साँस्कृतिक जागरणमा पाँचथरे चलचित्र - Naya Online

साँस्कृतिक जागरणमा पाँचथरे चलचित्र

सन्देश सुब्बा


लिम्बू जातिमा छुट्टै किसिमको न्ययीक परम्परा छ– तुम्याहाङ प्रथा । समाजमा हुने विभिन्न प्रकृतिका बादबिबाद, झैं झगडा र असमझदारीहरुको त्यहीँ समाजका तुम्याहाङ (भद्रभलाद्मी) हरु बसेर न्यायीक फैसला गर्दछन् । यसरी घटनाको छानबिन र फैसला गर्दा उनीहरुले कसैको पनि पक्ष लिदैनन् । निष्पक्ष फैसला गर्दछन् । दुबै पक्षले उक्त फैसलाको पालना गर्नुपर्दछ । तुम्याहाङहरुको फैसला नमान्नेलाई सामाजिक बाहिस्कार गरिन्छ । जतिबेला आधुनिक न्याय प्रणालीको विकास भइसकेको थिएन त्यो समयमा लिम्बू समुदायमा हुने सबै प्रकारका मुद्धा, मामिलाहरुको फैसला तुम्याहाङ प्रणाली मार्फत् गरिन्थ्यो ।

लिम्बू समुदायभित्रको यो मौलिक न्यायीक परम्परालाई उतारिएको छ २९ मिनेटको लघु चलचित्र ‘तुम्याहाङ’ मा । सागर केरुङको लेखन–निर्देशन रहेको उक्त चलचित्रको सम्पूर्ण काम पूरा भए पनि प्रदर्शन हुन भने बाँकि छ । इना क्यासेट एण्ड फिल्मस् प्रालिको ब्यानरमा हर्कप्रसाद केरुङ र हरिलाल तुम्रोकले निर्माण गरेको ‘तुम्याहाङ’ मा इन्द्र तुम्बापो, स्व.हिमालराज कन्दङ्वा, मधु केरुङ, चन्द्रिका सुहाङ, डिआर हाङसरुम्बा, विष्णु तुम्रोक, संगीता तुम्बापो, भावना तुम्रोक आदिले अभिनय गरेका छन् । पाँचथरको सिवा र नवमीडाँडाका विभिन्न स्थानमा छायाङकन गरिएको ‘तुम्याहाङ’ पाँचथरबाट निर्मित पछिल्लो चलचित्र हो ।

सानो बजार अनि सिमित दर्शक । तर पनि पाँचथरमा वर्षेनी चलचित्र निर्माण हुन्छन् । पूर्वी पहाडि जिल्लाहरुमै सबैभन्दा धेरै चलचित्र निर्माण हुने जिल्लामा पर्छ पाँचथर । पाँचथरमा बढि चलचित्र निर्माण हुनुमा यहाँको साँस्कृतिक शौन्दर्य प्रमुख रहेको चलचित्रकर्मीहरु बताउछन् । कला र संस्कृतिको उर्वर भूमिको रुपमा परिचित पाँचथरमा बन्ने चलचित्रहरुले कुनै न कुनै संस्कृतिको उजागर र उत्खनन् गरेकै हुन्छन् ।

‘तोने’ कै कुरा गरौं । सागर केरुङ र अर्चना गुरुङ निर्देशित ‘तोने’ मा गुरुङ जातिको लोप भइसकेको धनुषवाण हान्ने खेल मेतोनेलिफा पर्वको ऐतिहासिक्तालाई उजागर गरिएको छ । गुरुङ भाषामा ‘तोने’ को अर्थ ‘धनुषवाण’ हुन्छ । पृथ्वीनारायण शाहले नेपाल एकिकरणको अभियान थालेसंगै सुरु भएको आदिवासी जनजातिहरुको साँस्कृतिक अतिक्रमणको शिकार गुरुङ जातिको मेतोनेलिफा पर्व पनि बन्यो’ चलचित्रका निर्माता सुजन गुरुङ भन्छन् ‘लोप भइसकेको यो खेल भारतीय सेनामा ‘आर्चरी ओलम्पिक’ को नामले चर्चित खेलकै शैलीको हुन्छ ।’ गुरुङ वस्ती पाँचथरको रानीटारमा छायाङ्कन गरिएको ‘तोने’ मा स्थानीय कलाकारहरुको दमदार अभिनय छ । विभिन्न स्थानमा च्यारिटि सो गरिसकिएको २९ मिनेटको उक्त चलचित्र हेर्ने दर्शकले गुरुङ संस्कृतिलाई खुबै खाच मानेर हेरेको चलचित्रका निर्देशक अर्चना गुरुङ बताउछिन् ।

वि.सं.२०४५ सालमा कमला सुब्बाको निर्माण तथा किसोर सुब्बाको निर्देशनमा लिम्बू भाषा एवं संस्कृतिमा आधारित ‘आनि साक्थीम’ (हाम्रो संस्कृति) पाँचथरमा निर्माण–छायाङ्कन भएको पहिलो चलचित्र हो । त्यसपछि वि.सं.२०४७ सालमा नवीन सुब्बा निर्देशित बहुचर्चित फिल्म ‘नुमाफुङ’ लाई पनि पाँचथरमा छायाङ्कन गरियो । जुन अन्तराष्ट्रिय स्तरमा पुरस्कृत बन्यो । संस्कृतिप्रधान यी दुबै चलचित्रको चर्चा अझै सेलाएको छैन । त्यसपछि २०६० सालमा स्थानीय स्तरमा पहिलो फिल्म निर्माण भयो– अनमोल माया । विवेक रिजालले निर्देशन गरेको अनमोल मायामा म रमा श्रेष्ठ, करुणा मोत्तान, दिनेश श्रेष्ठ, प्रकाश ताम्लिङ आदिले अभिनय गरेका थिए । अनमोल माया संगै बन्यो ‘सपनाकी फूल’ अभिषेक केरुङ र अम्बिका नेम्बाङको मुख्य भूमिका रहेको सपनाकी फूललाई मलिशा याक्थुङबाले निर्देशन गरेका थिए । यी चलचित्रमा पनि संस्कृतिको कुरा उठाइएको छ ।

यी दुई चलचित्र संगै सुरु भएको स्थानीय फिल्म निर्माणको श्रृङ्खला २०६२ मा ‘एउटा कथा’ र ‘भिन्नता’, २०६३ मा ‘परिवर्तन’, २०६५ मा ‘माराम’ र ‘यो दुनिँया’, २०६४ मा ‘अरुणपूर्व लिम्बूवान’, २०६६ मा ‘फुङ्वामा’, २०६८ मा ‘लाजेरेन थोक्ला’ र ‘तलास’, २०६९ मा ‘अजम्बरी हाम्रो माया’ र    ‘अम्लारी फूङ’, २०७० मा ‘जीवन’, २०७१ मा ‘पुङ्साम’, ‘नाहेन’, ‘पालाम्’, ‘तुम्याहाङ’ र ‘तोने’ सम्म आइपुग्दा पाँचथरबाट डेढ दर्जनको संख्यामा चलचित्र निर्माण भइसकेका छन् । यी चलचित्रहरुको मूख्य आधारभूमि पाँचथर र यहाँको साँस्कृतिक शौन्दर्य हो । लोप भइसकेका र लोपोन्मुख अवस्थामा रहेका कला र संस्कृतिको पुर्नजागरण यी चलचित्रहरुको मूख्य उदेस्य रहेको देखिन्छ ।

एउटा सानो बजारमा निरन्तर फिल्म निर्माण हुनुलाई यहाँका दर्शकले स्थानीय फिल्म प्रति देखाएको माया र स्नेहको उपज संगै ती चलचित्रमा उठाइएको साँस्कृतिक पक्षप्रतिको अगाध प्रेम हो भन्छन् निर्देशक किसोर सुब्बा । फिल्म सुटिङकै शिलशिलामा वर्षमा २/३ पल्ट पाँचथर आउँने किसोर भन्छन् ‘यहाँको प्राकृतिक बनावट र सांस्कृतिक पक्षले सहयोगी भूमिका खेलेका छन् ।’ मनै त हो, खुकुरी, माटो जस्ता मूलधारका सफल फिल्मको निर्देशन गरिसकेका किसोर पाँचथरमा बढि चलचित्र बन्नुको अर्को कारण खोतल्छन् ‘डाडाँ, भञ्ज्याङ्, नागी, चउर, टिपिकल वस्ती, खोला–नदी सबै पाइने पाँचथर सुटिङको लागि पनि उपयुक्त छ ।’

यी फिल्ममध्ये ‘माराम’, ‘फुङ्वामा’ र ‘पुङ्साम’ तुलनात्मक रुपमा सफल मानिए । सुर्यप्रकाश चेम्जोङ निर्देशित ‘माराम’मा लिम्बू समुदायभित्रको धार्मिक तथा सांस्कृतिक अन्तरद्धन्दको विषयलाई उठाइएको छ । सन् २०१० मा काठमाण्डौंमा सम्पन्न इन्टरनेशनल इन्डिजिनियस फिल्म फेस्टिवलमा पव्लिक च्वाइस अवार्ड जित्न सफल चन्द्र माङ्मुको ‘फुङ्वामा’ मा भने दश वर्षे द्धन्दको नालीबेलिलाई मार्मिक ढंगले चित्रण गरिएको छ । त्यस्तै १५ मिनेटको लघु चलचित्र ‘पुङ्साम’ मा धनुर्धारी जातिको रुपमा परिचित लिम्बू जातिको पुङ्साम्माङ अर्थात् शिकारी देवको कथा समेटिएको छ । माता पाथीभरा फिल्मस् प्रालिको ब्यानरमा सुरेश शिशिर केरुङ, नरेन्द्रराज केरुङ, कल्पना योङहाङले निर्माण गरेको ‘पुङसाम’ को लेखन/निर्देशन सागर केरुङले गरेका हुन् । उक्त चलचित्रले पनि २०१५ मा भएको इन्टरनेशनल इन्डिजिनियस फिल्म फेस्टिवलमा पव्लिक च्वाइस अवार्ड जितेको थियो ।

त्यसपछि द्धन्दकै सेरोफेरोमा बनेको ‘एउटा कथा’ लिम्बूवान भूमि मुक्तिको प्रशंग उठाइएको ‘अरुणपूर्व लिम्बूवान’ र लिम्बू संस्कृतिमा आधारित ‘लाजेरेन थोक्ला’ ले पनि  राम्रै चर्चा पाए । यता लिम्बू समाजमा प्रेमको प्रतीकको रुपमा लिइने अम्लारी फूङ् अर्थात् सुनखरी फूलको मिथकिय प्रेम कथामा आधारित ‘अम्लारी फुङ्’ विभिन्न स्थानहरुमा च्यारीटि सो   भइरहेको छ । यसले दर्शकको राम्रै हौसला पाइरहेको निर्माण पक्षले जनाएको छ । अर्को लिम्बू तथा नेपाली कथानक चलचित्र ‘हेल्लुक्वा’ व्यवसायीक छलाङ मारिरहेको छ । अन्य फिल्मले पनि लगानी डुवाउनु     परेन, स्थानीय स्तरमा राम्रै चर्चा पाए । ‘यी सबै फिल्ममा धेर–थोर यहाँको साँस्कृतिक फ्युजन गरिएकै छ’ लिम्बू चलचित्रकर्मी संघका केन्द्रीय उपाध्यक्ष चन्द्र माङ्मुले भने ।

स्थानीय तहबाट सिमित लगानीमा बन्ने यी फिल्मका दर्शक पनि सिमित हुन्छन् तर लगानी उठाउँने आफ्नै शैली छ– निर्माता/निर्देशकहरुसंग । हालसम्म च्यारिटि सो त्यसपछिको सार्वजनीक प्रदर्शन र सिडि बिक्रिबाटै लगानी उठिरहेको उनीहरु बताउँछन् । ‘आफ्नै संस्कृति, चिनेकै कलाकार, आफ्नै गाउँघर, खोला–झरना र आफैले हिंडेका उकाली–ओरालीहरु हुन्छन् यी फिल्ममा’ माङ्मु भन्छन् ‘यीनैको मायाले डोर्‍याएर दर्शकलाई हलसम्म पुर्‍याउँछ ।’ यी फिल्मको कथावस्तु पनि आफ्नै किसिमको हुन्छ । पूर्ण व्यवसायीक प्रायोजनकासाथ बनाइएको मूलधारका फिल्ममा जस्तो प्रेम, यौन, र हिंशाका कथा कम्ति भेटिन्छ यी फिल्ममा, न त भेटिन्छ उत्तेजक शैलीको भड्किलो नृत्य र द्धन्दको मिश्रण नै । ‘सकेसम्म समाजको सुन्दर अनि कुरुप पक्षलाई जस्ताको जस्तै उतार्ने प्रयास गरिएको हुन्छ यी फिल्ममा’ लिम्बू चलचित्रकर्मी संघका केन्द्रीय अध्यक्ष तथा ‘माराम’ का लेखक–निर्देशक सूर्यप्रकाश चेम्जोङ भन्छन् ‘त्यसैले यी फिल्मको मूल्य र महत्व बेग्लै छ ।’

आफ्नै लगानी र स्रोत–साधनले बन्ने यी फिल्मलाई राज्यको सहयोग छैन । चलचित्रकर्मी सागर केरुङ राज्यप्रति कटाक्ष गर्छन् ‘कला क्षेत्रलाई प्रोत्साहन दिनुको साटो अनेक बहानामा निरुत्साहित बनाउँन सक्रिय छ राज्य ।’ केरुङको भनाइमा नाफामुखि हिसाबले भन्दा पनि एकात्मक राज्य सत्ताले मूल प्रवाहबाट किनारामा बग्न बाध्य पारिएका आदिवासी जनजातिहरुको कला र साँस्कृतिक पक्षको पुर्नजागरण गर्ने हिसाबले यी चलचित्र बनेका हुन्छन् । त्यसैले लाखौं खर्च गरेर बनाइएका मूलधारका व्यवसायीक चलचित्रहरुसंग यी चलचित्रहरुको तुलना गर्न नमिल्ने उनको तर्क छ । एक हिसाबले भन्ने हो भने विभिन्न जातजातिको मौलिक कला र संस्कृतिहरुको पुर्नजागरण र दस्तावेजीकरण गर्ने उदेस्यले डकुमेन्ट्रि शैलीमा बन्छन् यी चलचिक्रहरु । त्यसैले यी चलचित्रहरु साँस्कृतिक त्रान्तिको एक शशक्त माध्यम समेत हुन् ।

मित्र लिङ्देन, सूर्यप्रकाश चेम्जोङ, सागर केरुङ, चन्द्र माङ्मु,  भगिराज राई, देवजंग थापा, प्रभु कुरुम्बाङ, इन्द्र तुम्बापो, आदि पाँचथरे चलचिक्रकर्मका सत्रिय नामहरु हुन् । त्यस्तै बबिता फोम्बो, मिरा जवेगु, मधुराज केरुङ, चन्द्र लक्सम, गंगा गगन, शान्ता केरुङ, आशा राई, अर्चना गुरुङ, डिआर हाङसरुम्बा आदि पाँचथरका आसलाग्दा कलाकार हुन् । स्थानीयस्तरमा चलचित्र निर्माणलाई व्यवस्थित बनाउन टिम निर्माणको आवस्यकता रहेको कलाकार मधु केरुङ बताउँछन् । ‘लगानीकर्ता, स्क्रिफ्ट लेखक, निर्देशक, कलाकार, क्यामेरामेन लगायतको टिम बनाउन सके वर्षमा दुई देखि चार वटासम्म फिल्म यहीँबाट बनाउन सकिन्छ’ उनले भने ‘चलचित्र पैशाले भन्दा पनि टिमले बनाउने हो ।’

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा

काठमाडौं, २ माघ । विनय कार्की र बिनिता पौड्याल सुवेदीको स्वरमा रहेको गीत जुनि...

डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २ माघ । गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक...

शम्भू फोम्बो लिम्बूको आनिङ्वा सार्वजनिक

काठमाडौं, २ माघ । गायक शम्भू फोम्बो लिम्बूको पहिलो लिम्बू पाःलाम भिडियोमा सार्वजनिक भएको...

‘मोडल हन्ट नेपाल’को आवेदन खुल्ला

काठमाडौं, १ माघ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र...

लक्ष्मी आचार्यको ‘आफ्नै नाम मन पर्यो’ सार्वजनिक

काठमाडौं, २७ पुस । गायिका लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मन पर्यो’ सार्वजनिक...

साँस्कृतिक जागरणमा पाँचथरे चलचित्र

सन्देश सुब्बा लिम्बू जातिमा छुट्टै किसिमको न्ययीक परम्परा छ– तुम्याहाङ प्रथा । समाजमा हुने...

निर्देशक मदन घिमिरे फेरि म्युजिक भिडियोमार्फत आए

काठमाडौं २५ पुस । सफल चलचित्र निर्देशक, चार दशक लामो समय निरन्तर रुपमा चलचित्र...

म्युजिक भिडियोमा ‘छ भने मायाँ मुसुक्क हाँसिलेउ…’

काठमाडौं, २४ पुस । निमा राय क्षेत्रीकोे स्वर, शब्द, संगीतमा तयार पारिएको ‘छ भने...

‘गायक बन्न दोहोरीमा खाना बनाएँ, चौकीदारी गरेँ’ –रविन तेम्वर राई

वि.सं. २०४९ चैतमा भारतको मेघालय सिलोङ्गमा समराज राई र हर्कमाया राईबाट जन्मिएका हुन् रविन...

‘याराक्मा हौ सोल्टिनी….’ गीतको अडियो भिडियो सार्वजनिक

काठमाडौं, २३ पुस । पहिलो नेपाली तारा दीपक लिम्बू र गायक डम्बर नेपालीको स्वरमा...