नेपाल राज्यको निर्माण भ्रम र वास्तविकता - Naya Online

नेपाल राज्यको निर्माण भ्रम र वास्तविकता

नन्द कन्दङवा


प्राचिन नेपाल र नेपाल राज्यको निर्माण
वर्तमानको राष्ट्र, राज्य, राष्ट्रवाद, राष्ट्रियता र नेपाल राज्यको निर्माणबारे भईरहेको विवादलाई तथ्यपरक ढङ्गले विवेचना गर्न आवश्यक भएको छ । यहा नेपाल राज्य निर्माणबारे मात्र विबेचना गरिन्छ । नेपालमा उठिरहेको पहिचानको मुद्दाले यी बिषयहरूमा फेरि ईतिहासलाई तथ्यपरक ढङ्गले केलाउन विवस बनाएको छ । कतिपय विद्धान मित्रहरूमा नेपाल ईस्वीको १/२ शताब्दितिरै अहिलेको नेपालको आकारमा थियो । सो देश बाइसे, चौविसे, गोर्खा, मुस्ताङ, कान्तिपुर, भक्तपुर, पाटन, पाल्पा, मकवानपुर, बिजयपुर आदिमा टुक्रियो । यिनै टुक्रिएका राज्यहरूलाई गोर्खाका राजा पृथ्वीनारायण शाहले फेरि एक शुत्रमा आवद्ध गरेकाले उनको कार्य राज्य विस्तार या दिग्वीजय नभएर एकिकरण हो भन्ने भ्रम रहेको देखिएको छ ।

नेपाल पहिले पनि अहिलेकै आकारमा थियो र वीचमा टुक्रियो र पृथ्वीनारायण शाहले फेरि एउटै बनाए, यसर्थ सो कार्य एकिकरण हो भन्ने विद्धान मित्रहरूले खासगरि ३ वटा आधारमा यस्तो निष्कर्ष निकालेको देखिन्छ । नेपाल पहिले पनि अहिलेको आकारमा थियो भन्ने कुरालाई निष्कर्षमा पुग्न मित्रहरूले २०४० मा प्रकाशित भएको नेपाल नामक आलेखमा मगधका गुप्त सम्राट समुन्द्रगुप्तको प्रयागको अभिलेख, योगीनरहरीनाथले २०१३ सालमा संकलन गरेको हिमवत्खण्ड पुराणको कथन र मानदेवको चांगुनारायणको अभिलेखलाई आधार बनाएका छन् ।

उक्त बिचार प्रस्तुत गर्नु हुने मित्रहरूले भारतका गुप्त सम्राट समुद्र गुप्तको प्रयाग अभिलेखमा असाम र कुमाउ वीचको भूभागलाई नेपाल भनिएको छ (नेपाल, २०४०ः २०) को रेफरेन्स दिएको छ । यसैगरि, सो प्रस्तुतिले हिमवत्खण्ड पुराणमा पूर्वमा कोसी प्रदेश, पश्चिममा गण्डकी प्रदेश, उत्तरमा गोसाईकुण्डदेखि माथिको नीलकण्ठ हिमाल र दखिनमा पश्चिमी चम्पारणस्थित नटेश्वरको बीचको भूभागलाई देवभूमि नेपाल भनिएको छ (योगी २०१३ः संः १७४, ने. १६१) को रेफरेन्सका साथै मानदेवले पूर्व कोसी प्रदेश र पश्चिम कर्णाली प्रदेशका सामन्त शासकहरूलाई आफ्नो अधीनमा राखेर राज्य गरेको वर्णन उनको चाँगुनारायणको अभिलेखबाट थाहा पाइन्छ जसबाट लिच्छविकालमा पनि नेपाल अहिले जत्तिकै विशाल रहेको स्पष्ट हुन्छ भनि जीकिर गरिएको छ ।

पहिलो त, तत्कालिन मगधका गुप्त सम्राट समुद्र गुप्तको प्रयाग (अल्लाहवाद) अभिलेखमा असाम र कुमाउबीचको भूभागलाई नेपाल भनिएको छैन । उक्त अभिलेखको लाईन २२ र २३ मा मगधको सिमावर्ती ५ राज्यहरू समातारा, देवका, कामरूपा, नेपाला र कर्तिृपुरा, का शासकहरूको नाम उल्लेख गरिएको छ । उक्त समयमा असामलाई कामरूप र कुमाउ गडवाललाई कर्तिृपुर भन्ने गरिन्थ्यो । नेपाल, कामरूप र कर्तिृपुरलाई सिमावर्ती छुट्टाछुट्टै राज्यहरू भनेर उल्लेख गरिएकोलाई असाम र कुमाउबीचको भूभागलाई नेपाल भनेर भ्रम दिनु नितान्त गलत नियतले प्रस्तुत गरिएको छ । यो नितान्त गलत कुरा हो, सहि होईन । सिमा अलि यता उता भए पनि प्राचिन कुमाउ गढवालसहितको राज्यलाई कर्तिृपुर÷कार्तिकेयपुर÷कर्तिपुर भनिन्थ्यो जस्को राज्य सिमा पछि १४ शताब्दिसम्म पुर्वमा कर्णाली नदीसम्म थियो । डोटी राज्य कत्युर राज्य भित्र थियो । कत्युर राज्यको पतनपछि डोटी सहित स—साना राज्यहरूमा विभाजन भयो । १५÷१६ औ शताब्दिपछि डोटीसहित कर्णाली क्षेत्रमा खस राज्यको उदय भयो । समुद्रगुप्तको समय भनेको ईस्वीको ३३५—३८० मानिन्छ जुन बेला नेपाल (तत्कालिन नेपाल अर्थात हालको नेपाल उपत्यका) मा किरात वंशको पतन र लिच्छवी राजवंशको उदय भएको थियो । सो समय अर्थात लिच्छवीकालमा तत्कालिन नेपालको सिमा नेपाल उपत्यका सहित पश्चिममा त्रिशुली नदी र पुर्वमा कोशी नदी शुरु हुने शाखा नदी सुनकोशीको आसपास ईलाकासम्म रहेको देखिन्छ । त्रिशुलीदेखि पश्चिम कर्णालीसम्म स—साना राज्यहरूमा विभिन्न राजवंशहरूले राज गर्दथिए । यसैले प्रयाग प्रशस्तिमा समुन्द्रगुप्तले उल्लेख गरेको कर्तिृपुर र नेपालको सिमा अहिले रहेको नेपाल र भारत उत्तराखण्डको सिमालाई बुझ्नु गलत हो । समुन्द्रगुप्तले आफ्नो अधिनस्त, आफुलाई मान्ने र आफ्नो कमाण्डलाई मान्ने सिमावर्ती शासक र देशको नाम लिएका हुन् उनलाई नमान्ने र उनको कमाण्डमा नहिड्नेको नाम लिएका छैनन् । यसले, कामरूप, नेपाल र कर्तिृपुरले समुन्द्रगुप्तलाई मान्दथे भन्दैमा कामरूपदेखि कर्तिृपुरबीच नेपाल थियो भन्ने अर्थ लगाउनु गलत हो । यसबीचका धेरै राज्यहरू समुन्द्रगुप्तलाई मान्दैनन्थे । यसले नेपाल भनिएको देश समुन्द्र गुप्तको समयमा अहिलेको नेपालको आकारमा थियो भन्ने कुरा शतप्रतिशत गलत हो । यस्तो गलत र भ्रमपूर्ण जीकिर गर्ने विद्धान मित्रहरूले ईतिहास र अभिलेखको राम्रो जानकारी राख्नु जरुरी छ ।

दोस्रो कुरा, एउटा पुराणले अर्को पुराणका कुराहरूलाई काट्ने, समय र तिथिमिति नमिल्ने र एकले उल्लेख गरेको नाम अर्को पुराणमा नमिल्ने पुराणहरूको हवाला दिएर पूर्वमा कोसी प्रदेश, पश्चिममा गण्डकी प्रदेश, उत्तरमा गोसाईकुण्डदेखि माथिको नीलकण्ठ हिमाल र दखिनमा पश्चिमी चम्पारण स्थित नटेश्वरको बीचको भूभागलाई देवभूमि नेपाल भनि त्यसबेलाको नेपालको आकार जीकिर गर्नु बुद्धिमानी हुदैन । फेरि उक्त हिमवत्खण्ड अर्थात नेपाल महात्म्यमा उल्लेख गरिएको पूर्वमा कोसी प्रदेश र पश्चिममा गण्डकी प्रदेश भनेको किरातकालीन नेपाल उपत्यका भन्दा अलि वरपर लिच्छवीकालीन नेपालको नेपाल उपत्यका सहितको राज्य हो जस्को सिमा पुर्वमा कोशी नदि अहिलेको दोलालघाटको आसपासको ईलाका र पश्चिममा त्रिशुली गण्डकको आसपास ईलाकासम्म थियो । कोशी र गण्डकी प्रदेश भनेर अहिले बुझिएको कोशी र गण्डकी प्रदेश बुझ्नु हुन्न र बुझाईनु हुन्न । यसले नेपाल पहिले नै अहिलेको आकारमा थियो भन्ने पुष्टि गर्दैन ।

तेस्रो कुरा, लिच्छवी राजा मानदेवको ७८ पंक्तिको चाँगुनारायणको अभिलेखमा आफ्नो बिजयकोबारेमा वर्णन गर्दा पुर्व प्रदेशका विद्रोही सामन्तहरूलाई सवल आक्रमणद्धारा दमन गरी आफ्नो बसमा पारेको र पश्चिममा गण्डकपारी मल्लपुरमा आक्रमण गरी अधिनमा लिएको उल्लेख छ । पुर्व प्रदेश भनेको उहि कोशी नदी अहिलेको दोलालघाट आसपासको क्षेत्र र पश्चिममा त्रिशुली गण्डक पारीको केहि भूभाग मल्लपुरलाई अधिनमा लिएको देखिन्छ । यसले त्यसबेलाको नेपाल अहिलेको आकारको नेपाल थियो भनेर पुष्टि गर्दैन । लिच्छवीकालको नेपालको सिमाभन्दा बाहिर पुर्वी र पश्चिमी भागहरूमा अनगिन्ती सामन्त शासकहरूले स—साना राज्यकोरूपमा शासन गरिरहेका थिए । मानदेव पछि लिच्छवी शासनकालको उक्त राज्य सिमा बाह्रौ शताब्दिको मध्यसम्म कहि टुटेको ईतिहासमा देख्न पाईन्न । यसपछि बाह्रौ शताब्दिको अन्त्यतिर लिच्छवीहरूको पतन पछि अभ्युदय भएका मल्लहरूले सोहि राज्य सिमालाई कायम राखेको देखिन्छ । भादगाउका राजा जगज्योतिर्मल्लद्धारा लेखिएको नरपतिजयचर्याटिका नामक ग्रन्थमा यक्ष मल्लसम्म आईपुग्दा यक्षमल्लले मिथिला जितेर मगधसम्म पुगेका, अनेक पहाडी राजाहरूलाई जितेका, पुर्वमा बंग देश, दक्षिणमा सुरनदी र गयासम्म तथा पश्चिममा गोरखासम्म आफ्नो राज्य बिस्तार गरेको उल्लेख भएको पाईन्छ । तर यक्षमल्लले आफ्ना छोराहरूलाई राज्य भागबण्डा गर्दा कान्तिपुर, भादगाउ, बनेपा र पाटन देखि बाहेक नेपाल खाल्डोभन्दा बाहीरका भूभागहरूको नाम उल्लेख नभएकोले यक्षमल्लले राज्यको सिमा मगध, बंगदेश, सुरनदी, गया र गोरखासम्म पुर्याएको भन्ने कुरा प्रमाणीत गर्न गाह्रो मात्र होईन पुष्टि हुदैन । यक्षमल्लले माथी उल्लेख गरिएको सिमासम्म नै राज्य बिस्तार गरेको मानेमा पनि नेपाल पहिले नै अहिलेको आकारमा थियो भन्ने पुष्टि हुदैन ।

चौथो कुरा, ईतिहासको लामो कालखण्डसम्म अर्थात प्राचिनकाल देखि १९ औ शताब्दिसम्म अहिलेको भारत र नेपालसहितको हिमाली—पहाडी खण्डमा एउटा राज्यले अर्को राज्यलाई अधिनमा लिने, कहिले टुट्ने र नया राज्यहरूको उदय हुने क्रम जारी रह्यो । १६ औ शताब्दिमा कर्णाली क्षेत्रमा खस राज्य बन्यो । त्यसबेला खस र नेपाल राज्य वीच स—साना धेरै राज्यहरूमा स्थानिय राजवंशहरूले राज गरिरहेका थिए । पुर्व र दक्षिणमा मकवानपुर, बिजयपुर, लिम्बुवान भित्र ८ राजाहरू र खम्बुवान किरात भित्र पनि विभिन्न राजाहरूले राज गरिरहेका थिए । पछि, १५÷१६ औ शताब्दिपछि लिम्बुवानका स—साना राज्यहरू र चौदण्डी लगायतका राज वंशहरू बिजयपुर सेन राज्यभित्र समाबेश भए । लिम्बुवान र खम्बुवान किरात क्षेत्रमा आजका पिढी भन्दा अघिल्लो पिढीसम्म नेपाल भनेको काठमाण्डौ उपत्यका भन्ने बुझिन्थ्यो । त्यहाबाट हालको काठमाण्डौ उपत्यकामा जान नेपाल जाने भन्दथिए । यि सबै तथ्यहरूले नेपाल पहिले नै अहिलेको आकारमा थिएन र यो केवल अहिलेको काठमाण्डौ उपत्यकाभन्दा पश्चिम त्रिशुली नदी पुर्वमा कोशी भन्न शुरु गरिने सुनकोशीको आसपास क्षेत्रसम्म थियो भन्ने पुष्टि गर्दछ । नेपाल पहिले नै अहिलेको आकारमा थियो भन्ने पुष्टि हुँदैन ।

एकिकरण या राज्य बिस्तार या दिग्वीजय
नेपाल राज्य त पहिले देखि नै थियो तर त्यो अहिलेको आकारमा थिएन । १८ औ शताब्दिको उत्तरार्धसम्म अहिलेको नेपालको आकार भित्र स्वतन्त्र अस्तित्वमा रहेका अनगिन्ती स—साना राज्यहरू अस्तित्वमा थिए । यहि समयमा यिनै स—साना राज्यहरू मध्ये गोर्खाका राजा पृथ्वीनारायण शाहले असली हिन्दुस्तानी सम्राज्य बनाउने आकांक्षाकासाथ आफुसंग जोडिएका राज्यहरूमाथी एकपछि अर्को आक्रमण गर्दै राज्य बिस्तारको अभियान शुरु गरेको तथ्य हामीसंग छदैछ त्यसको लागी थप प्रमाण जुटाउन परेन । भारत अधिनमा लिएको अंग्रेजको सल्लाह र अंग्रेजसंगै हतियार लिएर यहाका स—साना राज्यहरूमाथी खुनी आक्रमण गरी अधिनमा लिने कार्य अंग्रेजसंग प्रतिरोध गर्न थिएन भन्ने पनि स्पष्ट भईसकेको छ । यसमा एउटा के कुरा सत्य हो भने सबै राज्यहरू आक्रमण गरि गोर्खाले बिजय गरेर नेपालमा मिलाईको होइन । यसमा कतिपय राज्यहरू ति राज्यलाई स्वायत्तता दिने गरि सन्धि सम्झौताबाट नेपाल भनिएको राज्यमा समाबेश गरिएको छ । यसैले, पृथ्वीनारायण शाहको विभिन्न सानातिना स्वतन्त्र राज्यहरूलाई आक्रमण र सन्धिसम्झौताबाट नेपालमा गाभ्ने काम एकिकरण नभएर राज्य बिस्तार तथा उपनिबेश कायम गर्ने काम नै हो भन्ने कुरामा अब विवाद गरिरहनुपर्छ जस्तो लाग्दैन । प्राचिनकालको नेपालको भूभाग (त्रिशूलीदेखि कोशी—सुनकोशी) भित्र टुक्रिएर रहेका विभिन्न राज्यहरूलाई पुन नेपाल राज्यमा गाभिएको भए एकिकरण भन्न मिल्थ्यो । तर यथार्थता त्यस्तो रहेन । यसर्थ, पृथ्वीनारायण शाहको यस्तो कार्यलाई एकिकरण बुझ्नु र देख्नु हाल सत्तामा वर्चस्व रहेका खस बाहुनहरूको गुलामी र दलाली गर्नु देखि बाहेक अरु केहि देखिन्न । गुलामी र दलालीको लागी ईतिहास र तथ्यहरू बंग्याउने र भ्रम दिने काम अनैतिक मात्र होईन वास्तविक ईतिहासका पक्षधरहरूमाथी गद्धारी पनि हुन्छ । यस्तो काम गरिनु हुदैन ।

नोटः यो लेख २०७३ सालमा लेखिएको हो । त्यसबेला लेखकले आफ्नो फेसबुक वालमा पोष्ट गरेका थिए । पृथ्वीनारायण शाहको जन्मजयन्तिलाई कथित राष्ट्रिय एकता दिवसको रूपमा मनाइरहेको सन्दर्भमा आज फेरि सान्दर्भिक भएकाले प्रकाशन गरिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाल राज्यको निर्माण भ्रम र वास्तविकता

नन्द कन्दङवा प्राचिन नेपाल र नेपाल राज्यको निर्माण वर्तमानको राष्ट्र, राज्य, राष्ट्रवाद, राष्ट्रियता र...

‘लिम्बू जातिमा आइरहेको विभाजन रोक्न तुम्याहाङहरू अग्रसर हुनुपर्छ’

सुरेन्द्र फोम्बो त्यसो त कुनै जाति, भाषा वा धर्मको सीमारेखाभित्र सधैँ समाज अडिरहन्छ भन्ने...

पुस २५ मा विराटनरसहित तीन शहरमा जसपाको विरोध कार्यक्रममा

फिपराज बेघा विराटनगर, २४ पुस । जनता समाजबादी पार्टी, (जसपा) नेपालले पुस २५ गतेदेखि...

अरपेको कथा: ‘मलाई परदेश फापेन’

जीवन देवान गाउँले घरको लागि घर छोड्नु, परिवारको लागि परिवार छोड्नु र देशको सिमाना...

अलग अभियानको अलग अनुभूति

इन्द्र नारथुङे “एउटा गीत कालजयी बन्नको लागि गीतकार, संगितकार र गायकबीच घनिष्ट सम्बन्ध हुनुपर्छ,...

लिम्बुवान मञ्चद्धारा प्रतिनिधि सभा विघटनको विरोध प्रदर्शन

दमक, १५ पुस । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले प्रतिनिधि सभा विघटनको...

प्राचिन नेपालको ईतिहासः एक दृष्ट्रि र संसोधन

नन्द कन्दङवा आजसम्म पढिएको नेपालको प्राचिन ईतिहास बंशावलीको भनाई अनुसार दानासुर (बानासुर?) ले नेपाल...

जसपाले पुस १० गतेबाट देशभर विरोध प्रदर्शन गर्ने

काठमाडौँ, ०७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ...

प्रचण्ड–नेपाल समुहका अध्यक्षमा माधव नेपाल चयन

काठमाडौँ, ०७ पुस । प्रचण्ड–नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षमा माधवकुमार नेपाललाई चयन...

जसपाद्धारा प्रतिनिधि सभा विघटन निरङ्कुशताको प्रतिवाद गर्न आग्रह

काठमाडौँ, ०६ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय प्रतिनिधि सभा विघटन गरिनु...