१६ कि खम्बु कि १० ‘राई !’ ? - Naya Online

१६ कि खम्बु कि १० ‘राई !’ ?

निनाम कुलुङ ‘मंगले’

हुन त कसैले ‘तपाई भनोस् कि नभनोस् आफैँ मपाईं !’ भने जस्तो हुन्छ । किनभने, यो पंक्तिकारले पछिल्लो केही वर्षदेखि नेपालबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिका र अनलाइन न्युज पोर्टललगायत मिडियाहरू (फुटकर लेख रचना) मा किराती महाजातिभत्रका विभिन्न उपजाति मानिएकाहरू मध्ये ‘राई !’ जात वा जाति होइन भनी लेख्दै आएको छ । तापनि सरकारले नेपालका आदिवासी जनजाति भनी ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८’ अन्तर्गत सूचीकृत गरेको ५९ आदिवासी जनजातिको सूचीमा ‘राई !’ जातिको सूची पनि रहेको छ । तर, जत्ति पटक ‘अकबरी सुन !’ ले कसी लगाउन खोजे तापनि सुरुमा ‘राई !’ शब्दले नेपालका कुनै पनि जात वा जाति जनाउँथेन । किनभने, ‘राई !’ शब्दको व्युत्पत्ति ‘राय’ हो भने ‘राय’ शब्दले कर्णाली भेगमा ‘राजा’ जनाउँथ्यो ।

इतिहास नै हेर्ने हो भने पनि ‘राय’ वा ‘राई’ शब्दको प्रयोग सेन शासनकालभन्दा पर गएको देखिदैन । हुन पनि सेनकालमा हालको ‘प्रधानमन्त्री’ वा ‘मन्त्री’सरहको ‘राय’ पद पाएका बुद्घिकर्ण ‘राय’ अहिले तेह्रथुम जिल्लामा पर्ने छ–थर भेगका एक थरी लिम्बुहरूको वंश वा भनौं पूर्खा भएको प्रमाणित भएको छ । यसरी इतिहास हेर्दा असलियतमा ‘राई !’ कुनै जात वा जाति नभएर ऊ वेलाका (शाह राजाहरू र श्री ३ महाराज/राणा) शासकहरूले नेपालको भगौलिक एकीकरणपछि पूर्वमा एकै रहेको किरात भूगोललाई समेत फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाए । साथै ती भूगोलका किरातीका सन्तान स्थानीयस्तरका पहुँचवाल र हुनेखाने थिए, उनीहरूलाई स्थानीयस्तरका राजा वा शासक बनाउन विभिन्न पदवी र पगरीहरू सिर्जना गरे । जस्तै वल्लो किरातका कोईँच (सुनुवार) लाई ‘मुखिया’, माझ किरातका कुलुङ लगायत १६ खम्बुका सन्तानहरूलाई ‘राय’/‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी/पगरी दिईयो । यस्तो पदवी/पगरी पाएका मान्छेहरू वा उनीहरूका सन्तानलाई ‘जिम्मुवाल/जिम्मावाल’ अथवा ‘तालुकदार/तालुकी’ पनि भन्ने गरिन्छ । पछि गएर त बाहुन, क्षेत्री, गुरुङ, मगर, माझी, दनुवार, नेवार लगायत नेपालका विभिन्न जातजातिका हुनेखाने मानिसहरूले पनि यस्तो ‘मुखिया’, ‘राय’/‘राई’, ‘सुब्बा’ पदवी वा भनौं पगरी पाउन थाले । ऊ वेला त्यस्तो पदवी वा पगरी पाएका मानिसहरू र तिनका सन्तान–दर सन्तानहरूलाई अहिले पनि फलानो ‘जिम्मुवाल/गाउँघरमा जिम्मावाल’ अथवा ‘तालुकदार’ भनी सम्बोधन गर्ने प्रचलन हटिसकेको छैन ।

स्मरण रहोस्, ‘मुखिया’, ‘राय’/‘राई’, ‘सुब्बा’ पदवी/पगरी पनि धेरै खालका हुन्थे । जस्तै ५ पगरी, ९, पगरी १२, पगरी १६ पगरी, २० पगरी हुँदै ५२ पगरीसम्मको ठूलो ‘पदवी/पगरी’हरू थिए । यस्तोे ‘पदवी/पगरी’ पाएका ‘राई’का सन्तानहरू काठमाण्डौमै पनि प्रशस्तै भेटिन्छन् । ‘सुब्बा’ पनि सानो ‘सुब्बा’ (बडा दसैँको महानवमीको दिन मौलोमा बोका मात्रै मार हान्न पाउने), ठूलो ‘सुब्बा’ (जसलाई मौजे सुब्बा भनिन्थ्यो) मौलोमा राँगा मार हान्न पाउने ‘सुब्बा’ । अमाली ‘सुब्बा’ (कानुन मात्रै हेर्ने ‘सुब्बा’ । यस्तो ‘सुब्बा’को छोरो पूर्व प्रमुख जिल्ला अधिकारी मञ्जुल कुमार याक्थुङ्बा हुनु हुन्छ । त्यस्तै माथि नै एक प्रसंगमा भनियो कि, पछिल्लो समयमा नेपालमा जुनसुकै जात वा जातिका मानिसहरूले पनि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ पदवी वा पगरी पाएका थिए । त्यसरी जुनसुकै जात वा जातिका मानिसहरू ‘मुखिया’ हुने क्रममा खोटाङ जिल्लामा रोका क्षेत्री पनि ‘मुखिया’ भएका थिए । थप पुस्टिका लागि हेर्नुहोस्, हरि रोकाको २०६० मा हिमाल खबरपत्रिकामा प्रकाशित एक लेख ।

किरातीहरूको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावली अनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावली अनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावली अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्य उर्पm काले राईका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरूले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए । यसबाहेक एसियाको विभिन्न क्षेत्रहरूमा किरातीहरूले शासन चलाईआएका थिए । हालको भारत र नेपालका भू–भागहरूमा नै पनि किरातहरूको अनेक संंप्रभु सम्पन्न राष्ट्रहरू अस्तित्वमा थिए भन्ने गरिन्छ । तर, आजभोलि भने, किराती महाजातिभित्रका १६ खम्बुका सन्तानहरू धेरै जसो नेपालका अन्य जात वा जातिहरूमाझ ‘राई !’ भनी चिनिन थालेका छन्, जुन कुरो माथि नै पनि उल्लेख भएको छ । लाग्छ अब उनीहरू सबै ! आफ्नो असली जातीय स्वपचिान बुझेरभन्दा पनि भीडको राजनीति गर्न (संख्या देखाएर राजनीतिक फाइदा लिन/दिन) आफूहरू ‘राई !’ भएका छन्, कुलुङ लगायत अरुहरूलाई पनि ‘राई !’ नै बन्न बलजफ्ती गरी रहेका छन् । जस्तै उदाहरणका लागि विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिका रूपमा तथ्यांकमै आई सकेका कुलुङ जाति लगामयत अन्य १२ जातिलाई पनि कथित् ‘राई !’ जातिमा गाभ्ने असफल प्रयास गर्ने गर्छन्/गरी रहेका छन् । त्यसैले भीडको जमात देखाएर राजनीतिक नियुक्ति लगायत अन्य फाइदा लिन पल्केका राईवादी कामरेडहरू ‘१० चुला, १० राई !, १० खोला’को सुनको कसी पनि लगाउन खोज्छन्, ती कामरेडहरूलाई साँच्चै जातीय स्वपहिचान स्थापित गर्ने, भाषा, धर्म, रीतिथिति, संस्कार, संस्कृति, रहनसहन, भेषभुषाको सम्बद्र्धन गर्ने आत्मनिर्णयको अधिकार लागू गर्ने, समतामूलक समाज निर्माण गर्ने चाहना भएको भए, समानुपातिक समावेशीताको चाहना भएको भए राईवादी कामरेडहरूले निश्चय नै कुलुङ लगायत राईकरणको मारमा परेका १६ खम्बुका सन्तानहरूलाई जबरजस्ती ‘राई !’ बन भन्ने थिएनन् होला ! तर, हाम्रो भनाइ (कुलुङ समुदायका अगुवाहरू) को भनाइ के मात्रै हो भने, अब हामी विगतमा शासकहरूले दिएको ‘राई !’ पदवी वा पगरीलाई होइन, ‘सके कुलुङ आदि भनेरै जिनिऊँ, नभए १६ खम्बुको चिनारीमा जाऔं, त्यसो पनि नभए, उसो पनि नभए जो कोहीले आ–आफ्नो आत्मनिर्णयको अधिकारको प्रयोग गरौं’ भन्ने हो । स्मरणीय के छ भने, आत्मनिर्णयको अधिकार भन्दैमा कुलुङ जातिका अगुवाहरूले ‘हामी कामी हौं, कुलुङ होइनौं !’ भनेका छैनौं । त्यसैले हालसम्म थाहा नभएर, रहरले, वाध्यताले अथवा जोर–जबर जस्तीले हामीले आफ्नो नामको पछाडि ‘राई !’ भन्दै वा लेख्दै आएको भए तापनि अबदेखि जो कोहीले आ–आफ्नो आत्मनिर्णयको अधिकारको प्रयोग गरौं । त्यही भएर ‘राई ! हुने/लेख्न चाहनेहरू ‘राई !’ नै लेख्नु होस्, त्यसमा हाम्रो विरोध वा विमति छैन, थिएन । त्यस्तै राईवादी कामरेडहरूले पनि हामी (कुलुङ) लाई हाम्रो आफ्नो असली जातीय स्वपचिान ‘कुलुङ’ भनी चिनिन दिनु होस् भन्ने हो । त्यसैले आगामी १२ औं जनगणनामा हामीलाई ‘कुलुङ’ लेख्न दिनु होस् भन्ने हो । सत्य तीतो नै भए तापनि यहाँ एउटा सत्य–तथ्य ओकल्नैपर्ने हुन्छ । तीतो सत्य ओकल्नु पर्दा विसं २०६८ को ११ औं जनगणनामा नेपालका अन्य जातजातिहरू जस्तै कुलुङ लगायत १२ वटा जातिहरू जो जानेर वा नजानेर त्यस अघिको तथ्यांकमा भने ‘राई !’ जातिमा गाभिएका थिए, उनीहरूको तथ्यांक पनि अन्य जातजातिहरू जस्तै अलग्गै जातिका रूपमा आउँदै थियो । सो कुरो चाल पाएर राईवादी कामरेडहरू (खास गरी कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एक एनजिओका हर्ताकर्ताहरू) ले उखर–माउलो गरी वाधाविरोध गरेका थए । त्यसका बाबजुद पनि कुलुङ लगायत १२ वटा जातिको तथ्यांक प्रकाशित भएको थियो ।

त्यसो त अहिलेसम्म पनि ‘राई !’ के हो ? जात वा जाति हो कि, पदवी/पगरी मात्रै हो ? भन्ने बारेमा नेपालका मै हुँ भन्ने ईनेगिनेका बुद्घिजीवी, विश्लेषक, लेखक, प्रा., डा., प्राडा, …विद, …विज्ञ भनिनेहरू समेत प्रस्ट छैनन् । वास्तविकता यस्तो भएपछि जानाजान ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ र ‘मालइन्फर्मेसन’ दिने नेपालका पत्रकारहरूलाई त के नै भन्नु र ? त्यसैले त उनीहरू ‘सुझो न बुझो टिकी ट्याँस्–ट्याँस !’ भनेझैँ एक जाति ‘राई !’ २८/२९ भाषी ‘राई !’ भनी ‘सुगा रटाई !’ गरेर समाचारहरू दिई रहेका छन्, लेखहरू छापिई रहेका छन् ।

माथि एक प्रसंगमा भनिएकै छ कि, ‘राय’/‘राई !’ शब्द बढीमा सेनकालखेखि मात्रै हालको प्रधानमन्त्री वा मन्त्री जस्तै पद वा पगरीको रूपमा प्रयोगमा आएको हो । साथै शाह–राणाहरूको शासनकालदेखि नेपालमा केही सीमित व्यक्ति (मुख्खेली) हरूले मात्रै आफ्नो नामको अघि नै (हाल प्रधानमन्त्री केपी शर्मा ओली वा भूतपूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ भने जस्तै) ‘राय’ भुपालसिंह ‘ज्यमी’ भनी लेख्थे । साथै यो ‘राय’/‘राई !’ शब्द पञ्चायती व्यवस्थामा मात्रै ढाक्रे/रैती दुनियाँ ! (सर्वसाधारण जनता) ले आफ्नो नामको पछाडि लेख्न पाएका थिए, भूमिसुधार ऐन–०२१ गाउँगाउँ, टोलटोलमा व्यापक रूपमा लागू भएपछि ।

हुन त यो देशमा ‘राई !’ मात्रै नभएर उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बडागुरु ज्यु, गुरु ज्यु, पण्डित, बैठके, हुक्के, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मान्छेहरू पनि प्रशस्तै थिए । तर, पनि किन ‘राई !’ पदवी वा पगरी बाहेकका यी उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बडागुरु ज्यु, गुरु ज्यु, पण्डित, बैठके, हुक्के, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मानिसका सन्तान, दरसन्तानहरूले चाहिँ आफ्नो ‘जात’ वा ‘जाति’ उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बडागुरु ज्यु, गुरु ज्यु, पण्डित, बैठके, हुक्के, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि हो भनी लेखेनन् होला ? यस विषयमा पनि नेपालका समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्रीहरूले खोज–अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

धेरैले थाहा थाहा पाएर/थाहा भएर पनि केही थाहा छैन भनेझैँ गर्छन् । नत्र भने त ‘सबै जातको फूलबारी’ नामक किताबमा डोरबहादुर विष्टले लेखेका छन् ‘–…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने ‘राई !’ हरूलाई मर्का पथ्र्यो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज हुँदा धेरै जसो ‘राई !’ हरू नै खुशी …. ।’ त्यस्तै चाल्र्स म्याकडग्लसले पनि ‘द कुलङे राई’ नामक किताबको ठाउँठाउँमा ‘–… राई … द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर/वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । …’, ‘द राई … किपट ओनर/ओवनर…’, इन दोज डेज राई मेन्ट/मिन्ट चिफ एन्ड वाज नट डायग्नोस्टिक अफ ग्रुप मेम्बरशीप …, भनी लेखेका छन् । साथै सन् २००७ को ‘विश्व आदिवासी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा औपचारिक कार्यक्रम सकिएपछिको प्रश्नोत्तर–उत्तरमा यो पंक्तिकारले ‘वास्तवमा राई जात वा जाति होइन, राईलाई जाति मान्दा २२ भन्दा बढी किरातीहरूको जातीय स्वपहिचान र अस्तित्व मेटिन आँटेको छ !’ भनी कुरो राखेको थियो । लगत्तै चलेको दिवा भोजमामा भोजपुर जिल्लाको बोया गाउँका डा. शिवकुमार राई मेरो समीप आएर ‘भाइ, तपाईले साह्रै रामो प्रश्न उठाउनु भयो, किनभने, मेरा बाबु पनि ठूला राई थिए । भूमिसुधार ऐन लागू भएपछि जग्गा–जमीन रैती/ढाक्रेको नाममा गर्नुपर्ने भयो । तर, मेरा असली ‘राई !’ बाबुले म पो ‘राई !’ यी मेरा रैती/ढाक्रेहरू कसरी ‘राई !’ भनी बबाल गरेका थिए । भनी बताएका थिए ।

नढाँटीकन भन्नु पर्दा कुलुङ जातिका अगुवाहरूले ०५७/५८ देखि नै कुलुङ जाति नेपालका अन्य जातिसरह अलग्गै जाति वा समुदाय हुन्, ‘राई !’ होइनन् भन्दै आएका हुन् । किनभने, कुलुङ जातिको ऐतिहासिक भूमि अर्थात् उत्पत्ति–थलो महाकुलुङ, हामी भन्ने भावना, पूख्र्यौली हाँगाबिँगा, वंश–परम्परा, मौलिक भेषभुषा, मौलिक संस्कार, संस्कृति, परम्परागत कानुन, चाडपर्व, गरगहना, चालचलन आदि छ भने, कुलुङ जातिभित्रै ३८० भन्दा बढी थर, उपथरहरू छन्, त्यसैले कुलुङ–कुलुङबीचमै एकआपस्तमा विवाहवारी चल्ने गरेको छ । स्मरण रहोस्, ०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ भाषा वक्ता संख्याचाहिँ ३३ हजार १७० जना रहेको छ । सोही आधारमा नै केन्द्रीय तथ्यांक विभागले आगामी १२ औं जनगणनामा पनि कुलुङ जातिलाई अलग्गै जातिगत कोड–६२ र भाषागत कोड–२९ उपलब्ध गराएको छ है, राईवादी कामरेडहरू !

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कोरोना संक्रमणबाट विहिबार २०३ जनाको मृत्यु

काठमाडौँ, ३१ बैशाख । कोरोनाभाइरस संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...

मधेसीहरूलाई भ्रममा पारी धोका दिने र आफ्नो स्वार्थपूर्ति गर्ने काम नहोस् -उपेन्द्र यादव

काठमाडौँ, ३१ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुलमुद्दालाई वर्तमान सरकारले...

पुरानै क्याबिनेटका मन्त्रीहरू सम्मिलित मन्त्रिपरिषद् गठन

काठमाडौँ, ३१ बैशा । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले...

अल्पमतको प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण आज

काठमाडौँ, ३१ बैशाख । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण...

गण्डकीमा विपक्षी गठबन्धनको प्रयास असफल भएपछि गुरुङ नै मुख्यमन्त्री

काठमाडौं, २९ वैशाख । राष्ट्रिय जनमोर्चाका दुई सांसदले धोका दिँदा गण्डकीमा विपक्षी गठबन्धनको सरकार...

जनता समाजवादी पार्टीका नेताहरू आन्तरिक छलफलमा

काठमाडौंँ, २९ बैशाख । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरू निरन्तर आन्तरिक छलफलमा छन्...

२४ घण्टाभित्र नेपाल प्रहरीको सक्रियतामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं, २८ वैशाख । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ सय...

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप

काठमाडौँ, २८ बैशाख । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । उपत्यकाका...

लिम्बुवान कतातिर ?

मलिसा याक्थुङ्बा लिम्बू नेपाल सरकारका तत्कालिन शाहवंशी राजाहरूसँग गरिएको सन्धि र तिनले दिएको ताम्रपत्रबाट...

बालुवाटारबाट मन्त्रीपरिषदको आकस्मिक बैठक आव्हान

काठमाडौँ, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।...