बच्चु हिमांशु
पृथ्वीनारायण शाह
थिए एक कथित राष्ट्रनिर्माता
उनलाई भएको आफ्नो राज्यले चित्त बुझेन
अनि लागे अरुको माटो खोस्न
तरवारको धारबाट सृजित अभिप्सा
कति घर कति परिवार
सबको रक्ताम्य दुर्गति बनेर अघि बढिरह्यो
ठूलो देशको राजा बन्ने ध्याउन्नमा यिनले केसम्म गरेनन्
दुश्मनलाई सोच्नपनि नसकिने यातना दिएनन् कि
निर्दोष जनताको नाककान काटेर धार्नीबिसौली पो जोखेनन् कि
शत्रुलाई त धोका दिएदिए, हितैषीलाई समेत धोका दिन भ्याए
यसरी बन्यो एउटा देश
देश भन्नु त के थियो र त्यो
निमुखाहरूको नाककानबाट बहेको आलो रगतको कित्ताकाट थियो
आखिर क्रुरताको पराकाष्ठा नाघेर
जबर्जस्तीसँग हत्याइएका स्वतन्त्रताहरू
छिन्नभिन्न पारिएका स्वच्छन्दताहरू
आज हेर कसरी एकत्रित भएर
उन्मुक्तिको आवाज बुलन्द गर्दैछन्
पृथ्वीनारायण बा
एकीकरणको जस लिएर तिमी त समाधीमा गयौ
एकीकरणको जस दिएर तिम्रा अवतारहरू उसैगरी रक्तिम रवाफका साथ
जनताका बचेका नाककान चिल्याउन सदियौंसम्म उद्दत रहे
तिम्रो विरासत थाम्ने परम कर्तव्य
कति कर्तव्यपरायणताका साथ हरेक अवतारले निभाइरहे
तर हेर आज
तिम्रो युद्धअपराधको प्रमाण काङ्सोरेका सन्तानहरूले फेला पारेका छन्
कसरी निर्दोष जनता र निहत्था वैरीमाथि
तिमीले आफ्नो अत्याचार बर्सायौ
तिमीले आफ्नो अहङ्कार उतार्यौ
र हेर
तिम्रो रक्तरन्जित इतिहासमा गर्वको अट्टहास छाड्ने
उस्तै अहङ्कारी सन्तानहरू रजाइँको सिलसिला समाप्त भएदेखि
कसरी गुमनाम हुँदैछन्
हेर पृथ्वीनारायण
देश उही छ सिमाना उही छ
नाम उही छ विशेषण उही छ
भलै तिम्रो दस्तावेज उही छ
फरक यति छ यो इतिहासमा आज एउटा प्रतिइतिहास थपिएको छ
तिमीले देश त बनायौ तर राष्ट्रियता अनुभूत गराउन सकेनौ
तिमीले सिमाना त विस्तार गर्यौ तर अखण्डता अनुभूत गराउन सकेनौ
तिमी आफैँले भुलवस छोडेका अवशेषहरू
काफी छन् आज प्रत्युत्तर दिन
काफी छन् क्रमभङ्ग गर्न
अब हामीलाई तिमीजस्तो राष्ट्रनिर्माता चाहिएको छैन
जो देश त बनाउँछ तर राष्ट्रलाई भुल्छ
जो सिमाना त बढाउँछ तर राष्ट्रियतालाई भुल्छ
हामीलाई अर्कै राष्ट्रनिर्माता चाहिएको छ
जस्ले हिजो अन्यायमा परेकाहरूको
हिजो अनाहकमा मरेकाहरूको
हिजो घर न घाट भएकाहरूको
मन, स्वाभिमान, पहिचान, सद्भाव
अनि आत्मसम्मान जोड्न सकोस्
हामीलाई त विगतसँग प्रायस्चित गर्नसक्ने
वर्जितलाई पुनर्स्थापित गर्नसक्ने
नयाँ राष्ट्रनिर्माता चाहिएको छ !
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।