आदिवासी संहार कि सांस्कृतिक संहार ? - Naya Online

आदिवासी संहार कि सांस्कृतिक संहार ?

शंकर लिम्बू

१. विकासमा साम्प्रदायिकता कुरा घुसाएर अवरोध गरियो ।
२. कोसीमा ढुङ्गा (खुवालुङ फोरेर) पानी जहाज चलाइन्छ ।

यी माथिका दुई भनाई प्रधानमन्त्री केपी शर्मा ओलीको हो । अघिल्लो भनाई राजधानीका नेवाः समुदायको संस्कृति गुठी तथा घरबास उठीबास लगाउने गरी गैरन्यायीक सडक बिस्तार गर्ने कार्य र खोःना (खोकना) मा ७ वटा परियोजना जनपद,  सशस्त्र प्रहरी परिचालन गर्दा पनि समुदायले आन्दोलनको भरमा चित सरकारलाई पारेको थियो । सोही अवस्थामा श्री सर्वोच्च अदालतको फुलबेन्च र पछि बृहत् फुलबेन्चबाट पनि सरकारले विकासको नाममा कानूनविपरीत बहुलठीपुर्ण काम गरेको भनी सरकारलाई हराई दिएपछि प्रधानमन्त्रीले आवेगमा आई दिएको अभिव्यक्ति हो । पछिल्लो चाँही विराटनगरमा शक्ति प्रदर्शनका क्रममा दिएका अभिव्यक्ति हो ।

हालको प्रधानमन्त्रीमात्र होइन तात्कालिन चुनावी सरकारका अध्यक्ष सर्वोच्च अदालतका पूर्व प्रधान न्यायधीश खिलराज रेग्मीको क्वाटर बालुवाटारमा सुर्खेतको काँक्रेबिहारमा बुद्धको प्रतिमा स्थापना गर्न नदिई जिल्ला प्रशासन कार्यलयको प्रांगणमा वेवारिसे तरिकाले फालिएको विषय लिएर डेलिगेशनमा जाँदा सो विषयलाई कुनै महत्व नदिई त्यस ठाउँमा कतिघर त सन्यासीहरूको छ हैन र ? भन्ने प्रश्न गर्नुभयो । हामीलाई लाग्यो वहाँको अगाडि बुद्ध धर्मप्रतिको जनआस्थाको कुनै अर्थ रहेनछ ।

राजाको पालामा भए सरकार प्रमुखको हैसियतले ओलीको उपरोक्त भनाईहरु महानवाणी हुन्थ्यो । प्रधानमन्त्रीहरूको भनाइले राज्यले आदिवासीलाई हेर्ने र गर्ने ब्यवहार के कस्तो छ भन्ने प्रष्ट्याउँछ। राज्यको व्यावहारको परिणाम हो बुङा द्यः (रातो मछिन्द्रनाथ) को गुठी र संस्कार मास्ने खुवालुङ फुटाउने, मुकुमलुङलाई अतिक्रमण गरी कमाउने धन्दा बनाउने, झापामा आदिवासीहरूको चिहान भत्काउने कामलाई प्रतिनिधिमुलक घटनाको रुप लिन सकिन्छ । पछिल्लो समयमा विकास निर्माणको नाममा यस्ता अतिक्रमणकारी कार्य भएका छन् । यस्ता कार्यलाई आदिवासी बिरुद्धको संस्कृतिक संहार (Cultural Genocide) वा आदिबासी बिरुद्धको जातीहत्या (Genocide against Indigenous Peoples) भनी अन्तराष्ट्रिय कानूनले मान्दछ ।

केहो जातिहत्या (जेनोसाइड) ?
Language policy in the United States, A History of Cultural Genocide भन्ने लेखमा Eduardo Hernandez–Chavez ले संयुक्त राज्य अमेरिकाको इतिहासमा स्वेतहरूको हैकमबाद (White Hegemony) कायम गर्न आदिवासी (Native) अन्य समुदायको संस्कृति मास्ने र सेताहरूको अंग्रेजी संस्कृति र भाषा जबरजस्ती लाद्ने कार्य गरियो । स्थान नाम परिबर्तन गरी अंग्रेजी संस्कृतिक नाम राखियो त्यो कार्य मानव अधिकार हनन् (United Nations General Assembly 1948b and 1966) हो । अझ, यो जनसंहार (जेनोसाईड ) अन्तरगत नै पर्दछ (United Nations General Assembly 1948a । (Linguistic Human Rights: Tove Skuntnabb Kangas edit., 1995, Library of Congress P. 141–158) यस परिभाषालाई हेर्ने हो भने अमेरिकामा जस्तै नेपालमा एकलजाती हैकमबाद (Mono–caste hegemony) वा एकलजातीय प्रभुत्व वा हालीमुहाली गर्न नै आदिवासीका सांस्कृतिक भूमी हडप्न हिन्दु संस्कृतिमा आदिवासी संस्कृतिलाई विलयन गर्ने गरिएको हो भन्न सकिन्छ । चाहे त्यो पछिल्लो समयमा याक्थुङ लिम्बूहरूको मुन्धुमी स्थल मुकुमलुङ/सेमुक्तो मुक्तोबुङलाई पाथीभरा देवी बनाएको, छुमे ग्याजालाई मुक्तीनाथ बनाएको वा धिमालको कारीकोसीलाई काली मन्दिर बनाएका विषय नै किन नहोस् ।

पछिल्ला समयमा आदिवासी जेनोसाईडको रूप फेरिएको छ । अहिले तथाकथित विकासका नाम दिएर सांस्कृतिक थलो अतिक्रमण गर्ने काम गरिएको छ । त्यो उदाहरण खुवालुङ फुटाउने प्रधानमन्त्रीको योजना वा फाष्ट ट्रयाक स्मार्ट सीटीलगायत ७ वटा योजना ल्याएर खो:ना (खोकना) र बुङा (बुङ्मती) सिध्याउने काम नै किन नहोस् । यस्ता कार्यले भूमिसँगै यस भूमिका भूमिपुत्रलाई सिध्याउदछ । यसोभन्दा विकासबिरोधीको संकथन प्रहार गर्छन् । कानूनीरूपमा बुझ्नु पर्ने कुरा के हो भने खुवालुङ साधारण ढुङ्गा होइन यो त किरातीहरूको कोसी नदीमा त्यस्तो सांस्कृतिक लालपूर्जा (Cultural Entitlement) हो । जसलाई मालपोत कार्यालय वा उद्योग मन्त्रालय वा जलस्रोत मन्त्रालयको कागजी पूर्जा र लाइसेन्सले सदर गर्न सक्छ बदर गर्न सक्दैन । कानूनतः संस्कृतिक थलोहरू (आस्थाका स्थल, खोला पोखरी, पानी वन जंगल, पडाड, हिमाल आदी) भूमिको परिभाषा भित्र पर्दछन् । चाहे त्यो शेर्पाले पुज्ने चोमोलुङमा होस् वा याक्थुङले पुज्ने फक्ताङलुङ् होस् ती तिनै समुदायको सांस्कृतिक धरोहर मान्छ कानूनले । डा. बिष्णुराज उप्रेती र साथीहरूद्वारा सम्पादित नेपालमा भूमि राजनीति र द्वन्द भन्ने पुस्तकमा “भूमिले राज्यको शासनको विस्तृत शक्ति संरचना निर्धारण गरेको हुन्छ” भनी ठोकुवा गर्नु भएको छ (पृ. ८३)। अर्थात् भूमिसँग शक्ति र सत्ता जोडिएको हुन्छ । जब भूमिबाट बेदखल गरिन्छ । त्यस समुदाय स्वतः शक्तिहीन र राज्यबाट बहिष्कृत बन्न जान्छ ।

उदाहरणको लागि बर्दिया निकुञ्ज बनाउँदा भूमि खोसी लखेटेकै कारण आदिवासी राजीहरूको प्रत्येक १० बर्षको जनगणनामा डरलाग्दो तरिकाले जनसंख्या घटेको देखिन्छ । त्यसैले संस्कृति मास्नु भनेकै भूमिबाट बेदखल गर्नु हो र भूमिबाट बेदखल हुनु भनेकै त्यो जातिलाई मास्नु हो । सोझो अर्थमा खोकनाको भूमि खोस्नु नेवाः मास्नु हो कानूनी दृष्टिमा । चाहे त्यो कार्यलाई विकास भन्दै समर्थन गर्ने आदिवासी समुदायभित्र कै नेताहरू किन नहुन् । उनीहरू पनि आफ्ना समुदाय मास्ने अपराधका मतियारहरू नै हुन् ।

जेनोसाइड (Genocide) भन्ने शब्दलाई जाति हत्या, जाति सफाया, जाति संहारजस्ता समअर्थी शब्दहरू शब्दकोषहरूमा प्रयुक्त गरिएका पाइन्छन् । पोलिस कानूनवेत्ता राफाएल लेमकिनका अनुसार कुनै राष्ट्रिता भएको समुदायको महत्वपूर्ण आधारलाई नष्ट गर्ने उद्देश्यसाथ विभिन्न तरिकाले योजनाबद्ध वा संयोजन गरी योजना बनाएर जाति नास गर्नु जेनोसाईड हो भन्नु भएको छ । त्यसैले अहिले विकास परियोजनाभित्रको परियोजना कतै जेनोसाईड गर्ने उद्देश्य त होइन ? भन्ने प्रश्न गर्ने प्रशस्त ठाउँ उत्पन्न भएको छ ।

के हो सांस्कृतिक संहार (What is Cultural Genocide) ?
सांस्कृतिक संहार अन्तराष्ट्रिय कानूनमा खासगरी २००७ मा आदिवासीको सन्दर्भमा प्रयोग गरिएको छ । आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्रको धारा ८ मा आदिवासीहरूलाई संस्कृतिक विनाश वा विलयन विरुद्धको अधिकार रहन्छ । भूमि भुभाग र स्रोतबाट बिस्थापन गरे सांस्कृतिक जेनोसाईड हुन्छ । सांस्कृतिक जेनोसाइड राष्ट्रिय या अन्तर्राष्ट्रिय कानुनको दृष्टिमा जातिविरुद्धको गम्भिर अपराध हो ।

के जनसंहार (जेनोसाईड )र सांस्कृतिक (कल्जेचरल जेनोसाईड) उस्तै हो ?
कानूनवेत्ता राफाएलका अनुसार शारीरिक र जैविक र सास्कृतिक संहार एकै हो । तर जनसंहार बिरुद्धको महासन्धि बनाउने क्रममा यी सबैलाई जेनोसाईड अन्तरगत राखे पनि पछि उपसमितिले अघिल्लो दुइ र पछिल्लोलाई वर्गीकरणमा छुटयायो । यद्यपि, जेनोसाइड र सांसकृतिक संहार दुबै विषय जेनोसाईड अन्तराष्ट्रिय फौज्दारी अपराधको क्षेत्र अन्तरगत पर्दछ । अर्थात् यो यस्तो अपराध हो कि यसमा देशभित्र र अन्तराष्ट्रमा मुद्दा चल्छ । रुवाण्डाको अन्तराष्ट्रिय जनसंहार अदालतले पूर्वमेयर जीन पल अकेसुलाई उसले गरेको कार्यले आंशिक वा पुरा समुदायलाई संहार गर्छ भन्ने थाहा पाउनु पर्ने थियो भन्ने आधारमा दोषी ठहर्याएको पछिल्लो उदाहरणबाट देखिन्छ ।

नेपालमा आदिवासीविरुद्ध सांस्कृतिक संहार
नेपालमा आदिवासीको संस्कृति पहिचान आस्था मेटाउने कार्य राज्यस्तरबाट नै भइरहेको छ । कतिपय कार्यहरु नियतवस गरिएका जस्ता देखिन्छन् । जस्तो झापाको आदिवासी रंगशाला द्वन्द्वको बेलामा सशस्त्रले आदिवासीको चिहान भत्काएर कब्जा गरेको हो, त्यसमा विरोध गरेपछि सहमति गरी आदिवासी रङ्गशाला बनाइएको हो । यसबारे पूर्ण जानकार हुँदाहुँदै आदिवासी रङ्गशालालाई मदन भण्डारी रङ्गशाला बनाउन सरकार लागिपरेको छ । अदालती मुद्दा र आन्दोलनको माध्यमबाट समुदायले विरोध गरेपनि फाष्ट ट्रयाकको जीरो पोइण्ट त्यही राख्ने सरकारी रवैया त्यसमा पनि आर्मी लगाएर यी कामकारबाही सरकारले डेलिबेरेटली गरेका केही यस्ता उदाहरणहरू हुन् जसका आधाररूमा आदिवासीहरूले जेनोसाईड वा सांस्कृतिक संहारको बिरुद्धमा अन्तराष्ट्रिय उपचार खोज्न बाटो खुलेको छ । कथंकदाचित यस्ता मुद्दा अन्तर्राष्ट्रिय स्तरमा दायर भए निश्चय नै असमान्य परिणति निक्लने अनुमान गर्न सकिन्छ ।

कतिपय राष्ट्रहरूले आदिवासीप्रति इतिहासमा भएको अन्यायलाई बर्तमानमा जेनोसाईड र सांस्कृतिक संहारमा मुद्दा लागेर झमेलामा नपरोस् भनी आदिवासीप्रति राष्ट्रकै तर्फबाट माफी मागेका उदाहरण क्यानाडा, अष्ट्रेलिया, न्युजीलैण्ड, ताइवानले दिएका छन् । आदिवासीहरूको सांस्कृतिक भूमि जोगाउने फिर्ता गर्ने कार्य शुरु गरेका छन् । तर नेपालमा भने भत्काउने, खोस्ने, हडप्ने, खेद्ने काम निरन्तर गरिएको छ छ त्यो पनि प्रहरी सशस्त्र र सेनालाई नै लगाएर । इतिहासमा गयासुद्दीनले उपत्याकामा हमला गरेर मठ मन्दिर ध्वस्त पारेका थिए रे । त्यही क्रममा उनले तोडेको मुर्ती तोखामा जादा त्यहाँका मित्रहरूले मलाई देखाउनु भएको थियो । इतिहासदेखि वर्तमानसम्म नै यो वा त्यो बहानामा आदिवासीको सांस्कृतिक बिनास राज्यले गरेको देख्दा त्यही शासक गयासुद्दीनको बाह्य हमलाकै निरन्तरताजस्तै देखिन्छ, फगत शासकको नश्लमात्र फरक छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कोरोना संक्रमणबाट विहिबार २०३ जनाको मृत्यु

काठमाडौँ, ३१ बैशाख । कोरोनाभाइरस संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...

मधेसीहरूलाई भ्रममा पारी धोका दिने र आफ्नो स्वार्थपूर्ति गर्ने काम नहोस् -उपेन्द्र यादव

काठमाडौँ, ३१ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुलमुद्दालाई वर्तमान सरकारले...

पुरानै क्याबिनेटका मन्त्रीहरू सम्मिलित मन्त्रिपरिषद् गठन

काठमाडौँ, ३१ बैशा । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले...

अल्पमतको प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण आज

काठमाडौँ, ३१ बैशाख । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण...

गण्डकीमा विपक्षी गठबन्धनको प्रयास असफल भएपछि गुरुङ नै मुख्यमन्त्री

काठमाडौं, २९ वैशाख । राष्ट्रिय जनमोर्चाका दुई सांसदले धोका दिँदा गण्डकीमा विपक्षी गठबन्धनको सरकार...

जनता समाजवादी पार्टीका नेताहरू आन्तरिक छलफलमा

काठमाडौंँ, २९ बैशाख । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरू निरन्तर आन्तरिक छलफलमा छन्...

२४ घण्टाभित्र नेपाल प्रहरीको सक्रियतामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं, २८ वैशाख । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ सय...

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप

काठमाडौँ, २८ बैशाख । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । उपत्यकाका...

लिम्बुवान कतातिर ?

मलिसा याक्थुङ्बा लिम्बू नेपाल सरकारका तत्कालिन शाहवंशी राजाहरूसँग गरिएको सन्धि र तिनले दिएको ताम्रपत्रबाट...

बालुवाटारबाट मन्त्रीपरिषदको आकस्मिक बैठक आव्हान

काठमाडौँ, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।...