अर्को संस्करणमा भेट्ने वाचाका साथ विदा भए कविकलाकार
राजकुमार लिम्बू, पाँटीगाउँ
भोजपुर, ३ माघ । अनेकौं विषयमाथि गम्भीर वहस, छलफल र तामझामसहित हसनपुर “साहित्य महोत्सव –२०७७“ हतुवागढीको हसनपुरमा बुधबार सम्पन्न भएको छ ।
हतुवागढी –९, हसनपुरको जनसेवा मा.वि.को प्राङ्गणमा हसनपुर कलारसाहित्य प्रतिष्ठान, हसनपुरद्वारा आयोजित दुई दिनसम्म चलेको सो महोत्सवमा विभिन्न विषयमाथि छलफल, प्रतिनिधि गजल तथा कविता वाचन, नृत्य प्रतियोगिता तथा साङ्गितिक साझसमेत रहेको थियो । महोत्सवको पहिलो दिन “नृत्य प्रतियोगिता”, “अक्षर यात्रामा हतुवागढी, हिजो आज र भोलि” माथि प्यानल डिस्कस तथा “हामी र हाम्रा कविताहरू” प्रतिनिधि कविताको रूपमा वाचन गरिएको थियो । अक्षर यात्रामा हतुवागढी, हिजो आज र भोलिको सेसनमा हतुवागढी कलारसाहित्य तथा सास्कृतिक प्रतिष्ठानका अध्यक्ष कृपालसिँ राई, हतुवागढीको साहित्यिक शिर एवं साहित्यसेवी विश्वजित चाम्लिङ राई र हतुवागढीको साहित्याकासलाई नजिकबाट नियालेका कवि तथा साहित्यिक पत्रकार प्रकाश दिप्साली राईले बोलेका थिए ।
कवि तथा गजलकार सन्जाल राई सहजकर्ता रहेको सो प्यानलमा प्रतिष्ठानका अध्यक्ष कृपालससिँ राईले हतुवागढीको साहित्य विकासमा केही काम गरेपनि सस्थाको उदेश्य अनुसार उल्लेख्य काम गर्न नसकेको बताए । आगामी दिनमा त्यसमा आफुहरू गम्भीर ढङ्गले अघि बढ्ने बताए । अर्का वक्ता हतुवागढीको सहित्यिक शीर बिश्वजित चाम्लिङ राईले हतुवागढीको कला र साहित्यको विकासका निम्ति आफुले हदैसम्मको संघर्ष गरेको स्मरण गर्दै हतुवागढीमा साहित्यलाई नयाँ ढङ्गले प्रयोग गर्न खोजेको दावी गरे । उनले थपे हामी सदा नवसर्जक उत्पादनमा लागेका छौँ । यता हतुवागढीको साहित्यलाई नजिकबाट नियालेका कवि तथा साहित्यिक पत्रकार प्रकाश दिप्साली राईले हतुवागढीको साहित्यलाई पात्लेपानी कलारसाहित्य प्रतिष्ठानले आधुनिक चरणमा प्रवेश गराएको बताए । राज्यको लगानी गरेको साहित्यिक कार्यक्रम किन जहिल्यै बिबाद ? उनले गम्भीर प्रश्न तेर्स्याए । हामी हरेक सस्थाले गर्न नसक्ने र आफ्नो क्षेत्रभन्दा बाहिरको जस लिनको निम्ति काम गर्न बाठो टोपलिएर हामी असफल भएको तर्क अघि सारे । भोलिको हतुवागढीले अक्षर यात्रामा के गर्ने ? भन्ने प्रश्नमा पछिल्लो आयाम र प्रयोग आत्मसात गर्नुपर्ने बताउदै नयाँ सर्जकहरूले अपनत्व महसुस गर्ने खालका गतिविधि गर्नु पर्नेमा जोड दिए । उनले थपे र साहित्यिक सस्थाको रूपमा स्थापित भैसके पछि राज्यको मात्र आश गर्न नहुने र हचुवाको भरमा कार्यक्रमहरू पस्कनु भन्दा पहिले आवश्यक छ्लफल गर्नुपर्ने बताए, हसनपुर साहित्य महोत्सव हुदै गर्दा झन्डै ३ पल्ट पुर्वान्चलभरिका सर्जकहरू बिच छलफल भएको बताए ।
त्यसपछिको अर्को सेसनमा “हाम्रा गजल शेरहरू” अन्तर्गतको प्रतिनिधि गजलकारहरूले आआफ्ना गजलहरू वाचन गरे । कवि अर्जुन राई “अपहेलित”ले सहजीकरण गरेको सो शेसनमा किसान राई (सल्ले भोजपुर), विश्वजित राई(पात्लेपानी भोजपुर), अरुण आकाश (रानीबास, भोजपुर), हृदय लिम्बू (धनकुटा), शुक्र आङ्देम्बे “आँशु” (पाटीगाउँ ,मोरङ), अस्मिता भट्टराई (केराबारी मोरङ), अच्युत भट्टराई (बराहक्षेत्र), युवराज ठकुरी (जेफाले, मोरङ) लगायतले आफ्ना गजल शेरहरूले सबैलाई लठ्ठ बनाए ।
दोश्रो दिनको पहिलो सेसनमा कवि पुर्णसन्ध्या समाधीको कविता सङ्ग्रह “टेकेर गुराँसमाथि”माथि अन्तरङ्गबाट सुरु गरियो । कवि तथा गजलकार अरुण आकाशले सहजीकरण गरेको यो सेसनमा स्वयं कवि पुर्ण सन्ध्या समाधी र प्रख्यात कवि मुकुन्द प्रयासले बोले । कवि समाधीले आफुले भोगेको जीवननै कविता रहेको बताउदै आफू कुनै वाद र सिद्धान्तको परिधिमा रहेर कविता नलेखेको बताए । अर्का वक्ता मुकुन्द प्रयासले समाधीको कविताहरू वाद र सिद्धान्तभन्दा बाहिर नरहेको जिकिर गर्दै तर उनको कविताहरू यकिन भन्दा छरपस्ट सिद्धान्तको अङ्गिकार गरेको बताए ।
यो सेसन पश्चात् ‘हामी र हाम्रा कविताहरू’ अन्तर्गत प्रतिनिधि कविहरूले कविता सुनाए । गजलकार तथा साहित्यसेवी विश्वजित राई सहजकर्ता रहेको सो सेसनमा दिपा मंग्राती (हसनपुर), रूपेश कार्की (पात्लेपानी), अर्जुन राई “अपहेलित” (खैराङ), सबिता फागो चोङ्बाङ (बराहक्षेत्र), पुर्ण सन्ध्या समाधि (सिन्द्राङ), प्रदिप योङहाङ (धरान), नवराज विष्ट (चतरा), प्रकाश दिप्साली राई (नडाहा), याक्दुहाङ धिरज (हतुवागढी, हालः बिराटनगर) र मुकुन्द प्रयास (धनकुटा)ले लगायतले समय सान्दर्भिक कविताहरू प्रस्तुत गरे ।
महोत्सवको बिट मरौनी भने यो बेलाका बहुचर्चित गीत “बिनायो कोङ कोङ…“का गायक कृष्णभक्त राईका आकर्षक एकल गायनमार्फत भयो । उनले बिनायो कङ कङ….., नमुछे आमा दहिमा टीका, नराखे जमरा….. लगायत दर्जन बढी आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरे । गीतहरू प्रस्तुत गर्दै गर्दा उनले आफ्ना जीवन भोगाइहरू बताउदा धेरैलाई भावुक बनाए । भने उनीसङ्गै नाचेर उनलाई साथ दिए । साथै पुस्तक प्रर्दशनीमा १५ हजार भन्दा माथिको पुस्तक बिक्री भएको प्रतिष्ठानका कोषाध्यक्ष रुद्र राईले जानकारी दिए ।
नृत्य प्रतियोगितामा तेस्रो नवज्योती सास्कृतिक समूह, प्रमिता राई, पात्लेपानी दोश्रो र अप्सरा राई , हसनपुर प्रथम भए । उनीहरूले पुरस्कारस्वरूप क्रमशः रु.३,०००।–, रु. ४०००।–, रु. ५०००।– प्राप्त गरे ।
कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि संघीय संसद सुदन किराँती थिए भने समापन समारोहका प्रमुख अतिथि हतुवागढी गाउँपालिका प्रमुख प्रेमकुमार राई थिए ।
आफुहरू यो महोत्सव सभ्य र भव्य रूपले सम्पन्न गर्न पाउँदा खुसी लागेको बताउदै कार्यक्रमको दौरानमा भएको कमी कमजोरीलाई सुधार्दै जाने प्रतिष्ठानका अध्यक्ष भोटमान राईले बताए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।