‘मिलीजुली’ पोलिस गर्न नभ्याएको सुन्दर सिर्जना - Naya Online

‘मिलीजुली’ पोलिस गर्न नभ्याएको सुन्दर सिर्जना

देवेन्द्र खापुङ सुर्केली

कामविशेष त थिएन, तर बाटो परेकाले धनकुटा निस्किएँ र पुराना मित्र पत्रकार सन्तवीर लामा र यानिन्द्र तिगेलासँग भेटेँ । साथै पत्रकार हिमा चेम्जोङलाई पनि समय छ भने भेटौं भनेर कल गरेँ । हिमाजी एउटा विवाहको लागि छिन्ताङ जान लाग्नुभएको रहेछ । तर पनि एकछिन समय दिनुभयो । र, भन्नु भयो –देवेन जी त फेसबुकमा साथी हुनुहुन्छ तर साथी हो कि होइनजस्तो । कहिले बोल्नुहुन्न ।

साँची फेसबुकमा मेरा पुगनपुग ५ हजार साथी छन् । तर हाइहेल्लो गर्ने १० जना पुग्दैनन् होला । त्यति धेरै साथी भए पनि छ कि छैनजस्तो भएको त्यतिखेर मात्रै बोध भयो ।

त्यससमयमै एउटा अनुसन्धान पढेँको थिएँ, फेसबुकमा जति साथी भए पनि खास साथी २०० मात्र हुन्छन् । त्यस अनुपातलाई हेर्ने हो भने पनि मेरा त २० पनि पुगेनन् ।

काठमाडौँ फर्केर फेसबुकमा भएका सबैलाई अन्धाधुन्द बोलाउन थालेँ । बोलाएपछि कतिबाट उत्तर आयो, बोलचाल भयो भने कतिबाट ‘अन्फ्रेन्ड’ भयो ।

शान्ति लिम्बू केही समयअगाडि देखि नै फेसबुकमा साथी हुनुहुन्थ्यो । सबैलाई बोलाउने क्रममै मैले शान्तिजीलाई सेवारो भनेँ, उताबाट जवाफ आयो । मैले भनेँ –हामी साथी छौं, तर बोलचाल रहेनछ । कुन लिम्बू पर्नुभयो ?

‘हजुर म खिम्दिङ, ममी योङ्या, बोजु तबेबुङ ।’ उताबाट तीनपुस्ते नै आएपछि म अवाक बनेँ । यो सन् २०१७ फेब्रुवरीको कुरा हो । लिम्बू जातिमा त तीनपुस्ते केलाउँदा साइनो लागेन भने धाननाँच्न पनि सकिन्छ । तर, त्यसपछि भने वार्ता अगाडि बढेन ।

त्यसको १ महिनापछि मित्र टंक सेलिङबाट पत्र आयो –‘शान्ति लिम्बूद्वारा लिखित उपन्यास ‘मिलीजुली’ विमोचनमा तपाईंलाई अतिथिको निम्तो छ’ व्यहोराको । हिमा चेम्जोङले प्रसँगबस उक्काउनुभएको शब्द अनि शान्ति लिम्बूको म्यासेन्जर वार्ता र उपन्यास विमोचन सन्दर्भले माला उनेर ल्यायो ।

अतिथि चै होइन, सहभागी चै भइदिन्छु भनेर अलि ढिलो पुगेँ कार्यक्रमस्थलमा । चुम्लुङ भवनमा हुने पुस्तक विमोचनमा त्यति धेरै सहभागी पहिलोपटक देखेँ । र, पुस्तक बिक्री गज्जबले भएको देखेर गद्गद् पनि भएँ ।

पुस्तक किनेर लेखकको हस्ताक्षर पनि लिएँ । लिम्बू साहित्यकारको अध्ययन गरिरहेका प्रा.डा. गोविन्दराज भट्टराईले दोश्रो महिला उपन्यासकार भनेर बताए । यद्यपि मेरो संकलनमा चाहीँ अन्य पनि महिला उपन्यासकार छन् । र, यसै सन्दर्भलाई उक्काउँदै नयाँअनलाइनमा समाचार पनि बनाएँ ।

पुस्तक किन्ने, समाचार बनाउने थन्क्याउने काम मात्रै भयो । पढिहाल्न भने भ्याइएन । त्यसै वर्ष बेलायतको एक कार्यक्रममा जाने निम्ता आयो, गएँ । अल्डरसटस्थीत द इम्पायर थिएटरमा मिलीजुलीकी लेखिकासँग भेट पनि भयो । पुस्तक पढिनसकेकाले पुस्तकसम्बन्धि केही सोध्ने आँट गरिनँ । अन्य सन्दर्भकै कुराकानी भयो । यति चाहीँ बुझे, मिलीजुलीको सबैप्रति बिक्री भइसकेकोले अर्को पुस्तकको तयारी भइरहेको रहेछ ।

पढौंला भनेर राखिएको पुस्तकहरू त्यसै थन्किएर बसे केही वर्ष ।

उपन्यासकार शान्ति लिम्बू

 

कोभिड –१९ को कारण घरमै लक भएर बस्नुपर्दा बढि फिल्म हेर्ने मात्रै काम भए । दोश्रो वर्ष पनि उही कोभिडको नयाँ भेरियन्ट आयो र घरमै लक भएर बस्नुपर्यो । यसपल्ट भने फिल्मलाई कम गरेर थन्क्याइएका पुस्तकहरूमा नजर डुलाउन थालेँ । यसैक्रममा ‘मिलीजुली’ पनि प¥यो ।

जम्मा १४२ पेजभित्र अटाइएको मिलीजुली उपन्यास एक बसाईमा पढिसकियो । मिलीजुली शिर्षक दुई जुम्ल्याहा दिदीबहिनीको नामबाट उठाइएको रहेछ । जुम्ल्याहा भन्नेवित्तिकै गंगाजमुना मानसपटलमा पहिले छाउँछ । तर पछिल्ला दिनमा सृष्टिकृष्टि, प्रिज्माप्रिन्सा, दीपादमन्ताजस्ता नाम आउन साथ जुम्ल्याहा हुन् कि भान हुन थालेको छ । त्यसैको लहरमा मिलीजुली उभिन आयो । उनीहरू आजभन्दा १८ वर्षपछिका जीवन बाँच्दैछन् । त्यसैले उत्तरआधुनिक शैलीको रहनसहन, बोलीचाली, शिक्षादिक्षाको छनक दिने पंक्तिबाट शुरु भएको उपन्यास मेरो रुचिको नबन्ला कि भन्दै पढ्दै थिएँ । तर जब छोरीले आमाको डायरी भेट्छे, त्यसले उपन्यासलाई मोडेर पठनीय बनाउन थाल्छ ।

अपुताल सम्पत्ति, यो नेपाली समाजमा खुब चलेको कुचलन हो । जुन घरमा छोरा छैनन, उसको सम्पत्ति नजिकको हकदारले दाबी गर्छन् । झगडा गर्छन्, मुद्दा हालाहाल गर्छन् । जसलाई कुचलन भन्दा फरक पर्दैन । त्यसैगरी वंशावलीहरूमा पनि छोरीलाई सन्तानको रूपमा हेरिँदैन । छोरा नहुनेको लागि (अ) संकेत गरिन्छ । जसको अर्थ अपुताल हो । अहिले पछिल्ला वंशावलीहरूमा भने छोरीलाई पनि राख्न थालिएको छ, यो बेग्लै कुरो हो ।

अपुताल सम्पत्तिको हक पाउने मुद्दासम्बन्धि मैले पढेका साहित्यहरूमा स्थान पाएको देखेको छुइनँ । पहिलोपटक यसै उपन्यासमा पढ्न पाउँदा खुशीको सीमा रहेन । यद्यपि लेखिकाले अपुताल भन्ने शब्द चै कहिँकतै उल्लेख गरेका छैनन् । तर उपन्यासमा भएका घटनाको भावार्थ चाहिँ त्यहि हो ।

त्यसैगरी हाम्रो लिम्बू समाज (विशेषगरी लाहुरे समाज)मा मगनी भएपछि डकुमेन्ट बनाउनेको नाममा होस् या अन्य प्रयोजनको लागि मंगेतरलाई खुला घुमफिर गर्न छुट दिइएको छ । खुला घुमफिरको क्रममा शरीर समर्पण हुन्छ नै । तर पूर्ण विवाह नभई गर्भवति भएमा र दुुर्घटना भएको खण्डमा के हुन्छ भन्नेतर्फ सचेतना अपनाइन्न । यस उपन्यासले उठाएको अर्को बलियो पाटो पनि त्यहि हो ।

मगनी भएपछि उनीहरू खुलेआम घुम्छन् । शारीरिक समर्पण हुन्छ । र, मनकामना मन्दिरको दर्शन गरेर फर्कने क्रममा दुर्घटना भई पुरुष पात्रको मृत्यु हुन्छ । यसलाई लेखिकाले नेपालमा भइरहने आन्दोलनलाई जोडेकी छिन् । आन्दोलनको ज्वालाले दुर्घटना हुन पुग्यो, जसको कारण पुरुषपात्र सहिद हुन् भन्ने पुष्ट्याई गर्न खोजेकी छिन् ।

छोराको मृत्यु भएकै शोकमा हुनेवाला बुहारी गर्भवति रहेको खबरले पुरुष पात्रको परिवारमा पुग्छ । छोराको निधन भएपनि हामी बुहारी नै मान्छौ, पछि लिन आउँछौ भन्ने परिवारले कहिल्यै लिन आउँदैनन् । आधुनिकताले छोएको ब्राम्हण परिवार र लिम्बू परिवारबीच हुन लागेको पारस्परिक सम्बन्धलाई यस घट्नाले प्रश्नचिन्ह खडा पनि गरेको छ ।

समाजले के भन्ला भन्ने चिन्ताले ग्रसित महिला पात्रकी आमाले जसरी छोरीको गर्भपतन गराएर बेलायतमा स्थापित गराउने सपना तुसारापात भएँसँगै आमाको दुःखद निधन हुन्छ । बुबाले चाहिँ नातिनीहरू १० वर्ष पुगेको बेला अठारौं जन्मोत्सवमा उपहार दिनुभन्दै ब्रिफकेस राख्न दिएर बितेका हुन्छन् ।

यसबिचमा गाउँबाट महिलापात्रका काका आएर अंशमुद्दा हाल्छन् । गाउँमा पनि अंशवण्डा नभएकाले परिवारका सबै सदस्यले कमाएको भाग लाग्न सक्ने अप्ठ्यारो कानुन नेपालमा छ । जसको फाइदा उठाउँदै काकाले मुद्दा हालेका हुन् । उनको चरित्र तासजुवा खेल्ने, झगडिया भनेर भनिएको छ । मुद्दा हारेमा सम्पत्ति पनि हरण हुने, छोरीहरूलाई बुबाको नाम ठेगाना नदिइएकोले नागरिकता बन्न नसक्ने जस्तो परिस्थिति उपन्यासमा छ ।

जब छोरीहरूले आमाको डायरी भेट्छन्, तब आमाको समस्या बुझ्छन् । उनीहरूले आफ्नो बुबापट्टिको परिवार खोजेर भेटाउँछन् । बाजेले राख्न दिएको उपहार फोडेर बकसपत्र फेला पार्छन् र सम्पत्ति, नागरिकता पाएपछिको सुखद अन्त्य बनेको छ ।

यद्यपि उपन्यास पढिरहँदा धेरै प्रश्नहरू जन्मिएका छन् ।

उपन्यासले आजभन्दा १८ वर्ष पछिको अवस्था देखाइरहेको छ । आजदेखि १८ वर्षअगाडिकै समय कल्पना गरौं, कति फरक थियो भने आजको १८ वर्षपछि कति विकसित र अवस्था फरक भइसक्छ भन्नेतर्फ लेखकको सोच गएको देखिन्न । महाभुकम्पको सन्दर्भ आएकाले समयको किटान भएको हो । ब्रिटिस गोर्खाका सन्तानहरू बेलायत जान थालेकै १८ वर्ष पुगिसकेको छ, भने त्यसबेलाकै सन्दर्भलाई जोड्दा पनि समयले मेल खान्थ्यो ।

नेपाली नागरिकले १६ वर्ष पुगेपछि नागरिकता पाउँछन् । आजकल त बच्चालाई स्कुल भर्ना गर्न अनिवार्य जन्मदर्ता चाहिन्छ । के मिलीजुली बिना जन्मदर्ता स्नातकतह पूरा गर्दै थिए ? भन्ने टड्कारो प्रश्न उठाएको छ ।

अर्को कुरा, अहिलेको सन्दर्भमा महिलाले आफ्नो बुबाआमाको सम्पत्तिलाई सुरक्षित गर्न सक्छन् । यससम्बन्धि धेरै कानुनहरू पनि बनेका छन् बन्दैछन् भने आगामी वर्षमा धेरै परिवर्तन भइसक्नेछन् । भूमिसुधार तथा अंसियारी कानुनमा फेरबदल भइरहेका छन् । तसर्थ हकमुद्दाको समस्यामा उपन्यासलाई अल्झाउन उपयुक्त भएन । जीवन अगाडि बढ्नेक्रममा त्यो भन्दा ठूला समस्या आउँछन्, त्यसलाई उभ्याउँदा नि सार्थक बन्थ्यो ।

उपन्यासले उठाएको विषयवस्तु अत्यन्तै बलियो छ । र, कथानक पनि मिलेको छ मितिअनुसारको परिस्थितिबाहेक । विमोचनको दिन साहित्यकार उपेन्द्र सुब्बाले भनेको थिए –‘लेखक साह्रै दौडनुभयो ।’ घट्ना परिवेशलाई दर्शाउँदै दौडेको दौडै उपन्यास पूरा भएको छ । लेखिका उपन्यास लेखनमा मात्र होइन, प्रकाशनको लागि पनि दौडिएको बुझिन्छ । अर्थात छिटै प्रकाशनमा ल्याइहाल्न हतारो देखिन्छ । जसले गर्दा पोलिस गर्न नभ्याइएको सुन्दर सिर्जना नाम दिइनु उपयुक्त देखेको छु । यतिका कथावस्तु उनिइसकेपछि यससँग सम्बन्धितहरूसँग थप अध्ययन, परामर्श, बहस गरेको भए उपन्यास धेरै अब्बल बन्थ्यो ।

यद्यपि लेखकसँग नयाँ विषयवस्तुको छनौट गर्ने क्षमता रहेकोले आगामी उपन्यास धेरै राम्रो आउनेछ भन्ने आशा गर्न सकिन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बराहक्षेत्रमा स्वास्थ्य बिमा गराउनेको आकर्षण बढ्यो, बिमा कार्यक्रम उत्साहजनक

प्रकाश दिप्साली राई मानिसको जीवनमा गाँस, बास कपाससँग जोडिने अर्को महत्वपूर्ण पाटो हो स्वास्थ्य,...

बाढी पहिरोबाट ३ जनाको मृत्यु, सडक अवरोध तथा विभिन्न धनमाल क्षति

काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु...

कोभिड–१९ को कहर

विरही काइँला कोरोना भाइरसले कोभिड–१९ भन्ने रोग लगाउँछ । कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू...

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधिएको छ ।...

‘मिलीजुली’ पोलिस गर्न नभ्याएको सुन्दर सिर्जना

देवेन्द्र खापुङ सुर्केली कामविशेष त थिएन, तर बाटो परेकाले धनकुटा निस्किएँ र पुराना मित्र...

भाषाशिक्षक मुद्दा र याक्थुङ् आँखी

मलिसा याक्थुङ्बा लिम्बू कात्तिक १८ गते २०७६ आदिवासी जनजाति महासंघ पाःन्थःर जिल्ला अध्यक्ष रिन्जी...

रुख चढेका किस्सा

सिङ्ज्याङ चेम्जोङ आज रुखको कुरा आइरहेको हुनाले … मलाई रुख चढ्न खुबै मनपर्छ केटाकेटी...

राजनैतिक दलका करियाहरू र ‘रवीन्द्र’+‘आछिरिङ’का नाममा तुजुक देखाउने शासकहरू

निनाम कुलुङ ‘मंगले’ नेपालको पूर्वी क्षेत्र (हालसम्म नाम नजुरेको एक नम्बर प्रदेश) मा पर्ने...

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई खुला पत्र ।

सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यू, कोरोनाले तहसनहस पारेको शरीरमा तागेरा निङ्वाफु माङसँग...

कोरोना कालमा आदिवासीका आफ्नै अभ्यास

कुमार यात्रु विभिन्न प्रकारका चुनौतिहरूलाई परास्त गर्न सक्ने मौलिक शैली, परम्परा र ज्ञान भएर...