अजित क्षेत्री
पोखरा, २७ पुस । सगरमाथा साहित्य प्रतिष्ठान नेपालले गत वर्ष आयोजना गरेको विश्वब्यापी नेपाली कविता प्रतियोगिताका सर्बोत्कृष्ट कविलाई नगद पुरस्कार र प्रमाणपत्र प्रर्दान गरिएको छ । आइतबार पोखरामा आयोजित एक विशेष समारोहमा सर्बोत्कृष्ट भएका रौतहटका मनोज विश्वकर्मालाई नगद पचपन्न हजार पाँच सय पचपन्न रूपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा प्रतियोगिताका उत्कृष्ट दश कविलाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको थियो । सर्वोत्कृष्ट कवि, उत्कृष्ट कविहरू र शिव त्रिपाठी, आवाज शर्मालगायत एक दर्जन अतिथि कविहरूले कार्यक्रममा कविता वाचन पनि गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी डा. योगी विकासानन्द, विशिष्ट अतिथिद्वय प्राज्ञहरू वरिष्ठ गायिका तथा कवि हरिदेवी कोइराला र विम्ब कवि रमेश श्रेष्ठ एवम् प्रतिष्ठानका पदधिकारीहरूले प्रतियोगिताका चानिएका कविताहरूको संग्रह “कविताहरूको सगरमाथा” को संयुक्त विमोचन गरेका थिए ।
सगरमाथा साहित्य प्रतिष्ठान नेपाल गण्डकी शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष अमन एकल, महासचिब शाश्वत गोविन्द ढुंगाना, संस्थापक जिपि तिवारी लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तव्य गण्डकी शाखाकी उपाध्यक्ष छन्दिका त्रिपाठी र सन्चालन सचिव लिली अधिकारीले गरेका थिए । कार्यक्रमको सभापतित्व गण्डकी शाखाका अध्यक्ष शम्भु अर्यालले गरेका थिए । कार्यक्रममा करिब डेढसय लेखक साहित्यकारहरूको उपस्थिति थियो ।
पुरस्कार वितरण र पुस्तक विमोचन कार्यक्रमको संयोजक केन्द्रीय सचिव अजित क्षेत्री रहेका थिए । कार्यक्रमको लाईभ प्रसारण पोखराको एभरेस्ट एफएमले गरेको थियो भने युट्युब च्यानल र फेसबुक पेजबाट पनि कार्यक्रम अवधिभरी लाईभ प्रसारण गरिएको थियो ।
कार्यक्रममा बिशिष्ठ अतिथिद्वय हरिदेवी कोइराला र रमेश श्रेष्ठलाई सम्मानस्वरूप संस्थाको आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
पोखरालगायत अन्य ठाउँमा पुरस्कृत व्यक्तित्व र अतिथिहरूलाई खादा, मालाले सम्मान गर्ने प्रचलन भए पनि यश कार्यक्रममा केही नौलो प्रयोग गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा योगि विकासानन्दलाई दोसल्ला र रुद्राक्ष र मन्चाशिन व्यक्तित्व र सम्मानित कविताहरूलाई रुद्राक्ष माला पहिराईएको थियो ।
कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा, पर्वत, पाल्पा, अर्घाखाँची, लमजुङ, बाँके, चितवन, नवलपरासि, झापा, लगायतका जिल्लाका बीस भन्दा बढी साहित्यिक संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।
सगरमाथा साहित्य प्रतिष्ठान नेपालको केन्द्रीय कार्यालय संयुक्त अरब इमिरेट्समा रहेको छ भने यसका केन्द्रीय अध्यक्ष कृष्ण बिश्वकर्मा हुन् । २०६९ सालमा गठन भएको यस संस्थाले बिगतका केही वर्षयता बर्सेनि विभिन्न बिधामा अन्तर्राष्ट्रिय प्रतियोगिता र पुस्तक प्रकाशन गर्दै आईरहेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।