देवेन्द्र खापुङ लिम्बू
रसुवाको सदरमुकाम धुन्चे बजारको बिचमा शंखपार्क देखिन्छ । उक्त शंख धुन्चे बजारको चिनारी हो । गत कात्तिक २ गते निर्माण सम्पन्न भई वडालाई हस्तान्तरण गरिएको यस पार्क गोसाइँकुण्ड गाउँपालिका र मानेकोर सोसाइटी नेपाल अन्तर्गत संचालित युएनडिपीसँगको साझेदारीमा संचालित सामुदायिक संरचना तथा जिविकोपार्जन सुधार परियोजना तथा रसुवा संरक्षण तथा साँस्कृतिक कला समुहको सहजिकरणमा निर्माण गरिएको हो ।
गोसाइँकुण्ड गाउँपालिकाको १० लाख, मानेकोर सोसाइटीको ५ लाख ५९ हजार ८ सय ३२ रूपैया २८ पैसा र उपभोक्ता समितिको जनश्रमदानबाट १ लाख ७३ हजार तिन सय १४ रूपैया ७० पैसा गरि कुल १७ लाख ३३ हजार १ सय ९६ रूपैया ९८ पैसाको लागतमा शंख पार्क निर्माण गरिएको पार्कसँगै राखिएको शिलालेख स्तम्भबाट बुझ्न सकिन्छ ।
शंख र धुन्चेको सम्बन्ध
धुन्चेलाई बुझ्न सबैभन्दा पहिलो यसको मुलनाम र अप्रभंसलाई खोज्नुपर्ने हुन्छ । धुन्चे अप्रभंस भएको नाम हो । यसको मुलनाम धुङ्लाङ हो । धुङ्लाङबाट अप्रभंस हुँदै धुन्चे बनेको हो ।
स्थानीय भाषामा धुङको अर्थ शंख र लाङ् भनेको अडिएको ठाउँ हुन्छ । बौद्ध धर्म अनुसार भगवान र मानव युगमा मानवबस्ती छनौट गर्ने क्रममा भगवानले परापुर्व कालमा बोङजो डाँडाबाट शंख फाल्दा हाल धुन्चेको ब्राबल भन्ने स्थानमा उक्त शंख अडिन पुगेको र उक्त स्थानलाई मानव बस्न योग्य ठानियो । उक्त ठाउँमा सधैँ भगवानको कृपा रहने स्थान हुने भन्दै ठाउँको नाम धुङ्लाङ राखियो ।
धुङ्लाङबाट धुन्चे अप्रभंस हुनु नेपाली लेख्य परम्परामा उच्चारण गर्न नजानेपछि धुन्चे लेखिएको हुनसक्ने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रसुवाका अध्यक्ष दीपक लामा भन्छन् । लामाका अनुसार धुन्चेका बुढापाकाको मुखबाट अझै पनि धुङ्लाङ उच्चारण हुन्छ ।
पुनःसंरचित स्थानीय निकायको पछिल्ला कामः ऐतिहासिक स्थलको संरक्षण
रसुवाको ५ स्थानीय निकायमध्य गोसाइकुण्ड गाउँपालिकामा पर्छ धुन्चे । पुनःसंरचना हुन अगाडि रसुवामा ९ इलाका, १८ वटा गाविस र १६२ वडा थिए । हाल ५ पालिका र २७ वडा छन् । हालको स्थानीय निकायले पुरातात्विक स्थलको संरक्षण, पार्क निर्माण र भ्यूटावर धमाधम निर्माण गरिरहेका छन् । ‘अग्लो डाँडा आफैंमा भ्यू टावर हो, त्यसमा टावर गाड्नु भनेको बजेट सक्नुमात्रै हो’ भन्ने विरोधाभासका स्वर पनि गुन्जिरहेका छन् । तर पछिल्ला दिनमा सामाजिक सञ्जालमा तत्कालै फोटो पोष्ट गर्नेदेखि सुन्दरताको वर्णन गरेपछि आन्तरिक पर्यटनमा प्रशस्त फाइदा पुगेको स्थानीय निकायका प्रतिनिधिहरूको स्पटोक्ति छ ।
नेपालको प्रमुख धार्मिक गन्तव्य र पर्यटकीय क्षेत्रसमेत रहेको गोसाइकुण्ड, लाम्टाङक्षेत्रको प्रमुख बाटो हो धुन्चे बजार । धुन्चेसम्म सवारीसाधनमा आएर पैदलयात्रा शुरु हुन्छ । तसर्थ जाँदाआउँदा अनिवार्य बास बस्नुपर्ने स्थानमा यस्ता पार्क, संग्राहलयको स्थापना बजारको पर्यटकीय विकास हुने विश्वास स्थानीयबासीको रहेको छ ।
यो पनि पढ्नुहोस्
रसुवामा अनलाइन तथा भिडियो पत्रकारिता तालिम
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।