राजाको नाम पनि छोन्देनहाङ रहेको पाईन्छ । प्रति पुस्ता आयु ३० बर्षको दरले कन्दङवा वंशका पुर्खा करिव ११ औ शताव्दीको उत्तरार्धतिर लिम्बुवान क्षेत्रमा बिचरण गर्न आई पुगेको देखिन्छ । तर यो समय वंश पुस्ता तलमाथी अर्थात बढेमा या घटेमा घट्ने या बढ्ने हुन्छ भने प्रति पुस्ता सरदर आयु २५ बर्षले पनि यो समय फरक पार्दछ । हाङदोहाङको समय पनि ११ औ शताव्दीको उत्तरार्धतिर नै हो । येक्तेन वंशको येक्तेन–मोरोहाङ वंशावली पहिलो संस्करण २०७४ अनुसार सो वंशको पहिलो पुस्ताको नाम याकेतेतहाङ रहेको देखिन्छ । यहि याकेतेतहाङबाट नै वंशको थर येक्तेन रह्यो भन्ने भनाई रहेको छ । प्रति पुस्ता आयु ३० को दरले यस वंशको जम्मा पुस्ताको हिसावबाट लिम्बुवानमा यस वंशका पुर्खाको बिचरण करिव १४ औ शताव्दीको पुर्वार्धतिर भएको देखिन्छ । प्रति पुस्ता सरदर आयु २५ बर्ष भए बिचरण गरि हाल बसोबास भएको क्षेत्रमा आईपुगेको समयकाल अलि फरक पर्दछ । तर यो प्रति पुस्ता सरदर आयुले प्रत्येक वंशको थोर थोरै फरक पर्दछ । आठ राजाहरू मध्ये खादीहाङको दावी गर्ने खवाहाङ–तुङघङ वंश हो । जम्मा पुस्ता २१ पुगेको यो वंशको वंशावलीले पुस्ता १ मा आठ भाई फुटुवा राजा (खादीहाङ) उल्लेख गरेको छ । प्रति पुस्ता आयु ३० बर्षको दरले पुस्ता १ भाई फुटुवा खादीहाङको समय १४ औ शताव्दीको दोस्रो दशकतिर हो भन्ने देखाउछ । यसको अर्थ यि आठ राजाहरू पहाडी भेकमा संस्कृतकरण हुनु भन्दा अघिका राजाहरू हुन भन्ने देखिन्छ । यसरी नै आठ रायहरू भने पहाडी भेकमा संस्कृतकरण भईसके पछिका शासकहरू हुन ।

तेस्रो आधारमा विश्लेषण गर्दा, कन्दङवा, येक्तेन–मोरोहाङ र खादीहाङ (खवाहाङ) को पुस्ता संख्याको आधारमा हालको जनसंख्यासंग मिल्छ कि मिल्दैन भनेर हेर्न जरुरी हुन्छ । आठौ शताव्दीदेखि यता विभिन्न समयको महामारी रोग व्याधहरूले लगभग ४०% जनसंख्या घट्यो भनेर मानेमा येक्तेन–मोरोहाङको जनसंख्या हाल २३ सौ पुस्तामा करिव १६ सय हुन जान्छ । यो जनसंख्या येक्तेन–मोरोहाङ वंशले घर घुरी सर्बेक्षण गरि निकालेको जनसंख्यासंग करिव करिव मिल्न जान्छ । त्यसरी नै कन्दङवा वंशको जनसंख्या ४०% घट्यो भनेर मानेमा हालको ३३–३ = ३० सौ पुस्ताको जनसंख्या करिव १६–१७ हजार हुन जान्छ । कन्दङवा वंशको तेस्रो पुस्ताबाट छुट्टिएका ३ भाई मभ्ये एक भाईको सन्तान जो आठराईमा बसोबास छ उनीहरूको हालको जनसंख्या करिव ५ हजार ५ सय रहेको छ । यो जनसंख्या लगभग मिल्न जान्छ । कन्दङवाहरूको हालको पुस्ता ३३ पुगे पनि पुस्ता १ र २ यस माथिल्लो पहाडी भेकमा नआउदैका पुस्ता हुन भने हाङडोहाङ नै ३ पुस्ताका हुन् । माथीकै सुत्र अनुसार यस खवाहाङ–तुङघङ (खादीहाङ) वंशको हालको जनसंख्या जम्मा १२–१३ सय हुने देखिन्छ । यस वंशले आफ्नो जनसंख्या हिसाव नगरेकोले मिल्छ या मिल्दैन भनेर भन्न सकिन्न ।

सावायेत्हाङसा र आठराय
माथी चर्चा गरिएका विवरणहरू सहि भए एउटा गम्भिर प्रश्न खडा हुन्छ । त्यो भनेको विभिन्न मुन्धुम (साम्सोघा र सिलामसाक्मा) हरूमा वर्णन गरिएका सावायेत्हाङसा र ईतिहासमा देखिएका आठ राय को हुन त ? सिलामसाक्मा मुन्धुममा चिम्लीङमा तेम्बे, होडाना तेम्बे र ईवाना तेम्बेमा सावायेत्हाङका सन्तानहरू मरि संकट परेकोले बाबु सुहाम्फेबाले माथी मुदोकुम सेवाचङ पाङभेबाट येवा पठाएको वर्णन आउछ भने साम्सोघा मुन्धुममा निग्रादेनमा सावायेत्हाङसाहरूलाई बिसाल ठुलो टुनीको रुखमा बस्ने अजङगको चिल/गिद्ध (मुया) ले लालाबालाहरू लगी सताएको वर्णन आउछ । यसमा सुहाम्फेबा भनेकोलाई प्रतिकात्मकरूपमा सुहाम्फेबाका पछिल्ला सन्तानले येवा पठाएको भन्ने अर्थमा बुझ्न सकिन्छ । फेरि यो टुनीको रुख पनि चाल्नीबाट चाल्दा वीचमा अड्कीएकोलाई सुहाम्फेबा र लाहादोङनाले तानातान गर्दा च्यातिएको (मरेको) सन्तान र दुईटैले हुईक्याएर फालेको अनि त्यहि फालेको लासबाट उम्रिएको टुनीको रुख भनेर वर्णन आउछ । यस्ता विश्वास अयोग्य धेरै कुराहरू छन् ।

कन्दङवा, सेन्दाङ र पापो ईङनाम तेमेन वलक समुहका हुन भने पोमो सिन्युक मुदेन समुहका लिम्बु वंश हुन जसलाई कुलमा सबैलाई सावायेतहाङका सन्तान भनिन्छ ।

चिम्लीङलाई छोडेर होडा, ईवा तथा निगुरादेन भन्ने ठाउहरू हाल पनि आठाराईमै रहेका छन् । आठराईको ईतिहासमा आठराईको होडा र ईवा तथा निगुरादेन भन्ने ठाउहरूमा कन्दङवा, पापो ईङनाम, पोमु, सेन्दाङ वंशका लिम्बुहरू ईतिहासको लामो कालखण्डदेखि बसिआएका छन् । तिनीहरू भन्दा अघि अन्य मानव समुह सो क्षेत्रमा बसेको कथा ईतिहासमा थाहा पाउन सकिएको छैन । होडामा भने माथी कन्दङवा र तल अर्का एक थरी यहि हो भनेर पहिचान गर्न नसकिएको मानव समुह रहेको र तिनलाई कन्दङवाहरूले विस्थापन गरेको कथा रहेको छ । के ईवा, होडा, चिम्लिङ तथा निग्रादेनमा लामो समयदेखि बसिआएका कन्दङवा, पापो ईङनाम, पोमो, सेन्दाङ लिम्बु वंशलाई सावायेत्हासा भनेर संकेत गरिएको हो ? भन्ने प्रश्न उठ्नु स्वभाविक छ । यि वंशहरूको वंशावली अनुसार यिनीहरूका पुर्खा बिचरण गर्दै ईस्वीको आठौ शताव्दी पछि यि ठाउहरूमा बस्न आईपुगेका हुन भन्ने देखिन्छ । यसको अर्थ सिलामसाक्मा र साम्सोघा मुन्धुम ईस्वीको नवौ / दशौ शताव्दी पछि निर्माण भएका हुन भन्ने हुन्छ । यसो नहुन कि त सावायेत्हाङसाा भनिएका मानव समुह चिम्लिङ, होडा तथा ईवा र निग्रादेनमा बसिआएका कन्दङवा, पापो, पोमो तथा सेन्दाङ भन्दा फरक मानव समुह थिए जो यिनीहरू भन्दा अघि त्यस क्षेत्रमा बस्दथे या त वंशावली पुस्ता र जनसंख्या हिसावमा गडबड भएको छ भन्ने अर्थ हुन्छ । यस सम्बन्धमा अझै खोज तथा बहस हुन जरुरी छ । यसको लागि यो कुरा थाहा पाउन राम्रो हुन्छ कि कन्दङवा, सेन्दाङ र पापो ईङनाम तेमेन वलक समुहका हुन भने पोमो सिन्युक मुदेन समुहका लिम्बु वंश हुन जसलाई कुलमा सबैलाई सावायेतहाङका सन्तान भनिन्छ ।

आठ राय पनि १५ औ शताव्दी पछि प्रचलनमा आएको शव्द नामहरू हुन् । यसको आधारमा ईङनाम्फे, सङवाङफे, तुम्बापो, कुरुम्बाङ, कुगेनाम्बा, ईङ्वाबा, लावती र सेर्मालीहरू ईङनामबाट ५ पुस्तामा छुुट्टिएर तम्मर पार (पान्थर) गएको समय करिव ईस्वीको १००० देखि १०६० भएकोले त्यस बेला राय पदवी पाएर आठ राय भएको र आठराई भएको कुरा मिल्दैन ।

आठ रायको सन्दर्भमा एउटा बिर्सनु नहुने कुरा के छ भने कन्दङवा वंशलाई मात्र अन्यले आठ राय अर्थात आथ्रे भन्ने गर्दछन । अहिले पनि तम्मर नदी वारी पारीका अन्य लिम्बुहरूले कन्दङवालाई आथ्रे नै भन्दछन् । सिक्किम भासिएका कन्दङवाहरूले सिक्किममा अझै पनि आफुलाई आथ्रे भन्दछन् । त्यहि ठाउ तथा क्षेत्रमा बस्ने अन्य लिम्बु वंश पापो ईङनाम, सेन्दाङ, पोमो, यक्सो, आङबुहाङ आदीलाई आथ्रे भनिन्दैन । याक्थुङ खवाहाङ वंशावली २०६९ ले आथ्रे थर भनेर फेम्बो, कन्दङवा, ईङनाम्फे, हाङवाङ र सेन्दाङ भनेर उल्लेख गरेको देखियो । यो गलत हो । यसरी बुझ्दै नबुझी लेखीहाल्नु राम्रो होईन । दोस्रो बिर्सनु नहुने कुरा बिजयपुर राज्यको प्रभाव स्वरूप बिजयपुरका शासक संगै उपल्लो पहाडी भेकका शासकहरूलाई पनि राय भन्न थालियो । स्व. ईमान्सीङ चेम्जोङले आठ राय (कन्दङवा, ईङनाम, पोमो, यक्सो, आङबुहाङ, सेन्दाङ, वजी र लोक्ताम) बस्ने क्षेत्र भएकोले सो आठ रायबाट आठ राय हुदै उक्त क्षेत्रको नाम आठराई हुन पुगेको हो भनि उल्लेख गर्नु भएको छ । कसै कसैले १. ईङनाम्फे, २. सङवाङफे, ३. तुम्बापो, ४. कुरुम्बाङ, ५. कुगेनाम्बा, ६. ईङ्वाबा, ७. लावति र ८. सेर्माली आठ जनाले राय पदवी पाई आठरायबाट ठाउको नाम आठराई रहन गएको र पछिबाट कन्दङवाहरूले उनीहरूलाई बिस्थापन गरेको भन्ने एउटा बिचार पनि रहेको देखिएको छ । कसैले महाफेदापको छ राय पछि सात राय (सातरेनुहाङ) जोडिए पछि सात राय शासक भए र कन्दङवाहरू जोडिए पछि आठ राय (आठरे) शासक भएकोले कन्दङवाको क्षेत्रलाई आठराई भनिएको भन्ने बिचार पनि रहेको देखिएको छ । अर्को एउटा बिचार आठ राय (फोम्बो, ईङनाम्फे, पोमो, आङबुहाङ, पंयाङगु, तुम्बाहाम्फे, पन्धाक र ओख्राबो) लाई थिति थाम्न बि.सं. १८६० मा काठमाण्डौ जादा कन्दङवा तोतुवा (टटुवा) रायले नेतृत्व गरेकाले कन्दङवालाई आठरे भनिएको र त्यसबाट आथ्रे र आठराई भएको भन्ने बिचार पनि रहेको छ ।
राय भन्ने पदवी नाम बिजयपुर राज्यका राय चौतरियाको प्रभाव स्वरूपा १५ औ शताव्दी पछि पहाडी भेकमा चलेको हो । आठ राय पनि १५ औ शताव्दी पछि प्रचलनमा आएको शव्द नामहरू हुन् । यसको आधारमा ईङनाम्फे, सङवाङफे, तुम्बापो, कुरुम्बाङ, कुगेनाम्बा, ईङ्वाबा, लावती र सेर्मालीहरू ईङनामबाट ५ पुस्तामा छुुट्टिएर तम्मर पार (पान्थर) गएको समय करिव ईस्वीको १००० देखि १०६० भएकोले त्यस बेला राय पदवी पाएर आठ राय भएको र आठराई भएको कुरा मिल्दैन । यो भ्रामक छ । स्व. चेम्जोङले भने जस्तो ८ रायहरू बस्ने क्षेत्रलाई आठ राय वंशबाट आठराई भएको भए कन्दङवा वंशलाई मात्र किन आठ राय अर्थात आथ्रे भनिएको हो भन्ने प्रश्नको जबाफ आउदैन । यसकारण आठ रायहरू बस्ने क्षेत्र भएकोले आठ रायबाट आठराई भएको भन्ने बिचार सहि हो कि जस्तो लागेता पनि त्यति भरपर्दो देखिन्दैन । दश लिम्बुवान राज्य बन्नु अघि महाफेदापमा ६ राय शासक वंश थिए त्यसमा सातरेनुहाङ एक शासक हुन आए पछि सात राय शासक भए । सोही महाफेदापमा सात राय शासक पछि आठराई क्षेत्रमा एक राय कन्दङवा वंश पनि शासकको रूपमा थप भए पछि कन्दङवालाई आठरे अर्थात आठौ राय शासक भनियो र कन्दङवा रहेको क्षेत्रलाई कन्दङवा आठरे (आठ राय शासक) बाट आठराई भन्ने प्रचलन शुरु भयो भन्ने बिचार बिचारणीय छ । यस अघि यस क्षेत्रलाई फाङदेन अर्थात फुकामदेन भनिन्थ्यो । यसमा बहस र छलफल तथा अध्ययन हुन जरुरी छ । फेरी महाफेदाप राज्य भनेको हालको छथर, खप्पन, फेदाप र आठराई सहितको क्षेत्र थियो । उक्त क्षेत्र दश लिम्बुवान राज्य बनेको अवस्थामा ४ टुक्रा (फेदाप, छथर, खप्पन र आठराई) मा विभाजन सहित अन्य ६ लिम्बुवान (मेवा–मईवा, तम्मर खोला, याङरूप, पान्थर, फाकफोक अर्थात चार खोला र मिकलुक चौविस) लाई पनि मिलाएर १० लिम्बुवान राज्य बनाईयो ।

आठराई (अघिको नाम फुकामदेन) भन्ने नाम दश लिम्बुवान बन्दा नै एक शासकिय क्षेत्र भएकोले बोली प्रचलनमा चल्ती भए पनि लिम्बुवान नेपालमा सामेल भएको लामो समयसम्म सरकारी कागजात तथा लिखतहरूमा पाउन सकिन्न । सरकारी पत्र, लालमोहर, रुक्का तथा आदेश पत्रहरूमा ठाउलाई जनाउन आठराई भन्ने शव्द त्रि.सं. १८७५ (सन १८१८) भन्दा अघि प्रयोग भएको देखिएको छैन । बि.सं १८८८ (सन १८३१) पछिका सरकारी कागज पत्र र दस्तावेजहरूमा आठराई भन्ने शव्द उल्लेख भएको पाईन्छ । बि.सं. १८६० (सन् १८०३) मा कन्दङवा तोतुवा (टटुवा) को नेतृत्वमा आठ राय वंश थिति थाम्न काठमाण्डौ आए पछि कन्दङवालाई आथ्रे (आठरे) भन्ने चलन झन बढी चलेको देखिन्छ ।

दश लिम्बुवान राज्य
कन्दङवा, खवाहाङ र येक्तेनहरूको वंशावली ठिक र सहि छ भने ईतिहासकारले लिम्बुवान क्षेत्रका आठ राजा भनि उल्लेख गरेका नामहरू पनि ठिक छन भने ईतिहासकारले उल्लेख गरेका आठ राजाहरू मध्ये होन्देनहाङ, याकेतेतहाङ र खादीहाङको अस्तित्व ईस्वीको ११/१२ औ शताव्दी तथा १४/१५ औ शताव्दीको समयमा रहेको देखिन आउछ । यसको अर्थ ति राजाहरूको समय पछि मात्र दश लिम्बुवान राज्य बन्यो भन्ने हुन्छ । यस तर्कलाई पुष्टी गर्ने अर्को आधार भनेको बिजयपुर राज्यको राजा बिजयनारायण रायको समयमा फेदापका राजा मुरेहाङ खेवाङ (खेवा?) बिजयपुर राज्यको चौतरिया बनेका थिए । मुरेहाङ बिजयपुरको चौतारिया बनेको अवस्थामा महाफेदाप टुक्रिसकेको र मुरेहाङ अनि त्यसपछि पानोहाङ फेदाप राज्यको तर्फबाट चौतारिया बनेका थिए भन्ने देखिन्छ । बिजयनारायण रायको राज्यकाल बि.सं. १६४१–१६६६ (सन १५८४–१६०९) हो । बिजयनारायण रायको राज्य शासनकालकै समयमा अर्थात सन् १५८४–१६०९ को वीचमा या चौधौ शताव्दीको पुर्वार्ध पछि देखि १६÷१७ औ शताव्दी वीचको समयमा दश लिम्बुवान राज्य बन्यो भन्ने अर्थ निस्कन्छ । फेरी दश लिम्बुवान राज्य बन्दाको अवस्थामा १० थुम र यकका नामहरू हेर्दा पनि यो १६÷१७ औ शताव्दीमा बन्यो कि भन्ने देखिन्छ । उदाहरणकोरूपमा तमोर थुम, आठराई थुम, छथर थुम आदी नामहरू, तमर गढी, थालागढ, हस्तपुर गढी आदी नामहरू संस्कृतकरण भईसकेको अवस्थाका नामहरू देखिन्छन् । तथ्य र परिवन्दहरूले यस्तै निश्कर्ष निस्कन्छ । त्यसपछि बि.सं. १७०८ देखि १७५७ (ईस्वी १६५१ देखि १६९४) सम्म तमर, याङरूप, पान्थर र ईलाम फाकफोक थुम सिक्किम अधिनस्त रहेको कुरा स्व. चेम्जोङले किरातकालिन बिजयपुरको ईतिहासमा उल्लेख गर्नु भएको छ । यसको अर्थ चौधो शताव्दीको मध्य पछी र सत्रौ शताव्दीको मध्य अघि दश लिम्बुवान राज्य बन्यो भन्ने हुन्छ ।

यो यथार्थमा दश लिम्बुहरूको राज्य थियो । उक्त कुरा बि.सं. १८६० (सन् १८०३) पछिका विभिन्न वंशलाई दिएको रुक्का पत्र तथा कागजातहरूमा दश लिम्बु सरह तथा दश लिम्बुको निर्णय तथा रोहबरमा भएको निर्णय आदी जस्ता शव्दहरू प्रयोग भएकोबाट स्पष्ट हुन्छ । यि दश लिम्बु भनेका को को हुन भनेर ति सरकारी तथा केन्द्रीय शासकहरूले जारी गरेका रुक्का पत्र तथा कागजातहरूमा खुल्दैन । यस सम्बन्धमा दश लिम्बुवान राज्य बनेको अवस्थामा १० प्रान्तका शासक (राजा) हरूका नाम स्व. चेम्जोङ र मावोहाङले उल्लेख गरेकोबाट अनुमान गर्न सकिन्छ यद्यपी चेम्जोङ र मावोहाङले उल्लेख गर्नु भएको शासकका नामहरू, यकहरू र थुमहरू परस्परमा मिलेको देखिन्दैन ।

स्व. चेम्जोङका अनुसार ति शासकहरू (१) सामलुप्ली साम्बाहाङ/सावा सेरेङहाङ, तमर गढी, तमोर थुन (२) ताम्पेसो पेरुङहाङ, थालागढ, तेह्रथुम (३) थक्तोक्सो आङबोहाङ, पोमोजङ, आठराई थुम (४) सेनसेनगुम फेदापहाङ, पोक्लावाङ गढ, फेदाप थुम (५) थिन्दोलुङ खोक्याहाङ, हस्तपु गढी, याङरूप थुम (६) सिसियेन सेरिङहाङ, मेरिङदेन गढ, मेवा मैवा थुम (७) ताक्लुक खजुमहाङ, चाम्लीङ चिम्लीङ गढ, छथर थुम (८) सोयाक लादोहाङ, शान तथा जलाल गढ, चौविस मिकलुक थुम (९) यिङासो पापोहाङ, यासोक फेदेन गड, पान्थर थुम र (१०) मङ ताईची ईमेहाङ, आङदाङ गढ, ईलाम फाकफोक थुम रहेका छन् ।

स्व. प्रेम ब. मावोहाङका अनुसार ति शासकहरू (१)साम्बा फेङहाङ, तापेसु यक तमोर थुम (२) ईङहाङ, चेनलुक यक, दश पाँचखप्पन थुम (३) आकलुकहाङ या आङलुङ ? पोमोजङ गढी फाङआठदेन, थुम (४) फेयङहाङ या पेयङहाङ?, पोक्लाबाङ गढी, फेदाफ थुम, (५) लिन्छेहाङ या तिनसेहाङ ? हस्तपुर गढी, याङरूप थुम (६) सिसिएनहाङ, मेरिङदेन गढी, तमर थुम (७) खेबोहाङ, ताक्लुकदेन, छथर थुम (८) माबोहाङ, कूर्लेयक, चौबिस मिकलुक थुम (९) पापोहाङ, फेदेन गढी, पान्थर थुम, र (१०) लेलिमहाङ, आङदाङ गढी, ईलाम फाकफोक थुम रहेका छन् । यस अनुसार, दश लिम्बु शासकहरूमा सावा, ….., आङबोहाङ, सातेनुहाङ?, खोक्याहाङ, सेरेङ, खजुम ÷ खेवा, चेम्जोङ, पापो, ईमे वंश रहेको देखिन्छ यद्यपी यिनीहरूमा विवाद भने रहेकै छ ।

८ वटा शासकहरूका नाम फरक छन् । किन फरक पर्यो भन्ने टुंगो नलगाए सम्म दश लिम्बु भनेका को को हुन् भन्ने पहिचान गर्न सकिने अवस्था रहदैन ।

विवाद खासगरि ४ वटा कुरामा रहेको छ । पहिलो हो, यक (गढी) । दोस्रो हो, थुमको नाम । तेस्रो हो शासकहरूको नाम र चौथो हो, शासकहरूको समय । यि ४ वटै कुरा नमिल्दा दश लिम्बु भनेका को को हुन भन्ने पनि किटान गर्न नसकिने अवस्था छ । पहिलो विवादलाई हेर्दा ४ वटा यकहरूका नाम फरक छन् । किन फरक पर्यो भन्ने कुरा टुंगो लगाउन सक्नु पर्दछ । त्यसले दश लिम्बु को को हुन भन्ने पहिचान गर्न थप सहयोग गर्दछ । दोस्रो विवादलाई हेर्दा ३ वटा थुमका नामहरू फरक छन् । यिनलाई टुंगो लगाउन आवश्यक हुन्छ । तेस्रो विवादलाई हेर्दा ८ वटा शासकहरूका नाम फरक छन् । किन फरक पर्यो भन्ने टुंगो नलगाए सम्म दश लिम्बु भनेका को को हुन् भन्ने पहिचान गर्न सकिने अवस्था रहदैन । चौथो विवादलाई हेर्दा नाम फरक पर्ने वित्तिकै शासकहरूको समयकाल फरक पर्दछ ।

स्व. चेम्जोङ र स्व. मावोहाङ दुबैकोमा फरक नभएको भनेको सिसिएनहाङ जसलाई स्व. चेम्जोङले सेरिङ थिए भनेका छन् भने अर्को पान्थर थुममा पापोहाङ जसलाई स्व. चेम्जोङले यिङासो नाम भएको उल्लेख गर्नु भएको छ । यि दुईदेखि बाहेक ८ वटामा नामहरू फरक परेकोले पहिचान गर्न नसकिने अवस्था बनेको हो । यसले भिन्न भिन्न दावीको स्थिति खडा गरेको छ । उदाहरणकोरूपमा दश लिम्बुवान बन्दाको अवस्थामा आठराई थुमका शासक थक्तक्सो आङबोहाङ या आकलुकहाङ या आङलुङलाई ईङनाम र कन्दङवाको पुर्वज भएको भनि ईतिहासमा आ–आफ्नो दावी रहेको छ । ईङनामहरूले थक्तक्सो आङबोहाङ नभएर थाप्लासो पापोहाङ भएको दावी रहेको छ भने कन्दङवाहरूले थाम्बायेजेक कोन्दोहाङ भएको दावी रहेको छ । यसरी नै छथरमा खेवा र खजुमको आ–आफ्नै दावी रहेको छ भने बाँकीमा पनि फरक फरक दावी रहेको छ । यति हुँदाहुँदै पनि ति दश लिम्बुहरू (१) सावा वंश समुह (२) सातरेनुहाङ वंश समुह (३) खोक्याहाङ (मेयाङवो सहितको) वंश समुह (४) सेरिङ वंश समुह (५) मावोहाङ (चेम्जोङसहितको) वंश समुह (६) पापो वंश समुह (७) ईमेहाङ वंश समुह हुन् भन्ने चाही करिब करिब पक्का हो भन्ने देखिन्छ । बाँकी छथर, आठराई र दशपाच खप्पन या तेह्रथुमका शासकहरू भने यिनै हुन भनेर पहिचान गर्न नसकिएको अवस्था हुन जान्छ ।
कार्तिक २०७७

(नोटः यो लेख छलफल होस् र जानकारहरूबाट constructive कमेण्टहरू प्राप्त होस् भन्नाका लागिको हो पाँडे गाली गर्न र दिनको लागि होईन ।)

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

धुङ्लाङ अर्थात शंख ठडिएको स्थान –धुन्चे

देवेन्द्र खापुङ लिम्बू रसुवाको सदरमुकाम धुन्चे बजारको बिचमा शंखपार्क देखिन्छ । उक्त शंख धुन्चे...

प्रधानमन्त्री केपी शर्मा ओली अब टिकटकमा

काठमाडौं, १५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी...

धीरज राईको आँखामा युरोप

चर्चि गायक धिरज राईले युरोपका १० देशहरू – डेनमार्क, जर्मनी, स्वीटजरल्यान्ड, बेल्जियम, फ्रान्स, स्पेन,...

चिउरामाक्रा र सुकनाक्रा खोज्दै जादा…

  भैरब आङ्ला पुरानो हडेसन पाण्डुलीपिको लिम्बू नेपाली उल्थासँगै लिम्बू गोर्खा युद्धकालमा दिईएका विभिन्न...

चुम्लुङद्वारा किरात धर्म लेखाउन अपिल

युमा साम्योको अनुरोधमाथि जवाफ दिएर चुम्लुङले विभाजनको रेखा कोरेको युमा समूहको आरोप काठमाडौं, ८...

मुन्धुम, सावायेत्हाङ, आठराय र दश लिम्बुवानः एक बिचारणीय बिश्लेषण

(Mundhum, Sawayethang, Eight Ray and Ten Limbus: A Critical Analysis)     नन्द कन्दङवा...

चाडपर्वको सार्वजनिक विदा कटौतीप्रति ध्यानाकर्षण

काठमाडौं, ३० कात्तिक । संविधान जारी भएको ५ वर्ष बित्दा पनि ‘आदिवासी जनजाति आयोग’...

त्रासदीपूर्ण ती तिनरात

इक्साहाङ चेम्जोङ बिराटनगरबाट बसमा फर्किदै गर्दा नै रुघामर्गी लागेजस्तो हुन थाल्यो । टाउको भारी...

अलविदा गजेन्द्र इस्वो दाई

नरप्रसाद लिम्बु लुम्फुङवा अरू दिनभन्दा कार्तिक १८ गते तदअनुसार नोभेम्बर ३ को बिहान छिटो...

निराश नागरिक र नेकपाको अबको बाटो

इन्द्र नारथुङे वर्तमान नेकपा सरकारसँग आम नागरिकहरुको ठूलो अपेक्षा थियो । यस्तो अपेक्षा हुनु...