प्राचिन नेपालको ईतिहासः एक दृष्ट्रि र संसोधन - Naya Online

प्राचिन नेपालको ईतिहासः एक दृष्ट्रि र संसोधन

नन्द कन्दङवा


आजसम्म पढिएको नेपालको प्राचिन ईतिहास
बंशावलीको भनाई अनुसार दानासुर (बानासुर?) ले नेपाल जलमग्न बनाए । द्धारिकाबाट भगवान कृष्ण नेपाल आए र दानासुरलाई दमनगरि चोभारबाट पानी निकास गरे । यिनै कृष्णसंग आएका गोपालबंशीहरू पद्यकाष्टगिरीको समिप बसी गाईपालेर बस्न थाले । बंशावलीले नेमुनीको कथा लेखेको छ । यिनै नेमुनीले गोपाल सरदारका पुत्रलाई नेपालको शासक बनाए र भुक्तमान नेपालका राजा भए । तिनै गुप्तबंशी गोपाल राजाहरूले मातातिर्थमा बसी ८ पुस्तासम्म राज्य गरे । यिनै गोपालबंशका अन्तिम राजा यक्षगुप्त निसन्तान भएकोले हिन्दुस्तानबाट आएका अहिर (आभिर) हरूको शासन नेपालमा चल्यो । यिनै बंशका ३ पुस्तासम्म नेपालका राजा भए र अन्तिम राजा भुवनसिंलाई पुर्वतिरका किरातहरूले आक्रमण गरि नेपालमा किरातीहरूको शासन चल्यो ।

त्यसपछि किरात बंशको ३२ पुस्तासम्म अर्थात ईसापुर्व दशौ शताव्दी देखी ईसाको ३÷४ शताव्दीसम्म किरातहरूले राज्य गरे । किरात पछि बर्मा बंश र त्यसपछी लिच्छवीहरू शासनमा आए । यहि ईतिहासमा विभिन्न ईतिहासकारहरूको थोरै मतमतान्तरहरू रहेका छन् । जस्तो कि कर्कपेट्रीकले आभिर या अहिरहरू सिमरौनगढ र जनकपुर वीच आवाद थिए । तिनै आभिर या अहिरहरूको शासन नेपालमा आएको थियो । यसरी नै, राईटको बंशावली अनुसार छैटौ किराती राजा हुमतिको शासनकालमा पाण्डवहरू बनवास पसे । यिनै राजा महाभारतको युद्धमा गए र फर्केर आएनन । तर महाभारत युद्धमा यि राजाको नाम नपाईएकोले र यिनै राजाको पालामा भाषा बंशावली अनुसार शाक्यसिं बुद्ध पनि कपिलबस्तुबाट नेपाल आएको लेखिएकोले यि राजा महाभारतको युद्धमा गएको भन्ने कुरा निराधार भएको कुरा अर्काथरी ईतिहासकारले लेखेका छन् । केही ईतिहासकारले महाभारतको युद्ध ईसापुर्व १५००—११०० को वीचमा भएको अनुमान गरेका छन् । बुद्धको जीवनकाल ईसापुर्व ५६३—४८३ मानिएको छ । फेरी बंशावली अनुसार सातौ किराती राजा जितेदास्तीको शासनकालमा गौतम बुद्ध नेपाल उपत्यकामा आएका थिए भनेर लेखिएको छ ।

प्राचिन नेपालको ईतिहास निर्माणको आधार
प्राचिन नेपालको ईतिहास निर्माणको आधार भनेको गोपालराजबंशावली, भाषा बंशावली, हिन्दु आर्यका विभिन्न पुराणहरू लगायतका हिन्दु साहित्यहरू हुन् । ति देखी बाहेक अन्य जाति समुहको ग्रन्थ तथा बंशावलीहरूलाई नेपालको ईतिहास निर्माणको आधार बनाईएको छैन । गोपालराजबंशावली १४ औ शताव्दीको समय अर्थात मल्लकालमा संकलन गरिएका, लेखिएका र लिपीबद्ध भएका हुन् भने भाषा बंशावलीहरू त्यसपछि लेखिएका हुन् । नेपालको ईतिहासको आधार बनाईएका हिन्दु पुराणहरूको रचना ईसाको १ शताव्दी आसपास र त्यसदेखि पछि भएका मानिन्छन् । ईसापुर्व ९ औ ÷ १० औ शताव्दीको ईतिहास करिव १००० बर्ष पछि रचना गरिएका हिन्दु पुराण र २४०० बर्ष पछि लेखिएका र लिपीबद्ध गरिएका गोपालराजबंशावली लगायत भाषा बंशावलीहरूको आधारमा निर्माण गरिएको नेपालको प्राचिन ईतिहास सहिढंगले लेखिएको र प्रस्तुत गरिएको छैन भन्ने स्पष्ट हुन्छ । त्यसमा पनि मल्ल राजा जयप्रकाश मल्ल जस्ले त्यस बेलाको समाज र राज्यलाई अझ बढी आर्यकरण र हिन्दुकरण गरे तिनका पालामा लेख्न शुरु गरिएका बंशावलीहरू पनि हिन्दु कथा र तत्कालिन अवस्थामा रहेका नेपाल उपत्यका भित्र रहेका लेखोट र भनाईहरूका आधारमा निर्माण गरिएका हुन् । यसैले, यिनीहरूको विश्वसनियता कम छ तर केहीले आधार पनि दिन्छ ।

प्राचिन ईतिहासमा गलत र सहि
श्रुति परम्परा भएको देश तथा समाजमा प्राचिन कुरा थाहा पाउन कुनै न कुनै घट्नालाई आधार बनाउन आवश्यक हुन्छ । आर्य हिन्दुहरूको गुरुकुल शिक्षादेखी लिएर ईतिहास सबै श्रुति परम्परामा थियो । उनीहरूले तिथि मिति भएको केही लेखोट र पश्चिमाहरूले भारतमा आक्रमण गर्दा या खास घटित घट्नाको समयलाई आधार बनाएर ऋगवेद देखि लिएर रामायण, महाभारत र प्राचिन भारतको ईतिहासको समय निर्धारण गरेका छन् । नत्र धर्म शास्त्रमा भएको त्रेता युग, द्धापर युग र कलि युग जस्ता युगका कुराले अहिलेको ईतिहास निर्माण हुदैन ।

नेपालको प्राचिन ईतिहासलाई सहि ढंगले व्याख्या र विश्लेषण गर्न के लाई आधार बनाउने भन्ने कुरा अहम छ । यसको लागी यस लेखमा यहा ३ वटा घट्ना र तिथि मितिलाई आधार बनाईएको छ । पहिलो, ईसापुर्व ५२० तिर भएको गौतम बुद्धको नेपाल या नेपालको सरहदमा आगमन र ईसापुर्व २५० मा सम्राट अशोक नेपाल या नेपालको सरहदमा आगमन । दोस्रो, हिन्दु आर्यहरूको ईसापुर्व ७९० तिर भएको महाभारत युद्ध, र तेस्रो ईतिहासकार राईट र कर्कपेट्रीकले उल्लेख गरेका किरात राजाहरूको नाम गोपालराजबंशावीमा समायोजन ।

गोपालराजबंशावलीले ३२ पुस्ता किरातहरूले १९६३ बर्ष ८ महिना शासन गरेको उल्लेख गरेको छ । ईतिहासकार राईटले किरात राजाहरूको २७ पिढी र कर्कपेट्रीकले २९ पिढीको उल्लेख गरेका छन् । यि तिनैबाट एकमा नसमेटिएको अर्कोमा समेट्दा, तिनैमा नाम मिलेका, ति तिनवटा बंशावलीका नामहरूलाई यता उता, तलमाथी परेका र फरकलाई मिलाउदा किरात राजाहरूको ३४ पिढी हुन जान्छ ।

१. येलुङ/यलम्बर
२. पवी
३. दुस्खम
४. चमिङ्
५. स्कन्धर
६. सुघ्रि/सुज (सुराघु — बालमिकीले योगबशिष्टमा उल्लेख गरेका किरात राजा हुन् । यि राजाको सन्दर्भ रामायणमा उल्लेख भएका रामको जिज्ञासा तथा प्रश्नहरूमा बशिक्ष्टले दिएका उत्तरकोरुपमा आएको छ । योगबशिष्टमा बशिष्टले रामलाई ‘पहाडी भिरालोमा बस्ने पराक्रमी तल्लो बर्गका किरात सुराघुको एक पुरानो कथा’ संग गासिएको अनुभवसंग कुरालाई सम्बन्धित गराएको उल्लेख छ )
७. स्वींख/लुक
८. थोर/थोर
९. बुङ्क
१०. बलख/बलम्भ (महाभारत युद्धमा चर्चा गरिएको नेपाल खाल्डोका राक्षस राजा । महाभारतमा नेपाल खाल्डोका किरात राजाको नाम उल्लेख नभएको तर नेपालका आलम्बुख राक्षस राजाको नाम देखिएको छ । उक्त कुरा महाभारतको अध्ययन गर्ने स्वामी प्रपन्नचार्यले उल्लेख गरेका छन् । यिनै राजालाई नै बलिहाङ भनिएको हुन सक्छ । बानासुर पनि तिनै हुन सक्ने देखिन्छ)
११. किङले/किङ किङ
११. हुनन्तर/ह्ति
१३. नुस्ख
१४. प्रसफुं
१५. पञ्चम/पप
१६. सुनन्द/स्वनन्द/सङ्स
१७. हुमति / हुरमा
१८. जितेदास्ती/जितादस्ती (यि राजाको पालामा गौतम बुद्ध नेपाल आएका थिए जुन ईसा पुर्व ५२० मानिएको छ)
१९. फुकोङ (नोटः यिनै फुकोङ नै लिम्बुवानको ईतिहासमा उल्लेख भएका कथित भुईफुट्टाहाङ हुन सक्छन् तर त्यहाको राजा नभएर प्राचिन नेपालका राजा हुन । फेदापका भाई फुटुवा खादीहाङ अलग हुन जो खवाहाङ–तुङघङ बंशावली अनुसार १४ औ शताव्दीतिरका हुन)
२०. गलिजंग/गलिज ?
२१. पुष्क
२२. सुयर्मा
२३. कुस्कुन/पुष्कर/पुष्क
२४. जध्रु/जिघ्रो/जनरेओ/नानो ?
२५. पर्व /वर्म/वर्म (पर्वतक?) — (विसाकादत्तको मुद्राराक्षससंगसंगै जैन साहित्य परिशिष्टपर्वका अनुसार चन्द्रगुप्त मौर्यले हिमालय राजा पर्वतकसंग गठबन्धन गरेका थिए । यि पर्वतक भन्ने नेपाल खाल्डोका किरात राजा नै हुन् (?) उनले धननन्द राजालाई हराउन तत्कालिन मगधका राजा चन्द्रगुप्त मौर्यलाई किराती सेना पठाएर सहयोग गरेका थिए भन्ने कुरा मगधको ईतिहासमा उल्लेख भएको पाईन्छ । ति किराती सेनाहरू धननन्दलाई हराए पछि फर्केर नआई सोही मगध क्षेत्रमा बसे । तिनै किराती भनिएका मानव समुह दक्षिणतिरबाट भएको आक्रमण तथा युद्धबाट बच्न र नेपाल उपत्यकाबाट बसाई सराई गर्दै हाल बसोबास गरेको लिम्बुवान तथा खम्बुवान भूमीको सरहदमा बस्न पुगेका किरात भनिएका मानव समुह नै मुन्धुममा आउने तेमेनसाहरू हुन)
२६. सुपुस्त
२७. जुलम
२८. थोमु/स्थुंको / थुंको / थामो/थोको (यिनै किराती राजाको पालामा सम्राट अशोक ईसापुर्व २५० मा नेपालको सरहदमा आएका थिए)
२९. तिषु/केशु
३०. जोश
३१. गोन्थो/गुणम् ? गुञ्च/गुज
३२. खेम्भु/खिम्भु
३३. पटुक
३४. गस्ति

महाभारत युद्धको बयान गर्ने काव्य अनुसार महाभारत कालमा हिमालय कैलास नजिक किरात राजा पुलिन्दको राज्य थियो । तिनै किरात राजा पुलिन्दले महाभारतको युद्धमा भाग लिएका थिए । “महाभारतमा किरात सन्दर्भमा यलम्बर नाम उल्लेख नभएको तर नेपाल विशेषको उल्लेखमा अलम्बुष नामक राक्षस राजाको नाम भेटियो । अलम्बुष नै यलम्बर हुनसक्ने र उनका पिता ऋष्यश्रृंग हुनसक्ने सम्भावना रहेको तथ्य महाभारतमा देखिन्छ” (डा. प्रपन्नाचार्य, प्राचीन किरात इतिहास पेज १४३—४४) भनिएकोमा ती अलम्बुष भनेका किरात राजा नै हुन् । आर्यहरूले गैरआर्य जाति समुहलाई राक्षस, असुर, दैत्य, म्लेच्छ आदी नामहरू दिएकाले किराती राजालाई राक्षस राजाकोरुपमा राखेको होला । यि किरात राजा नै हुन तर यलम्बर नभएर यलम्बर पछि दशौ पुस्ताका बलख/बलम्भुख या बलम्भ हुन् । यिनी जितेदास्ती भन्दा ९ पिँढी पहिलेका राजा हुन् । जितेदास्तीको शासनकाल ईसापुर्व ५२० मा बुद्ध नेपाल आएका थिए भनिएको छ । यसै गरि सम्राट अशोक नेपालमा किराती राजा स्थुंकोको शासनकालमा ईस्वी २५० मा आएको अनुमान गरिन्छ । यी दुई किराती राजा बिच ९ पु्स्ताको फरक रहेको छ । यिनीहरू बिचको समय अन्तर ५२० — २५० = २७० बर्ष हुन्छ । त्यसैले १ पुस्ता बराबर सरदर २७०÷९ = ३० बर्ष हुन आउछ । अन्तर्राष्ट्रिय स्ट्याण्डर्ड अनुसार प्रति पुस्ता आयु २५ देखि ३० बर्ष मानिन्छ । यसबाट जितेदास्ती भन्दा १७ पुस्ता माथीका प्रथम किराती यलम्बरको उपल्लो समय ३० गुणन १७ = ५१० बर्ष + ५२० = १०३० ईसा पुर्व (ईसा पुर्व एघारौ शताव्दीको पुर्वरार्ध) देखि शुरु भएको मान्नु पर्ने हुन्छ । जितेदास्ती अठारौ पिढीका राजा र बलख ९ पिढीका राजा भएकोले बलख जितेदास्ती भन्दा प्रतिपुस्ता ३० वर्षको दरले ९ पुस्ताको (३० गुणन ९) २७० वर्ष अघिका राजा हन् । यसैगरि २५ औं पिढीका राजा पर्वतक (पर्व) को समय ईसापुर्व ३४० देखि लिएर ई.पु. ३१० सम्म हुन जान्छ । जितेदास्तीको समयमा बुद्ध नेपालमा आएको समय भनिएकोले यी अलम्बुष या बलख या बलम्भको समयकाल ई.पू. ५२०+२७० = ७९० ईशापूर्व हुनजान्छ । महाभारत युद्ध भएको समय ईशापूर्व सातौं शताब्दीदेखि नवौ शताब्दीबीचको समयमा घटित कुनै घट्ना भएको कुरा भारतिय तथा विदेशी विद्वानहरूले बताएको हुनाले यो समय र महाभारत युद्धको समय करिव करिब मिल्न आउछ । आर्य हिन्दु साहित्यका अध्येताले महाभारतको यूद्ध ईसापुर्व १५ औं शताव्दीतिर भएको भनेता पनि पारगिटार भन्ने विद्धानले महाभारतको यूद्ध ईसापुर्व ९५० मा भएको थियो भनेका छन् । यसले महाभारतको युद्ध आठौ शताब्दीको उत्तरार्धमा भएको थियो भनेर पुष्ठी गर्न पनि मद्दत गर्दछ । सानो घट्नाको आधारमा वाल्मीकिद्धारा रचिएको रामायण धेरै काल्पनिक भए पनि महाभारत युद्ध भन्दा लगभग सय बर्ष अघिको भए सो रामायणकाल ईसापुर्व नवौ शताव्दीको मध्यतिर हुन सक्ने देखिन आउछ । शतपथब्राह्मणमा राम तथा रामायणको चर्चा नभएकोले उक्त शतपथब्राह्मणको समय ईपु करिव दशौ सताव्दीतिर हो भन्ने देखिन्छ । यहि समयमा आर्यहरू कुरु पान्चालबाट पुर्वतिर फैलने क्रममा थिए । तर उनीहरू सदानिरा नदी (राप्ती या कर्णाली नदी) भन्दा पुर्व आउन सकेका थिएनन् । कर्णाली नदी जसलाई भारतमा घाग्रा हुदै सरयु भनिन्छ त्यसै नदीको पश्चिम किनारमा अयोध्या ठाउ/शहर भएकोले यो कुरा पुष्टी गर्न सहयोग गर्दछ । शतपथब्राह्मणकाल रामायणकाल भन्दा अलि अघिको हो । सदानिरालाई पछिल्ला आर्य विद्धानहरूले गण्डकी भनेर अर्थ लगाए पनि लिम्बुहरूको मुन्धुममा कालीगण्डकी (फेन्जेवा) सम्मको बर्णन आउने भएकोले यो राप्ती या कर्णाली नदी हो । कालीगण्डकी (फेन्जेवा) र फेन्जेवाभन्दा पश्चिमसम्म पनि किरात (सावायेतहाङसा) मानव समुहको बसोबास भएकोले आर्यहरू सदानिरा नदी पुर्व आउन सकेनन । आर्यहरू सदानिरा नदी भन्दा पुर्व आउन नसकेको समय भन्दा करिव सय बर्ष अघि नै नेपाल खाल्डो (प्राचिन नेपाल) मा किरातहरूको राज्य स्थापित भईसकेको थियो ।

यसलाई आधार बनाएर हेर्दा र विश्लेषण गर्दा नेपालको प्राचिन ईतिहासमा गुप्तबंशी गोपालीहरूलाई द्धारिकाबाट श्री कृष्णले लिएर आई दानासुरलाई दमन गरि चोभारबाट पानी निकास गरेको भन्ने कुरा ठहर्न आउदैन । ईसापुर्व ७९० या पारगिटारका अनुसार ईपु ९५० तिर भएको महाभारत युद्धकालका कृष्ण भनिएका व्यक्ति पानी निकास भईसकेर मानव बस्ति बसेपछी ईसापुर्व ११ औ शताव्दीतिर शुरु भएको किरातहरूको शासनकाल भन्दा अघि नेपालमा आएर पानीको ताललाई चोभारबाट निकास गर्ने कुरा सम्भव नै हुदैन । यस्तो कथा हास्यास्पद मात्र हुन्छ । यसैले, उनले गुप्तबंशी गोपालीहरूलाई लिएर आएको भन्ने कुरा र ति गोपलबंशीहरूले मातातिर्थमा बसेर ८ पुस्ता राज्य गरे भन्ने कुरा सही देखिन्दैन । यस्ता कतिपय कुराहरू गोपालराजबंशावलीमा यथार्थ भन्दा फरक घुसाईएका कुरा मात्र हुन् भन्ने देखिन आउछ । दोस्रो कुरा टिस्टुङ, पालुङ, चित्लाङ र थानकोटमा हालसम्म रहेका गोपालीहरू जो जातिगत हिसावले नेवार र भाषा तथा संस्कृतिको हिसावले केही फरक परे पनि नेवारी भाषा र संस्कृतिसंग नै मिल्ने भएकोले उक्त समयका महिषपाल गोपालीहरू अरु कोही नभएर हाल नेवार भनिएको प्राचिन किरातहरू नै थिए भन्ने देखिन्छ ।

जहासम्म दानासुर (बानासुर) को कथा छ, त्यो सम्भवत थोरै भए पनि सत्य होला भन्न सकिने आधार हाल काठमाण्डौमा बानेश्वर भन्ने ठाउ ज्युदै छ । यो बानेश्वर शायद बानासुरबाट बानेसुर हुदै बानेश्वरमा परिणत भयो होला भन्न सकिन्छ । यसको अर्थ बंशावलीले पुरानो कथाको आधारमा टिप्पन गरेको बानासुर राजाको कथा थोरै भए पनि सत्य भन्न सकिन्छ । उक्त बानासुरलाई राक्षसकोरुपमा चित्रण गरिएकोले सो राजा गैरआर्य जाति समुहको थियो भन्ने प्रष्ट हुन्छ । सम्भवत तिनै आलम्बुख अर्थात बलख या बलम्बु नामक किरात राजालाई नै बानासुर दानासुर भनिएको हुन सक्छ ।

ईतिहासमा नेमुनीको पनि कथा जोड्ने गरिन्छ । ति नेमुनीले गोपालबंशी भुक्तमानलाई राजा बनाए भनेर लेख्ने गरिएको छ । पहिलो त, गुप्तबंशी गोपाल तथा अहिर या आभिरहरूको उपस्थिति नै सावित नहुने भएपछि नेमुनीले गुप्तबंशी गोपाल भुक्तमानलाई राजा बनाएको भन्ने सन्दर्भ नै तार्किक हुदैन, अप्रमाणीत हुन्छ । बंशावलीमा तिनै गोपालीहरू जो हालसम्म चित्लाङ, पालुङ र थानकोटमा उपस्थित छन् उनीहरूकै पुर्वजहरूको नाम परेको हुन सक्छ । नेपालमा किरातीहरूको शासन शुरु हुदा आर्यहरू सिन्धु तथा पश्चिम गंगाको मैदान कुरु पन्चालबाट अन्यतिर फैलनै र बिरतार हुने क्रममा थिए । सो समयभन्दा अघि आर्य हिन्दुसंग जोडिएका नेमुनी ऋषी नेपालमा आउने कुरा सम्भव नै भएन थिएन । शायद नेमुनीको अस्तित्व थियो भने पनि किरातकालको अन्त्यतिर हुन सक्छ । गोपालराज बंशावली लेख्दा र घट्नाक्रमहरूलाई मिलाउदा तलमाथी परेको हुन सक्ने देखिन्छ ।

प्राचिन ईतिहास सोझयाउने काम
प्राचिन किरातहरू मुर्तिपुजक थिएनन् र लेख्य परम्परा नभएका मानव समुह हुन । उनीहरू श्रुति परम्पाराको आधारमा समाज तथा शासनलाई डोर्याउने मानिसहरू थिए । त्यसैले, किरातकालमा शासन प्रशासनलाई व्यवस्थित गर्ने निकायहरूलाई लिङबल, कुथेर, माप्चोक आदी भनियो जस्को लिखत किरातकालमा भएन बोली प्रचलनमा मात्र थियो तर लिच्छवीकालमा तिनीहरूले लिखतकासाथ निरन्तरता पाएकोले ईतिहासमा रह्यो । लिच्छवीकालका राज्य व्यवस्थादेखि लिएर अन्य सामाजिक, सांस्कृतिक र आर्थिक व्यवस्थाहरू किरातकालकै जगहरू हुन् एक्कासी बनेका होईनन् । मुर्तिको पुजा गर्ने चलन त लिच्छवीहरू शासनमा आए पछि शुरु भयो भने लेख्य परम्परा पनि बर्माकाल ÷ लिच्छवीकालबाट नै शुरु भयो । बर्मा तथा लिच्छवीहरूले लेख्य भाषा संस्कृत र गुप्त लिपी प्रयोग गर्दथिए भन्ने कुरा बर्मा तथा लिच्छवीकालका विभिन्न शिलालेखबाट थाहा लाग्छ । यसैले, बर्मा तथा लिच्छवीकालदेखी व्यापकरुपमा संस्कृतकरण चल्यो ।

लिच्छवीहरूको नेपालमा उपस्थिति पनि विवादपुर्ण छ । केही ईतिहासकारको बंशावलीमा सोमबंशी निमिष नेपालका राजा भए भन्दछन् । कोही मताक्षदेखि लिच्छवी शासन शुरु भयो भन्दछन् भने कोही भाष्कर बर्मादेखि लिच्छवी शासन शुरु भयो भन्दछन् । धेरै ईतिहासकारहरूले किरातकालको अन्त्य ईसाको २ शताव्दी देखि चौथो शताव्दीको पुवार्धसम्ममा भयो भनेर लेखेका छन् । ईतिहासकार सिल्भनलेभीले ईस्वीको ११० तिर लिच्छवीहरूले किरातहरूलाई पराजित गरि नेपालमा शासन स्थापना गरेको हो भनेका छन् । लिच्छवीहरू सहितको बज्जी गणराज्य मगधका अजाताशत्रु ईसापुर्व ४९२—४६० ले ध्वस्त गरि बिजय गरेको कुरा भारतिय ईतिहासकारहरूले लेखेका छन् । अजाताशत्रुको बिजय पछि लिच्छवीहरूको एक समुह नेपाल बसाई सरेको कुरा पनि उल्लेख गरेका छन् । नेपाल भनेको नेपाल खाल्डो हो कि नेपालको सरहद भित्र रहेको तराई मधेस हो त्यो पनि स्पष्ट छैन । मधेसीहरूलाई थारुले गाली गर्दा बजीया भन्ने गरेकोले शायद मधेसका तिनै समुहहरू नै लिच्छवी अर्थात बज्जि गणराज्यका मानिस थिए भन्ने थाहा लाग्छ । लिच्छवीहरूको शासनमा सहभागिता मगधका गुप्त राजा चन्द्रगुप्त प्रथम र उनका छोरा समुन्द्र गुप्तको (ईस्वी ३३५ देखि ३८०) को समय पछि पुर्णरुपमा समाप्त भएको देखिन्छ । चन्द्रगुप्तको एउटी श्रीमति लिच्छवी बंशको भएकोले मगधमाथी शासन स्थापना गर्न लिच्छवीहरूको सहयोग रहेको देखिन्छ । मालीगाउमा पाईएको सम्बत १०७ (ईस्वी १८४) अंकित जयबर्माको मुर्तिको आधारमा किरातीहरूको शासन ईसाको पहिलो – दोस्रो शताव्दीको अन्त्यतिर समाप्त भएको देखिन्छ ।

बंशावलीमा उल्लेख भएका नेपालका लिच्छवी बंशका राजाहरूको राज क्रम सबै भन्दा भद्रगोल देखिन्छ । गुप्त, देव र बर्मा नामधारी राजाहरू छुट्याउन र ठम्याउन गाहे हुने गरि उल्लेख भएका छन । यसरी नै बंशावली क्रम पनि मगधका राजासंग जोड्न मगधतिरका राजाहरूको पनि नाम तथा पुस्ता संख्या राखिएकोले छुट्याउन र खुट्याउन गाह्रो छ । यि गुप्त, देव र बर्मा पारिवारीक नाम जोडिएका राजबंशहरू को लिच्छवी हुन को अरु नै राजबंश हुन् भन्ने थाहा पाउन गाह्रो छ । नेपालका लिच्छवीहरू देव बंश जोडिएका राजबंशकोरुपमा रहेका देखिन्छन् । जस्तै शंकरदेव, धर्मदेव, मानदेव आदी । गोपालराजबंशावलीमा काकबर्मा पछि सुपुष्पदेव, भाष्करदेव र भुमीगुप्त पछिका चन्द्र बर्मादेखि १० पुस्ता सुपुष्प बर्मासम्म बर्मा नामधारी राजबंशहरू देखिन्छन् । सुपुष्प बर्मादेखि पछि विश्व (बृष?) देवबाट मात्र देव राजबंशहरू देखिन्छन् । गोपालराजबंशावली अनुसार सम्भवत यिनै विश्वदेवबाट देव बंशधारी लिच्छवीहरूको शासन शुरु भयो भन्न सकिन्छ । उक्त बंशावलीमा विश्वदेव पछि मानदेव देखिन्छन् भने मानदेवको चांगुनारायणको अभिलेखमा मानदेव भन्दा ३ पुस्ता अघिका नामहरू बृषदेव, शंकरदेव र धर्मदेवको नाम उल्लेख गरेकोले विश्व (बृष) देवदेखि नै लिच्छवीहरूको शासन चल्यो भन्ने कुरा मिल्न आउछ । मानदेवले चांगु अभिलेखमा आफ्नो बिजय यात्राको पनि बर्णन गरेकोले चांगुको अभिलेख उनको शासनको मध्यदेखि उत्तरार्धमा राखियो भनेर मानेमा विश्वदेवको शासन समय करिव ईस्वीको ३७४ देखि शुरु हुन्छ । मानदेवको छोरा पछिका बसन्तदेवको नाम पनि अन्य शिलालेखहरूमा बसन्तसेन देखिएकोले देव र सेन मिसमास भएको देखिन्छ ।

बैसालीको ईतिहासले बैसालीमा राज्य गर्ने लिच्छवीहरूमा यस्तो देव बंश भएका राजबंशहरू पाउन गाह्रो छ । त्यहा त नभाग शुरुका नाम र चेतक, सुमति पछिल्ला नामहरू देखिन्छन् । यो अझै खोजकै बिषय हुन सक्ला । एउटा कुरा के स्पष्ट देखिन्छ भने नेपालमा बर्मा राजबंशहरूको शासन ईस्वीको पहिलो शताव्दीको अन्त्यतिर शुरु भएको हो । किराती शासनलाई समाप्त गरेपछि नेपालमा शासन गर्न मगधका गुप्त राजा समुन्द्र गुप्तले आफ्नो आधिपत्यलाई स्विकार्ने आफुलाई सहयोग गर्ने “लिच्छवी” कुलका बृषदेवलाई आफ्नो प्रभावमा राखेको देखिन्छ । ईलाहावादको समु्न्द्रगुप्त (ईस्वी ३३४—३८०) को शिलास्तम्भमा उल्लेख भएको कुराले समुन्द्रगुप्तको समयमा नेपालमा बृषदेव राज्य गरिरेहको देखिएकोले बृषदेव देखि नै लिच्छवी शासन शुरु भएको हो भन्ने पुष्ठि हुन्छ । यसको अर्थ समुन्द्रगुप्तको समयमा नेपाल पनि यिनै राजाको प्रभाव र आधिपत्यमा थियो भन्ने देखिएको छ । मगधका राजा समुन्द्रगुप्तको ईलाहाबाद अभिलेखमा नेपाल पनि मगधको सिमासंग जोडिएको ‘सबै खाले ट्याक्स बुझाउने, निर्देशन पालन गर्ने र आदर सम्मान दिने’ देशकोरुपमा चित्रण गरिएको छ । त्यसताकाको नेपाल भन्नाले गण्डक र कोशी बिचको भुभाग थियो भनेर उल्लेख छ (Ancient India by B.D. Mahajan page 420 and  421) । गण्डकपारी मल्लपुर भने मानदेवको पालमा अधिनमा लिएकोले बृषदेवको पालामा गण्डक र कोशी (सुनकोशी तामाकोशी) वीचको भुभाग हुनु स्वभाविक छ । यसको अर्थ ईस्वीको पहिलो शताव्दीको उत्तरार्ध देखि ईस्वीको चौथो शताव्दीको मध्यसम्म करिव २८६ बर्ष बर्माधारी राजबंशहरूले किरातपछी नेपालमा शासन गरे भन्ने पुष्ठी गर्न सजिलो परेको छ । यि बर्माधारी राजबंश को थिए भन्न सकिने स्थिति देखिन्दैन । यस्ता गुप्त, बर्मा तथा देव टाईटरधारी राजबंशहरू ईस्वीको २४० देखि गुप्तहरू उत्तर भारतमा र बर्माहरू ३४५ तिर दक्षिण भारतमा देखिन्छन् ।

जयदेव (द्धितिय) को सम्बत १५३ अंकित पशुपति अभिलेखले नेपालका लिच्छवी राजाहरूका आदिपुरुष सुपुष्पलाई पुष्पपुरको बताएको छ । भारतको पाटलीपुत्र अर्थात हालको पट्नालाई उक्त समयमा पुष्पपुर भनिन्थ्यो । यस अभिलेखमा सुपुष्प पछि नाम नतोकिएका २३ अन्य राजाहरूको उत्तराधिकार क्रम उल्लेख छ ।

मानदेवको चांगुनारायणको सम्बत ३८६ अंकित अभिलेख र जयदेव (द्धितिय) को सम्बत १५३ अंकित पशुपति अभिलेख भद्रगोल पार्ने खालको छ । जयदेव (द्धितिय) को सम्बत १५३ अंकित पशुपति अभिलेखले नेपालका लिच्छवी राजाहरूका आदिपुरुष सुपुष्पलाई पुष्पपुरको बताएको छ । भारतको पाटलीपुत्र अर्थात हालको पट्नालाई उक्त समयमा पुष्पपुर भनिन्थ्यो । यस अभिलेखमा सुपुष्प पछि नाम नतोकिएका २३ अन्य राजाहरूको उत्तराधिकार क्रम उल्लेख छ । यिनका पछि क्रमश जयदेव (प्रथम), अनि ११ राजा, त्यसपछि बृषदेव, शंकरदेव (प्रथम), धर्मदेव र मानदेव (प्रथम) को उल्लेख छ । जयदेव पछि ११ राजाहरू भनिएको छ । ईतिहासकारहरूले यि ११ राजाहरू पाटलीपुत्रतिरकै होलान भनेर अनुमान गरेका छन् । तत्कालिन पाटली पुत्र भनेको मगध हो बृजी संघको बैसाली होईन । यसर्थ, ति माथी उल्लेखित नाम नतोकिएका २३ र ११ राजाहरू लिच्छवी नभएर मगधका अन्य कुनै राजबंश हुन सक्छन् जोसंग जयदेव (द्धितिय) ले आफ्नो बंश कुल जोडाउन खोजेको देखिन्छ ।

तत्कालिन भारतका लिच्छवीहरूको कुरा गर्दा विभिन्न प्रमाणहरूले तिनीहरू आर्य हिन्दु जाति समुह भन्दा अलग जाति समुह भएको देखिन्छ । कौटिल्यको अर्थशास्त्रमा प्रारम्भमा लिच्छवीहरूलाई श्रेक्ष्ठ क्षत्रिय जाति भन्दा हिन जाति मानेकोले लिच्छवीहरू आर्य भन्दा फरक जातिका मानिस थिए भन्ने पुष्ठ्याई मिल्छ । तथापी यिनीहरूले अधिक काल पर्यन्त राजसत्ताको उपयोग गर्ने भएकोले पछि यिनीहरू आफुलाई निर्धक्क सुर्य, रघु र रामका बंश घोषित गरेका छन भनिएकोले यिनीहरू पछिल्लो समयमा आर्यकरण, संस्कृतकरण र हिन्दुकरण भए भन्ने निश्कर्ष निस्कन्छ । यसैले, नेपालका लिच्छवीहरूले आफुलाई क्षत्रिय बंश भएको आफै शिलालेख मार्फत घोषणा गरेको मान्न सकिन्छ यद्यपी उनीहरू आर्य क्षत्रिय बंशका थिएनन् । नेपालकै ईतिहासमा बिजयपुर राज्यका लिम्बु चौतारियाले हिन्दु मत ग्रहण गरि बंश नाम राय राखेता या घोषणा गरेता पनि पछिल्ला पुस्ताहरू आर्यकृत हिन्दु राय हुन सकेनन् र आर्यकृत भएनन् । तत्कालिन बैसाली अर्थात आजको मुजफ्फरपुरको क्षेत्रमा हालै नव ढुंगे युगको एउटा चिहान पाईएको छ । उत्खननबाट एउटा मानिसको कंकाल ढुंगाको पाता ९क्बिद० माथी राखिएको र त्यसको वरीपरी ढुंगाहरूले छेकेर राखिएको पाईएको छ । त्यसले समग्र उत्तर भारत र नेपालका पर्वतिय क्षेत्रमा रहने मानव समुहहरू उक्त संस्कृतिका मानिसहरू थिए भन्ने पुष्ठी गर्दछ । लिच्छवीहरूको मृत्यु संस्कार पनि मानिस मरे पछी गाड्ने रहेकोले उनीहरू पनि त्यहि संस्कृति भित्रका मानिसहरू थिए भन्ने निश्कर्ष निकाल्न गाह्रो पर्दैन ।

किरातकालीन स्थान बिशेषका नामहरूको संस्कृतकरण र अपभ्रंस
ईतिहास लेखनको एउटा बलियो आधार भनेको पहाड पर्वत, खोला नाला, ठाउ गाउका प्राचिनकालीन जिवित नामसंग जोडिएका सभ्यताहरू हुन । नेपालमा यस्ता नामहरू पछिल्लो समयमा संस्कृतकरण गरिएका छन् । संस्कृतकरण गरिए पनि तिनीहरूको प्राचिनकालीन नाम अस्तित्व नामेट भईसकेको छैन । किरातकालमा ठाउ जनाउने शव्द पछाडी दिङ / दिम् / देन, पहाड या अलि अग्लो भागलाई जनाउने शव्द पछाडी गु र उच्च डाडालाई जनाउने शव्द पछाडी चो, समथर खेती भूमीलाई जनाउने शव्द पछि बु/बे, गाउ जनाउने शव्द पछि प्रिङ / पाङ आदी जस्तै चाङगु, ईचङगु, खोप्रिङ, फर्पिङ, थेन्चो (थेचो) जस्ता नामहरू अझै पनि रहिरहेका नै छन् । ईसापुर्व सयौ बर्ष देखि ईस्वीको बाह्रौ तेह्रौं शताव्दीसम्म संस्कृतले ईण्डोनेसिया, भियतनाम, कम्पुचिया, थाईल्याण्ड, बर्मा, आसाम, बंगाल हुदै समग्र भारतबर्ष र पाकिस्तान पश्चिमसम्म प्रभाव जमाएकोले सबै क्षेत्रमा संस्कृतकरण हुनु अस्वभाविक होईन । कतिपय ठाउहरू संस्कृतबाट नै पुर जोडिएर नाम रहन गएका पनि छन् ।

कुनै स्थान या ठाउ बिशेषको पछाडी ‘पुर’ या ‘पुरा’ जोडिएर बनेको नामले प्राचिन संस्कृत भाषामा शहर, किल्ला, गढ आदी भन्ने अर्थ लाग्दथियो । पछिल्लो समयमा त्यसलाई किल्लाकोरुपमा पनि बुझ्न थालियो । स्थान तथा ठाउ बिशेषको नाम पछाडी पुर या पुरा जोडिएर आउने स्थानहरूको नामहरू ईरान, पाकिस्तान, भारत, बंगलादेश, नेपाल, श्रीलंका र ईण्डोनेसियासम्म पाईन्छ । उदाहरणकोरुपमा सिंगापुर, श्रीलंकामा अनुराधापुरा र सामपुर), पाकिस्तामा अजिमपुरा, ईण्डोनिशियामा जयपुरा, बंगलादेशमा मानपुरा र मोहम्मदपुर, ईरानमा निशापुर, अफगानिस्तानमा लालपुर, भारतमा जयपुर, त्रिपुरा, सुल्तानपुर, कानपुर, मिर्जापुर आदी, नेपालमा उदयपुर, किर्तीपुर, बिजयपुर, मकवानपुर, भोजपुर, चैनपुर आदी रहेका छन् ।

प्राचिनकालदेखि अस्तित्वमा रहेको ठाउ बिशेषको नाम पछि पुर जोडीएकाहरू खासगरि धेरै जसो असुरबाट संस्कृतकरण भई पुर भएका छन् भने कतिपय अपभ्रम्स भई पुरमा परिणत भएका छन् । उदाहरणकोरुपमा भारतमा रहेको अहिलेको त्रिपुरा त्रिपुरासुर नामको असुर राजाको नामबाट त्रिपुरसुर हुदै त्रिपुर र त्रिपुरा बनेको देखिन्छ । यसैगरि, कुमाउ गड्वालमा प्राचिन समयमा किरातहरूको राज्य थियो भन्ने ईतिहासले बताउछ । पछिसम्म पनि खसाधिपती भनिएका राजा गैरखस थिए । मगधका राजा समुन्द्रगुप्त (ईस्वी ३३५—३८०.) समयमा उक्त राज्यलाई कर्तीपुर भनिन्थ्यो जुन समुन्द्र गुप्तको ईलाहावाद शिलालेखमा उल्लेख भएको छ । उक्त कर्तीपुर पनि किरात असुर राजाको नामबाट किरातासुर हुदै किरातीसुर अनि किरातीपुरबाट करतीपुर भएको देखिन्छ । विभिन्न हिन्दु पुराण तथा महात्म्यहरूको विश्वसनियता नभएता पनि तिनीहरूले पनि किरातहरूलाई असुर दानवकोरुपमा प्रस्तुत गरेको देखिन्छ । नेपालको किर्तीपुरलाई हिन्दुहरूको नेपाल माहत्म्यले पालुङ्देखी माथीको चन्द्रागिरी पर्वतमुनीको फेदमा असुर राक्षसहरूको सुवर्णनगरी (सुप्रभानगर?) रहेको छ भनि उल्लेख गरेको छ । उक्त सुप्रभानगरमा दानवहरू रहन्थे र बाणासुर भन्ने असुर दानवका छोराले देवताका राजा ईन्द्रलाई जितेकाले महेन्द्रदमन नाम पाएका दानव सोही सुप्रभानगर (ठाउ?) मा बस्दथिए भन्ने उल्लेख गरेको छ । यस्ता माहत्म्यको विश्वसनियता एकदमै कम भएता पनि यो उल्लेख गराईले प्राचिनकालका किर्तीपुरका बासिन्दा किरातीहरूलाई आर्य हिन्दुहरूले असुर तथा राक्षसकोरुपमा प्रस्तुत गर्दथिए भन्ने देखिन्छ । फर्पिङमा रहेको २ वटा गुफा मध्ये एउटालाई असुर गुफा र अर्कोलाई याङ्लेसो गुफा भन्नु पनि त्यसैको उपज हो । यो किर्तीपुर पनि किरात असुरबाट किरातासुर, किरातासुरबाट किरातीशुर अनि संस्कृतकरण भएर किरातीपुर भयो । यहि किरातीपुर कालान्तरमा संस्कृतकरण र नेपालीकरण भएर किर्तीपुर भएको देखिन्छ । पहिचानमा सचेत आर्य हिन्दु समाजका मानिसहरूबाट यस्तो संस्कृतकरण र हिन्दुकरण गर्ने कार्य अहिले पनि भईनै रहेको छ । जस्तै, पुर्व लिम्बुवानको मुकुम्लुङलाई पाथीभरा भनिएको छ भने पाथीभरामा एउटा सानो ओडार जस्तोमा पुजा गर्ने चलनलाई हाल बाहिरपट्टी हिन्दु देवीको मुर्ति स्थापना गरि मन्दीर निर्माण गरिएका छन् । फक्ताङलुङमालाई कुम्भकर्ण, चन्चन्लुङमा (चोमोलुङ्मा) लाई सगरमाथा, कनकनलुङमालाई कन्चनजंगा, फेदेनलाई फिदीम, मेयङलुङलाई म्याङलुङ, सुम्हालुङलाई तिनजुरे, मिलगुलाई मिल्के, सुम्हेतलुङलाई जलजले, मुराहङलाई मोराहाङ, अम्लाबङलाई नवमीडाडा, काङवामालाई काबेली नदी, कोक्वालाई कोया खोला, हिउदिवालाई हिउदिया खोला, पुवालाई पुवामाई खोला, महवालाई महमाई खोला, फियालुङलाई फालेलुङ, थगक्लुङलाई थोक्लुङ, मावरकपावरकलाई राजारानी आदी । यस्ता धेरै उदाहरणहरू छन् ।

यसरी नै नेपाल भाषा (नेवा भाषा) मा किर्तीपुरलाई किपु/क्यापु भनिन्छ । आदिवासी नेवारहरूले काठमाण्डौलाई येमः देशः भन्दछन् । पाटनलाई अझै पनि नेवारहरू येल अर्थात येलाः देशः भन्दछन् र भक्तपुरलाई ख्वपः देश भन्दछन् । येम् भनेको यम्बुको छोट्करी हो । काठमाण्डौको उत्तर आधा भागलाई किरातकालमा यम्बु तथा थने भनिन्थ्यो । दक्षिण आधाभागलाई येंगाल तथा क्वने/खोने भनिन्थ्यो । थने भनेको नेपाल भाषामा उत्तरी भुभाग र क्वने/खोने भनेको दक्षिणी भुभाग हो । उक्त दक्षिणी भाग क्वने/खोनेलाई हाल खोक्ना भनिन्छ । लिच्छवीकालमा यम्बु र येंगालमा कोलीयहरू (शाक्यहरू) को बसाई सराई पछि तिनीहरूलाई क्रमश उत्तरी कोलिग्रास र दक्षिण कोलीग्राम भन्न थालियो । येल नै प्राचिनकालमा किरात राजाहरूको राजधानी येलुङ थियो । त्यहि येलुङबाट येल भयो ।

नेपाल खाल्डो भित्र, खाल्डो वरीपरी र खाल्डो नजिकै धेरै ठाउ, पाखा पर्वत र खोला एवं नदीहरूको नाम तिव्वत—बर्मा भाषा परिवारका भाषाबाट रहेको पाईन्छ । त्यस्ता ठाउहरूमा टिस्टुङ, पालुङ, सांगा, बनेपा, चांगु, ईचंगु, सेम्गु / सनिगु (स्वयंम्भु) फर्पिङ, प्याङ्, दामन, लेले, सांखु, ककनी, बलम्बु, संखमुल, ईमाडोल, लुम्भु, ठिमी, ठेचो, खोकना आदी धेरै छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सर्वोच्चको फैसलाले डा. भट्टराईको रोगै हराएको अनुभव !

काठमाडौं, ११ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले...

राजनीतिक संकटको अन्त्य संविधानको पुनर्लेखन

–कोइँचबु काःतिच मिहिनढंगले सोच्ने हो भने अहिलेको राजनीतिक विचलन आदिवासी जनजातिका लागि कागलाई बेल...

‘दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद/जनगणतन्त्र होइन’

मौसम आङ्देम्बे लिम्बू नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) मोहन वैद्य ‘किरण’, प्रतिबन्धित नेत्र...

एकरूपैयाको बलगमले दिनभर मेला धान्थेँ –जीवन केदेम

मेरो बाल्यकाल र धाननाच बुझाई मेरो जन्म ताप्लेजुङ जिल्लाको सान्थाक्रा गाउँमा भएको हो ।...

कोरोनालाई पन्छाउँदै सिर्जनाका सौन्दर्यहरूमा रमाउँदाको अनुभूति

चबेगु राज सानु माघ महिना त्यसै पनि बिहान–बेलुका मुटु छिचोल्ने जाडो बिहानीको पारिलो घामसँगै...

सगरमाथाको अनेक नाम र नयाँ उचाईः एक चर्चा

निनाम कुलुङ ‘मंगले’ वास्तवमा नेपालको नाम त्यसै वा भनौं बिना आधार अंग्रेजी भाषामा ‘हिमालय...

दुई लिम्बुवान पार्टीको सामायोजन कार्यक्रम सम्पन्न

२९ माघ २०७७ बिहीबार पाँचथर – अरुणपूर्वका नौ वडा जिल्लालाई छुट्टै लिम्बुवान स्वायत्त राज्य...

खतरामा नेपाली लोकतन्त्र

विजय लुम्फुङवा लिम्बु म वर्तमान नेपालको संविधान आदिवासी जनजाति, मधेशी र उत्पीडित समुदायप्रति विभेदकारी...

आफ्नै कविताको पात्रसँग

इन्द्र नारथुङे मलेसिया आएपछि मैले लेखेको पहिलो कविता ‘अचेल मलाई कविता लेख्नै आउँदैन’ ।...

विभिन्न पार्टी परित्याग गरि ३५० भन्दा बढी जनता समाजवादी पार्टी, नेपालमा प्रवेश

दमक, २० माघ । झापाको दमकमा आयोजिता पार्टी प्रवेश कार्यक्रममा चार सय जना बढि...