आचार्य प्रभा
सपना,
तिम्रो स्वच्छ र कोमल
मनको कसरी गरूँ म
प्रशंसा ?
एउटी कलिली मुना जो
आफु सडकमा भौंतारिंदै
भोको पेट र नाङ्गो आङ्गले
सिकाएको तिम्रो संघर्षले
आज सडकमा बेवारिसे बनेका
असंख्य लाशहरूको अभिभावक बन्दै
दागबत्ती दिने हिम्मतिली र
समर्पित नारी बन्ने
प्रेरणा पायौ
सलाम छ तिम्रो त्यो हिम्मतलाई।
छैन मसँग तिम्रो त्यो हिम्मतलाई
प्रशंसा गर्ने शब्दहरू,
आफ्नै घर,आँगनबाट बहिष्कृत भएर
तिमीले भोगेका पीडा अनि धोकाबाट
नै आज तिमी ती बेवारिसे बा’आमाको
लाशको अभिभावक बन्दै स्वच्छ मनको
श्रद्धाञ्जली दिने एक सन्तान बन्यौ
हो… सिक्नु पर्छ तिमीबाट सबैले
धोका,असफल्ता र अभावले नै मान्छेलाई
कोमल र कर्तव्यनिष्ठ बनाउँछ भन्ने पाठ।
अब कहाँ भन्न पायौ र तिमीले ?
म मेरो बाउरआमाको मात्र छोरी हुँ भनेर
तिमी त असंख्य ती बेवारिसे आत्माहरूकी
प्रिय छोरी भयौ,
अनि… भयौ संसारले चिन्ने नेपालकी
एक मात्र आँटिली छोरी,
सोंच्नु पर्छ तिमीले अब त म एक्ली छैन
मेरा असंख्य असहाय बा’आमाहरू छन् भनेर
अनि गर्वले छाती फुलाउनु पर्छ
म’त राखिएकी नामको पात्र सपना मात्र होईन
म’त मेरो देश नेपाल र असंख्य नेपालीको
स्वच्छ मनको साकार दिवास्वप्न अर्थात
मिठो सपना हुँ भनेर ।
हालः अमेरिका
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।