पत्र–पत्रिका, साहित्य र सम्पादन - Naya Online

पत्र–पत्रिका, साहित्य र सम्पादन

इन्द्र नारथुङे

सन् २००५ मा मलेसिया आउँदा, तीन वटा पत्रिका प्रकाशित भइरहेको थियो—श्रम साप्तहिक, जनपृष्ठभूमि साप्ताहिक र राज्यसत्ता साप्ताहिक । तर आहा ! भन्न लायक एउटा पनि थिएन । सामग्री र सुद्धा–सुद्धिको हकमा श्रम साप्ताहिक केही राम्रो थियो, राज्यसत्ताको दाँजोमा जनपृष्ठभूमिलाई राम्रो मान्न सकिन्थ्यो । जस्तो भए पनि यी पत्रिकाहरूको महत्व भने सानो थिएन मलेसियामा । मेरो रोजाईमा श्रम साप्ताहिक पर्यो र किन्न थालें नियमित । तर हरेक अङ्क हेर्यो, चित्तै नबुझ्ने । समाचार र लेखको शिर्षक उस्तै असुहाउँदिलो, व्याकरणीय त्रुटी र प्रुफ मिस्टेक त कति हो कति । अति नै भएपछि एउटा पाठक प्रतिक्रिया लेखी पठाएँ हुलाक मार्फत । तर पत्रिकाको नेपालको ठेगाना पूर्ण थिएन । त्यो पत्र पुग्छ–पुग्दैन भन्ने ठेगान थिएन । पत्रिका नियमित नै किनिरहेको थिएँ । पत्र पठाएको करिब महिना दिनपछि छापिएर आयो । प्रतिक्रिया छापिए पनि सुधार भने भएन । त्यही ठेगानमा अरु दुई कविताहरू पनि पठाएँ । ती कविताहरू पनि पुगेछ, छापियो । तर म अहिलेसम्मै अचम्ममा छु, त्यो अपुरो ठेगानामा कसरी पत्र पुग्यो, पत्रिकाको सम्पर्क कार्यालयमा । मलेसियामा नेपाली पत्रिका प्रकाशित गर्नु कम चुनौतीको विषय थिएन, तर पनि प्रकाशन भने भई नै रहेको थियो ।

तर मलेसियामा छापिने ती तीन पत्रिकाहरू आपसका प्रधान दुश्मन थिए । खासगरि श्रम साप्ताहिक र जनपृष्ठभूमिको दुश्मनी नेपालमा सरकार र माओवादीको जस्तै थियो । नेपालमा हतियार पड्काएर मारामार चल्थ्यो, यहाँ शब्दको हानाहान । यी दुवै पत्रिकाको झुकाव भने नेपालमा जनयुद्ध गरिरहेको माओवादीप्रति नै थियो । दुवै पत्रिकाले माओवादीको समाचार र लेखहरूलाई बढी प्राथमिकता दिएर छाप्थे । मलेसियामा कार्यरत अधिकांश नेपालीहरूमा यी पत्रिका प्रकाशन गर्नेहरू माओवादीको गतिलै नेता हुन् भन्ने भ्रम थियो । यसो भनौ, पत्रिकाले नै त्यो भ्रम पारेको थियो सर्वसाधरणमा । त्यो भ्रम टुट्न त टुट्यो तर निक्कै समय पछि ।

मलेसियामा प्रकाशित हुने नेपाली पत्रिकाहरूमा मलेसियाको खबर मात्र होइन, मलेसियामा रहेका नेपालीहरूले लेखेको लेख–रचनाहरू पनि बाक्लै छापिन्थ्यो । कतिपय लेख–रचनाहरू शब्दहरूको थुप्रो मात्र लाग्थ्यो भने कतिपय राम्रै भेटिन्थे । गीत नै नबनेको रचनाहरू गजल भनेर छापिएका हुन्थे भने कतिपय कविता पढ्दा पनि लाज लाग्थ्यो । वाास्तविक कथा भनेर लेखिएका केही रचनाहरू नाटक जस्ता लाग्थे, केही रचनाहरूले हृदय चसक्क छुन्थ्यो । प्रुफ मिस्टेक हुनु र रचनाहरूको छाँट–काँट नगरिनु सम्पादक अनुभवहीन हुनुको उपज हो भन्ने मैले ठम्याएँ । खासगरि प्रुफ मिस्टेकसँग धेरै ठाउँमा आजित भएको छु म ।

पत्रकारिताबारे केही नजानेको मान्छे म एक दिन अचानक सञ्चार दर्पण साप्ताहिकसँग आवद्ध हुनपुग्छु पोखरामा । भरखरै प्रकाशित हुन थालेको त्यो पत्रिकाका टाइपिष्ट एवं डिजाइनर भेषराज, पत्रिकाजस्तै नयाँ परेछन् । मुस्किैले टाइप गर्ने र डिजाइन पनि काम चलाउ । समाचारहरू संकलन गर्ने र विज्ञापन खोज्ने जिम्मा शक्ति र मेरो थियो । समाचार खोज्नु त गाह्रो थिएन तर बजारमा पुगेर विज्ञापन माग्दा पत्रिका देखाउनै गाह्रो । केही महिनापछि भेषराज आफै निस्किए, भेषराजको ठाउँ मोतीले ओगटे । पहिलाबाटै अरु पत्रिकाको डिजाइन गर्दै आएका मोती स्वभाविक रूपमा राम्रा टाइपिष्ट र डिजाइनर थिए । मोती आएपछि धेरै सजिलो भयो, पत्रिकाको आकार पनि बढ्यो । सम्पादक नारायण सर पहिला–पहिला हरेक लेख र समाचारको आफै सम्पादन गर्नु हुन्थ्यो तर प्रुफ हेर्ने काम शक्ति र मेरो ।

शक्ति ज्यादै अल्छे, पढ्नै झ्याउ मान्ने । बरु मोतीलाई गएर अल्मलाउँथ्यो । पछि बिनय थपियो, बिनय आएपछि त झन् शक्तिको ध्यान पत्रिका तिर जाँदै गएन । हरेक पेजलाई दुइ–तीन पटक प्रिन्ट गर्न लाउँथे र टुपी कसेर एक्लै प्रुफ हेर्थें, छापिएर आएपछि फेरि मिस्टेकै । पछि मोतीले समाचार र लेख टाइप गरेर सकेपछि आफै कम्प्यूटरमा बसेर प्रुफ हेर्न थालें, मिस्टेक अलिक कम भयो । तर आफैले लेखेको समाचार र लेखमा भने मिष्टेक भई नै हाल्थ्यो । पत्रिका प्रकाशन हुन थालको छ महिना मै स्थापित भयो । साप्ताहिक भए पनि नियमित प्रकाशन हुनु, समाचारमा मेहनत गरिनु र वितरणमा ध्यान दिइनुले पत्रिकालाई पोखरेलीहरूले चिने र हामी पनि चिनियौं । पत्रिकाले नै प्रधान सम्पादक नारायण सरलाई तात्कालिन राजा ज्ञानेन्द्रसँग दर्शन भेटको अवसर जुरायो भने गोर्खा दक्षिणबाहु थाप्ने बाटो खोल्यो । अलिक पछि पत्रिकाको धेरै जिम्मेवारी मेरो काँधमा थपियो ।

सम्पादकीय र कहिलेकाँहि लेख लेख्नु बाहेक अरु समाचार र लेख रचनाहरूको सम्पादन गर्ने जिम्मा मलाई नै सुम्पनु भयो नारायण सरले । समाचारको शिर्षक कस्तो राख्ने र साप्ताहिक पत्रिकाको लिड कस्तो ठीक हुन्छ भन्ने बारे राज सर र गंगाधर सरबाट केही सिक्ने मौका मिल्यो । समाचार र लेख–रचनामा कैंची चलाउन डराउनु हुन्न भन्ने ज्ञान पनि राज र गंगाधर सरहरूबाटै पाएँ । तर सम्पादन गर्नु सानो अनुभवले सम्भव पक्कै हुन्थे न । लेखिएको समाचार र लेखले उठाएको बिषयमा गहन अध्ययन नभई सम्पादन गर्नु असम्भवप्रायः थियो । त्यसैले समाचार र लेख–रचनाको सम्पादन गर्नु पूर्व धेरै कुराको अध्ययन गर्नु पथ्र्यो । त्यो बेलै कतिपय लेख–रचनामा मैले मज्जैले कैंची चलाएको छु । र, त्यही पत्रिकामा काम गर्दा केहीलाई लेख लेख्न उक्साएको छु । मबाट लेख लेख्न लगाइएकाहरू मध्ये केहीले राम्रै प्रगति पनि गरेका छन् । एक जनाले त पोखराबाट प्रकाशित हुने दैनिक पत्रिकाको सम्पादन समेत गरिरहेका छन् अचेल । बाहिरबाट हेर्दा सम्पादन गर्नु अभिमान देखाउनु पनि हो । अर्थात लेखकभन्दा म जान्ने छु भन्ने भान बनाउनु पनि हो । तर यथार्थमा आफूद्वारा सम्पादित पत्रिकाबाट गतल सूचना नजाओस् भन्ने कुरामा सम्पादकहरू सजग भएका हुन् र यो हुनु नै सम्पादकको प्रमुख गुण पनि हो । सञ्चार दर्पण साप्ताहिकसँगै पोखरामा मैले सम्पादन गरेको ‘कर्म क्षेत्र’ (मुखपत्र) र एड्स रोग नियन्त्रण संघको मुखपत्रमा पनि प्रशस्तै कैचीं चलाएँ ।

अझ मलेसिया आएपछि प्रवासी नेपाली साहित्यिक मञ्चद्वारा प्रकाशित ‘विम्ब साहित्य संगालो’ र अन्तराष्ट्रिय नेपाली साहित्य समाज मलेसियाद्वारा प्रकाशित ‘विम्ब संयुक्त गजल संग्रह’मा त धेरै नै क्रुर बन्नु पर्यो । तर व्याकरणीय त्रुटी हटाउन भने मेरो बुताले अझै भ्याउँदैन । एक त नेपाली ब्याकरणको अस्थिर रूप अर्कोतिर व्याकरणको कम्जोर विद्यार्थी भएको कारणले यस सम्बन्धी त्रुटीलाई कम गर्ने कुरामा म असफल प्रायः छु ।

अँ फेरि मलेसियाको कुरा । त्यसबेला यहाँबाट प्रकाशित हुँदै आएका पत्रिकाहरू र प्रकाशक–सम्पादकहरू जे–जस्तो भए पनि पत्रिकाको ठूलो काम थियो । उसबेला अहिले जस्तो मोबाइलमा इन्टरनेट चलाउने सुविधा थिएन, कम्प्यूटर किनेर कोठामै नेट जोड्नु नेपालीको पहुँच पुग्दैन थियो । साईबरमा गएर न्यूज पढ्न सकिने अवस्था थिएन । त्यसैले नेपालको खबर पाउने एउटै माध्यम भनेको तिनै पत्रिकाहरू थिए । तिनै पत्रिकाको माध्यमबाट सूचनाहरू प्राप्त हुन्थ्यो । तिनै पत्रिकाहरूमा हराएका आफ्ना साथीहरूको खोजी गरिन्थ्यो । र, तिनै पत्रिकाहरू मार्फत नयाँ साथीहरू भेटिन्थे । अलिक पछि मलेसियामा अरु पनि पत्रिकाहरू प्रकाशित भए । व्लाक एण्ड ह्वाईट पेजहरू रङ्नि बने । पत्रिकाको आस्थाहरू फेरिए । विज्ञापनले सिङ्गो पेज नै ढाकिन थाल्यो । समाचार र लेख–रचनाहरू औसत राम्रा प्रकाशित हुन थाले । प्रुफ मिस्टेक अलिक सुधारियो । व्याकरणीय गल्तीहरूलाई पनि ध्यान पुर्याउन थालियो । विवाद र दम्भका सीमा स्तम्भहरू केही होचिए ।

उसबेला अर्थात सन् २००५ आसपास र अहिले बीचमा निक्कै भिन्नता भए पनि एउटा कुरामा समानता भयो । उसबेला सबै पत्रिकाले माओवादीको कुरालाई प्राथमिकता दिन्थ्यो, पछि सबै पत्रिकाले यौन उत्तेजक फोटो छाप्नलाई प्राथमिकता दिइरहेका थिए । सायद पाठकको चाह फेरिएरै पो हो कि ?

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

आदिवासीहरूको प्रमुख आराध्यदेवी मुक्कुमलुङ्मा उर्फ पाथीभरा

सामकेलो केवाफुङ्वा किरात आदिवासी जातीहरू प्रायः सबै उच्च हिमाली शिखर, डाँडा काँडामा देवी देवताको...

लिम्बुवान कतातिर ?

मलिसा याक्थुङ्बा लिम्बू नेपाल सरकारका तत्कालिन शाहवंशी राजाहरूसँग गरिएको सन्धि र तिनले दिएको ताम्रपत्रबाट...

लिम्बुवानको एउटा कहानी

मलिसा याक्थुङ्बा लिम्बू विद्यार्थी राजनीतिमा छँदा सिके प्रसाईँ (भरतबाबु)ले प्रजातन्त्र र समाजवादको सिद्धान्तबारे ईलामको...

पत्र–पत्रिका, साहित्य र सम्पादन

इन्द्र नारथुङे सन् २००५ मा मलेसिया आउँदा, तीन वटा पत्रिका प्रकाशित भइरहेको थियो—श्रम साप्तहिक,...

आदिवासी संहार कि सांस्कृतिक संहार ?

शंकर लिम्बू १. विकासमा साम्प्रदायिकता कुरा घुसाएर अवरोध गरियो । २. कोसीमा ढुङ्गा (खुवालुङ...

१६ कि खम्बु कि १० ‘राई !’ ?

निनाम कुलुङ ‘मंगले’ हुन त कसैले ‘तपाई भनोस् कि नभनोस् आफैँ मपाईं !’ भने...

सीमाभित्र मेरो लाजे?

मलिसा याक्थुङ्बा लिम्बू इष्ट इण्डिया कम्पनी र नेपाल सरकारबीच वि.सं. १८७३ (सन् १८१६ मार्च...

कुलुङ किन ‘राई !’ होइन ?

निनाम कुलुङ ‘मंगले’ हुन पनि हालसम्म कुलुङ जातिलाई नेपालका धेरै जसो जातजाति वा भनौं...

के हुन सक्ला लिम्बुवानको राजनीति ?

मलिसा याक्थुङ्बा लिम्बू संविधानतः सबैभन्दा पहिले ‘लिम्बुवान’ भन्ने प्रदेश स्थापनाका लागि नै कांग्रेस र...

‘नेतृत्व दाबीका लागि आत्मविश्वास दिलाउनु हाम्रो अभिभारा हो’

आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ स्थापनाको औचित्य के हो ?   राजन मुकारुङ, अध्यक्ष: ‘नेपाली समाजमा...