अरपेको कथा: 'मलाई परदेश फापेन' - Naya Online

अरपेको कथा: ‘मलाई परदेश फापेन’

जीवन देवान गाउँले


घरको लागि घर छोड्नु, परिवारको लागि परिवार छोड्नु र देशको सिमाना काटेर परदेशी बन्नु नेपालीहरूको लागि मजबुरी नै हो । यसरी परदेशीन मजबुर परदेशीहरूको कुनै त्यस्तो ठुलो आकांक्षा पनि हुँदैन । हुन्छ त परिवारलाई दुईछाक पेट भर्ने चाँजोपाँजो मिलाउनु, ओत लाग्ने घरको ब्यवस्थापन गर्नु, आङ ढाक्ने कपडाको जोडजाम गर्नु र चाडबाडमा मिठो मसिनो भोजनको जोहो गर्नु । हो, यस्तै आकांक्षा बोकेर रामेछाप वाम्तीभण्डार गाविसका भीमबहादुर बस्नेत पहिलोपल्ट विदेशिए । आमा–बुबाको जेठो छोरा हुनुको कर्तब्यबोधले, दुई भाईको जोठो दाजु हुनुको जिम्मेवारीबोधले अनि श्रीमती र एक छोराको अभिभावकियबोधले उनलाई परदेशी बनायो ।

बिना भिषा, बिना धरौटी परदेश भन्नु भारत सम्म । विदेश भन्नु पनि भारत सम्म । भीमबहादुर पनि सपनाको सानो झोला भिरेर परदेश हिडे । भारत पसे पछि उनको परदेशी जिन्दगी सिलोङ र मेघालय आसपासमा शुरु भयो । पढाई लेखाई पुग्दो थिएन । हातमा त्यस्तो कुनै शिप थिएन । परदेश आफ्नो हुने कुरो पनि भएन । तर, उमेर थियो, शरिर हट्टाकट्टा थियो, हात खुट्टा बलिया थिए । उनले आफ्नो योग्यता अनुरूपको काम पाए,– कोईला खानीमा पसेर कोईला निकाल्ने ।

जागिर भने पनि, दिनचार्य भने पनि भीमबहादुरको समय बेल्चा र गैतीसँग पौठेजोरी खेल्दै बित्न थाल्यो । उनी दिनरात नभनी कोईला निकाल्थे । कोईला निकाल्थे ? हैन, कोईलाको पहाडमा पस्थे र परिवारका लागि सुखको हिरा खोज्थे । जे जति भेट्टाउथे घरपरिवारलाई पठाइदिन्थे । गृहस्थी चलाउन भीमबहादुरको कमाईबाट भरथेग हुन थालेपछि घरपरिवारमा पनि खुशीको उज्यालो देखा पर्न थाल्यो ।
तर, २०५९ भदौ ४ गतेको पहिरोले बाम्ती गाउँ बगाएसँगै भीमबहादुरको सम्पूर्ण खुशी बग्यो र बाम्ती गाउँसँगै उसको पनि जिन्दगी खण्डहरमा परिणत भयो । वाम्ती गाउँ पहिरोमा परेको खबर पाउदा उनी कोईलाखानीको सुरुङ भित्रबाट छोरोको सुदुर भविश्य चिहाउदै थिए । पहिरोको दुःखद खवरले एकाएक कोईलाको पहाड खसेर किचेजस्तो भयो । पहाड खसेर सुरुङभित्र थुनिएजस्तो भयो । सुरुङभित्रै निसासिएर प्राणपखेरु उड्लाजस्तो भयो ।

खबर पाएको ४ दिन पछि भीमबहादुर आफ्नो गाउँ वाम्ती आईपुगे । उसको गाउँ उसले छाडेको जस्तो थिएन । १२ घर छाडेर पुरै बस्ती पहिरोले पुरिएको अवस्थामा थियो । त्यतिबेला उसलाई लाग्यो,– भगवान निष्ठुरी मात्तै हैन निर्दयी पनि हुदो रहेछ ।

अक्सर मान्छे बाँच्नुमा आफूलाई भाग्यमानी ठान्छ । तर भीमबहादुरलाई आफू बाँचेकोमा सन्सारकै पहिलो अभागी महसुस भयो । आफूलाई टिपेर नलगेकोमा कालसँग सिकायत ग¥यो । किनभने वाम्तीको पहिरोले पुरिएका घरहरूमध्ये एउटा घर भीमबहादुरको पनि थियो । वाम्तीको पहिरोमा पुरिएर चोला उठेका ४१ लासमध्ये ६ लासको सनाखत भीमबहादुरले गर्नुथियो । र, ति ६ लास भीमबहादुरको सम्पूर्ण परिवार थियो ।

परदेशले भीमबहादुरलाई बचाउनु त बचायो तर एकैचोटी टुहुरा, विदुर, अनाथ अवस्थामा पछारेर । समाजिक सस्कारले पनि उसलाई छाडेन । सम्पूर्ण परिवार गुमाउनुको पीडा त छदै थियो । त्यही पीडामा परिवारका ६ जना सदस्यको काजक्रिया गर्ने बोझ थपिएको थियो । तर सरकारले क्रिया खर्च वापत रु. १०००० का दरले राहात दियो । त्यतिबेला उसलाई सरकार रहेछ भन्ने महसुस भयो ।
भनिन्छ समयले बनाएको चोट समयले नै पुर्दै लान्छ । हो पनि । जसरी वाम्तीको पहिरो सधै कुरूप

अनुहार लगाएर हाँसिरहेन । समयक्रम सँगै उजाड पाखोमा खरुकी उम्रिन थाल्यो । सुगन्धी फूल्न थाल्यो । जंगलका विरुवा उम्रिन थाल्यो । उसैगरि भीमबहादुरको जीवनमा पनि जिउनुको खारुकी पलाउन थाल्यो । जिन्दगीको सुगन्धी उम्रिन थाल्यो । आसाका डालीहरू लहरिन थाल्यो । अन्ततः समयसँग सम्झौता गर्दै बाँच्नुमा नै जीवनको सार्थकता हुने ठानेर भीमबहादुरले पुनः विवाह गरे ।
२०६० सालमा दोश्रो विहे गरेपछि भीमबहादुरको जीवनको खालीपन पुरिदै आयो । प्रेमिकालाई नै श्रीमती बनाएर उनी फेरि पनि लोग्ने भए । दोश्रो श्रीमतीबाट २ छोरा र १ छोरीको जयजन्म भयो । भनौनः एकपटक टुटेको भीमबहादुरको घर फेरि बस्न शुरु भयो । बस्दै गरेको घरले भीमबहादुरको स्मरणबाट पुरानो घट्ना बिस्तारै मेटाउदै लान थाल्यो ।

परिवारको सदस्य बढ्नु भनेको खर्च बढ्नु पनि हो । भीमबहादुरलाई पनि त्यस्तै लाग्यो । छोराछोरी हुर्के सँगै उनीहरूको लवाई खर्च, पढाई खर्च, उपचार खर्च बढ्न थाल्यो । खेत बारी खोस्रेर मात्र अभावको परिपुर्ती नहुने बुझेर भीमबहादुर बैकल्पिक आयश्रोतको खोजीमा लाग्यो । उसको दिमागमा फेरि पनि विदेशिने सोच आयो । तर यस पटक दोश्रो मुलुक नभएर तेश्रो मुलुकलाई गन्तब्य बनाउने सोचे । किनभने गाउँका प्रायः युवाहरू खाडी मुलुक तथा मलेसिया रोजगारीका लागि पुगेका थिए । भीमबहादुर पनि गाउँका युवाहरू झै अरपे बन्ने टुङ्गोमा पुगे । जोईपोई बिच घर सल्लाह भयो । भीमबहादुरले पासपोर्ट बनाए । मेनपावरमा पासपोर्ट बुझाए । मेनपावरले मलेसियाको भिषा लगाईदियो ।
मेनपावरमा एकलाख पच्चिस हजार धरौटी बुझाएर सन् २०१२ मा भीमबहादुर मलेसिया उत्रिए । उनको अरपे जिन्दगी मुहारको एक कम्पनीबाट शुरु भयो । कम्पनीमा आईपुगे पछि भनाई र गराई विचको अन्तर उनले भेउ पाए । नेपालमा एजेन्टद्वारा जो भनिएको थियो कम्पनीमा आइपुगे पछि त्यस्तो भएन । पहिलो त जुन कम्पनी भनिएको थियो मलेसिया आईपुगे पछि अर्कै कम्पनीमा पु¥याईयो । दोश्रो जुन कामको लागि भनेर भनिएको थियो काम अरु नै गर्नु प¥यो । तेश्रो भनिए जति तलब दिईएन । यसका अलवा अरु पनि थुप्रै समस्याहरू थिए । जुन समस्याको समाधान कतैबाट हुने नदेखेपछि भीमबहादुर निर्णय गर्न बाध्य भए । र, केही महिनापछि काम गर्दै गरेको कम्पनी छाडिदिए ।

कम्पनी छाडे पछि भीमबहादुरको मलेसिया बसाई अबैधानिक हुन पुग्यो । तर अबैधानिक हुनु परेकोमा उनलाई कुनै विष्मात थिएन । किनभने यो उ आफैले रोजेको जिन्दगी थियो । त्यसपछि उनी कामको खाजीमा केही समय भौतारिए । काम पाए । पाएको कामबाट कमाई राम्रै हुन थाल्यो । उनले दई बर्षको अवधीमा लगभग साढे चारलाख कमाई गरे ।

अरपेले पैसा कमाउन थालेपछि !

उता, भीमबहादुर मलेसियाको अरपे भएदेखि नै उनको श्रीमतीको जीवनशैली परिवर्तन भयो । उनी गाउँमा अरपेनीको ठाँटबाँठमा जिउन थालिन । विदेशबाट पैसा आउन थालेपछि उनले अभावमा बिताएको पाटो भुल्न थालीन । निगरानी गर्ने आँखाहरू गाउँमा कोही थिएनन् । छोराछोरीको कलिलो आँखाले उनलाई नियन्त्रण गर्ने कुरो भएन । उनी आफूलाई जायज लागेको गर्न छुट नै थियो । यहासम्म कि उनीले पर पुरुषसँग नाजायज सम्बन्ध राख्न समेत छुट पाई । परिणामः नाठो टिपेर पोईला हिडी ।
यता, भीमबहादुरले श्रीमतीको विश्वास र भरोसामा परेर दुःखले कमाएको पैसा जम्मै पठाइसकेको थियो । उनी छोराछोरी र श्रीमतीको लागि अरु दुःख गर्न तयार थिए । तर श्रीमती पोईला हिडे पछि उनलाई बिपती आईलाग्यो । ‘घर बिग्रेको र परदेश सप्रेको मिल्दैन’ भन्ने पुरानो आहान भीमबहादुरले बुझे ।
अन्ततः भीमबहादुर छोराछोरीको रेखदेखका लागि नेपाल जाने तयारीमा लागे । त्यही प्रोसेसका लागि यताउता कुदि हिड्ने क्रममा उनी कोतारायामा भेटिए । त्यही भेटमा उनले भने, मलाई परदेश फापेन, अबको मेरो सम्पती भनेको २ छोरा र १ छोरी मात्रै हो ।

(नोटः– भीमबहादुरको कथा नेपाली खबर साप्ताहिकका लागि रामचन्द्र नेपालद्वारा लिईएको सम्बादबाट तयार गरिएको हो ।)

 

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाल राज्यको निर्माण भ्रम र वास्तविकता

नन्द कन्दङवा प्राचिन नेपाल र नेपाल राज्यको निर्माण वर्तमानको राष्ट्र, राज्य, राष्ट्रवाद, राष्ट्रियता र...

‘लिम्बू जातिमा आइरहेको विभाजन रोक्न तुम्याहाङहरू अग्रसर हुनुपर्छ’

सुरेन्द्र फोम्बो त्यसो त कुनै जाति, भाषा वा धर्मको सीमारेखाभित्र सधैँ समाज अडिरहन्छ भन्ने...

पुस २५ मा विराटनरसहित तीन शहरमा जसपाको विरोध कार्यक्रममा

फिपराज बेघा विराटनगर, २४ पुस । जनता समाजबादी पार्टी, (जसपा) नेपालले पुस २५ गतेदेखि...

अरपेको कथा: ‘मलाई परदेश फापेन’

जीवन देवान गाउँले घरको लागि घर छोड्नु, परिवारको लागि परिवार छोड्नु र देशको सिमाना...

अलग अभियानको अलग अनुभूति

इन्द्र नारथुङे “एउटा गीत कालजयी बन्नको लागि गीतकार, संगितकार र गायकबीच घनिष्ट सम्बन्ध हुनुपर्छ,...

लिम्बुवान मञ्चद्धारा प्रतिनिधि सभा विघटनको विरोध प्रदर्शन

दमक, १५ पुस । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले प्रतिनिधि सभा विघटनको...

प्राचिन नेपालको ईतिहासः एक दृष्ट्रि र संसोधन

नन्द कन्दङवा आजसम्म पढिएको नेपालको प्राचिन ईतिहास बंशावलीको भनाई अनुसार दानासुर (बानासुर?) ले नेपाल...

जसपाले पुस १० गतेबाट देशभर विरोध प्रदर्शन गर्ने

काठमाडौँ, ०७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ...

प्रचण्ड–नेपाल समुहका अध्यक्षमा माधव नेपाल चयन

काठमाडौँ, ०७ पुस । प्रचण्ड–नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षमा माधवकुमार नेपाललाई चयन...

जसपाद्धारा प्रतिनिधि सभा विघटन निरङ्कुशताको प्रतिवाद गर्न आग्रह

काठमाडौँ, ०६ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय प्रतिनिधि सभा विघटन गरिनु...