काँडाको फुल - Naya Online

काँडाको फुल

सन्जित फलना

गोधुली साँझको पहेँलो खस्दै गरेको फाल्गुनन्द चोकको सडकमा बस झ्याप्प रोकियो । बाहिर सिमसिम पानी परिरहेकोले सहचालकले ढोका उघार्दा बाछिटा हुरुरु सिटभित्र छिर्यो । उसले एकएक गर्दै यात्रुहरूलाई ओराले । सबै यात्रुहरू आआफ्नो सरसामान बोक्दै बसबाट छिटछिटो ओर्ले । म पनि डिकीबाट ब्याग झिकेर ढोकाबाट बाहिर निस्किएँ । पानीले सडक चिप्लो बनाएको थियो । निस्कनुबित्तिकै बाछिटाले भेटाईहाल्यो । म हतारहतार एउटा होटलतिर दौडिएँ ।

“दाई !” कसैले हतारमा बोलाएझैँ लाग्यो । यसो पछाडि फर्केर हेरेँ ।

हातमा बालक बोकिरहेकी एकजना बहिनी सडकमा दुइवटा ब्यागहरू बिसाएर उभिरहेकी थिइन् ।

“यो झोला उ याँ परसम्म बोकिदिनुस न !” –ओँठभरि आसाको मुस्कान फिजाउँदै उनले मलाई आग्रह गरिन् ।

त्यतिखेरै सहचालकले ढोकामा “ढ्याप ढ्याप” गरेर ड्राईभरलाई हिँड्ने संकेत गर्यो । ड्राईभरले हुइँई गाडी हुइँकायो । बसको चक्काले सडकको हिलो उछिट्याएर ति बहिनीको लुगाभरि लाग्यो । मैले केहि नबोली उनको छेउ गएर ब्याग उठाएँ । ब्याग निक्कै गह्रौँ थियो । पानी अझ जोडले पर्न थालेकोले ब्याग बोकेर छिटोछिटो होटलतिर लागेँ । उनी पनि दगुर्दै मेरो पछिपछि आईन् ।

मैले होटलको एउटा टेबलमा ब्यागहरू राखेँ । अनि भिजेको टाउको र कपडाहरू पुछेँ । उनी पनि टेबलमा बसेर नानीलाई बर्कीले गुम्स्याउन थालिन् । त्यसपछि घोप्टिएर अघि गाडीले भिजाएको लुगा पुछि । हेर्दा भर्खरको जस्तो देखिने ति बहिनीले साधारण कुर्ता सुरुवाल लगाएकी थिइन् । कपाल खज्मजिएर भुङ्ग उडेको थियो । पानीले भिजेर सिउँदोमा सिन्दुर लत्पतिएको थियो । न त अनुहार मा कुनै श्रृङ्गार थियो न त गलामा कुनै गहना नै । हातमा भने कुनै धामको चिनोजस्तो एउटा पुरानो डोरी बाँधेकी थिई । समग्रमा एक साधारण गाउँले केटी देखिन्थिन् ।

“अनि कहाँबाट आएकी बहिनी चैँ ?” जिज्ञासु हुँदै सोधेँ ।

उनले मलाई पुलुक्क हेरि अनि घोप्टिँदै जवाफ दिई –“माथि स्यावाबाट ।”
“ए अनि कतासम्म हिँडेको नि?” –भित्र होटलतिर हेर्दै फेरि सोधेँ ।
“यैँ सम्म आको ।” नानीको भिजेको लुगा फेरिदिँदै उनले विस्तारै जवाफ फर्काई ।
साँझ ढलेर झमक्क अध्याँरो हुँदै थियो । सडकछेउको बिल्डिङहरू काला–काला देखिन थालिसकेका थिए । बिल्डिङका वरपर तन्किएको बिजुलिका तारहरूमा बसेर भिजेका प्वाँखहरू फट्कार्दै चराहरू कल्याङमल्याङ गरिरहेका थिए । पानी जोडजोडले पर्न थालेकोले बाहिर सवारी र मान्छेहरूको भीड कम हुँदै जाँदै थियो ।

“अनि अब कता जान्छौँ ?” मैले फेरि सोधेँ ।

उनले अघिकै जसरी मलाई पुलुक्क हेरेर घोप्टिइन् । तर यसपल्ट मेरो प्रश्नको उत्तर दिइन् । त्यत्तिकैमा उनको नानी रुन थाल्यो । उसले संकोच मान्दै अर्कोपट्टि फर्किएर कुर्ता सुर्किइन् अनि नानीलाई दुध चुसाईन् । मैले साहुजीलाई एकप्लेट थुक्पा र दुइकप चिया मगाएँ । साहुजीले भित्र किचनतिर फर्केर कामदारलाई अर्डर दियो । एकैछिनमा एकप्लेट थुक्पा लिएर एकजना कामदारले हाम्रो अघिल्तिर राखिदिए ।

“दाई चिया बन्दैछ । एकैछिन पर्खिदिनुस है ।” यति भनेर त्यो कामदार किचनतिरै लाग्यो ।

“ल बहिनी चिसो छ यो थुक्पा खाउ ।” मैले सहृदयी हुँदै बहिनीलाई भनेँ । उनले थुक्पा खान अफ्ठ्यारो मानि । तर मैले कर गरेपछि भने उनले नखाई धर पाईन । एकैछिनमा चिया पनि आईपुग्यो । उनको अघि एक कप राखिदिँदै एक कप आफैले पिउन थालेँ । चिसोमा चियाको चुस्किले भित्रसम्म तताईदियो । चिया पिइसकेपछि मैले बिल तिरेँ ।

त्यतिन्जेलसम्म झमक्कै अँध्यारो भइसकेको थियो । बाहिर लगभग पानी रोकिने छाँटकाँट थिएन । भोलिपल्ट बिहानै संखुवासभा जानुथ्यो मलाई । त्यैँ भएर आज राती यहिँ होटलमा बस्ने निर्णय गरेँ ।

“खै त मेरो जवाफ दिइनौ नि ! अब कता जान्छौ भनेको ?” –मैले फेरि सोँधे ।
“थाहा छैन !” –यति भनेर उनले अघिकै जसरी टाउको निहुराईन् । उनको यस्तो उत्तरले मलाई एक्कासी सिरिङ्ग बनाईन् । साथसाथै आश्चर्यचकित पनि । झरीमा रुझेर दमक रातको झिलिमिलि बत्तिहरूमा जसरी खुल्न चाहिरहेको थिएन, त्यसरी नै खुल्न चाहिरहेकी थिइनन् उनी पनि मेरो सामुन्ने ।

“अनि यहाँ कसलाई भेट्न आएको त ?” मलाई जसरी पनि रहस्य खोतल्नु थियो ।

“म त काम खोज्न आको दाई । बरु मिल्छ भने यहाँ साहुजीलाई भन्दिनु न !” उसको यस्तो उत्तरले यसपल्ट भने मलाई नमिठो झट्का लाग्यो । के भनुँ के नभनुँ भयो । एकमनले त उनलाई त्यहिंँ छाडेर भागुँजस्तो नि भयो । तर मेरो स्वाभिमान र पुरुषार्थले रोकिएँ । अर्को कुरा मलाई उनीबारे थप जान्न इच्छा बढ्यो । त्यसपछि मैले आज यहिँ होटलमा बस भनेर खान र बस्न ब्यवस्था मिलाईदिएँ ।

राती सँगै खाना खाईौँ । त्यसपछि उनको ब्याग बोकेर साहुजीले देखाएको कोठातिर लागेँ । उनी मेरो पछिपछि आईन् । साहुजीले हाम्रो लागि दुइवटा कोठा देखाईदिनु भएको थियो । मैले एउटा कोठामा उनको ब्यागहरू राखिदिएँ । उनले ब्यागबाट तन्नाहरू निकालेर नानीको निम्ति ओछ्यान बनाईन् । अनि कम्बल र डसनाहरू पनि निकालिन् । मैले सब टुलुटुलु हेरिरहेँ ।

“तपाईँलाई दुःख भयो है दाई?” –उनले कृतज्ञता ज्ञापन गर्दै भनिन् ।

“के को दुःख हौ!गर्न सकेको त गरिहाल्छु नि !” –मैले भनेँ । उनी नानी सुताउने तर्खर गर्दै थिइन् ।

“अनि ज्वाईँ चैँ खै त?” –मलाई उनको बारे जान्ने हुटहुटी बढेकोले मुख खोल्न मन लागिहाल्यो ।

उनले एकपटक मेरो अनुहार पुलुक्क हेरिन् अनि लामो सास तानेर सब बेलिबिस्तार लाउन थालिन् ।

+++

सानैमा बुबा बितेर आमाले दुःखले हुर्काएकी फुङ्मालाई गाउँमा सबैले फुङ् भन्थे । फुङ् फुलजस्तै सानैबाट राम्री थिइन् । तर अनुहार राम्रो भएपनि नियति राम्रो हुन सकेन फुङ्माको । पाँच कक्षा पढेर विद्यालय जान पाईनन् उनी । कारण थिए उनका भाईबहिनी । आमाले मेलापात र गाईबाख्रा भ्याउनुपर्ने भएकोले सानो भाईबहिनीहरू हेर्नुपर्ने जिम्मा उनको हुन्थ्यो । भाईबहिनी हरूको राल सिँगान पुछिदिनदेखि दिशापिसाव सोहोर्नेसम्म काम उनैले गरिन् । बेलाबेला भाईबहिनी बोकेरै उनी घराधन्दाको काम पनि भ्याउँथिन् । सानैबाट मिजासिला र बोलक्कड कमलीलाई गाउँलेहरूले खुबै फुक्र्याउँथे । उनले बिस्कुट र चाउचाउको लागि भाईबहिनीलाई घरमा सुताएर गाउँलेहरूलाई धेरैपटक काम सघाईन् ।

यसरीनै हुर्किन् फुङ्मा । दुःखहरूसँग खेल्दै । नियतिसँग जुद्द्दै घरि स्कुसको झ्याङसँगै जेलिन्थि उनी घरमा । घरि लहरासँगै जेलिन्थि जङ्गलमा । आफुले पढ्न नपाएपनि भाईबहिनीले भने राम्रोसँग पढ्न पाओस् भन्ने सोच्थि उनी । भाईबहिनीहरू आफै हिँडडुल गर्न सक्ने भएपछि भने आमालाई मेलापातको काममा सघाउन थालिन् । बिहानै उठेर एकभारी घाँस ल्याउने दैनिकी हुन्थ्यो उनको । त्यसपछि भने घरको काम र मोर्चा बनाउन सरसामान जुटाउन लाग्नुपथ्र्यो । सप्तमी बजारमा हरेक शनिबार मोर्चा बेच्न जान्थिन् उनकी आमा । आमालाई मोर्चा बनाउन सघाउँदासघाउँदै बिस्तारै मेलापात नि आफै गर्न सक्ने भइन् । त्यहिँ दशमी मेलामा पहिलोपटक भेटेकि थिइन् मणीलाई ।

मणी अर्थात डोरमणी बस्नेत । घर फुएँताप्पा । फुएँताप्पाबाट एउटा थोत्रो बाईक चढेर लगभग हप्तैपिच्छे बजार आउँथ्यो उ । बजारमा मर्चा बेचिरहने फुङ्मालाई एकोहोरो देखेपछि मनपराउन थाल्यो । अनि सोल्टिनीको साईनो गाँसेर मर्चा किन्ने निहुँ गर्दै बिस्तारै नजिकियो । मिठो गफ गर्न थाल्यो । मणीले घरमा सानो खुद्रा पसल छ त्यहाँ लगेर मोर्चा बेच्छु भन्दै भन्थ्यो उनलाई । फुङ्मा पनि बैसको उकालो टेक्दै थिइन् । सप्तमी बजारमाथिको फुङ्सेन डाँडाँहरूजस्तै पुक्क पुक्क उठ्न थालिसकेको थियो उनको छाती । एँसेलुजस्तो रसिलो हुन थालेको थियो उनको अधर । कोहि केटाले जिस्काउँदा भित्र कताकता काउकुति हुन थालेको थ्यो उनलाई । उनलाई त्यसरी पहिलोपटक खेदो गर्ने मणी नै थियो । सुरुसुरुमा त मणीलाई उनले खासै मतलव गरिन् । तर एकोहोरो भेटघाट र बोलचालले भने अलिअलि प्रभाव पार्न थाल्यो । कसैसँग नलजाउने उनलाई आफैसँग लाज लाग्न थाल्यो । त्यसै बोलक्कड र सोझी उनी कतिखेर मणीको मायाजालमा परिन् थाहै पाईनन् ।

त्यसपछि उनीहरूको माया सप्तमीको साँघुरो बजारहरूमा नआँट्ने भयो । फुङसेनको खुला डाँडाँहरूजस्तै फराकिलो बन्यो । फक्ताङलुङजस्तै अग्लियो । फुङ्माको आँखाले बजार आउनबित्तिकै सबैभन्दा पहिले मणीलाई खोज्थ्यो । मणीको हालत पनि उहीँ । भर्खर सत्र पुगेकी उनलाई आफुभन्दा तीन वर्ष जेठो मणीले एकदिन अचानक भगाउने प्रस्ताव राख्यो । उनलाई एक्कासी यस्तो प्रस्तावले झसक्क झस्कायो । आमा र भाईबहिनीले के भन्ला भनेर सोचिन् । दुःख बुझेकी उनले आफु पढ्न नपाएनी भाईबहिनीलाई पढाउने खुब धोको राखेकी थिइन् । कम्तिमा उनले आमाको दुःखलाई आधा नै हल्का गरेकी थिइन् । अर्को कुरा यो सब एक्कासी भइरहेको थियो । त्यै भएर मणीको प्रस्ताव उनलाई ठट्टाझैँ लाग्यो ।

तर प्रारब्ध र लेखान्तले मान्छेलाई डोर्याउँछ क्यारे । या त परिस्थिले यसरी गुजार्छ । आफ्नो नाम लेख्नमात्रै जानेकी उनले भाग्यमा के लेखिएको थियो बुझ्न सकिनन् । त्यहीँ अन्जान भाग्यले डोर्याएर एकदिन उनलाई मणीको घर पु¥याइछाड्यो । खासमा त्यो दिन छिट्टै मर्चा बेचेर घर फर्कने सुरसारमा थिइन् फुङ्मा । मणीले बजारबाट अलि परको चौतारीमा भेट्न बोलायो । थुन्से ओखरबोटे बोजुकोमै छाडेर चौतारीमा गइन् उनी । लगभग आधाघण्टा गफ गरेपछि मणीले उहिँ प्रस्ताव गरेर हत्ते गर्न थाल्यो । फुङ्माले धेरै इन्कार गरिन् । तर बिचमा बलियो भएर उभिदियो माया । अन्तत मणीको जिद्दिअघि उनको केहि जोर चलेन । मोर्चा बेचेको आठ नौ सय झोलामा थियो । त्यहिँ बोकेर उनी सुटुक्क मणीसँग ‘फाच्चा’ हिडिन् ।

यस्तो माया र बिस्वासले खुसि भएर फुएँताप्पा पुगेकी उनलाई पहिलो गाँसमै ढुङ्गो पर्यो । घर भित्र्याउनको साटो सासुको अस्विकारले उनी छाँगाबाट खसेजस्तै भइन् । एक त लिम्बुनी । अर्को कुरा भर्खर सत्र वर्षकी । उनले सासुबाट भेट्नु नभेट्ने बचन खेपिन् । जहाँबाट आई त्यतै फर्किने धम्किसमेत पाईन् । तर ससुरा र मणीले जे भयो सकियो भनेर बिस्तारै सम्झाउँदै गएपछि भने उनको चर्कोपना अलि मत्थर भयो । फुङ्माले घरमा प्रवेश त पाई तैपनि एउटा न एउटा बहाना बनाएर दिनमा सासुबाट बचन पाएकै हुन्थिन् । उनी एकैछिन बस्न पाउँथिन घरमा । गाईभैँसी र खेतबारी उनकै जिम्मामा हुन्थ्यो । खुद्रा पसलको गफ त्यसै फकाउन गरेको रहेछ मणीले । मणीसँग बिहे गरेर खुसि हुनको साटो दुखी बनेकी उनलाई माईतबाट नि आमाले खुब नराम्रो भनेछ ।

त्यसको अनुहार पनि हेर्न नपरोस् भन्दै मुर्मुरिदै आमा रोएको खबर उनले एकदिन बजार जाँदा ओखरबोटे बोजुबाट सुनिन् । काम गर्न नभ्याएर मोर्चा बेच्न पनि छोडिछ उनकी आमाले ।

सासुको मन नफर्केसम्म बच्चा नजन्माउने सोच थियो उनको । मणीसँग नि त्यस्तै सल्लाह गरेकि थिइन् । तर एउटै ओछ्यान भएपछि कहिले हो कुन्नि पेट बसिहालेछ । मासिक रजस्वला हुन हप्तादिन अघिबाट उनलाई अचानक चक्कर लाग्न थाल्यो । टाउको नि दुःखेजस्तो भयो । सुरुमा त उनले कामको चाप र पिरले होला भनेर मणीलाई केहि पनि सुनाईनन् । तर हुनुपर्ने समयमा पनि रजस्वला नभएपछि भने मनमा चिसो पस्यो । अनिमात्रै सुनाईन् मणीलाई । मणीले रवि बजार घुम्ने बहाना बनाएर जाँच गर्न लग्यो । डक्टरले फुङ्माको पिसाव प्रेग्नेन्सी किटमा हालेर जाँच गर्यो । छाती र गुप्ताङ्गको अलि माथिसम्म जाँच गर्यो । अन्तत फुङ्मा दुइजिउकी भएको प्रमाणित भयो । बाँसको टुक्राजस्तो देखिने त्यो प्रेग्नेन्सि किटमा दुइवटा रातो धर्का बसेको रहेछ । यसरी दुइवटा धर्का बस्दा पेट बसेको हुन्छ भन्ने पहिलोपटक जानिन् फुङ्माले । अब उनीहरूलाई फसाद पर्यो । जेनतेन आँट गरेर मणीले बच्चा फाल्ने राय सुनायो । तर डक्टरले पहिलो बच्चा यस्तो गर्न दिएन । त्यसपछि निरास भएर उनीहरू घर फर्के । घर फर्कुन्जेल आपसमा केहिपनि बोलेनन् । दुबैको अनुहार निरासाले रातो भएको थियो ।

बिस्तारै फुङ्माको पेट बढ्न थाल्यो । घरपरिवार र छिमेकी सबैले थाहा पाए । पेट बोकेर एकदुइ महिनाबाट मणीको स्वभाव भने एक्कासी बद्लिन थाल्यो । उ फुङ्मासँग झर्किन र रिसाउन थाल्यो । घरको काम सघाउन छाडेर बाहिरबाहिर डुल्न थाल्यो । घरमा एकमात्र सहारा भन्नु नै मणी थियो उनको लागि । उसले नै यसो गरेपछि नलाग्नु दुःख लाग्यो फुङ्मालाई । तर दुःख मानेर नि के गरोस बिचरीले । उनले यसलाई नि नियति नै सम्झेर जबरजस्ति पचाउन थालि । पछिपछि त बानी लाग्यो । उनी एक्लै भएको बेला घरमा खुब रुन्थिन् । बेलाबेला भित्तामा टाउको नि ठोक्काउथिँन् । उनको निदारमा कालोकालो खत प्रष्ट देखिन्थ्यो ।

पुसको चिसो महिना उनले बच्चा जन्माईन् । सुरुमा त झण्डै परानै गएको थियो । धन्न फर्किन् । छिमेकी दिदी र भाउजुहरूले खुबै सहयोग गरे उनलाई । कार्कीनि दिदीको माया र सहयोग बिशेष अतुलनिय थियो । तेलले टाउको सेकाई दिनेदेखि कपाल कोरिदिनेसम्म काम उनैले गरिदिइन् । मणी बाहिर बाहिर हिड्थ्यो । त्यतिबेलै हो उनलाई पहिलोपटक लोग्नेमान्छेहरूसँग घृणा लागेको ।

छोरो जन्मेको खबर उता माईतमा पनि पुगेछ । तर उताबाट कुनै प्रतिक्रिया आएन । आमाको मन दुःखाएकोमा उनलाई हिनताबोध भयो । भाईबहिनीको खुब याद आयो । दिमागमा माईतघर नाच्न थाल्यो । नानीलाई दुध चुसाउँदै बालापन र गाउँघर सम्झिन थालिन् । दमाली साथिहरूसँग घाँसदाउरा गरेको याद गर्न थालिन् । बिगतका फ्ल्यास ब्याकहरू एकएक गर्दै आँखाअघि उघ्रिन थाल्यो । तर छोराको मायाले ति सब सम्झनाहरू दुर गरिदियो ।

छोरो एकदुइ महिनाको भएपछि उनले पहिलेजस्तै काम गर्न थालिन् । भ्याएको बखत खेताला नि धाउँथिन् । सम्भावित दुःख सम्झेर यसरी अलिअलि पैसा बनाउन थालिन् । मणी प्रायः दिनैजसो गाउँ डुल्थ्यो । र, साँझ मातेर आईपुग्थ्यो । उनलाई लोग्नेको छेउ पर्न मन त पर्थेन तर एउटै ओछ्यान मणीले कतिखेर खुट्टा चढाईहाल्थ्यो । तर यसपटक भने फेरि पेट बोकिने डरले फुङ्मा सजग र चलाख भएकी थिइन् ।

यसरी नै बित्यो एक बर्ष । दुःखसुखजस्तो खुसी बाँढेर । सुखसुखजस्तो दुःख बाँढेर । समग्रमा अलि बढि पीडा थपेर ।

अब त उनलाई लोग्नेको खासै वास्ता नि लाग्न छाडेको थियो । उनी घाँसदाउरा गर्दा जङ्गलमा चराचुरुङ्गिहरूसँग गुनगुनाउँथिन् । खेतबारीमा खोल्साखोल्सिहरूसँग सुसेल्थिन् ।

उनको लागि चौतारी र देउरालीहरू सबैभन्दा प्रिय थिए । जहाँ बिसाउँथिन् उनी उच्छवासहरू । मनको भारीहरू । उ घाँसदाउरा बिसाएर ति चौतारीहरूमा घण्टौँ टोलाउथिन् । सरसर चल्ने बतासहरूमा केस फिजाउँथिन् र आफैलाई स्फुर्ति भएजस्तो भान गर्थिन् ।

चौतारीमा टोलाउँदाटोलाउँदै एकदिन कसरी हो कुन्नि उनलाई घर छाड्ने मनसाय भयो । हतारहतार घर आईन् । अनि स्थिति बुझ्न थालिन् । लोग्ने सधाझैँ गाउँमै हुन्थ्यो । ससुरा र सासु आआफ्नै काममा ब्यस्त । उनले त्यसरात खाना खाईसकेर सब सुस्रेधन्दा सकिन् । अनि कोठामा पसेर खेताला गरेर जमाएको पैसा झिकिन् । लगभग पाँच, छ हजार भएको रहेछ । ठिक त्यहिँ रातचैँ मणी घर आएन । उनले ब्यागमा आफ्नो, अनि छोराको सब कपडाहरू ठीक पारिन् । डसना र तन्नाहरू अर्को ब्यागमा ठीक पारिन् । त्यसरात उनलाई निद्रै परेन । छटपटी र उकुसमुकुस भइरह्यो उनको मन । धन्न दुइबजे निद्रा पर्यो । बिउझँदा साढे चार बजेको थियो । आधाघण्टाजत्ति उनी ओछ्यानमै ढल्किरहिन् । जाडोको बेला प्रायः मान्छेहरू अबेला मात्रै उठ्थे । पाँच बजेपछि भने उठेर नानी अनि ब्यागहरू बोकेर हतारहतार रवितिर लागिन् । बाटोमा धन्न कसैले देखेनन् । रवि पुग्दा साढे ६ बजेको थियो । रविमा बिहानको खाजा खाईन् । लगभग सात बजेपछि दमकको बस आईपुग्यो । हतारहतार ब्यागहरू चढाएर सिटमा बसिन् । साढेसाततिर बस हिड्यो । झ्यालबाट रविको डाँडाकाँडा, धुपिसल्ला र तुँवालोले हल्का छेलिएको मधुरो फक्ताङलुङ हेर्दै उनी दमक झरिन् । उनलाई कतिखेर दमक पुगुँमात्र भइरहेथ्यो । तर सडक निर्माण हुँदैगरेकोले चारघण्टाजत्ति माङमालुङ जङ्गलमा बाटो जाम भयो ।

+++
उनले आफ्नो कहानी सुनाईरहँदा कतिबेला हो कुन्नि आँसु चुहिएको पत्तै पाईन रैछ । मैले रुमाल दिएँ । उनले रुमालले आँसु पुछी । उनको त्यस्तो हृदयबिदारक कहानीले मलाई मर्ममै प्रहार गर्यो । र, पुरुष हुनुको हिनतावोध नि भयो । त्यसपश्चात भोली काम खोजिदिने आश्वासन दिँदै आफ्नो कोठामा लागेँ । अनि दमकको साथी मिलनलाई कल गरेर सबै सुनाएँ । गोर्खाली चोकमा उसको भर्खरै खोलेको एउटा ग्यारेज थियो –विलर्स एम्पाईर । संयोगले एकजना खाना बनाईदिने कामदार चाहिएको रहेछ । मैले उसँग बिहानै बहिनी भेटाईदिने कुरा गरेर ओछ्यानमा पल्टिएँ ।

बिहान ति बहिनीलाई मिलनसँग भेटाएर खाँदबारीको गाडी चढेँ । बाटाभरि ति बहिनीको अवोध र शान्त अनुहार झलझली याद आइरह्यो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुक्कुमलुङ विवादसम्बन्धि धरानबाट पनि ध्यानाकर्षण

धरान, २८ चैत । ताप्लेजुङस्थित मुक्कुमलुङको नामाकरण विवादबारे धरानबाट पनि ज्ञापनपत्र बुझाएको छ ।...

अमेरिकाको होपी जनजाति

विरही काइँला होपी सुन्दरी १ फरवरी २०२० सम्मको संयुक्त राज्य अमेरिकाको संघीय मान्यता प्राप्त...

कुलुङ किन ‘राई !’ होइन ?

निनाम कुलुङ ‘मंगले’ हुन पनि हालसम्म कुलुङ जातिलाई नेपालका धेरै जसो जातजाति वा भनौं...

के हुन सक्ला लिम्बुवानको राजनीति ?

मलिसा याक्थुङ्बा लिम्बू संविधानतः सबैभन्दा पहिले ‘लिम्बुवान’ भन्ने प्रदेश स्थापनाका लागि नै कांग्रेस र...

ताप्लेजुङस्थीत मुकुम्लुङ अतिक्रमणविरुद्ध चरणवद्ध आन्दोलनका घोषणा

ताप्लेजुङ, २२ चैत । आदिवासी याक्थुङ (लिम्बु) समुदायको ऐतिहासिक आध्यात्मिक स्थल मुक्कुमलुङलाई अतिक्रमण गरी...

‘साहित्यमा आदिवासी सौन्दर्य लेख्ने मिसनमा छौं’

वर्तमान परिदृश्यमा आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको स्थापनाले के अर्थ राख्छ ? उत्तमकुमार सुनुवार, उपाध्यक्षः...

सुखान्त कथाले भरिएको उपन्यास ट्रान्जिट

सविता फागो चोङ्बाङ ‘ट्रान्जिट’को पाना पल्टाउनु अघि मैले सानो प्रसंग जोड्नैपर्छ । अनि मात्र...

‘नेतृत्व दाबीका लागि आत्मविश्वास दिलाउनु हाम्रो अभिभारा हो’

आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ स्थापनाको औचित्य के हो ?   राजन मुकारुङ, अध्यक्ष: ‘नेपाली समाजमा...

अमेरिकाको ५ सर्वश्रेष्ठ राज्यहरू

विरही काइँला संयुक्त राज्य अमेरिकामा पचास वटा राज्य, एउटा संघीय जिल्ला, पाँच प्रमुख स्वशासित...

हाम्रो जनजीवनका कविताहरू ‘टेकेर गुराँसमाथि’

प्रकाश दिप्साली राई पछिल्लो समय हतुवागढीबाट एकपछि अर्को कविहरूको आगमनको क्रम जारी छ ।...