एकरूपैयाको बलगमले दिनभर मेला धान्थेँ –जीवन केदेम - Naya Online

एकरूपैयाको बलगमले दिनभर मेला धान्थेँ –जीवन केदेम

मेरो बाल्यकाल र धाननाच बुझाई
मेरो जन्म ताप्लेजुङ जिल्लाको सान्थाक्रा गाउँमा भएको हो । मेरो आमा सञ्चमाया र बुबा दत्तहाङ केदेम हो ।

गाउँ लिम्बूहरूको घनावस्ती भएकैले सानैदेखि पाःलामको गुन्जयसँगै हुर्किएको हुँ । मेरा गाउँमा अलि बढि नै धान नाच्ने, पाःलाम गुनगुनाउने पनि गर्दथे । मैले पनि सानैदेखि नै पाःलाम गुनगुनाउँदै आएको हो । लिम्बूको संस्कार र संस्कृतिलाई जगेर्णा गर्नुपर्छ भन्ने कुरा सानैदेखि नै लाग्थ्यो ।

पछिल्लो पिढी (आफ्नो समय)मा पाःलाम गाउनु, धाननाच्नु अलि अनौठो मान्ने पनि गर्दथे । त मैले अनौठो मानिनँ । ताप्लेजुङको पुसेनी, थुकेदो, रामनवमी मेला भरिन्थ्यो । त्यहाँ हुने धाननाच देखेर गर्व लाग्थ्यो । म सुनिरहन्थेँ । थुकेदो ताप्लेजुङको चर्चित मेला थियो ।

तर, मैले आफैँ नै गाउने, धान नाच्नेबेलामा चाहीँ माओवादी द्वन्द्व थियो । त्यसैले धान नाच्न नपाउने, पाहुनापात जान नपाउने समय थियो । त्यसैले धाननाच्नभन्दा बढि लगाव खेलतर्फ थियो ।

मेरो घरछेउमा लाग्ने पुसे मेला माइमेलापछिको मेला भन्थे । हराइन्छ भन्थे । म पुसे मेला जान भनेपछि निकैदिन अगाडि नै तयार हुन्थेँ । यस मेलाको लागि धान, कोदो, दालहरू कुटी, थन्क्याईसकेर झर्ने गरिन्थ्यो । मेलामा गर्ने खर्च निकैअगाडि देखि नै जोहो गर्नुपथ्र्यो । धान ओसारेर पैसा जोहो गरिन्थ्यो । मैले ५ रूपैयादेखि खेताला गएको छु । मेलामा फुटबल खेल हुन्थ्यो । खाम्लालुङ, इसिबु, सम्दु, हाङपाङ, चाँगेका खेलाडी आउँथे । म भित्तामा बसेर फुटबल हेरिबस्थेँ । त्यसबेला १ रूपैया पर्ने बल्गम (चुइङगम) ले एकदिनको मेला बिताउँथेँ ।

माध्यमिक तहको पढाई र लाहुर जाने अधुरो इच्छा
म सामान्य परिवारमा हुर्किएको हुँ । तसर्थ मैले राम्रो अध्ययन गर्न पाइनँ । मैले पृथ्वी माध्यमिक विद्यालय खाम्लुङमा माध्यमिक तहसम्ममात्रै अध्ययन गरेको छु । बरु मैले खेलहरूमा रुचि देखाएँ ।

लिम्बू युवाहरूले एकचोटी अनिवार्य लाहुर भिडेकै हुन्थे । मेरो गाउँमा पनि गल्ला थियो । कक्षा ८ पास गरेपछि भर्ति भिड्न पाइन्थ्यो । व्रिटिस आर्मी त हुन सकिनँ । इण्डियन आर्मीको लागि जीआरडी (गोर्खा रेजिमेन्ट डिपार्ट) एक महिना बसेँ । तर मलाई ‘लो ग्रेड’ भनेर फर्काइयो । दोश्रोपटक पनि जीआरडी गएर बसेँ । त्यसबेला भर्ति लाग्छु नै भन्ने ठुलो आशा थियो । तर लाहुर भर्ति मेरो कर्ममै थिएन होला । त्यसबेला भर्ति भएका मेरा साथीहरू धमाधम रिटायर्ड हुँदैछन् । तर मैले केही गर्न नसकेकोले दुःख पनि लाग्छ ।

साम्वेतले वाँदु सिङ्जङ हा?नु
थे वाबे लुङा, इङघङ हा?नु
धान नाच्दा माया बसेका सोल्टिनीहरू पनि थिए । जीआरडीमा रहँदा सोल्टिनीरुलाई सम्झँदै पाःलाम गाउँथेँ ।

तर यता जीवन त भर्ति लागेर गयो भन्ने कुरा सोल्टिनीहरूले सुनेछन् । भर्ति भएपछि हामीलाई बिर्सन्छ होला भन्ने सोचेछन् । भर्ति नलागे फर्कदा छुट्टी आएको लाहुरे नै सम्झेछन् । लाहुरे भएपछि बोलाउँदैनौ होला भन्ने सोचेको भन्थे सोल्टिनीहरू । ‘म त लाहुरे भइनँ नि !’ भन्दा सोल्टिनीहरू पत्याउँदैन थिए । ‘म त सोल्टिनीहरूको मायाले भर्ति छाडेर फर्किआएँ नि !’ भनेर जिस्क्याउँथेँ ।

ऊबेला इण्डियन आर्मीहरू छुट्टी आउँदा हरियो बाकस भरियालाई बोकाएर आउँथे । मैले पनि त्यस्तै सोच्थेँ । सम्पर्कको माध्यम चिठी मात्र थियो, भर्ति भएपछि सोल्टिनीहरूलाई चिठी लेख्छु भनेर कल्पना गरेको थिएँ । तर, कल्पना कल्पनामै सिमित रह्यो ।

बेलायत र इण्डियाको लाहुरे नबनेपछि मलेसियाको रोजगारमा
भर्ति नलागेपछि के गर्ने ? पढ्न त छाडिसकेको थिएँ । देशमा द्वन्द्ध चलिरहेको थियो । युवाहरू धमाधम वैदेशिक रोजगारमा लाग्दैथिए । त्यसबेला नेपालमा नयाँ वैदेशिक गन्तव्यको लागि मलेसियासँग सम्झौता गरेको थियो । लाहुरे नभएकैले होला, मेन्छ्या (तरुनी)हरूले पनि पत्याएनन् । तसर्थ पैसा ठूलो कुरा रहेछ भनेर विसं २०५८ सालमा मलेसिया पुगेँ ।

नेपाल हुँदा आफ्नो संस्कार संस्कृतिको उती ख्याल थिएन । तर विदेश गएपछि माया पलाउँदो रहेछ । गाउँघरको याद आउने, विवाह, बर्खान्त (मृत्युपश्चात गरिने संस्कार), मेलापातमा सोल्टिनीहरूसँग धाननाचेको, चलेको, जिस्किएको, पानीले भिजाएको आदि सम्झना आउँथ्यो ।

पाहुना जाँदा सोल्टिनीहरूले राडीमुनी सिस्नु राखिदिन्थे । जुत्ताभित्र पनि सिस्नु हालिदिन्थे । तोङ्बाको पिपाभित्र नुनखोर्सानी राखिदिने, गर्दथे । मेलामा सोल्टिनीहरूसँग धान नाचेपछि छुट्नै गाह्रो हुन्थ्यो । खाम्लालुङ, साँघु, फाकुम्बाको सोल्टिनीहरू धेरै थिए । ति कुराहरू मलेसियाको कम्पनीमा मेशिन चलाउँदा याद आउँथ्यो । नेपाल फर्केर थुकेदो मेलामा पुराना कुराहरू सम्झदै धान नाच्ने कुरा कल्पन्थेँ ।

अप्ठेरो भीरको काउलो खायाँ
साम्मेत्तुम चुम्से, नौलो माया

नौमती बाजा दुङदुङ ल?रे
उन्छोन्बा माया सुमसुम ल?रे
यस्तै पाःलाम गुनगुनाउँथे बस्थेँ । यसरी बस्दैजाँदा मलेसियामा तीन वर्ष बितेको थाहै भएन ।

मलेसियाको सेलाङ्गर राज्यमा क्यानोन, डेल कम्प्युटरको पार्टस् बन्ने कम्पनीमा म काम गर्दथेँ । ठूलो मेसिनमा एक्लै काम गर्नुपथ्र्यो । कम्प्युटरको पार्टस्को काम गर्दा त्यसको कण (रे)ले मानिसलाई असर पु¥याउने भएकोले सिसाभित्र बसेर काम गर्नुपथ्र्यो । त्यसरी एक्लै बस्दा पाःलाम गुनगुनाउन पुग्थेँ । कहिलेकाँही कम्पनीको बोस आउथेँ । पाःलाम अनौठो लाग्थेछ । रोएजस्तो सुन्थेछन् । अनि बोसले किन रोएको भनेर सोध्थे । मैले पनि गाउँमा चिनजानको मृत्यु भएछ र विलौना गरेको भनिदिन्थेँ । बोस गएपछि एक्लै हाँस्थेँ ।

बिर्सिजाने सोल्टिनीहरूलाई भुलाउने श्रीमती पाउँदा
लाहुरे नभएपछि मलेसिया जाँदा सोल्टिनीहरूले त बिर्सिपठाएछन् । फर्केर आउँदा त सबैको विवाह भइसकेका थिए । भेट हुँदा त नानी पो देखाउँथे । त्यसैले नचिनेको, नजानेको सँग मागी विवाह गर्नुपर्यो ।

मागी विवाह गर्दा फाइदा पनि भयो । धान नाचेको सोल्टिनीहरूसँग पहिले नै झगडा पो पथ्र्यो । अर्को सोल्टिनीसँग धान नाच्दोरैछौ, चिठी लेख्दोरैछौ भनेर कराइरहन्थे । अनि झगडा पथ्र्यो । अपरिचितसँग विवाह गर्दा त्यो सोधखोजको कुरै आएन । एकअर्कालाई बुझ्न समय लाग्दालाग्दै समय बितिगयो । त्यसपछि त व्यावहारिक भइहालियो ।

मेरो बुबा पनि अत्यन्तै धान नाच्ने मान्छे हुन् । धाननाच्दा कहिलेकाँही बाबुछोरा सँगै पनि परेका छौं । बुबा निकै राम्रो पाःलाम पनि गाउँथे ।

प्रतियोगितामा भिड्न भरत बाजेको उक्साहट
पाःलाम प्रतियोगिता हुँदैछ भन्ने कुरा थाहा थिएन । मलेसियामा हुने मेरो साइनोले बाजे पर्ने भरत केदेमले प्रतियोगिता बारे जानकारी दिए । ‘पहिले राम्रो गाउथ्यौं, तिमीले पनि भाग लिनुपर्छ’ बाजेले भने । तर मेरो आँट आएन । ‘यहाँ त खुँखार खुँखार पाःलाम गाउनेहरू आउलान्, मैले गाउँदा त लाज होला’ भनेको, ‘जस्तो भए नि गाउनुपर्छ’ भनेर बाजे अडिग भए । त्यसपछि गाएर पठाएँ, पछि त फक्ताङलुङ चरणमा पो पुगेछु । त्यसपछि चाहीँ गाउनुपर्छ भन्ने लाग्यो ।

पाःलाम लिम्बूहरूको हो । लिम्बूबाहेकले गाउन सक्दैनन् । धान नाच्नु त हातसमातेर घुम्नु हो । त्यो सबैले सक्छन् र तर पाःलाम सबैले गाउन सक्दैनन् । पाःलाम हराउन दिनुहुँदैन भन्नेमा म अडिग पनि छु । र, पाःलाम गाइरहन्छु । साथसाथै नेपाली गीत पनि गाउने गर्छु । संगीतसम्बन्धि धेरै ज्ञान त छैन । संगीतकारहरूले डो¥याएको खण्डमा नेपाली गीत गाउनेछु ।

मलाई यो स्थानसम्म ल्याउनुहुने याक्थुङ कल्चरल ग्रुपले आयोजना गरेको विश्वव्यापी पाःलाम प्रतियोगितालाई विशेष धन्यवाद दिन चाहन्छु । अनि मेरो पाःलामयात्रामा विशेष साथ दिनुहुने बेलायतनिवासी रीता फोम्बो ठूलीप्रति आभार प्रकट गर्दछु । उहाँले मेरो पहिलो पाःलाम रेकर्ड गरिदिनुभयो । उहाँले सल्लाह दिइरहनुहुन्छ । त्यसैगरी बेलायतमै रहनुहुने शान्ता केरुङले दोश्रो पाःलाम रेकर्ड गरिदिनुभएको छ । अनि मेरो श्रीमतीले अहिले हौसला दिइरहेकी छिन् । भरत केदेम, भीम इधिङ्गो, तुला नेयोङ, खगेन्द्र चोङबाङप्रति सम्झना प्रकट गर्दछु । उहाँहरूले प्रत्यक्षअप्रत्यक्ष रूपमा मलाई सहयोग गरिरहनुभएको छ ।

प्रस्तुतिः देवेन्द्र खापुङ लिम्बू

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सरिता लिङ्देनको रचनामा अर्को गीत सार्वजनिक

काठमाडौ १९ फागुन । पछिल्लो समयकी चर्चित गायिका अनु चौधरीको स्वरमा नयाँ गीत सार्वजनिक...

ताप्लेजुङमा बृहत साँस्कृतिक कार्यक्रम

काठमाडौ १९ फागुन । आगामी बैशाख २४ देखि जेष्ठ ४ गतेसम्म सञ्चालन हुने बृहत...

झापामा छोटा चलचित्रहरू बन्दै

मोरङ, १९ फागनु । कोरोना भाइरस कोभिड १९ को कारण ठप्प भएको नेपाली चलचित्र...

लिम्बुवानी गीतको छायांकन सम्पन्न

फेदेन, १६ फागुन । लिम्बुवान भुमि सँग सम्बन्धित लिम्बू भाषाको गीत सुवाङ लाजे?इन् लिम्बुवान...

दुर्गा इङ्नाम र शिवकुमार सम्बाहाम्फेको ‘उन्छोन्बा एन्हा…’ सार्वजनिक

काठमाडौं, १६ फागुन । शान्ता केरुङको रचना र लयमा नयाँ पाःलाम ‘उन्छोन्बा एन्हा…’ सार्वजनिक...

रोहित मादेनले ल्याए मिक्लारेन कोम्हा?

काठमाडौं, १६ फागुन । रचनाकार तथा कलाकार रोहित मादेनले पाःलाम ल्याएका छन् । इन्द्रसुशिल...

भीमसागर मादेम्बाको मेयङलुङ बसैमा

काठमाडौं, १६ फागुन । गायक भीमसागर मादेम्बाले तेह्रथुमको आञ्चालिकतालाई झल्काउने गीत मेयङलुङ बसैमा… सार्वजनिक...

‘एलआइसी नेफ्टा फिल्म अवाड्र्स’को तयारी तिब्र

काठमाडौं १५ फागुन । नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजनामा...

एक दशक पछि घमेश दुलालको “बनमा खयर”

काठमाडौं, १४ फागुन । लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वदनमा लागि...

‘कबड्डी’को चौँथो सिक्वेल ‘द फाइनल म्याच’ निर्माण हुने

काठमाडौँ, १४ फागुन । सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ...